नीति, कार्यक्रममाथि ५ नं. प्रदेश सांसदहरु कसले के भने ?

पांच नम्बर प्रदेश सरकारको नीति कार्यक्रमप्रति सरोकारवालाले मिश्रित प्रतिक्रिया दिएका छन् ।

रिपोर्टर्स क्लव नेपालले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताले नीति कार्यक्रम सुन्दा राम्रो सुनिएपनि भित्री रुपले सबै क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताए ।

केही क्षेत्रलाई नीति कार्यक्रमले सम्बोधन गर्न नसकेपनि समग्रमा वजेट सन्तोषजनक रहेकाले कार्यान्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले नीति कार्यक्रम समय सान्र्दभिक र वैज्ञानिक भएको दावी गरेका छन् । उनले थुप्रै क्षेत्रलाई सम्बोधन गरेको र बांकी रहेका केही क्षेत्रलाई आगमी नीति कार्यक्रमबाट सम्बोधन गरिने बताए ।

उनले नीति कार्यक्रमलाई कार्यान्वयन गर्न जरुरी रहेको बताउंदै सबै कुरा एकैचोटी हुन नसक्ने बताए । पांचवर्ष भित्र सुकुम्वासी र अव्यवस्थित वस्तीलाई व्यवस्थित गरिने बताए ।

प्रदेशको स्थायी राजधानी तोक्न दुई तिहाई चाहिने उल्लेख गर्दै राजधानी नतोक्दै नाम राख्न उपयुक्त नहुने बताए । उनले निकट भविश्यमै राजधानीको स्थान तोकी नामाकरण गरिने र प्रदेशको राजधानी रुपन्देही र बुटवलमा नै हुने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमालले सरकारको नीति कार्यक्रमले सबै क्षेत्रको प्रतिनिधित्व गर्न नसकेको बताए । उनले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमले जनतालाई मात्र खुशी मात्र पानैगरी ल्याईएको आरोप लगाए ।

उनले नीति कार्यक्रममा त्रुटी रहेको उल्लेख गर्दै बाहिरबाट हेर्दा मात्र राम्रो देखिएको बताए । कृषिलाई समेट्न खोजिएपनि बैज्ञानीक कारण नखुलेको बताए ।

संघीय समाजवादी फोरमका सांसद सहश्रराम यादवले नीति कार्यक्रम सन्तोषजनक नभएको बताए । उनले नीति कार्यक्रमले सबै क्षेत्रलाई समेट्न खोजेपनि शिक्षा, स्वास्थयलाई ठोंस रुपमा सम्बोधन गर्न नसकेको दावी गरे । उनले प्रदेश बलियो नबनेको बताउँदै प्रदेश बलियो नबन्दासम्म संघीयता टिक्न नसक्ने बताए ।

प्राध्यापक डाक्टर ईश्वर गौतमले प्रदेस सरकारले ल्याएको नीति कार्यक्रमले उच्च शिक्षालाई सम्बोधन गर्न नसकेको बताए । उच्च शिक्षालाई महत्व नदिएर प्राथमिक शिक्षालाई बढी महत्व दिएको उनको भनाई छ । व्यापार र कृषिका लागि नीति कार्यक्र ठिक भएको उल्लेख गर्दै कार्यान्यन हुन सके राम्रो हुने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नवराज श्रेष्ठले समग्रमा हेर्दा नीति कार्यक्रम ठिकै जस्तो भएपनि यसले उद्योगका समस्यालाई समेट्न नसकको बताए । उनले एक गाउं एक उत्पादन, एक गांउ एक पोखरी, शीत भण्डार गरिने सकारात्मक पक्ष रहेको बताए ।