पत्रकार डुम्रे लगायत नेकपाका नेताहरुलाई अदालतले दियो सफाई

जनबाटो संवाददाता । भैरहवा । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका सन्दर्भमा पक्राउ परि मुद्दा खेपिरहेका ५ जनालाई बुधवार रुपन्देही जिल्ला अदालतले सफाई दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजालसले बुधवार गरेको फैसलापछि उहाँहरुलाई सफाई दिएको हो ।

सफाई पाउनेहरुमा नेकपा पाल्पाका इन्चार्ज पार्वती विक, सेक्रेटरी भुवन जीसी, पत्रकार प्रकाश डुम्रे र सोही मुद्दामा प्रतिवादी बनाइएका नेकपा रुपन्देहीका सेक्रेटरी अमर आरसी र पत्रकार शिव डुम्रेलाई पनि सफाई दिएको छ ।

२०७४ मंसिर ४ गते बुटवल गोलपार्कमा शंकास्पद बस्तु फेला परेपछि त्यसको आशंकामा गिरफ्तार भएका नेताद्धय पार्वती विक र भुवन जीसीलाई जिल्ला अदालतको पुस २ गतेको आदेशपछि सामान्य तारेखमा रिहा गरेको थियो भने बुटवलमा एमालेको चुनावी पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार भई मुद्दा खेपिरहेका पत्रकार प्रकाश डुम्रेलाई पनि अदालतले सोही दिन तारेखमा रिहा गरेको थियो ।

बुधवार जिल्ला अदालत भैरहवामा भएको सुनुवाईमा वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला र प्रतिवादीहरुको तर्फबाट अधिवक्ताद्धय ज्ञानु केसी र ओमप्रसाद पंगेनीले बहस गर्नुभएको थियो ।