दसैँले विथोलेको ‘कमरेड’हरुको सांस्कृतिक चिन्तन

दसैंलाई सामाजिक एवम् पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने वा भेटघाट गर्ने अवसरको रुपमा मात्र लिनु सम्म त ठिकै हो तर “सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजय” का रूपमा नै दसैँमा टिका लगाएर, झोलमा लट्ठिएर, दक्षिणा लिएर तामझाम गर्नु र फेसबुकमा रोइलो गर्नु क्रान्तिकारीहरुका लागी सुहाउने बिषय हो ? मन्त्र पढेर अलौकिक संस्कार सिकाउनु कस्तो कम्युनिष्ट स्कूलिङ हो ?

-सुमन नेपाली
दसैंले धेरैको सांस्कृतिक चिन्तनलाई उजागार गरिदिएको छ । दसैंको टिका विहान ९ बजेर ५१ मिनेटमा तोकिएको थियो । झण्डै ९ः ५५ तिरबाटै सामाजिक सञ्जालहरु रंगिन थाले । सामाजिक सञ्जालमा फोटाहरु रंगिन थालेपछि विभिन्न टिकाटिप्पणीहरु सुरु भयो । खासगरी आफुलाई “बामपन्थी”, “कम्युनिष्ट” वा “क्रान्तिकारी” भन्नेहरुले निधारभरी टिका र जमरा लगाएर सामाजिक सञ्जालमा पोष्ट्याएपछि टिप्पणीहरु सुरु भयो ।

शीतल निवास र निर्मल निवासमा टिका थाप्नेहरुको भीड पनि उत्तिकै थियो । अझ रोचक पक्ष त के थियो भने “टिका थाप्न शीतल निवास भन्दा निर्मल निवासमा भीड” शीर्षकको समाचारहरु भाइरल बने । यसले शीतल निवासप्रतिको घट्दो विश्वास, निराशा, दिक्दारी र निर्मल निवासको भीडले देशमा थप प्रतिगमनको संकेत गर्दछ । शीतल निवासको भीडमा कम्युनिष्ट पार्टीबाट राष्ट्रपति बनेका स्वयं बिद्यादेवी भण्डारीदेखि कम्युनिष्ट प्रधानमन्त्री केपी ओली, जनयुद्ध लडेर आएका उपराष्ट्रपति नन्दबहादुर पुन, ईश्वर पोखरेल, कृष्णबहादुर महरा लगायत प्रायः आफुलाई कम्युनिष्ट बताउनेहरुको भीडभाड र तामझाम बढ्ता थियो ।

हिन्दु धर्मालम्बीहरुले दसैंमा टिका लगाउनु स्वभाविक छ । यहाँ उनीहरुको बारेमा टिप्पणी गर्न खोजिएको छैन, तर आफुलाई द्धन्द्धात्मक भौतिकवादको वैचारिक आदर्श मान्नेहरुको निधारमा पोतिएको रातो टिका, तामझाम र उनीको वैचारिक सांस्कृतिक दरिद्रताप्रति टिप्पणी गर्न खोजिएको हो ।

गतबर्ष जनयुद्धको नायक भनेर चिनिएका पुष्पकमल दाहालले टिका लगाएर तास खेलिरहेको फोटो सार्वजनिक भएको थियो । यद्यपी यो भन्दा अगाडी पुष्पकलम दाहालले गरेको भैसी पुजा, माधव नेपालले श्रीमति गायत्रीलाई खुट्टामा ढोगाएको, नारायणकाजी श्रेष्ठले गरेको बंगलामुखी पुजाअर्चना, पम्फा भुसाल र कृष्णबहादुर महराले पास्चरसंग शिरमा हात राखेर लिएको आशीर्वाद, हिसिला यमीले “माता” संग गरेका फोटो सेसन आदि प्रसंगले उनीहरुको सांस्कृतिक चिन्तनलाई अभिव्यक्त गरिसकेको छ । उहाँ उनीहरुका बारेमा समय खेर फाल्नु आवश्यक छैन ।

पछिल्लो पटक “क्रान्तिकारी” भन्ने नेता, कार्यकर्ताहरुमा दसैं वा पुराना चाडपर्वहरुवारे देखिएको बुझाई र उनीहरुको जीवनशैली साँच्चिकै उदेक लाग्दो छ । यसलाई दसैंले उदांगो पारिदिएको छ । संसदीय व्यवस्थाकै विरुद्ध लड्ने घोषणा पनि गर्ने तर उही पुरानो संसदीय व्यवस्थाको रक्षाकवज गरिरहेको संस्कृति मान्ने चिन्तन र जीवनशैलीले जनतालाई कस्तो संस्कृति सिकाउन खोजेको हो ? भन्ने प्रश्न उठेको छ । दसैंलाई सामाजिक एवम् पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने वा भेटघाट गर्ने अवसरको रुपमा मात्र लिनु सम्म त ठिकै हो तर “सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजय” का रूपमा नै दसैँमा टिका लगाएर, झोलमा लट्ठिएर, दक्षिणा लिएर तामझाम गर्नु र फेसबुकमा रोइलो गर्नु क्रान्तिकारीहरुका लागी सुहाउने बिषय हो ? मन्त्र पढेर अलौकिक संस्कार सिकाउनु कस्तो कम्युनिष्ट स्कूलिङ हो ? अझ रमाइलो कुरा त के भने राजाहरूलाई बडेमानको देखाउन गुथाउने गरेको बडा महाराजाधिराज शब्दको पगरी कथित ‘बडादसैँ’ को शुभकामना भन्दै सामाजिक सञ्जालका भित्ताहरु रङ्ग्गाउनु कस्तो क्रान्तिकारिता हो ? बुझिनसक्नु छ । यसको अर्थ टिका नलगाएर, दक्षिणा नलिएर मात्रै क्रान्तिकारी भइन्छ त ? त्यसो पनि पक्कै होइन ।

हामीले भन्दै आएको सांस्कृतिक रुपान्तरण पुरानो विचारधारा र संस्कृतिलाई विस्थापित गर्दै नयाँ विचारधारा र संस्कृतिलाई स्थापित गर्दै जानु हो । सामन्ती, पुँजीवादी तथा संशोधनवादी दृष्टिकोणका विरुद्ध सर्वहारा वर्गीय संस्कृतिको अबलम्बन गर्नु हो । अथवा सर्वहारा वर्गीय आदर्श, इमानदारिता र मालेमावादी सैद्धान्तिक प्रतिबद्धता नै आजको सांस्कृतिक आधार हो । कम्युनिष्ट समाज निर्माणका लागी नयाँ संस्कृतिको विकास गर्दै वैज्ञानिक समाजवाद र साम्यवादी समाज निर्माण गर्नु हो । यसको पथप्रदर्शक सिद्धान्त मालेमावाद अर्थात् ऐतिहासिक र द्धन्द्धात्मक भौतिकवाद हो । त्यहाँ पुग्ने अहिलेको नेपालको नयाँ क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति हो । हामीले भनेको यही हो । तर कम्युनिष्ट स्कूलिङबाट आएका नेता कार्यकर्ताहरु नै यो आदर्शबाट विचलित हुनु दुखद् पक्ष हो । यसले न त क्रान्तिको सेवा गर्छ, न त नयाँ संस्कृतिको विकास । यसले उपभोक्तावादी एवं दलाल पुँजीवादी संस्कृतिको रक्षा बाहेक अरु गर्दैन । त्यसकारण दसैं लगायत चाडपर्वहरु क्रान्तिकारीहरुको व्यवहार र जीवनशैलीको परिक्षा गर्ने अवसरको रुपमा विकसित हुँदै गइरहेको छ ।

दसैं के हो त ? केही होइन ? त्यसो पनि होइन । यो मूलतः किसानसंग जोडिएको चार्ड हो । किसानहरुले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा विश्राम गर्ने प्रचलनबाट विकसित भएको थियो । तर पछि दसैँलाई हिन्दू धर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो सत्ता रक्षाका लागी अलौकिक धर्मसंग जोडेर सामन्ती संस्कृतिको रुपमा विकास गरे । अथवा आफ्नो सत्ता रक्षाका लागी चाडपर्वलाई हतियार बनाए । त्यसपछि यो जुवा, तास, मादक पदार्थको अतिशय प्रयोग र झैझगडा, फजुल खर्च गर्न संस्कृतिको रुपमा विकास हुँदै गयो । वर्षभरि भोकभोकै बस्नुपर्ने अधिकांश मान्छेहरुका लागी यो दसैं होइन, अहिले दशा बनेर आएको छ । अहिले देश रस्सातालमा पुगेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको हिसावले देशको अवस्था भयावह छ । दिनदिनै हत्याहिंसा, लुटपाट, भ्रष्टाचार, महंगी, बलात्कारका घटना घटिरहेका छन् । वैदेशिक ऋण चुलिएको छ । सहिद, बेपत्ता परिवारको अवस्था दुर्दान्त छ । चारैतिर असन्तोष र आतंक छ । लाखौं नेपाली युवाहरु आधुनिक दासका रुपमा अरबका घाममा जलिरहेका छन् । मजदुर, सुकुम्बासीको अवस्था बेहाल छ । केही लोभीपापीहरु सत्तामा पुग्ने वित्तिकै विजयको दिन आउँछ ? यो होइन । त्यसकारण दसैँको एउटै मात्र सकारात्मक पक्ष छ–मानिससँगको भेटघाट र सम्बन्ध जोड्ने अवसर । यसले समान विचार र भावनाबाट सूत्रबद्ध बनाउने र सहअनुभूतिबाट एक दोस्रोलाई जोड्ने काम गर्छ । यो दसैँको सकारात्मक पक्ष हो ।

चाडवार्ड वा संस्कृतिहरु मानव समाज विकासको क्रममा सङ्घर्षबाट प्राप्त भएका हुन् । मानिसद्धारा उत्पादनका निम्नि गरिएका संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगका प्रक्रियामा प्राप्त उपलब्धि संस्कृति हो । यो हाम्रो समाजको राजनीति र अर्थतन्त्रको विचारधारात्मक प्रतिबिम्बन पनि हो । गोर्कीले यसलाई मानवीकृत दोस्रो प्रकृति भनेका छन् । हामीले सचेत प्रयत्नद्धारा नै सांस्कृतिक रुपान्तरणको पक्षमा भुमिका खेल्नुपर्दछ । लमजुङको डुराडाँडामा पण्डितहरुले हलो जोत्न थालेपछि ठूलो उथलपुथल ल्याएका थियो । कमरेड लेनिनले परम्परगत संस्कार संस्कृतिलाई जनपक्षीयकरण गर्दै जानुपर्नेमा जोड दिएका थिए । एकीकृत जनक्रान्तिले वैकल्पिक संस्कृतिमार्फत जनवादी संस्कृतिमा जोड दिएको छ । पार्टीको क्रान्तिकारी कार्यदिशालाई सांस्कृतिक कार्यदिशासंग परिपूरक बनाउँदै जानु आजको आवश्यकता हो । यस सन्दर्भमा कवि मोदनाथ मरहत्ताको कवितांश यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ–
हुम्लामा अक्षता नपाएर दशैं आएन
डोेल्पामा जीबनजल नगएर दशै भएन
प्रश्न मेरो मैलाइ
बालुवाटारको शुभकामनाले
बाजुराकी पुतली जुइसीको रोग मार्छ ?
दार्चुलाकी पार्वती बिष्टको भोक टार्छ ?
जलेस्वरमा कालाज्वरले थलिएका
ललन सदा तङ्ग्रिन्छ ?
कि कन्चन्पुरकी निर्मला बौरिन्छिन् ?
०००

PC-google.com