दुई महिनामा ९ करोड ४४ लाखको तरकारी आयात

तरकारीको मुख्य सिजनमै कैलालीमा करोडौँ रुपैयाँको तरकारी भारतबाट आयात भएको छ । कैलाली तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । तर, कैलालीमा तरकारी उत्पादन हुने मुख्य सिजनमै  भारतबाट तरकारी आयात हुने गरेको तथ्यांक छ ।

यहाँको मुख्य त्रिनगर भन्सार नाकाबाट मंसिर र पुसमा मात्र करिब साढे नौ करोडको तरकारी आयात भएको छ । मंसिरमा ५ करोड २२ लाख ६५ हजार र पुसमा ४ करोड २१ लाख ९५ हजारको आलु, प्याज, टमाटर, बन्दा, काउली, खुर्सानी, फर्सीलगायत तरकारीहरू आयात भएको भन्सार कार्यालयको तथ्यांकमा छ ।

कैलालीमा वर्षे, हिउँदे र वसन्ते गरी ३ वटा सिजनमा वार्षिक करिब १० हजार हेक्टरमा तरकारी खेती गरिन्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हिउँदमा मात्र ५ हजार ३ सय हेक्टर क्षेत्रमा तरकारी खेती हुन्छ ।
अहिले आलु, टमाटर, बन्दा, काउली, खुर्सानी, फर्सीलगायत तरकारी उत्पादनको मुख्य सिजन हो ।

तरकारी उत्पादनको उर्वर जिल्ला भए पनि व्यावसायिक तरकारी खेती विस्तार हुन नसक्दा सिजनमा समेत यहाँका उपभोक्ता भारतीय तरकारीमा निर्भर हुने गरेका छन् । जिल्लाका हसुलिया, भजनी, लालबोझी, टीकापुरलगायत भारतसँग जोडिएका सीमानाबाट भारतीय तरकारी आयात हुने गरेको छ ।

मूल्य सस्तो
लागत मूल्य कम हुँदा यहाँको भन्दा सस्तो हुने भएकाले पनि कतिपय व्यापारीले बढी फाइदाका लागि सिजनमा पनि भारतीय तरकारी आयात गर्छन् । त्यसले गर्दा कैलालीमा उत्पादन हुने तरकारीले बजार र उचित मूल्य नपाउने समस्या रहेको कृषक बताउँछन् ।

सिजनमा यहाँ उत्पादन हुने तरकारीले धनगढी, अत्तरियालगायत मुख्य बजार क्षेत्रको माग धेरै हदसम्म पूर्ति गर्ने क्षमता राख्छ । तर, सस्तो हुने भएकाले व्यापारीले भारतीय तरकारी आयात गरेको अगुवा किसान रामप्रसाद चौधरीले बताए ।

अत्यधिक विषादी
भारतबाट आयात हुने तरकारीमा अत्यधिक विषादी प्रयोग र बासी हुने गरेको किसान नेत्र जोशी बताउँछन् । भारतबाट आयात हुने सस्तो तरकारी रोक्न सके यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउनुका साथै उपभोक्ताको स्वास्थ्यमा पनि प्रतिकूल असर नपर्ने उनी बताउँछन् । आयातलाई व्यवस्थित गर्न सके तरकारी खेतीको क्षेत्र फराकिलो हुने र यहीँ उत्पादन हुने तरकारीले यहाँको माग धान्न सक्ने उनले बताए ।

यहाँ तरकारी उत्पादन हुने मुख्य सिजनमा नेपाली उत्पादनलाई निरुत्साहित गर्न भारतीय व्यापारीले सस्तोमा पठाउने र बेमौसममा चर्को मूल्य असुल्ने गरेको किसानको गुनासो छ । क्वारेन्टाइन चेकजाँच गरेर मात्र तरकारीको आयात गर्नुपर्ने माग यहाँका किसानले गर्दै आएका छन् । हिउँदमा कैलालीमा उत्पादित तरकारी सुदूरपश्चिमका पहाडी जिल्लाका साथै न्यून मात्रामा सीमावर्ती भारतीय बजारमा पनि निर्यात हुनेगर्छ । वार्षिक मागको ७० प्रतिशत आपूर्ति जिल्लाको उत्पादनले गर्ने गरेको मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए ।

यो समाचार नयाँपत्रिकामा प्रकाशित छ ।