नवलपुरको कावासोती बजारमा शक्तिशाली बम विस्फोट

नवलपुर । नवलपुरको कावासोटी फलफूल चोकमा शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको स्थानीयले बताएका छन् । बम कसले विस्फोट गराएको भन्ने अहिलेसम्म खुलेको छैन ।

नेपाल बन्दको दिन आज देशैभर बम विस्फोटहरु भएका छन् । प्रहरी कार्यालयको नजिकै कावासोतीको बजारमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटपछि स्थानीय र प्रहरीको भीडभाड भएको छ । एक स्थानीयका अनुसार बम निकै शक्तिशाली पड्किएको बताइएको छ । विस्फोटबाट मानवीय क्षति भने नभएको बताइएको छ ।

विस्फोट भएसंगै अहिले उक्त क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । विप्लव नेतृत्वको नेकपाले कपिलवस्तु घटना लगत्तै देशभर कार्यकर्ता गिरफ्तारी र दमनको विरुद्ध भन्दै आजलाई नेपाल बन्दको घोषणा गरेको थियो । यता सरकारले भने मन्त्रीपरिषदको बैठक बसेर नेकपालाई प्रतिबन्ध लगाएको छ ।