निर्मलाको न्यायको पक्षमा लुम्बिनीका सबै जिल्लामा नेकपाको जनप्रदर्शन (फोटोफिचर)

बुटवल-विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्युरो अन्तर्गतका ८ वटै जिल्लामा बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको न्यायको पक्षमा जनप्रदर्शन गरेको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै ५ महिना पुग्न लाग्दासम्म राज्यले हत्यारालाई अझैसम्म गिरफ्तार गर्न नसकेको भन्दै नेकपाले देशैभर आइतवार जनप्रदर्शन गरेको हो । लुम्बिनीको रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवपरासी, नवलपुर, अर्घाखाँची, गुल्मी र चुरे क्षेत्रका विभिन्न स्थानहरुमा नेकपाले जनप्रदर्शन गरेको हो ।

रुपन्देहीको बुटवलमा भएको जनप्रदर्शनमा व्युरो सदस्य एवं रुपन्देही इन्चार्ज संगम, पाल्पामा इन्चार्ज सामना, नवलपरासीमा सेक्रेटरी डा. शिवशंकर बस्याल, कपिलवस्तुमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं पश्चिम कमाण्ड इन्चार्ज सन्तोषी भट्टराई, गुल्मीमा जनसरकार प्रमुख प्रशान्त बराल,अर्घाखाँचीमा कलाकार बालकृष्ण भलामी मगर लगायतले सम्बोधन गरेका थिए ।

नेकपाले मङ्सिर ८ गते काठमाडौंमा विशाल जनसभा गरेर विभिन्न कार्यक्रमको घोषणा गरेको थियो । नेकपाले निर्मला पन्त लगायत देशभर भइरहेको बलात्कार तथा महिला हिंसा विरुद्ध संघर्ष गर्दै आएको छ ।