निर्मला पन्तको न्यायको पक्षमा बुटवलका स्रष्टाहरु सडकमा उत्रिए (फोटोसहित)

‘तिमीलाई स्वास्नीमान्छेले बलात्कार ग-यो ?
तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ?
तिमीलाई स्वास्नीमान्छेले कतै बेच्यो ?
तिमी निरुत्तर छौ यस प्रश्नका अघि’

पारिजातका यी पंक्तिहरु र निर्मला पन्तको तस्वीर भएको ब्यानर, कसैको हातमा बलेको मैनबत्ती र कसैको हातमा कविता लेखिएका पोष्टरहरु । यो दृश्य हो बुटवलको । आज साँझपख निर्मला पन्तलाई न्याय र बढ्दो बलात्कार काण्डका विरुद्ध बुटवलका स्रष्टाहरुले ‘न्यायका लागि कविता -याली’ सम्पन्न गरे ।

बुटवलको ट्राफिकचोकमा जंगबहादुर शाह, दिल साहनी, युवराज पन्थी जस्ता पाका लेखक स्रष्टादेखि गिरि श्रीस मगर, रमेश पाण्डे, सरिता श्रीस, कृष्ण गाउँले, रामचन्द्र श्रेष्ठ, खोमा तरामु मगर, अमृत पियुष, कविराज पौडेल, मिन राना, सुर्जन तिवारी, पूर्णचन्द्र भट्टराई लगायतका लगभग तीन दर्जन स्रष्टाहरु जम्मा भए ।

उनीहरुले मुखमा कालो पट्टी बाँधे, हातमा कविताको प्लेकार्ड समाते, कसैले हातमा बलेको मैनबत्ती समाते अनि मौन -याली शुरु गरे पुष्पलाल पार्कतर्फ । पुष्पलाल पार्क पुगेपछि उनीहरु ब्यानर, प्लेकार्ड, मैनबत्ती लिएर केही समय प्रदर्शन गरे । न कुनै नारा, न कुनै भाषण कार्यक्रम सम्पन्न भयो ।

बुटवलका स्रष्टाहरुको यो पृथक शैलीको कार्यक्रमबारे कार्यक्रमको संयोजन गरेको पाठक मञ्च, बुटवलका गिरि श्रीस मगरले यसरी अथ्र्याए— “कालो पट्टीको अर्थ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक बन्दोबस्त हुँदाहुँदै पनि निस्तेज पार्ने कोशिस गरिएको, बलेको मैनबत्तीको अर्थ न्याय हराएको देशमा न्यायको खोजी गरेको र सबै अभिव्यक्ति स्रष्टाले कविताको प्लेकार्ड मार्फत दिएको हो ।”

बुटवलका स्रष्टाहरुको विरोधको यो पृथक शैलीलाई जनमानसले बडो रुचीपूर्वक नियालिरहेका देखिन्थ्यो ।