थकाली जातिको सङ्क्षिप्त अध्ययन

हरेक जनजातिको आफ्नो मूलथलो हुन्छ । थकालीहरूको मूलथलो थाक सातसय क्षेत्र हो जुन ठाउँ आजकाल मुस्ताङ जिल्लाको दक्षिण तर्फ पर्दछ । शंकरमान शेरचनका अनुसार थाक सातसयको सिमाना उत्तरमा काली वडा र धोनक्यू खोलाको शिर, धोसुमको डाँडा, दक्षिणमा चिमखोलाको धुरी, पूर्वमा पैरोथाप्लाको देउराली वाँदरजुँङ, तुरतुरे पानी र पश्चिममा सुरति चलाउने देउराली हो । 

– विजय सागर

विषय प्रवेश

श्रृङ्खलाबद्ध रूपमा रहेका हिमाल, पहाड र तराई एवं नदी–नाला, ताल–तलैयाहरूद्वारा सुशोभित हराभरा मनोरम देश नेपाल सदियौंदेखि विभिन्न जातजाति, भाषाभाषी, धर्म, कला र संस्कृति अंगालेका समूहहरूको आरक्षस्थल रहिआएको छ । नेपालका हिमाली क्षेत्र र पहाडका उत्तरी तथा मध्यभागमा बसोबास गर्ने आदिवासी जनजातिहरू विशेष गरेर हिमालपारि तिब्बतबाट आएका मंगोलमूलका जनजातिहरू हुन् । यही क्रममा थाक सातसय क्षेत्रमा बसोबास गर्ने थकाली जातिको अध्ययन सम्बन्धी यो लेख विभिन्न विद्वान् एवम् विद्वान् थकाली बन्धुहरूबाटै लेखिएका पुस्तक तथा लेखहरूका आधारमा तयार पारिएको छ । थोरै जनसङ्या भएर पनि देशको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक र साहित्यिक जगतमा राम्रैसँग उपस्थिति जनाउन सक्नु थकाली जातिको परिश्रम र मिलनसारिताको सुन्दर गरिमा हो ।

हरेक जनजातिको आफ्नो मूलथलो हुन्छ । थकालीहरूको मूलथलो थाक सातसय क्षेत्र हो जुन ठाउँ आजकाल मुस्ताङ जिल्लाको दक्षिण तर्फ पर्दछ । शंकरमान शेरचनका अनुसार थाक सातसयको सिमाना उत्तरमा काली वडा र धोनक्यू खोलाको शिर, धोसुमको डाँडा, दक्षिणमा चिमखोलाको धुरी, पूर्वमा पैरोथाप्लाको देउराली वाँदरजुँङ, तुरतुरे पानी र पश्चिममा सुरति चलाउने देउराली हो । यी ४ किल्ला क्षेत्रमा परापूर्वकालदेखि थाक सातसय (थाकखोला) को नामबाट १३ गाउँको १३ मुखियाको स्वायत्त पञ्चायतद्वारा स्वशासित थियो । स्थानीय प्रशासन चलाउन १३ गाउँलाई तीन टोलमा विभाजन गरिएको थियो । चट्टीटुप (एघार टोला) मा कोबाङ्, खन्ती, सौरू र टुकुचे गरी चार गाउँहरूका लागि तीन मुखिया पर्दछन् । प्हेटुप (आठटोल) मा लारजुङ, नाकुम्, भुरजुङकोट र नापुङकोट गरी चार गाउँहरू पर्दछन् । ढुटुप (६ टोला) मा धम्पू, टिटी, ताउलुङ, कुन्चो, लेते र घाँस गरी ६ गाउँहरू पर्दछन् । थाक सतसय क्षेत्रको पूर्वमा मनाङ जिल्ला, पश्चिममा म्याग्दी र डोल्पा जिल्लाहरू, उत्तरमा मुस्ताङ जिल्लाको मार्फा र दक्षिणमा म्याग्दी जिल्ला पर्दछ (भट्टचन, २०७० : १४१ – १४२) ।

थाक खोप्चेन भन्ने स्थानको विवरण जोङकाइ (ठिनी) मा पाइएका अभिलेखहरूबाट जानकारी गर्न सकिन्छ । थाक खोप्चेन भन्ने नाम कहिलेदेखि, कसरी रह्यो र यसको के महत्व छ भन्ने सन्दर्भमा केही प्रकाश पार्नु भन्दा अघि यसको भूत र वर्तमान नामको परिवर्तनमा परिचय दिनु सान्दर्भिक होला । थाक खोप्चेन भन्ने नाम सम्वत् १५८९ भन्दा अघिसम्म प्रचलित थियो । त्यसपछि थाक खोप्चेन भन्ने शब्दको प्रयोगमा केही परिवर्तन भई आएको कुरा देखिन्छ । वर्तमान समयमा थाक खोप्चेन भन्ने शब्दको प्रयोग हुँदैन । यस शब्दको स्थानमा थाक खोला भन्ने शब्द प्रचलनमा आएको देखिन्छ । थाक खोला भन्ने शब्दले कुनै प्राकृतिक खोलाको नाम हो भन्ने कुरामा निश्चित गर्न सकिन्छ । तर थाक खोला कहाँ छ भनी सम्बन्धित क्षेत्रमा खोजी गर्दा पाउन सकिंदैन । खोजीको सिलसिलामा वर्तमान टुकुचे वस्तीको नजीक पश्चिमोत्तरपट्टिबाट बगी आई कालीगण्डकीमा मिसिएको खोला हो भनी तर्क गर्न सकिन्छ । यस खोलालाई थापा खोला भनिन्छ । यस खोलाको उत्पत्तिका सम्बन्धमा आफ्नै प्राकृतिक इतिहास होला तर थापा खोला नामकरण कहिलेदेखि भयो भन्ने सन्दर्भमा करिब ३५७ वर्ष अगाडिदेखिको इतिहासलाई केलाउन जरूरी देखिन्छ । यस खोलाको इतिहास खास गरेर हंस राजा भन्ने तत्काल त्यस क्षेत्रका भूरेराजाको इतिहाससँग त्यस क्षेत्रका निवासीका भनाइमा सम्बन्धित भएको पाइन्छ । वर्तमान टुकुचे बजारदेखि माथि (जोमसोम तर्फ जाने) मूल बाटोबाट हेर्दा पत्थरद्वारा बनेको सानो गढीको जस्तो रूपमा देखिने भग्नावशेष रूप नै खास थाक खोप्चेन हो । यहाँ करिब ३५७ वर्ष पूर्व हंस राजा नामका व्यक्तिले भूरेराजाको रूपमा आफ्नो प्रभुत्व कायम गरे । यिनको साथमा एक जना थापा जातका प्रभावशाली व्यक्ति पनि आएका थिए । यिनको निवासस्थान पश्चिम थापा खोला भनिएका खोलाको आसपास सो निवासस्थानको भग्नावशेष वर्तमानमा पनि विद्यमान छ । उल्लिखित थापा सम्बन्धमा बूढा–पाकाका भनाइअनुसार हंस राजाका मन्त्री हुन् । थापा सिकारका सौखीन भएकाले सिकार जाँदा दुर्घटना भई मृत्यु भयो । कसैको भनाइ छ अरू मानिसद्वारा हत्या गरियो । कसैको भनाइमा सीमारक्षा गर्दाको समयमा शत्रुद्वारा मारिए भन्ने कुराको बयानका साथै थापाले थाक खोप्चेनको गौरव राखेकाले उनको नामबाट थापा खोला नाम रहेको हो भन्ने कुरा माथि उल्लिखित तीनवटै विचारमा पाइन्छ । यही थापा खोलाको नाम थापा शब्द अपभ्रंशको रूपमा थाक भई खोला जोडी थाक खोला भएको हो कि ? भन्ने सामान्य तर्क लिन सकिने अवस्था छ । तर यस सम्बन्धी अनुसन्धानमा अन्य सत्यताको नजिक धेरै पुराना अभिलेखमा थाक खोप्चेन भन्ने शब्दको प्रयोग भएको देखिएकोले उल्लेखित शब्दसँग जोडिएको “खोप्चेन” भन्ने शब्द हटाई थाक भन्ने शब्द मात्र लिई खोला भन्ने शब्द जोडी थाक खोला र यसमा बस्ने मानिसलाई थकाली शब्दको प्रयोग चलन चल्तीमा आयो (क्षेत्री, २०४४ : २३१ – २३४) ।

पौराणिक ग्रन्थ अनुसार थकाली जातिको इतिहासको सबैभन्दा बलियो आधार भनेको ह्रव    (पौराणिक ग्रन्थ) हो । यो ग्रन्थ थकाली जातिको ल्हफेव (बाह्रवर्षे मेला) पर्वमा मात्र थकाली जातिका चार पाँण्डेहरूबाट वाचन गर्ने गरिन्छ । यस ह्रव अनुसार श्रद्धेय पुर्खाहरू पश्चिमबाट पूर्वतिर आउने क्रममा च्योकी (गौचन) का पुर्खा अनि ऐरम्ले पताङ (दोहोरो धार भएको तरबार), साल्की (तुलाचन) का पुर्खा सम्लिेढेन सम्लिच्याङले नम्च्यातरी (बन्चरो र थेवे), ट्हिम्चन (शेरचन) का पुर्खा ढाक्पा क्हेल्चानले प्होइ (टुकटुके घन) र प्हुर्की (भट्टचन) का पुर्खा पाउकुतीले मिङ्तो (कुटो) र सबैले धनुषवाण लिएर प्राकृतिक सम्पदा, देवदेवीको वासस्थान भएको ठाउँ खोज गर्दै जुम्लाको सिंजा भन्ने ठाउँमा कृषि योग्य भूमि र अति रमणीय उपत्यकाको बीचमा ठूलो चन्दनको रूखको आड पारेर आफ्ना अस्त्रहरू सोही रूखको फेदमा राखी बिहान–बेलुकी धुपबत्ती बाली पूजाआजा गरेर चार पुर्खा त्यही ठाउँमा बसेको देखिन्छ । यस ठाउँमा थकाली जातिका पुर्खाहरू बसोबास गर्दा कृषि तथा पशुपालन व्यवसाय निकै राम्रो भएको थियो । त्यस ठाउँमा स्थानीय मानिसले चन्दनको रूख काटिदिएपछि रूखका चारवटा हाँगा मात्र बाँकी रहे र ती हाँगाहरू पनि विस्तारै सुक्दै गए । आखिरमा उत्तरतिर फर्किएको हाँगाबाट कालोचरा उत्पन्न भई फेदमा रहेको प्हुर्की (भट्टचन) को पुर्खा पाउकुतीले समातेको अस्त्र मिङ्तो छोएर उत्तरतिर कैलाश पर्वतको मानसरोवर देवस्थल तिर उडेको थकालीका चार पुर्खाले प्रत्यक्ष देखे । यसै गरी केही समय पश्चात् पूर्वतिर फर्किएको चन्दनको हाँगाबाट क्रमशः रातो, हरियो र सेतो चराहरूको उत्पत्ति भए र ती चराहरूले पनि क्रमशः च्योकी, साल्की र ट्हिम्चन पुर्खाका अस्त्रहरू छोएर पूर्वतिर उडेर धौलागिरि हिमालको शिखरमा पुगेको पुर्खाहरूले प्रत्यक्ष देखे । यसरी कालो, रातो, हरियो र सेतो चराहरूको उत्पत्ति हुनु र ती चराहरू क्रमशः उत्तर र पूर्व लागे पश्चात् पुर्खाहरूको कृषि र पशु व्यवसायमा ह्रास आउन थाल्यो । आ–आफ्नो अस्त्र र धनुषवाण लिएर कालो चरा उडेको दिशातिर पाउकुती र पूर्व धवलागिरि हिमालतिर अन्य तीन पुर्खा लागे । उत्तर र पूर्व लागेका पुर्खाहरू विभिन्न ठाउँ हुँदै आखिरमा म्हत्स्याङक्हयू     (चोखोपानी) मा भेट भएका थिए । म्हत्स्साङक्हयू प्राकृतिक सौन्दर्य र देवदेवीको वासस्थान भएको ठानी यसै चोखो पानीमा आफू  र आफ्ना अस्त्रहरू डुवाउँदा सफा भएको देखियो । केही समय पश्चात् पुर्खा पाउकुती धुपवत्ती नगरी सिकार खेल्न जंगलतिर पसे तर केही बेरमै मेघ गर्जन साथ पानी परेको कारण सिकार त के बाटो पत्ता लगाउन नसकी पाउकुती पुर्खा म्हरस्याङक्हयू फर्कन सकेनन् । तीन पुर्खा पाउकुती नफर्केमा शोकविह्वल हुँदै पूजा आजा गर्न थाले । यति गर्दा पनि नभएर तीनै जना पाउकुतीको खोजीमा दक्षिणतिर लागे । विभिन्न ठाउँ हुँदै फलाते पुगे । स्थानीय वासिन्दालाई देवभूमि जाने बाटो सोद्धा जताततै जाऊ भन्ने उत्तर पाएपछि त्यहाँबाट पहिलेकै बाटो फर्किए । यसरी सिकारको खोजीमा निस्केका पाउकुती पुर्खा र उनलाई खोज्न निस्किएका अन्य तीन पुर्खाको भेट सङिनग्हयूङिन (रूपले छहरा) भन्ने ठाउँमा भयो । त्यसपछि सबै पुर्खा सल्लाह गरी हावा, पानी, माटो, ढुङ्गा परीक्षण गर्दै हिँडे । यसै सन्दर्भमा सबै पुर्खाहरू प्होचोमा आउने क्रममा कालापानीको पानी तौल गर्दा अरू पानीको तुलनामा गह्रौंगो पाए र आ–आफ्ना अस्त्र पानीमा छुवाउँदै जाँदा पुर्खा सम्लिढेन सम्लिचाङको अस्त्र नम्च्यातरीलाई पानीले आकर्षण ग-यो । तत्पश्चात् पुर्खा सम्लिढेन सम्लिचाङको समूहले त्होचोमा बस्ने निर्णय ग¥यो । एवम् प्रकारले पुर्खा अनिऐरम्को समूह नर्खुङ सोम्पिस, पुर्खा ढाक्पा घेल्चनको समूह सलम व्यासी (कोबाङ) र पुर्खा पाउकुतीको समूह खन्ती नरसाङमा बसे । यसरी थकाली जातिका चार पुर्खा थासाङका यी ठाउँहरूमा बसोबास गरेका कारणले थकाली जातिको थाक सातसय थासाङलाई आफ्नो ऐतिहासिक मूल थातथलोको रूपमा मान्दै आएका छन् (शेरचन, २०७० : ६४) ।

थकाली शब्दको व्युत्पत्ति

कुनै पनि शब्दको व्युत्पत्ति कसरी भयो ? भन्ने सम्बन्धमा जिज्ञासा हुनु, तर्क वितर्क हुनु स्वभाविकै हो । अझ जातीय शब्दको व्युत्पत्ति सम्बन्धमा अझ टड्कारोरूपले जिज्ञासुहरूमा कौतुहुलता हुनु झनै स्वभाविकै हो । यसै सन्दर्भमा थकाली शब्दको व्युत्पत्ति बारेमा विद्वान्हरूका विभिन्न विचारहरू रहेका छन् –

थाक खोला क्षेत्रलाई पितृथलो मान्ने जातिलाई थकाली भनिएको देखिन्छ । थकालीहरू सिंजाली घरानाका ठकुरी हौं भन्ने दावी गर्दछन् । थाकको ठिनीमा बस्न आएका सिंजाका राजकुमार र ठिनीका स्थानीय महिलाबाट जन्मेका सन्तान थकालीका पूर्वज हुन् भन्ने गरिन्छ । ती पूर्वले थापा खोलाका किनारमा बस्ती बसालेकाले त्यस भेकका जनताले उनीहरूलाई थापाली भन्न लागे । त्यसैको परिवर्तित रूप थकाली भएको हो भन्ने अर्का थरि छन् । मुस्ताङ क्षेत्रमा बस्न पुगेका ठकुरीलाई उनीहरू ठकुरी वा थकाली भन्दथे । ठकुरीबाट थकुली अनि थकाली भएको तर्कमा दम छ (शर्मा, २०७१ : २६१) । थकालीहरूको मूलथलो मुस्ताङ जिल्लाको थाकखोला हो । थाकखोलामा बसोबास भएकै कारण यिनीहरूको थकाली नामकरण भएको हो (पाण्डेय, २०६१ : ३९) । मुस्ताङ जिल्लाको दक्षिणी भेगमा पर्ने थाक सातसय खोला क्षेत्रमा आदिकालदेखि बसोबास गर्दै आएका जनजातिलाई थकाली भनिन्छ (सामान्य ज्ञान, २०६३ : ५६) ।

थकाली भन्ने नाम थाकखोलाको थाक सातसय भन्ने कालीगण्डकी डोलको हिमाली भागको ठाउँसम्म गाँसिएको छ । हाल यो ठाउँ मुस्ताङ जिल्लामा पर्छ । तर कालान्तरमा जातको नाम नै थकाली भन्न थाल्यो । अनि क्रमशः व्यापारिक सफलताले गर्दा सम्पत्ति, इज्जत र प्रतिष्ठा कमाउन थालेपछि यो थकाली भन्ने नाम पन्छाउन कोसिस गरे पनि नसकिने गरी झन्झन् स्थायी रूपले प्रसिद्ध हुँदै गयो । नत्र उहिलेदेखि आपसमा कुरा गर्दा हाम्रो जातलाई तामाङ भन्ने चलन पनि बसेको हो । थकाली भाषाको हिसाबले भन्ने हो भने तामाङहरू भन्दा गुरूङ कुरासँग मिल्छ । तर धेरै कारणहरूले गर्दा थकालीहरू धार्मिक, सामाजिक तथा आर्थिक पृष्ठभूमि भएका आफ्नै गोडाको भरले उभिएको जात हुनाले थकाली शब्द नै ज्यादै चल्तीमा आइसकेको छ (विष्ट, २०७४ : ७५) । नेपालको मध्य पहाडी क्षेत्रमा विशेषगरी गण्डकी प्रस्रवण क्षेत्रको मुस्ताङ जिल्लामा रहेको थासाङ–कोवाङ उपत्यका भित्र मिलनसार जातिको चिनारीमा थकाली रहेका छन् । थासाङलाई पहिले थाक खोला र थाक सातसय भनिन्थ्यो । थाक भनेको फराकिलो उपत्यका हो । त्यहाँ बस्ने बासिन्दा थकाली भनिएका हुन् । मानवशास्त्रीहरूले थकालीलाई तामाङ भनी उल्लेख गरेको पाइन्छ (प्रभात, २०७० : २) ।

मुस्ताङ जिल्लाको थाक खोला क्षेत्रलाई पितृथलो मान्ने हुनाले यिनलाई थकाली भनिएको हो । तापनि यिनीहरू स्वयंले आफूलाई सिंजाली राजघरानाका ठकुरी हौं भन्ने दावी गर्छन । कुनै समय सिंजाका एक राजकुमार थाक खोला क्षेत्रको ठिनीमा बसोबास गर्न आएका थिए र त्यहाँकी एक ठिन्याल्नीपट्टिबाट जन्मेका सन्तान नै थकालीहरूका पूर्वज थिए भन्ने कथा प्रचलित छ । थकालीका यी पूर्वजले थापा खोलाको किनारमा बस्ती बसालेकाले तिनलाई वरिपरिका मानिसले थापाली भन्न लागे र यसैका परिवर्तित रूप थकाली हुन गएको अडकल गर्नेहरू पनि छन् (सूचना विभाग, २०३१ : ५२६) । टुकुचे गाउँ ककानी देवलको हाराहारी भित्तामा पर्खाल लगाएको भग्नावशेष देखिन्छ । हंसराजाको दरवार त्यहाँ थियो । राजाको मन्त्री एक जना थापा रहेछन् । सधै थापा मन्त्री राजाको दरवारमा विहान हाजिर भई साँझ फर्कंदा रहेछन् । थापा मन्त्रीको दरवार उर्सिङक्हाङमा थियो । यहाँ अद्यापि भग्नावशेष छंदैछ । थापा खोला आषाढ–श्रावणमा खुबै बढ्छ । उहिले सोही भेलले थापा मन्त्री र घोडा बगाई लगेछ । थापा मन्त्री बगाएकोले यस खोलाको नाम थापा खोला रहन गएको हो । यस नदीको पूर्वमा रहने जातिहरू थकाली भए (तुलाचन, २०४९ : ३) ।

हंस राजा र ङ्हीम रानी

प्रायजसो थकालीहरूले जुम्ला सिञ्जाका राजकुमार हंस राजा र ठीनीकी राजकुमारी ङ्हीम रानीका सन्तान भनी ठकुरी भएको दावी गर्दै आएका छन् । यो प्राककल्पलाई मोहनबहादुर मल्ल (१९७७) ले पुष्टि गरेका छन् । ॐकारप्रसाद गौचनले (२०३७) थाकमा हंस राजाको शासन थियो भन्ने प्रमाणका रूपमा चिम गाउँमा प्राप्त एउटा ऐतिहासिक महत्वको कागजको प्रतिलिपि खाङ्लोमा प्रकाशित गरेका छन् (भट्टचन, २०७० : १४५) ।

थाक खोप्चेन (थाक) का निवासी चारजात (शेरचन, गौचन, तुलाचन र भट्टचन) हरूका भनाइ अनुसार हंस राजा, उल्लिखित चार जातका थाक आउँदाका मूल पुरूष हुन् । यिनी जुम्लाको सिंजापतिबाट आए । यी ठकुरी जातिका हुन् । यिनले जोङकाइका राजा सोम्पे भन्नेकी छोरी ङिमा रानीसँग विवाह गरे । राजा सोम्पेको राज्य अन्तर्गतको वर्तमान घोचङघाङ, टुकुचेमाथिको पुलमा रहेको ढुङ्गामा बसी तलतिर हेर्दा आँखाले देखेसम्मको जमीन ङिमा रानीलाई दाइजोको रूपमा दिएका हुन् भनी भनिन्छ । यिनैका सन्तान वर्तमान खास थाक बस्ने चार जात थकाली हुन् । थाकमा आएका आदि पुरूष हंस राजा र ङिमा रानीका सन्तान हुनाले आफ्नो जाति र चलन व्यवहारका उत्पत्तिको वंशानुक्रम प्रारम्भ चर्चित राजा र रानीलाई आदि मूल पुरूषको रूपमा मान्दछन् । वर्तमान चारजात चनजातिहरूले जन्म–मरणादि संस्कार र अन्य शुभकार्यादिमा यिनै आदि पुरूष हंस राजा र ङिमा रानीको सर्वप्रथम नाम लिई कार्य प्रारम्भ गर्दछन् । जुनसुकै कार्य गर्दा पनि पश्चिम तर्फ फर्की गरिन्छ । पश्चिम फर्की कार्य गर्नाको तात्पर्य सम्बन्धमा सोधनी गर्दामा हंस राजा पश्चिम जुम्ला सिंजापतिबाट आएका हुनाले उनको सम्झनामा पुर्खाको आगमन भएको दिशा पश्चिमतर्फ फर्की गरिने चलन चलेको भन्ने तर्क दिन्छन् । सिंजापतिका राजखानदानका व्यक्ति थाकमा आएपछि राजाकी छोरी ङिमासँग विवाह गरे । उनी थाक खोप्चेनका राजा भएका र ठकुरी जातिका भएकाले नै नामको अगाडि चन भन्ने अक्षर परम्परादेखि राखिएको हो भन्ने कुरामा चार जाति चन, जसलाई थकाली पनि भनिन्छ, ले आफ्नो उपर्युक्त ऐतिहासिक पृष्ठभूमि देखाउँछन् । यस सम्बन्धको क्रमिक इतिहास कतै चार जात चन र जोङकाइ (ठिनी) का बासिन्दाहरूले उल्लिखित कुरामा समर्थन जनाउँछन् । कतिपय विदेशी र नेपाली लेखकहरूले पनि यसै कुरालाई समर्थन गरी आफ्ना  तर्कहरूद्वारा प्रमाणित गर्ने प्रयास पनि गरेको पाइन्छ । यस सम्बन्धी अनुसन्धानको सिलसिलामा प्राप्त भएसम्मका जोङकाइ (ठिनी) सम्बन्धी अभिलेख हेरिएमा थाक खोप्चेनमा हंस राजा र जोङकाइ (ठिनी) मा ङिमा रानी भन्ने महिला भएको पाइन्छ । यी दुवैको वैवाहिक सम्बन्धमा केही कुरा उल्लेख भएको पाइँदैन । यिनी जोङकाइ (ठिनी) का राजा सोम्पेकी छोरी हुन भन्ने पनि कर्तबाट पुष्टि हुन आउँदैन । जोङकाइ (ठिनी) राजा घेलथेकरचेन भएको समयमा ङिमा रानी र हंस राजा दुवैले राज्यको सीमा – विवादका सम्बन्धमा छलफल गरी सम्झौता गरेको कुरा उक्त अभिलेखमा पाइन्छ । यस अनुसार जोङकाइको तर्फबाट ङिमा रानी र थाक खोप्चेनको तर्फबाट हंस राजा सामेल भई सीमा सम्बन्धी छलफल गरी सम्झौता गरेको देखिन्छ । हंस राजा र ङिमा रानीको वैवाहिक सम्बन्ध भएको भए आफ्नो आफ्नो प्रदेशको प्रतिनिधित्व हुने थिएन, केवल आफ्नो प्रदेश तर्फको आफ्नै पक्षको प्रतिनिधित्व हुने थियो । यी सबै कारण र तत्काल समयमा जोङकाइमा राजा घेलथेकरचन भएकाले राजा सोम्पेकी छोरी भन्ने कुरा विवादास्पद देखिन आउँछ र यसको आधार पाइँदैन । यदि ङिमा रानी घेलथेकरचनकी छोरी हुन् र यिनले हंस राजालाई छोरी विवाह गरी दिई दाइजोको रूपमा जमीन दिएका भए नजीकको सम्बन्ध हुनाले दुवै तर्फबाट सीमा–विवाद उठ्ने पनि थिएन होला (क्षेत्री, २०४४ : २४० – २४२) ।

टुकुचे हिमाल धौलागिरि फेद, काली गण्डकीको तट, मनमस्तिसँग फिजिएर गंगाजीले बनाएको बगर पूर्व र पश्चिम उभिएका अग्ला पहाडहरूको बीचको यो खोंच थकालीहरूको मूल स्थल हो । मुस्ताङ जिल्लामा पर्ने थकालीहरूको यो ठाउँलाई थाकखोला वा थाक भनिन्छ । यसको पौराणिक सिमाना छैरो मुनिचउरदेखि दक्षिण कालीगण्डकीले बनाएको खोचै खोच घाँसासम्म मानिन्छ । यस स्थलमा थकालीहरूको राज्य थियो । थकाली सभ्यता यहाँ नै उदय भयो । थकाली भाषा, संस्कार, संस्कृतिदेखि लिएर एउटा पूर्ण सामाजिक जीवनपद्धतिको लागि चाहिने सम्पूर्ण अङ्गको उच्चतम र उत्कृष्ट विकास यहाँ नै भएको थियो । यस स्थलमा करिब ४०० बर्षअघि हंसराजा नामका प्रतापी राजाले राज्य गरेका थिए । यिनी पश्चिम नेपालमा पर्ने सिंजाबाट आएका हुन् भन्ने किंवदन्ती छ । सिंजापति कल्याण कोषले सम्बत् २०४२ सालमा सिंजापति वंशावली प्रकाशन गरेपछि छिमेकी राज्य थिङ राजाकी छोरीसँग विवाह गरेर स्थानीय संस्कार, भाषा र संस्कृतिमा बसे । थकाली संस्कार पितृ पूजक संस्कृति हो । त्यसैले थकालीहरूले संस्कार संस्कृतिका कार्य गर्दा शुभकामना वा आशीर्वाद दिनु पर्दा पितृहरूको नाम स्मरण गर्दछन् । खे हंसराजा मोम ङहीम रानी भनी कतिले पितृ स्मरण गर्ने गरिएको तथ्यलाई हेर्दा थकाली संस्कृतिमा हंसराजाको महत्वपूर्ण स्थान रहेको देखिन्छ । कति मान्छेले हंसराजालाई सुरूको पुर्खा हुन् र यिनैका सन्तान सम्पूर्ण थकाली हुन् पनि भनिन्छ । यस पक्षमा धेरै थकालीहरूको सहमति पनि देखिन्छ । नन्दबहादुर गौचन र माइकल भेण्डिङले कैलाश नामक अंग्रेजी पत्रिकामा ४ वटै ह्रवको अंग्रेजी रूपान्तर गरी प्रकाशन गर्दा शेरचनको ह्रवमा हंसराजालाई जोडी दिएका छन् । यिनलाई टुकुचेका राजा भनेका छन् । हंसराजाका ४ छोरी थिए । यी ४ छोरीहरू थाकवासी थाचन् ४ बाजेहरूले आफ्ना १/१ छोरासँग विवाह गरी दिए । त्यसबाट भएका सन्तान थकाली हुन् । हंसराजालाई शेरचनको ह्रवमा जोड्नु र थकाली हंसराजाको सन्तान भन्ने कुरा तथ्यसँग मेल खाँदैन । ४ वटै ह्रवमा हंसराजाको वर्णन कतै पाइन्न । तर गौचन र माइकल भेण्डिङ दुई जनाको कैलाशको प्रकाशनमा शेरचनको ह्रवमा हंसराजाको बर्णन गरिएको छ । वहाँहरूबाट विषयको रंग बदल्ने प्रयास भएको हो कि भन्ने तर्क छ (भट्टचन, २०४९ : ६८) ।

हंसराजा सिंजापतिबाट आएपछि ङिमा रानीसँग विवाह गरे भन्ने कुरा जोङकाइ (ठिनी) र चार चन जातिहरूले समर्थन गर्दछन् र यस कुराको प्रमाणित गर्दछन् । चार जात चनहरू खास गरेर पितृपूजक हुन् र यिनीहरूले पितृपूजा गर्दा सर्वप्रथम हंसराजा र ङिमा रानीलाई आदिपुरूष मानी सम्झन्छन् । उनको गौरव गाथा र यात्रा वर्णन गाउँछन् । यदि हंसराजा र ङिमा रानीको दाम्पत्य सम्बन्ध नभएका भए तिनीहरूले आदिपुर्खा हुन् भनी बीचमा नभएको सम्बन्ध जोड्नु पर्ने अवस्था नै किन प-यो ? भन्ने प्रश्न उठ्न सक्तछ । यस सम्बन्धमा अनुसन्धान गर्दा ह्रव अनुसार, वर्तमान चार जाति चनहरूका थाक आउने पहिला पुरूषमा सर्वप्रथम गौचनका पुर्खा अलानी ऐलेराम, तुलाचनका पुर्खा च्योसम, भट्टचनका पुर्खा पाउकुती र शेरचनका पुर्खा ढाक्पाघलेचन भएको देखिन्छ । यिनीहरू दुई समूह भई आएका थिए । ती दुई दलमध्ये ढाक्पाघेलचन आउँदा जोङकाइ (ठिनी) मा थामेसँग पौ नामका राजा र पाउकुती आउँदा ग्यालोथोमे नामक राजा थिए भन्ने कुरा सम्बन्धित ह्रवमा पाइन्छ । हंसराजा भन्ने मानिस आएको ह्रवबाट नदेखिएको र ङिमा रानी भन्ने महिलाको नाम उल्लेख नभएको, साथै रानी र स्थानीय भनाइ अनुसार यिनका बाबु सोम्पे नामक राजाको पनि उल्लेख भएको नदेखिएको, थाक आएका चार जात चनका आदिपुर्खा मध्ये कुनै हंसराजा नाम भएको र वैवाहिक सम्बन्ध भएको आधार पाइएन । हुन सक्छ चार जात चनहरूका पुर्खा आए पछि यिनीहरू थाक खोप्चेनको नावर कोट, कोबाङ, ताङलुङ आदि ठाउँमा बसे । पछि यिनीहरूका पुस्तामा प्रभावशाली हंस राजा भन्ने व्यक्ति भएका होलान् र ङिमा रानी भन्ने महिलासँग वैवाहिक सम्बन्ध भयो होला भन्ने कुरा चारजात चन र वर्तमान ठिनी निवासीहरूका कर्णपरम्परामा आधारित किंवदन्ती छ । चार जात चनका झाँक्रीद्वारा गरिने विभिन्न कार्यमा फलाक्ने हुनाले तर्कसम्मत मान्न सकिन्छ । जे होस, माथि उल्लिखित हंस राजाको समयमा जोङकोइ (ठिनी) मा घेलथेकरचेन राजा थिए । यस समयमा यहाँ ङिमा रानी भन्ने महिला थिइन् । यिनी कसरी छोरी हुन् भन्ने कुरा अभिलेखमा उल्लेख छैन । यिनको विवाह को सँग भयो, सो कुराको वर्णन पनि  पाइँदैन । यो समय भन्दा धेरै अगाडि चार जात चनहरूका माथि उल्लिखित नाम भएका पुर्खा थाकमा आएकाले यस समयदेखि नै थाक खोप्चेनमा यिनीहरूको प्रभुत्व भएको थियो भन्न कदापि सकिन्न । थाक खोप्चेनका हंसराजा चार जात चनहरूका सन्तान हुन् कि भन्ने शङ्कासम्म गर्न पनि माथि उल्लिखित कुराहरूका आधारमा सम्भव छैन (क्षेत्री, २०४४ : २४४ – २४५) । टुकुचेको करिब दुई किलोमिटर उत्तर र चिमाङ (२,७४० मिटर) को पश्चिममा मानिसहरूले केही चट्टान देखाए जसलाई उनीहरू थाक सातसय र पाँचगाउँको सीमा मान्दथे । हिमाल पार गर्ने काली गण्डकी उपत्यका साधारणतया चार क्षेत्रमा विभाजित छ जसमा (१) थाक सातसय – घासादेखि टुकुचेसम्म, (२) पाँचगाउँ – चियाङदेखि जोमसोमसम्म, (३) बाह्रगाउँ – लुब्रादेखि गोलिङसम्म र (४) मुस्ताङ वा लो गोलिङदेखि उत्तर रहेका छन् । यहाँका सम्पूर्ण क्षेत्रमा तिब्बती मूलका बासिन्दा बस्दछन् । बढी हिन्दुकरण भएका थाक सातसयका थकालीहरू आफूलाई उच्चदर्जाको मान्दछन् । तल्लो भेकका थाक सातसय र पाँचगाउँ दुई क्षेत्र बीच बढी भाषागत र साँस्कृतिक समानता पाइन्छ । उनीहरू बौद्ध धर्म अघिको बलियो अवशेषको रूपमा रहेको पुरानो सामाजिक तहको प्रतिनिधित्व गर्दछन् । थकालीहरूको वंशावलीमा उनीहरूका पुर्खा हंसराजा सिन्जाबाट बसाइँ सरेर आई ठिनी (पाँचगाउँ) की राजकुमारी न्यीमा रानीसँग बिहे गरेकाले घम्पुक्युदेखि दक्षिणपट्टिको जमिन उनले दाइजोमा पाएको कुरा उल्लेख छ (गुरूङ, २००९ : १६५) ।

पन्ध्रौं शताब्दी अगाडि थाक सातसय जुम्ला राज्य अन्तर्गत पर्दथ्यो भने पन्ध्रौं शताब्दीको आखिरी वि.सं. १५६८ देखि १५९३ भित्र पर्वतका राजा नागमल्लले पर्वत राज्य उत्तर तर्फ विस्तार गर्न र ठिनी व्यापार केन्द्र भएकोले कब्जामा पार्न जुम्लाका राजा मानशाहीसँग लामो समय लडाइँ गरी जुम्लालाई पराजित गरी कागवेनी, ठिनीक्षेत्र पर्वत राज्यमा गाभ्न सफल भएको पर्वत राज्यको ऐतिहासिक रूपरेखा (टेकबहादुर श्रेष्ठ) मा उल्लेख छ । यसरी पर्वत राज्यले कागवेनी, ठिनी, थाक सातसय सयौं वर्ष राज्य गरिरहेकै बेला वि.सं. १७६२ मा फेरि जुम्लाका राजा वीरभद्र शाही र पर्वतका राजा मलेवम मल्लले आ–आफ्नो राज्यको सीमा कायम गर्ने गरी कागवेनी, ठिनी क्षेत्र पर्वत मै पर्ने र कागवेनी उत्तरमा पर्ने मुक्तिनाथ र बाह्रगाउँ जुम्ला राज्यमा पर्ने गरी दुवै देशले सम्झौता गरेका थिए । वि.सं. १७७६ मा जुम्लाका राजा सुरथशाहीले वि.सं. १७६२ को सम्झौताको उल्लङ्घन गरी पर्वत राज्य भित्र पर्ने कागवेनी कब्जा गरी किल्ला जमाएका थिए । ठिनीमाथि पटकपटक आक्रमण गर्न थाले । उक्त कुरा पर्वतका राजा मलेवमले थाहा पाए पछि जुम्लाका सु्रथ शाहीसँग लडाइँ गर्न गोला बारूद, हात हतियार, ढाल, तरवार, छालाको तोप लगायत एक हजार सिपाही कागवेनी तर्फ पठाएका थिए । मुस्ताङी राजालाई जुम्ली सैनिकको पञ्जाबाट छुटाउन लद्दाखका जनरल ठुलठिम दोर्जेको सहयोगले र पर्वतका सैनिकहरू मिली जुम्लाका पाँचसय सिपाही एकै ठाउँमा मार्न सफल भएका थिए । पर्वत राज्यको जुम्लासँग यो दोस्रो पटकको लडाइँ थियो । दुवै लडाइँमा जुम्ला पराजित हुनु परेको थियो । कागवेनी र ठिनी पर्वत राज्यमै कायम भएका थिए । जुम्लाका ललितजङ्ग सिंजापतिको वंशावली वि.सं. २०४२ अनुसार उनको पुर्खा जसु शाही वि.सं. १७२५ हाराहारीमा देखा परेका छन् । जशु शाहीको जेठी श्रीमतीबाट चार भाइ छोरा – जेठा यदु शाही, माइला भैरव शाही, साहिँला रण शाही र कान्छा हंसराज शाही चार भाइ मध्ये कान्छा हंसराज सानै उमेरमा वि.सं. १७५०/६० को सेरोफेरोतिर मुक्तिनाथ आश्रममा धपाइएका थिए भनी वंशावलीमा उल्लेख गरिएको छ । थाक सातसय सोह्रौं शताब्दी भन्दा अगाडि पर्वत राज्यमा गाभिएको पर्वत राज्यको ऐतिहासिक रूपरेखामा उल्लेख छ । हंसराज थाक सातसयको राजा नभएको ठहर हुन  आउँछ । थाक सातसय भित्र हंसराजले राज्य गरेको लेख, अभिलेख, ढुङ्गो लेख, ताम्रपत्र कुनै पनि विद्वान्ले अझै सम्म भेट्टाउन सकेका छैनन् । तेह्रौं शताब्दीका ठिनीका राजा ग्याल्डोङ पो चेनका छोरी ङिहमरानी थिइन् । सत्रौं शताब्दी आखिरी तिर मुक्तिनाथ आउने हंसराजसँग विवाह भयो भनी कसरी भन्न सकिन्छ ? इतिहास अनुसार पाँच सय वर्ष फरक परेको देखिन आएको हुँदा हंसराज राजा नभई काल्पनिक राजा मात्र हुन् (भट्टचन, २०७२ : ४६ – ४७) ।

को हुन् थकाली ?

थाक खोलामा बसोबास गरेकै कारण थकाली हुन गएका थकालीहरू वास्तवमा को हुन् त ? जुम्लाबाट आएका ठकुरी राजाका छोरा हंसराज र जोङकाइ (ठिनी) का राजाकी छोरी ङिमा रानीसँग विवाह गरी जन्माइएका सन्तानहरू नै थकाली हुन् ? थाक खोला भेकका अन्य जातिहरू गुरूङ, मगर र तामाङहरूको अन्तर्जातिय वैवाहिक सम्बन्धबाट उत्पत्ति भएका वर्ण शंकर हुन् ? गुरूङले आफूलाई तमु र थकालीले आफूलाई तम्हाङ भनेबाट दुवै तमाङसँग सम्बन्धित हुन् ? पहिला यायावर जीवन विताउने पुर्खाहरू चीन, वर्मा र भारतको सङ्गमस्थलबाट पश्चिम तर्फ बसाइँ सरेर तिब्बत हुँदै नेपाल तर्फ लागेका किरातीहरूमध्ये एकका सन्तान हुन् ? हालसम्म अनुत्तरीत यी जिज्ञासाबारे विद्वान्हरूका तर्क प्रस्तुत गरिएका छन् ।

अहिलेसम्म भएका थकालीहरूको इतिहासको अध्ययन अनुसन्धानमा थकालीको पुर्खा को हुन् भन्ने सम्बन्धमा चार प्रकारका विवादहरू देखिन्छन् : (१) भोटे पुर्खाको प्राक्कल्पना (२) ठकुरी पुर्खाको प्राक्कल्पना (३) तामाङ पुर्खाको प्राक्कल्पना र (४) वर्णशङ्कर प्राक्कल्पना । धेरै जसो मानवशास्त्रीहरूले थकालीहरूको पुर्खा भोटबाट आएको धारणा व्यक्त गरेका छन् । उनीहरूले अगाडि सारेका प्रमाणहरू थकालीहरूको शारीरिक बनोट, भाषा र संस्कृतीकरण अथवा हिन्दुकरणको प्रयासहरूलाई आधार बनाएका छन् । अहिलेसम्म जैविकीय र प्रागैतिहासिक मानवशास्त्रीहरूले थकाली लगायत नेपालका कुनै पनि जाति जनजातिहरूका बारेमा अनुसन्धान गरेका छैनन् । यी विद्वान्हरूले तत्कालीन राजनीतिक आर्थिक पृष्ठभूमिलाई वास्ता नगरी थकालीहरूलाई सामाजिक स्थिति माथि उठाउन हिन्दु ठकुरीको प्रभाव व्यवस्थापनमा लागेको भन्ने आरोप र लाञ्छना लगाएर उनीहरूले हासिल गरेको आर्थिक समानतालाई रोक लगाउने बाहेक अरू कुनै नियत देखिँदैन । यसको प्रमाण सन् पचासको दसकमा जब मानवशास्त्रीहरूले थकालीहरूबारे अनुसन्धान गर्न चासो देखाए त्यस बखत थकाली सुब्बा हितमान शेरचन नेपालका राजपरिवार र राणाहरू पछि सबैभन्दा धनी व्यक्ति थिए । तर जति थकालीहरूका बारेमा लेखिँदै गयो उनीहरूको आर्थिक स्थिति अरूहरूको भन्दा तल पर्दैगयो । केही मानवशास्त्रीहरूले जुम्लाका राजाहरू पनि डोल्पा भेकका भोटे हुन सक्ने र पछि हिन्दु बनेका हुन सक्छन् भन्ने तर्क अघि सारेका छन् । यो कुरा प्रमाणित भएको खण्डमा थकालीहरूको शारीरिक बनोट र उनीहरूले दावी गर्दै आएको ठकुरी वंशका बीच मेल खानेछ । अन्यथा केही थकालीहरूले गर्दै आएको ठकुरी भएको दावी तत्कालीन हिन्दुकरण र संस्कृतीकरणको चरम अवस्थामा त्यसै तर्फ ढल्कने बाध्यताबाहेक अन्यथा केही देखिँदैन । थकालीहरूको पुर्खा तामाङहरू हो भन्ने अर्को प्राक्कल्पना अगाडि सारिएको छ । यसको प्रमाण थकालीहरूले आफूले तम्हाङ भन्ने र थकाली भाषा र तामाङ भाषा धेरै मिल्दोजुल्दो भएको बताइन्छ । डा. हर्क गुरूङ (२०४९) ले पनि गुरूङलाई तमु र थकालीलाई तम्हाङ भनेबाट दुवैको तामाङसँग सम्बन्ध भएको कुरा व्यक्त गर्नु भएको छ । नरसिंह भक्त तुलाचन (१९७६) ले थकालीहरू थाकखोला भेकका अन्य जनजातिहरू खास गरेर भोटे, मगर र तामाङहरूसँगको अन्तरजातीय वैवाहिक सम्बन्धबाट सृजना भएको वर्णशङ्कर भएको विचार व्यक्त गरेका छन् । डेनिस मानवशास्त्री माइकल भिण्डिङले थकालीका पुर्खाहरू चीन, वर्मा र भारतको सङ्गमस्थलबाट पश्चिम तर्फ बसाइँ सरेर तिब्बत हुँदै नेपाल तर्फ लागेका किरातीहरूमध्येका एक हुन् भन्ने विचार अघि सारेका छन् । माथि उल्लेख गरिए जस्तै पुरातात्विक प्रमाणहरू सबै पत्ता लागि सकेपछि थकाली र मुस्ताङमा विगतमा बसोबास गरेका सबै जनजातिहरूको इतिहास अरू प्रष्ट  हुनेछ । त्यसैले माथि उल्लिखित केही प्राक्कल्पनाहरू प्रामाणिक रूपमा गलत साबित हुन सक्नेछ (भट्टचन, २०७० : १४४ – १४६) । उहिलेदेखि आपसमा कुरा गर्दा थकाली जातलाई तामाङ भन्ने चलन पनि बसेको हो । थकाली भाषाको हिसाबले भन्ने हो भने तामाङहरू भन्दा गुरूङ – कुरासँग मिल्छ । तर धेरै कारणहरूले गर्दा थकालीहरू धार्मिक, सामाजिक जात हुनाले थकाली शब्द नै ज्यादै चल्तीमा आइसकेको छ (विष्ट, २०७४ : ७५) । यिनीहरू तामाङ नै हुन् । यिनीहरूको भाषा छ जसलाई टिबेटोबर्मन परिवारको भाषा भनिन्छ । यिनीहरूले बोल्ने भाषा तामाङ र गुरूङसँग मिल्दो जुल्दो छ (पाण्डेय, २०६१ : ३९) । थकाली जीवनदर्शनमा कलम चलाउने नेपाली विद्वान् – ओमप्रसाद गौचन, डोरबहादुर विष्ट, मोहनबहादुर मल्ल, हर्क गुरूङ, प्रयागराज शर्मा, प्रेमकुमार खत्री, जनकलाल शर्मा, नरसिंहभक्त तुलाचन, रमेश ढुङ्गेल, कृष्णबहादुर भट्टचन र जगमान गुरूङहरूले पनि थकाली लोक जीवनको विवेचना गर्दा अनेकौं समरूपता र विशेषता उल्लेख गर्दै उनीहरूका बारेमा विभिन्न मत व्यक्त गरेको पाइन्छ । मल्ल र गौचनले मिश्रित जातिको रूपमा हंसराजा र ङिहम रानीको सन्तान भन्ने धारणा अघि सारेका छन् । तर थकालीको मूल ग्रन्थ ह्रवमा हंसराजाको सन्दर्भमा कहीं पनि उल्लेख नहुँदा हंसराजाको सन्तान भन्ने धारणा इतिहास सम्मत देखिन्न (प्रभात, २०७० : २) । थकालीहरूको परम्परागत स्योपन लव ‘कुमार जात्रा’ संस्कार सम्पन्न गर्दा ५ वर्षदेखि १३ वर्षसम्मका किशोरहरूलाई शिरमा पगरी पहिराई ढाल, तरवार, धनुषवाण भिराई र घोडामा चढाई युद्धकलाको प्रशिक्षण दिने परम्परा रहेको छ । यस परम्परालाई हेर्दा राजपुतहरूको आनीवानी झल्किन्छ । तर अर्को तर्फ थकाली जातिको अमूल्यनिधि “ह्रप” वंशगाथा हंसराज बारे मौन रहनु, थकालीहरू पितृपूजक, झाँक्री मतालम्बी हुनु, शारीरिक बनोट किरातीहरूसँग ठ्याम्म मेल खानु, थकाली भाषालाई भाषाविद्हरूले भोट – बर्मेली भाषा समूहमा राख्नु, थकाली भाषा तामाङ, गुरूङ, छन्त्याल आदिको भाषासँग ज्यादै मिल्नुबाट थकाली जातिमा विभिन्न जातिको सम्मिश्रण भएको छ भन्ने निक्र्यौल निकाल्न सकिन्छ (भट्टचन – खुनारा, २०७० : ३५) ।

थकालीहरू हंसराजाका सन्तान हुन् अथवा अरू कुनै सम्बन्ध छ कि छैन भन्ने सवालको अनुसन्धान गरी थकाली समाजमा यत्रो विवाद त्याएको यो सवालको सही जवाफ पाउने भरमग्दुर प्रयास निष्पक्ष एवं पूर्वाग्रहरहित तवरले हुनुपर्छ । यसको उद्देश्य यो विश्वासलाई गलत नै प्रमाणित गर्नु पर्छ भन्ने पनि हुनु हुँदैन । यसको उद्देश्य वास्तविक तथ्य पत्ता लगाउने हुनुपर्छ । यस्तो अनुसन्धानको परिणामले थकाली समाजलाई कस्तो असर पार्ला ? यो प्रतिवेदनले जुम्लाको सिंजाबाट आएका शतप्रतिशत आर्यमूलका झर्रा ठकुरीका सन्तान थकालीहरू रहेछन् भनेर प्रमाणित गरे पनि शुद्ध ठकुरी भएको प्रमाण पुग्ने छैन र हंस राजासँग कुनै सम्बन्ध नदेखिए पनि शतप्रतिशत मंगोलमूलका प्रमाणित हुने छैनन्ं । वास्तविक मूल के रहेछ भन्ने कुरा पत्ता लाग्नेछ तर हामी थकाली थियौं, थकाली छौं र थकाली नै रहने छौं । यसै तथ्यमा गर्व गर्न हामीले सिक्नु परेको छ । हंसराजा हाम्रा पूर्वज भन्ने प्रमाणित भएछ भने हामी उनका सन्तान रहेछौं भन्न मिल्छ । तर ठकुरी भन्न मिल्दैन किनभने ठकुरीहरू आर्यमूलका राजपूतहरू नै हुन् । नेपालमा ठकुरी वर्ण शङ्कर छन् वा जनै नलगाउने छन् भने त्यो हाम्रो चासोको विषय होइन । थकालीहरूमा यति मंगोल रगत छ कि आर्य नश्लको भनेर दावी गर्नु अति हास्यास्पद हुन जान्छ । नेप्टे नाक र “स्टहल्मी” आँखा नभएको हुनाले मात्र आर्यमूलको भनेर भनाउन पाए हुन्थ्यो भन्ने केही थकालीहरू छन् । उनीहरूले के बुझ्नु पर्छ भने नाक र आँखाले मात्र आर्यमूल देखाउँदैन । अनुहारको आकारले नै मंगोल रूप देखाउँछ । हामी मंगोल समूहमा छौं भनेर हीनत्वबोध हुनु पर्ने कुनै कारण छैन । सन् १९५४ मा युनेस्कोले मान्छेको छालाको रंग र अनुहारको आकारको आधारमा संसारका मानव समूहलाई मुख्यतः तीन समूहमा विभाजित गरेको छ । कालो छाला, बाक्लो ओंठ, घुमरिएको केश हुनेहरू (सबै काला पर्दैनन्) लाई निग्रो, चिम्से आँखा, थोप्चे नाक हुनेहरू मंगोल र सामान्यतया गोरो छाला (आर्य मूलमा भारतीयहरू पनि यस समूहमा पर्छन, खैरा ककेशियन भनिन्छन् र हिटलरले आर्य शब्दलाई यूरोपमा बढी प्रचारमा ल्याएका हुन) लामो नाक र ठूला आँखा हुनेहरूलाई ककेशियन समूह । भगवान् मैले परिवर्तन गर्न सक्ने चिजलाई परिवर्तन गर्न सक्दछु, गर्न नसक्ने भए त्यसलाई स्वीकार गर्ने शक्ति र यी दुई बीचको अन्तर छुट्याउन सक्ने बुद्धि देऊ । यो मन्त्रलाई थकालीहरूले मनन गर्नुपर्ने आवयकता छ । किनभने हामी मंगोल समूहका हौं भन्ने कुरा परिवर्तन गर्न नसक्ने तथ्य स्वीकार गर्ने शक्ति हामीहरूले विकास गर्नु परेको छ (गौचन, २०४९ : १७ – १८) ।

थकाली को हुन् त ? भन्ने बारे जुन चासोको विषय छ, थकाली जातिको पौराणिक ‘ह्रव’ वंशगाथामा पनि चारै चनको पुर्खाहरूको नाम स्पष्ट उल्लेख गरिएको छ । परापूर्वकालदेखि नै जो थकाली समुदायले हरेक १२ – १२ वर्षमा श्रद्धापूर्वक ल्ह फेव पर्व मान्दै आइरहेका छन् । थकाली जातिको ‘ह्रव’ पौराणिक धार्मिक वंशगाथा भएका कारणले मान्न कर लाग्छ । यी सबै आधारमा थकालीको मूलवंश मंगोल भित्रको एक हाँगा हो भन्ने कुरा प्रमाणित हुन आउँछ । एउटा वास्तविक कुरा थकाली समुदायमा (आर्यन) हंसराजाका छोरी मात्र थिए, निःसन्तान थिए भन्ने कुरा दस्तावेजहरूका आधारमा हंसराजको सन्तान थकाली हुन् भन्ने कुरा कतै जोड्न खोजिएको छ । त्यो निराधार र हास्यास्पद सिवाय केही हुँदैन । अर्को कुरा हंसराजाको थाक आगमन १५ – १६ औं शताब्दी देखिन्छ भने थकाली पुर्खाहरूको आगमन ५ – ६ औं शताब्दीको हाराहारीमा आगमन भएको समुदायको ऐतिहासिक सम्पदाले बताउँछ (तुलाचन, २०७३ : ७) ।८

पंक्तिकारको विचारमा पनि नेपालका आदिवासी जनजातिहरूमध्ये मगर, थारू, तामाङ, नेवार, किरात, गुरूङ, थकाली जातिका पूर्वजहरू सबै मंगोल जातिका हुन् । यायावर जीवन विताउने तिनीहरू सुव्यवस्थित स्थानको खोजीमा नेपालको उत्तरी बाटो भई नेपाल प्रवेश गर्दा कालीगण्डकीको किनारै किनार मुस्ताङ भएर आउनेहरूको डफ्फाहरू मध्येबाट सानासाना समूह मुस्ताङ क्षेत्रमै बसे र जातीय समूह बनाई बसेका तिनै स्थानीय मगर, तामाङ र गुरूङहरूकै समीश्रण थकाली हुन् ।

माथि उद्धृत गरिएका विभिन्न विद्वान्हरूका विचारहरू मनन गरिसकेपछि पंक्तिकारका धारणाहरू पनि यहाँ प्रस्तुत छन् –

(१) जुम्लाको इतिहास पल्टाउँदा हंसराजा जुम्लाका कुन राजाका सन्तान हुन् र उनी कहिले जुम्लाबाट कुन उद्देयले थाक खोप्चेन आए ? कहिं कतै उल्लेख भएको भेटिंदैन । त्यसैले ऐतिहासिक आधार विना थकालीहरू हंस राजाका सन्तान हुन् भनी विश्वास गर्ने आधार छैन ।

(२)  हंस राजा जुम्लाबाट आएर ङिमा रानीसँग विवाह गरे भनी लेख्ने विद्वान्हरूबाट पनि हंस राजा जुम्लाका फलाना राजाका सन्तान थिए । उनी फलाना समयमा थाक खोप्चेन आएर थाक खोप्चेनका तत्कालीन भूरे राजा फलानालाई हराई थाक खोप्चेनका राजा भएका थिए भनी किटानी घटना विवरण दिइएको छ्रैन । ङिमा रानीसँग फलाना समयमा वैवाहिक सम्बन्ध कायम गरे भन्ने ऐतिहासिक प्रमाण पनि उल्लेख गरिएको छैन । ऐतिहासिक प्रमाण विना किंवदन्तीहरूलाई आधार मानेर थकालीहरू हंस राजाका सन्तान हुन भनी स्वीकार गर्न मिल्ने अवस्था छैन ।

(३)  तर हंस राजा नाम भएका ठकुरी कुनै समयमा थाक खोप्चेनमा आएकै हैनन् र उनले ङिमा रानी नाम भएकी कुनै युवतीसँग वैवाहिक सम्बन्ध कायम गरेकै छ्रैनन् भनी ठोकुवा गर्ने ठाउँ पनि छैन । किनभने योगेन्द्रमान भट्टचन अनुसार – “जुम्ला ललितजंग सिंजापतिको वंशावली (२०४२) अनुसार वहाँको पुर्खा जशु शाही समकालीन वि.सं. १७२५ हाराहारीमा देखाइएको छ । जसमा जशु शाहीको जेठी श्रीमतीबाट चारभाइ छोरा – जेठा यदु शाही, माइलो भैरव शाही, साँहिलो रण शाही र कान्छा हंसराज शाही चार भाइमध्ये कान्छा हंसराज सानै उमेरमा १७५०/६० को सेरोफेरोतिर मुक्तिनाथ आश्रममा धपाइएका थिए भनी वंशावलीमा उल्लेख गरिएको छ (भट्टचन, २०७२ : ४७) । यिनै हंसराजले थकाली संस्कार संस्कृतिमा रही ङिमा रानी नाम गरेकी कुनै थकाली युवतीसँग विवाह गरी सन्तान उत्पत्ति गरे होलान् । तर ती सन्तानहरू थाक सातसयका सम्पूर्ण थकालीहरू हुन् भनी विश्वास गर्ने आधार छैन ।

(४)  थकालीहरू पितृपूजक भएका र पश्चिम सिंजाबाट थाक आएका आदिपुरूष हंस राजा र ठिनीको राजकुमारी ङिमा रानीका सन्तान भएका हुनाले चार चन थकालीहरू आदि पुरूष हंस राजाको सम्झना र सम्मानमा हरेक शुभकार्यहरू पश्चिम फर्केर गरिने चलन चलेको हो भनी केही विद्वान् थकालीहरूका विचार छन् । यस सम्बन्धमा –

थकाली जातिको सबैभन्दा बलियो आधार “ह्रव” (पौराणिक वंशगाथा) हो । “ह्रव” मा हंस राजाको नाम कहिँ कतै उल्लेख छैन । तर “ह्रव” अनुसार थकाली जातिका श्रद्धेय पुर्खाहरू – (१) च्योकी (गौचन) का पुर्खा अनि ऐरम, (२) साल्की (तुलाचन) का पुर्खा सम्लिढेन सम्लिच्याङ (३) ट्हिम्चन (शेरचन) का पुर्खा ढाक्पा क्हेल्चनले र (४) प्युर्की (भट्टचन) का पुर्खा पाउकुतीहरू पश्चिमबाट पूर्वतिर आउने क्रममा जुम्लाको सिंजा भन्ने ठाउँमा बसेका र त्यहाँबाट कालोचरा उडेको उत्तर तर्फ पाउकुती र रातो, हरियो र सेतो चरा उडेको पूर्व तर्फ अन्य तीन पुर्खाहरू लागे । केही समय पश्चात् चारै पुर्खा म्हरस्याङक्हयू (चोखोपानी) मा भेट भए । केही समय त्यस ठाउँमा पाउकुती सिकार खेल्न जंगल पसे । धेरै समय कुर्दा पनि पाउकुती नफर्केपछि तीन पुर्खा पाउकुतीको खोजीमा दक्षिण तर्फ लागे । यसरी धेरै हण्डर पाएपछि तीन पुर्खा र पाउकुतीको भेट रूप्से छहरामा भयो । यसै सन्दर्भमा इन्द्रबहादुर तुलाचनका अनुसार – आदिमकालमा भट्टचन थरका देवता ह्यावा हृाङग्जूङ, तुलाचन थरका ल्ह छिरिङग्यल्मो, गौचन थरका ल्ह लाङवा न्हूर्वू, शेरचन थरका ल्ह घाङला सिन्की कर्वो हुन् । दक्षिणतिर ल्ह छिरिङग्यल्मो, ल्ह लाङवा न्हूर्वू, घाङला सिन्की कर्वो बसोबासको ठाउँ हेर्न गए । भट्टचन थरका ल्ह ह्यावा हृाङग्ज्यूङ तिब्बत गए । दक्षिणतिर गएका देवताहरूले सिखको फलाँटे फाँटमा पुगेपछि ए दाज्यू ! नेपाल जाने बाटो कता हो भनी सोद्धा बाटैबाटो जाऊ भने छन् । यसरी देवताहरू सिस्नु घारीमा परिपोलिएछन् । देवताहरूले त्यस भेगका व्यक्तिहरूलाई सिस्नुकै खाना, सिस्नुकै वस्तु लगाउनु परोस भनी श्राप दिएछन् । ४८ (वि.सं. २००१) वर्ष अगाडिसम्म १२ वर्षे मेलामा त्यस भेगका नरनारीहरू १२ वर्षे देउता निकाल्दा धूपवत्ती अक्षताले पूजा गरी हे भगवान् ! श्राप फुक्का गरी द्यौ भन्न आउँथे । भट्टचन थरका देवता हृयावा¥हाङज्यूङ र तीन देवताको भेट रूप्से छहरामा भयो । अब तल जानु ठीक छैन माथि फर्कौं भनी फर्केर गौचनहरू नाउरीकोटमा, तुलाचनहरू नरसाङमा शेरचनहरू कोबाङमा र भट्टचनहरू सन्तीमा बसोबास गरेछन् (तुलाचन,२०४२ : ३) ।

यसरी चार चन थकालीका पुर्खाहरू पश्चिमबाट जुम्ला सिंजापति हुँदै थासाङ आइपुगेर थासाङका विभिन्न क्षेत्रमा बसोबास गरेका हुनाले उनीहरू पछिका पुस्ताहरूले यिनै पुस्ताहरूलाई देवताका रूपमा स्वीकार गरी सम्झना तथा सम्मान स्वरूप पश्चिम फर्की सबै प्रकारका पूजाआजा गर्ने परम्परा रहिआएकोमा पछि हंस राजाको नाम जोडिन आई पुगेको अनुमान सजिलै लगाउन सकिन्छ ।

यसरी विभिन्न विद्वान्हरू समेतको विचारहरूलाई मनन गर्ने हो भने चार जना थकालीका महान पुर्खाहरू पश्चिम बाटै आएका हुन भन्नेमा कुनै विमती हुन सक्दैन । तर चार चन थकालीहरू हंस राजा र ङिमा रानीका सन्तान हुन भन्ने तर्कलाई एक छिन स्वीकार गर्ने हो भने पनि एउटा अनुत्तरीत विकराल प्रश्न खडा हुन्छ – यदि हंस राजा र ङिमा रानीका सन्तान यी चार चन थकालीहरू हुन भने सुरुदेखि यिनीहरूका आपसमा विहावारी नचल्नु पर्ने हो । कसरी चलिरहेछ ?

माथि थकाली को हुन त ? भन्ने सम्बन्धमा विभिन्न विचारहरू, मन्थनहरू पढयौ, मनन ग-यौं । अब अझ गहिरिएर थकालीहरू को हुन ? भन्ने विषयमा अनुसन्धान हुनु पर्ने आवश्यकता तड्कारो रूपमा देखा परेको छ ।

थर–गोत्र

हरेक जात जातिका आ–आफ्ना थर गोत्रहरू हुन्छन् । थासाङ थाक सातसयका थकाली जाति चार चन भित्र पनि आ–आफ्ना थर गोत्रहरू छन् । थकाली जाति नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये एक हो । थकाली सेवा समिति नेपालको विधान २०४९ (प्रथम संशोधन, २०६३) तथा सामाजिक नियमावली (मूल वन्देज २०६३) अनुसार थकाली भन्नाले थकालीहरूको संस्कृति, संस्कार र जीवनपद्वति बमोजिम क्यहूले स्वीकार गरेका च्योकी (गौचन), साल्की (तुलाचन), ट्हिम्चन (शेरचन) र प्हुर्की (भट्टचन) चार प्ह्याहरू (थर) लाई जनाउँछ र यी ४ प्ह्या भित्र जम्मा ३८ क्ह्यूहरू (गोत्र) छन् । मुस्ताङ जिल्लाको दक्षिणी भू भाग थासाङ (थाक सातसय वा थाक खोला) थकाली आदिवासी जनजातिको मुख्य थात थलो अथवा परम्परागत भौगोलिक क्षेत्र हो । थकाली जातिले आफूलाई ४ बाजेका सन्तानको रूपमा मान्दै आएका छन् (शेरचन, २०७० :६३) ।

वर्तमान चार चनको प्ह्या यस प्रकार छ –

१.  गौचनको प्ह्या (गोत्र) निम्न प्रकारले विभाजन गरिएको छ

(क) तनाङ फोपे, (ख) घोचेतन, (ग) भलयतन, (घ) लम फोपे (लामा खलक), (ङ) दोम फोपे (झाँक्री खलक) ।

२.  शेरचन प्ह्या (गोत्र) निम्न प्रकारमा विभाजित गरिएको छ

(क) ल्हवाङ घुम्मी, (ख) भरधुगी, (ग) यम्वरधुपा, (घ) नीर्जे फोपे, (ङ) नर्जे फोपे, (च) ढोम फोपे (झाँक्री खलक) ।

३.  तुलाचन प्ह्या (गोत्र) निम्न प्रकार विभाजन छ

(क) लामा फोपे, (ख) शाल्की फोपे, (ग) ढेम फोपे (झाँक्री खलक) हो, यसको सन्तान छैन ।

४.  भट्टचन प्ह्या (गोत्र) निम्न रूपले विभाजित गरिएको पाइएको छ

  एक भाइको सन्तान –

(क) ङाहच्याङमिर्धि, (ख) छामिर्धि, (ग) टेफ पलसाङ मिर्धि

अर्को भाइका सन्तानको –

(क) भराधोर्छे, (ख) म्हिचेन भ्युपा, (ग) खुनरा, (घ) पोड, (ङ) लमफोपे (लामा खलक), (च) ध्याम्तेन, (छ) ढोम फोपे (झाँक्री खलक) हो, अपुताली प-यो ।

माथि उल्लिखित प्ह्या (गोत्र) बाट पुनः ध्यू (गोत्र) उपगोत्रमा विभाजित छ । यो “ध्यू” (गोत्र वा वर्ग) मा रूखका हाँगा, फलफूल आदिको नामद्वारा पनि गोत्रकरण गरेको पाइन्छ (क्षेत्री, २०४४ : ३२७) ।

वि.सं. १९०३ मा कोतपर्व जस्तो भीषण हत्याकाण्डमा राणाशासनको सुरूवात नेपालमा भयो । भण्डारखाल पर्व, अलौपर्व जस्ता पर्वहरूद्वारा जंगबहादुर ज्यादै शक्तिशाली बने । वैदेशिक रूपमा पनि शक्तिशाली बन्न उनले वि.सं. १९१२ – १३ मा तिब्बतमा आक्रमण गरी त्यहाँ नेपालको वर्चश्व कायम गरे । यसै युद्धमा मुस्ताङ तर्फको मोर्चामा कालु थकालीले धेरै योग्यता देखाएकाले जंगबहादुरले उनलाई सुब्बा पदवी दिनुका साथै उनको वीरताको प्रशंसामा उनको नाम नै बलवीर थकाली राखे । यहींबाट राणा दरवारसँग उनी र उनका वंशजको, केही अन्य थकालीको हिमचिम बढ्यो । शक्तिकेन्द्रको कृपाबाट थकालीहरूले भन्सारको ठेक्का, तामा खानीको ठेक्का प्राप्त गरी सम्पन्नशाली बन्ने अवसर पाए भने हिमाल पारिको व्यापारमा थकालीको प्रतिद्वन्दी कोही पनि रहेनन् । भन्सार असुली नून र अन्न सटहीको केन्द्र टुक्चे सानोसानो सहरकै रूपमा विकसित हुन पुग्यो साथै थकाली जातिको सभ्यताको केन्द्र, नवजागृतिको केन्द्र बन्यो । राणा दरवारसँग सम्पर्कको कारण हिन्दू धर्म, संस्कृति, अतिपश्चिमा शिक्षा र सभ्यतासँग थकालीले परिचित हुने मौका पाए । परिणाम स्वरूप, थकालीबाट सन्तुष्ट नभई आफ्ना च्योकी, साल्की, ट्म्हिचन, भुर्की थरहरूलाई वि.सं. १९६३ मा क्रमशः गौचन, तुलाचन, शेरचन र भट्टचनमा नेपालीमा रूपान्तरण गर्न पुगे । (लेखिका ज्योति भट्टचन वि.सं. २०५८ सालको स्होय स्होय उत्सवको बेला भट्टचन थरका ठूलो वसन्त भट्टचन छवाङ म्हीर्कीसँग खन्ती गाउँका मुखिया सोमत भट्टचनको घरमा रहेका सङ्कलित पुराना कागजपत्र केलाउन जाँदा वि.सं. १९६३ बैशाखसम्मको कागजमा थकाली मात्र लेखिएको भेटियो । मंसिरपछिको कागजमा भने गौचन, तुलाचन र भट्टचन थरहरू लेखेको पाइयो । त्यसैले बैशाखदेखि मंसिरकै अवधिमा कुनै समय थकाली भाषामा भएका थरहरूलाई नेपालीकरण गरियो होला भन्ने अनुमान हो) (भट्टचन खुनारा, २०७० : ५३ – ५४) ।

त्यस क्षेत्रमा पाइएका धेरै सरकारी रूक्का कागजातमध्ये संवत् १९३८/९/८/३ को श्री ३ को सवारी सम्बन्धमा लेखिएको कागजमा सुब्बा कविराज थकाली भनी सम्बोधन गरिएको र १९४३/१२/७/४ को रूक्कामा थाक दाना भन्सारका ठे. सु. रामप्रसाद थकाली, कविराम थकाली   (थाक सातसय निवासी) आदि भनी लेखिएको छ) यस्तै १९६७/१/१९ को रूक्कामा सातसय थकाली वा धनीराम थकाली भनी लेखिएको पाइन्छ । संवत् १९९०/१/१८/१ को रूक्कामा कृष्णप्रसाद तुलाचन भन्ने नाम देखिएकोले संभवतः यही समयदेखि वा संवत् १९६७ सालको केही वर्षपछि मात्र माथि लेखिएको पछाडि चन जोडिएको थर प्रचलनमा आएको कुरा स्वतः सिद्ध हुन्छ (क्षेत्री, २०४४ : ३३०) ।

धर्म

थकाली जातिको प्राचीन धर्म बोन धर्म नै हो । तर समय काल परिस्थिति अनुरूप बुद्ध धर्म र पछि हिन्दु धर्म पनि मान्न थाले । यसरी थकाली जाति भित्र बोन धर्म मान्ने, बुद्ध धर्म मान्ने र हिन्दु धर्म मान्ने गरी तीन प्रकारका धर्म मान्नेहरूको सङ्गम छ ।

धर्मको कुरा गर्दा बूढा पाकाका भनाइ अनुसार वि.सं. २००७ सालसम्म नेपालमा “हिन्दु धर्म” भन्ने नामकरणभई आई सकेको थिएन । त्यस समय नेपालमा हिन्दु धर्मको ठाउँमा सनातन धर्म भन्ने प्रचलनमा थियो र आर्य समाजी भन्ने पनि थिए । त्यो बेला नेपालमा शैव धर्म, वैष्णव धर्म, शाक्त धर्म तथा बौद्ध धर्म अत्यधिक प्रचलित थिए । तर २००७ सालको क्रान्तिपछि नेपालमा “हिन्दु धर्म” भन्ने नारा बाढीको रूपमा आयो र शैव, वैष्णव, शाक्त आदि धर्महरूलाई आफूमा आत्मसात गरेर “हिन्दु धर्म” भनी फैलियो ।

यद्यपि तत्कालीन नेपालको संविधान २०१९ मा नेपाललाई हिन्दु राष्ट्र उल्लेख गरिएको थिएन । पछि २०२३ सालको प्रथम संशोधनमा मात्र – ‘नेपाल एउटा स्वतन्त्र, अविभाज्य र सार्वभौमसत्ता सम्पन्न राजतन्त्रात्मक हिन्दु अधिराज्य हो ।’ भनी थप गरियो ।

नेपालका थकालीहरू बोन विश्वासमा आवद्ध छन् । बोनबाद बौद्ध विश्वासमा वाममार्ग  मानिन्छ । यसको कारण के हो भने बोन्याहरू स्वयम्भू – चैत्य घुम्दा बाँयाबाट घुम्दछन् र माने घुमाउँदा पनि बाँयाबाटै घुमाउँदछन् । पहिरन रातोमा नीलो मिसिएको हुन्छ । यसका विद्वान्हरूलाई खेन्यो भनिन्छ । बोन मतावलम्बीको मुख्य धार्मिक स्थल कागवेनी नजिक रहेको लुप्रा बोन्यो गुम्बा हो । बोनमतको प्रभाव डोल्पाका छार्का, बैजुवारा, रिग्या – पुग्या गाउँमा निकै प्रबल छ । बोन विश्वास प्रकृतिपूजक एवं जीववादमा अडेको मत पनि हो । थकाली जीवन दर्शनका आधारमा भन्दा देवता कुनै अलौकिक शक्तिसत्ता नभएर आफ्नै अग्रज पुर्खा अर्थात् पितृ हुन् (प्रभात, २०७० :४) ।

थकाली जातिको परम्परागत धर्म प्रकृति पूजा, ट्होम (झाँक्री) वा बोन हो र बुद्ध धर्म पनि मान्दै आइरहेको देखिन्छ । थकाली जातिको ऐतिहासिक र विद्यमान संस्कारलाई केलाउने हो भने थकाली जातिले ट्होय वा बोन धर्ममा बढी आस्था राखेको पाइन्छ (शेरचन, २०७० : ६५) ।

महागुरू नरिझ्योव

थकाली जातिका आराध्यदेव हुन् महागुरू नरिझ्योव । महागुरू नरिझ्योवको उत्पत्तिको सम्बन्धमा वडा रमाइला किंवदन्ती छन् –

(क)   धुम्तीसको च्योकी दाजु भाइहरूले अनौठो सुनौलो मृग गुरूसाङमोको वरिपरि जङ्गलमा देखे र सबै थरका थकाली बन्धुहरूलाई बोलाई सिकार खेल्ने निधो गरे । सिकारी कुकुर लिएर ३ दिनसम्म सिकार खेल्दा पनि मृग हात पर्न सकेनन् । कहिले देखा पर्ने र कहिले अल्प हुने सिकारी कुकुरले पनि पछ्याउन नसकेको देख्दा आपसी सल्लाहको निचोडमा अवश्य कुनै दैवी शक्ति हुनु पर्दछ भन्ने चेतना आयो । सिकारीहरूले धनुषवाण विसाई राति सेतो ध्वजा छाडे । अछेता चढाए । धूपबत्ती बाली हात जोडी विनम्र प्रार्थना गरे – हामी अन्जान छौं, अज्ञानी छौं, हामी माथि कृपागरी, दयागरी क्षमा गर्नुहोस् भनी पुकारा गरेकाले मृग घोम्बउ भित्र पस्यो । सिकारीहरू पनि मृगको रूप हेर्न खुशीले घोम्बउ भित्र पसे । घोम्बउभित्र मृगरूप छोडी ज्योति स्वरूप श्री महागुरू प्रकट भई दर्शन दिनु भयो । मुखारविन्दुबाट तिमीहरूले मलाई मृग ठानी तीन दिनसम्म लखेटे पनि आखिरमा तिमीहरूमा चेतना आई पुकार गरेको देख्दा ज्यादै प्रसन्न भएकोले वरदान माग भनी मर्जी भयो । थकालीहरू खुशीले गद्गद् हुँदै चरणमा शिर राखी, तीन पटक छ्याफुल्जी गरे । एकै स्वरले यो थाकतोङ्कामा सदाको लागि आसिन भएर हामी चार थर थकाली जाति र यो ठाउँको रक्षा गर्नु होस । हाम्रो जातले हजुरको युगौं युगसम्म अनवरत सेवा आदर गर्न पाउँ भनी विन्ती गरे । हो, म पनि यो चार थरको रक्षा गर्ने हेतुले पश्चिमबाट मृग रूप धारण गरी घुम्दै फिर्दै आउँदा धौलागिरिको हिउँले मेरो पाउ पनि खाई दियो । जे होस्, दुवैको इच्छा पुग्ने भयो तर मेरो इच्छा र वाचाहरू वाचा बन्धनमा बाँध्नु  प-यो । सबै थकाली जातिहरू समारोहमा भेला हुनको लागि गाउँ गाउँमा घोक फिराई घोम्बउमा अति खुशीले सामेल भए । पूजा – अर्चना गरी महागुरूको प्रत्यक्ष दर्शन गर्न पाउँदा अति भाग्यमानी सम्झी खुशीको सीमा नरहेकोले ३ पटक छ्याफुल्जी गरी हजुरको आदेश हाम्रो जातिले शिरोधार्य गर्छौं आदि वाचा कबोल गरे । लौ त वाचा कबोल राम्ररी सुन भनी श्रीमहागुरूबाट मर्जी भयो –

१.  सबै बस्तीहरूभन्दा उच्च ठाउँ, समतल भूमि, पूर्वी मोहडा, विहानको सुनौलो किरण घाम झुल्केको, वरिपरि हिमालले घेरिएको कालीगण्डकी अनवरतरूपमा बगिरहेको देख्ने ठाउँ र गाउँवस्तीहरू देखियोस् । अगल – बगलमा बस्ती घरहरू नहोस् । बरू धूप सल्लाका वृक्षहरू मन्दिरको वरिपरि होस् र मन्दिरको प्राङ्गणमा फलफूलका बोटवृक्षहरू लटरम्म फलले ढाकिएको होस् ।

२.  चार चनका छोराहरू ५ वर्ष नाघेको, १३ वर्ष ननाघेको छेवर गरिसकेको कुमारहरूले यही फालको तिथि मिति पारेर कुमारयात्रामा भाग लिनु पर्नेछ ।

३.  बर्खी बारेको, विदुर, टुहुराटुहुरी ८४ दिन ननाघेको रजश्वला महिलाहरू र जुठो सुतक भित्रका व्यक्तिहरूले मन्दिरभित्र प्रवेश गर्न नियम पालना गर्नु पर्नेछ । आफ्नै चार चन जातिको ढुंङ्व पुजारीबाट पूजाआजा वंशानुगत पालना गर्नु पर्नेछ ।

वाचा बन्धन अनुसार घोम्बउबाट बाजागाजासहित थाकतोङकरमा प्रस्थान गर्ने क्रममा आले विधवाले नुहाई – धुवाई कपडा धोई राखेकोमा उक्त शोभायात्रामा भेना देखेकोले पक्कै पनि सिकारीले सिकार मृत मृग ल्याएको होला भनी हतारिँदै हेर्न पुगीछन् । महागुरूको नजर उक्त विधवामाथि पर्न जाँदा लौ वित्यास पारिहाल्यो भनी मुन्टो बङ्ग्याई थुक्क गर्दा महागुरूको बोली बन्द भई शिलामा परिणत हुनु भयो । यो घटनाले गर्दा सबै जगलाई आकुल व्याकुल पारिदिएकोले उक्त घटनाको कारक विधवालाई धिक्कार दिएर आफूहरूले पनि वाचा – बन्धन उल्लंघन गरेकोले पछुताउ गरे । यत्तिकैमा आकाशवाणी भयो – मैले वाचा हार्नु हुँदैन, त्यसकारण मेरो वाक्य बन्द गर्छु, तर मेरो शक्ति यथावत रहनेछ र यो थकतोङकर ८४ थकाली जातिको लागि रक्षा गरिनै रहने छ । अरू वाचाहरू विधिवत् र मेरो पूजा आजा चोखो निष्ठाले गरेमा मनको इच्छा पु-याई दिनेछु । आत्तिनु पर्दैन, शान्त भएर बस्नु भनेपछि फेरि खुशीयाली छायो र ४ थर थकालीहरू तनमन दिएर भगवान्का वाचाहरू पूजा गर्ने तरखरमा लागे (शेरचन, २०६२ : ४९ – ५०) ।

(ख)  थासाङको पवित्रस्थलको हराभरा जङ्गलमा अति आकर्षक, तेजश्वी, सुनौलो रंगको मृग चरिरहेको देखेपछि केही सिकारीहरूले आ–आफ्ना हतियार धनुषवाण लिएर मृगको नजिक पुग्ने समयमा मृग अलप हुने गर्दा सिकारीहरू दिग्दारीमा परे । साथै अनौठो महसुस गरे । दोस्रो दिन पनि मृग मार्न सफल नभएपछि तेस्रो दिन सबैको सल्लाहले मृगलाई घेरामा पारि मार्ने विचारले धेरै मानिसहरू सहभागी गराई मृगको पिछा गर्दै जाँदा मृग ठूलो ओडार भित्र परेको देखेपछि सबैको सल्लाहले ओडारलाई घेरा पार्दै, ओडार भित्र १/२ जना जाँदा मृग भएको ठाउँमा चमत्काररूपमा उज्यालो छरिएको देख्छन् । साथै अनौठो आवाज सुन्छन् । तब सबैजना आश्चर्य चकित पर्छन् । यो मृग होइन साक्षात देवीदेवता हुन सक्छन् भनेर क्षमा माग्र्दै हे भगवान् ! हजुर देवीदेवता को हुनु हुन्छ ? हामी अज्ञान मानिसहरूले ठूलो भूल र गल्ती गरेछौं भन्दै अनुनय विनय गर्दै हामी भगवानको सेवा गर्न तयार छौं, भन्ने अनुरोध गर्दा यस्तो आवाज आयो – “म मृगको रूप लिएर आएको मात्र हुँ । यस क्षेत्रका मानवहरू कस्ता कस्ता स्वभावका रहेछन् ! व्यवहार कस्ता रहेछन् भन्ने बुझ्नलाई मात्र यस ठाउँमा यस्तो रूप लिएर देखा परेको हुँ । महान दैवीय शक्तिले गर्दा मलाई कसैले मार्न सक्दैनौ । यहाँका मानिसको व्यवहार राम्रो नभए अन्तै ठाउँमा जान सक्छु । यदि यहाँ नै स्थापना गर्न चाहान्छौं भने पवित्र काली गण्डकी नदीको सुमधुर कलकलको ध्वनि आइरहन्छ । सौन्दर्य वातावरण सहित शुद्ध तथा स्वच्छ हावा बही रहने उच्च ठाउँमा राखी सेवा र श्रद्धा गर्न सक्यौ भने यहाँको सम्पूर्ण मानवको उन्नती र प्रगतिको मनोकाँक्षा पूरा हुने वरदान पाउन सक्छौ” भन्ने दैवीय सन्देश सुनेपछि जनसमूह अति हर्षित र उत्साहित हुँदै वाचा बन्धन पुरा गर्छौं भन्ने जवाफ दिए । वाचा बन्धन अनुरूप पवित्र क्षेत्रबाट महागुरूको जीवित सुनौलो मृगलाई हर्ष उल्लासमय वातावरणमा शोभा यात्रा गर्दै पवित्रस्थल था क्योङगरमर आउने क्रममा के का मान्छेहरू हुन् भनी एक विधवा महिलाले हेर्ने क्रममा जीवित (महागुरू) मृगले देखेपछि थुक्क गरी थुक्ने समयमा शिर बाङ्गो भएकै समयमा जीवित मृगबाट पत्थरको मूर्तिमा परिणत भएको हो भन्ने भनाइ छ (तुलाचन, २०७३ : ५९ – ६१) ।

(ग)  महालक्ष्मी देवी (नरीझ्योवा या झ्योवा–हाङज्युङ) : महालक्ष्मी देवीको उत्पत्ति सम्बन्धमा थकाली जाति अन्तर्गत शेरचन थरको वंशगाथा (ह्रव) मा निम्न कथा वर्णन गरिएको छ –

ह्रपमा थाकक्षेत्रलाई “था” भनिएको छ, थकाली जातिका ४ पुर्खालाई सामूहिक रूपमा सम्बोधन गर्दा “थालेन खे” भनिएको छ । थाचनका पुर्खाहरू प्रायः मृगका सिकार खेल्थे । एक दिन थालन पुर्खाहरू सिकार खेल्न निस्कँदा सुन्दर सुनौला रंगको मृग चरिरहेको देखे । मृगको सुन्दरताबाट प्रभावित भई थालनहरूले मृगलाई जिउँदै पक्रने निधो गरी धनुर्वाण प्रहार गर्दा मृग गायब भयो । अचुक निशाना चुकेको देखेर भूतप्रेतको खेल होला भनी थालन पुर्खाहरू भोलिपल्ट म्हस्र्पाङ क्यू पुगे र त्यहाँको चोखो पानीले स्नान गरी हतियारलाई स्नान गराएर साङस्युटी (धुप बनाउने धुपी) को धुप ग्रहण गरी भूतप्रेतको दुष्प्रभाव हटाउने प्रयास गरे । त्यहाँबाट फर्केपछि थाचन पुर्खाहरूले सुनौलो मृग भुर्जुङकोटमा देखे । पिछा गर्दा मृग डिछस्पुतामा देखा प-यो । पुनः त्यहाँबाट मृग गायब भयो । थाचनका पुर्खाहरूले जङ्गलमा घेराबन्दी गरी मृगको खोज गर्न थाले । मृग देखापरेपछि थाचनहरूले वाण प्रहार गर्दा लाग्न सकेन । अतः त्यही दिन मृग मार्ने भन्ने निश्चय थाचनहरूले गरे । मृगको पाइला पिछा गर्न थाले । मृग देखा परेपछि थाचनहरूले वाण प्रहार गर्दा लाग्न सकेन । मृग कता भाग्यो । पत्ता लाग्न सकेन । अतः उनीहरूले सोही दिन मृगलाई मार्ने भन्ने निश्चय गरी मृगको पाइलाको पिछा गरे । मृगको पाइला नदी किनारको जङ्गल हुँदै गुफामा प्रवेश गरेको पाए । फलतः थाचनहरूले मृगलाई उम्कन नदिने विचार गरी गुफाको प्रवेशद्वारमा केही मृग समात्ने तयारीका साथ बसे भने १, २ जना गुफा भित्र प्रवेश गरे । निष्पट अँध्यारो गुफा प्रकाशमय पाउँदा अचम्भित भएका थाचनहरूलाई देवीले साक्षात दर्शन दिइन् । थाचनहरूले मृगरूपी देवीलाई चिन्न नसकी दुःख दिएकोमा ३ पटक भुइँमा ढोक दिई क्षमायाचना गर्न थाले । क्षमादानको निम्ति देवीले निम्न शर्तहरू थाचनहरू समक्ष राखिन् । (१) सूर्यको प्रथम किरण आउने काली गण्डकीको अविरल जल प्रवाहलाई सदा देख्ने उत्तरपट्टिको ठाउँमा देवीलाई बस्ने स्थान दिनु पर्ने । (२) यस घटनाको स्मृतिमा हरेक वर्ष १३ कुमार केटाहरूले देवीको स्तुतिगान गर्नु पर्ने । (३) देवीको गन्तव्य पथमा विधवा, विदुर, टुहुरा, टुहुरीले हेर्न नपाउने । देवीका यी शर्तहरू पालन गर्न थाचनहरू प्रतिवद्ध भए र भाद्र महिनाको द्वादशीमा देवीको पदयात्रा गुफाबाट हालको मन्दिर भएको स्थानमा सुरू गरियो । बीच बाटोमा एउटी विधवाले हेरेको हुनाले देवीले “थुक्क ! हेर्दिन” भनी मुन्टो फर्काई मूर्तिमा परिणत भईन । सो मूर्तिलाई नै खन्तीमाथि (नरस्पांङको) मन्दिरमा प्रतिस्थापना गरिएको हो भन्ने कथा छ (भट्टचन, २०४९ : ३४) ।

माथि उद्धहरण गरिएका तीन कथाहरू मध्ये दुई कथामा मृग देवता  हुन् र उनलाई महागुरू नरिझ्योव भनिन्छ भन्ने बुझिन्छ । तर अन्तिम कथामा मृगदेवी हुन् र उनलाई महालक्ष्मीदेवी नरीझ्योवा या झ्योवा–हाङज्युङ भनिन्छ भनी बुझिन्छ । एकै प्रकृतिका संयोगबाट उत्पत्ति शक्ति देव हुन वा देवी ? चार चन थकाली समाजले नक्र्यौल गर्नु पर्ने हो । मूर्ति हेर्दा स्पष्ट देखिने तर स्योपेन लव (कुमार जात्रा) को समयमा पूजाआजा गर्दा झपक्क गरगहना लगाई देवी जस्तै सिंगारिेने प्रचलन कहिले देखि कसरी भयो ? थकाली अनुसन्धान छेउको यथार्थ निक्र्यौल आउनु अनिवार्य छ । अन्यथा हिन्दु धर्म स्वीकार गरेका थकालीहरूले आफूहरू हिन्दु धर्मावलम्बी ठकुरी हंस राजाका सन्तान हौं भनी भनी रहेकै अवस्थामा धेरै भन्दा धेरै थकालीहरूले अत्यन्त आस्था र विश्वास साथ महागुरू नरिझ्योव भनी स्वीकार गरिरहेको विश्वास विपरित महागुरू नरिझोव (देवं) लाई महालक्ष्मी नरिझ्योवा या झ्योवा – हाङज्युङ (देवी) भनी पूजा आजा गरिनु पनि हिन्दु धर्म स्वीकार गर्ने थकालीहरूको नयाँ परम्पराको थालनी हो कि भनी सोझो प्रश्न खडा हुनु स्वभाविकै देखिन्छ । यसर्थ थकाली समाजलाई यसरी विवाद र अन्यौलको भूमरीमा राख्ने कार्य थकाली अनुसन्धान केन्द्रले गर्नु हुँदैन । यथार्थताको प्रकाश पार्नै पर्छ ।

चार चन थकाली र चार ईष्ट देवी देवता

चार चन थकालीका आ–आफ्नै इष्टदेवीदेवता छन् । थर अनुसार चार ईष्ट देवी देवताका पवित्र नाम यस प्रकार छन् –

गौचन थरका ईष्ट देवता – ल्ह् लाङ्वा न्हुर्वु

तुलाचन थरका ईष्ट देवी – ल्ह्  छिरिन ग्यल्मो

शेरचन थरका ईष्ट देवता – ल्ह् क्याङ्ला सिंकिकर्पो

भट्टचन थरका ईष्ट देवता – ल्ह् हयावा – हाङ्ज्युङ

थाक सातसयमा यी प्रत्येक पवित्र ईष्ट देवी देवताका छुट्टाछुट्टै सुन्दर मन्दिरहरू छन् । मन्दिरमा पुजारीको रूपमा पाँडेहरू हुन्छन् । पाँडेहरूले मन्दिरमा प्रत्येक दिन पूजाआजा गर्छन् । तर पवित्र ईष्ट देवी देवताका मूर्तिहरू बाकस भित्र राखिएका हुन्छन् । बाकस बाहिर नै पूजाआजा गरिन्छ । बाह्र वर्षको एक पटक मात्र ईष्ट देवी देवताका मूर्तिहरू बाकसबाट निकालेर पूजा गरिन्छ । यस बाह्र वर्षे पर्वलाई “ल्ह फेव” भनिन्छ । यो बाह्र वर्षे मेला तिब्बती पात्रो अनुसार प्रल्हो (बाँदर वर्ग) मा सम्पन्न गरिन्छ ।

यस सन्दर्भमा पूर्णप्रसाद तुलाचन अनुसार – “हाम्रा पौराणिक, ऐतिहासिक ग्रन्थ (ह्रप), जिज्यूहरूको भनाइ, किंवदन्ती तथा प्रत्यक्ष अध्ययनको आधारमा तयार पारिएको वर्णन –

सि.नं.         थर        प्यहा     पुर्खाको नाम       देव–देवीको नाम  देव लिङ्ग           देव स्वरूप          देव अस्त्र देव रङ्ग देव शक्ति

१          गौचन    च्यौकी   अनि ऐरम्           लाङ्वा न्हुर्पु        पुरूष     हात्ती     पताङ्    रातो      ताप (अग्नी)

२          तुलाचन साल्की   सम्लि ट्हेन सम्लिच्याङ     छ्युरिन ग्यल्मो    स्त्री        जल गोही           नम्प्यातरी          हरियो    जल (पानी)

१          शेरचन   ट्हिप्चन ट्हाक्पा क्हेल्चन  क्याङ्ला सिंकी कर्पो         पुरूष     सेतो हिउँ सिंह     (फोही) थावा      सेतो      हावा (वायु)

१          भट्टचन   फुर्की      पाउकुती            हयावा – हाङ्ज्युङ            पुरूष     याक साँढे           मिङ्दो   कालो     धर्ती (माटो)

(तुलाचन, २०७३ : ५ – ६) ।

तुलाचनजीले माथि उल्लेखित ईष्ट देवी–देवताका शक्ति सम्बन्धी विवरण निम्न बमोजिम उल्लेख गरेका छन् –

लाङवा न्हुर्पु (गौचन थरका ईष्ट देवता) – पुण्यभूमि धवलागिरि हिमशिखरपार गरी आएको देवरूपी रातो चराले जगत र सम्पूर्ण प्राणीको हितको लागि ताप (अग्नि) र प्रकाशको शक्ति लिएर (ल्होकर च्युङी) अदृष्य शक्ति हात्ती जनावरको रूप लिएर लाङवा न्हुर्पु देवता सृष्टि भएका हुन् । यी देवतालाई पुज्न सके सबैको हित र कल्याण हुन्छ ।

छिरिन ग्यल्मो (तुलाचन थरका ईष्ट देवी) – जलको शक्ति लिनलाई नम्दुल सडुल त्रिशक्ति नेत्रको अदृष्य शक्ति लिएर जलको रानी ल्ह् छयुरिन ग्यल्मोको उत्पत्ति भएको हो । यी देवीलाई श्रद्धा राख्न सके सम्पूर्ण जीव प्राणी र जगतको कल्याण हुन्छ ।

क्हाङला सिंकीकर्पो (शेरचन थरका ईष्ट देवता) – कैलाश हिमशिखरबाट उडेर आएको सेतो चरा शुद्ध वायु मण्डलबाट प्राणी र जगतलाई आवश्यक पर्ने हावा (वायु) तथा हिमाल पहाडको शक्ति लिएर (टसीटाक्य) अन्तरनिहित ल्ह् क्हाङ्ला सिंकी कर्पो देवको रूपमा उदय हुन्छ । यी देवको सेवा गर्न सके सम्पूर्ण वायु मण्डल तथा प्राणीको रक्षा हुन्छ ।

हयावा – हाङजुङ (भट्टचन थरका ईष्ट देवता) – चौंरी साँढेको नामबाट यस देवताको नाम ल्ह् हयावा – हाङजुङ रहन गएको हो । हयावा – हाङजुङ देवताको निधारको बीचमा तेस्रो नेत्रको भित्री भागमा बहुमूल्य मणि, दाहिनी शंख जडित भएको हुनाले यी देवता सर्व शक्तिमान हुन गएका हुन् भनिन्छ । हयावा – हाङ्जुङ देवतालाई पूज्न सके सम्पूर्ण प्राणी र जगतको हित र कल्याण हुन्छ भन्ने पौराणिक ह्रपमा उल्लेख भएको पाउँछौं । (तुलाचन, २०७३ : १७ – १८) ।

कर्मशास्त्रको विधिशास्त्र मानिने ‘साङ्ग्रोसी ह्रब’ नेपाली लिपिमा लेखिएको थकाली भाषाको ग्रन्थ हो । त्यस ग्रन्थमा चार चनका देवताको चित्र लेखिएको देखिन्छ । वि.सं. १९०४ मा मनराज बैदारद्वारा नाकुमकोटमा लेखिएको उक्त ग्रन्थका आधारमा नै थकालीहरूमा मूर्तिपूजाको चलन सुरू भयो । यही समयपछि च्योकी, ट्हिमचन, साल्की र भ्हुर्कीलाई गौचन, शेरचन, तुलाचन र भट्टचन भन्न थालियो । यद्यपि थकाली भन्ने चिनारी भने जङ्गबहादुर राणाको पालामा भएको बताइन्छ (प्रंभात, २०७४ :७) ।

धार्मिक पर्वहरू

थाक खोला निवासी आदिवासी जनजाति थकालीहरूमा धार्मिक पर्व मनाउने छुट्टै परम्परा छन् । धार्मिक पर्वहरूमध्ये ल्ह फेव (बाह्र वर्षे मेला), तोरन्ल (फागु पूर्णिमा), सोपेन लव (कुमार जात्रा) तथा स्होय् स्होय् पर्वहरू अत्यन्त उत्साह र उमंगका साथ मनाइन्छन् ।

ल्ह फेव

यसलाई बाह्र वर्षे मेला पनि भनिन्छ । तिब्बतीयन ज्योतिष शास्त्र अनुसार यो पर्व – जात्रा प्रत्येक १२ वर्षको प्रल्हो (बाँदर वर्ग) मा गरिन्छ ।

ल्व फेव थकाली जातिको मौलिक संस्कारमध्ये निक्कै महत्व राख्ने धार्मिक पर्व हो, जुन प्रत्येक १२ वर्षको प्रल्हो (बाँदर वर्ष) मा थासाङमा अत्यन्त श्रद्धा भक्तिका साथ १७ दिन सम्म मनाइन्छ । हरेक १२ वर्षको ल्व फेव पूर्व ९ वर्षमा स्होइ – स्होइ गर्ने गरिन्छ । यो पर्वमा विशेष गरेर थकाली जातिका ४ देवताको प्रदर्शन, पूजापाठ, रथयात्रा र ह्रव (थकाली जातिको लिखित ग्रन्थ) वाचन  गरिन्छ । देश विदेशमा रहेका सबै थकाली दाजुभाइ, दिदीबहिनीहरू यो महानपर्वमा सकेसम्म उपस्थित हुने गर्दछन् । यसैगरी रथयात्रामा च्योकी, साल्की, ट्हिम्चन, प्हुर्कीहरू र ४ पाण्डेहरू आ–आफ्ना देवतालाई रथमा राखेर परिक्रममा गर्दछन् । जस्तै, च्योकी, ल्ह् लाङवा न्हुर्वु, साल्कीहरू ल्ह छयुरिन ग्याल्मो, ट्हिम्चनहरू, ल्ह घाङ्लासिंकीकर्पो र प्हुर्कीहरू ल्ह ह्यावा ह्राङजुङ देवतालाई रथमा राखेर यात्रा गर्ने परम्परा छ । त्यस्तै थकाली जातिको ४ घम्पले पर्व अवधिभर आ–आफ्नो म्हयाको व्यवस्थापन गर्ने चलन छ । थकाली महिलालाई ल्ह फेवको विशेष महत्व छ । यस अवसरमा महिलाको सहभागितामा छयाङक्यू खाने कार्यक्रम हुन्छ । आनच्युन ट (जेठी चेलीबेटी) ले बाह्रवर्ष भित्र भएका विवाह, ब्रतबन्ध तथा नेटेघरको प्राप्त म्हरफेको रकम संकलित गरी सो रकमले सबै चेलीबेटी मिली छयाङक्यू खाने चलन छ । चेली बेटीले छयाङक्यू खाने बेला एक दिन आफ्ना माइतीलाई पनि निम्ता गर्दछन् । यसै अवसरमा चार घम्पहरूले आ–आफ्ना प्ह्याको जन्म, विवाह तथा मृत्यु दर्ता जस्ता काम पनि गर्दै आएको देखिन्छ (शेरचन, २०७० : ६६) ।

थाक सातसयका थकालीहरू ४ थरहरूमा – गौचन (च्योकी), तुलाचन (साल्की), शेरचन (ढिमचन) र भट्टचन (भुर्की) मा विभाजित छन् । यी ४ थरका आ–आफ्नै देव–देवीहरूका मन्दिरहरू नखुङ जाने बाटोमा गौचन र तुलाचनका छन् भने कोवाङ गाउँको पश्चिमपट्टि केही माथि शेरचन र भट्टचनका देव मन्दिरहरू छन् । यी मन्दिरहरूका पुजारीलाई पाँडे भनिन्छ । हरेक थरको आ–आफ्नो पाँडे, मन्दिरको रेखदेख र पूजाका लागि राखिएका छन् । यिनै पाँडेको मातहतमा सम्बन्धित थरका पुर्खा कसरी थाक क्षेत्र आए भन्ने वर्णन गरिएको दस्तावेज छ, त्यसलाई “ह्रव” (वंशगाथा) भनिन्छ । हरेक थरको देवताको रंग तोकिएको छ, जस्तो गौचनको देवता लाङ्वा कुर्पुको रंग रातो, तुलाचनकी देवी छ्युरिङ ग्यल्मोको रंग हरियो, शेरचनको देवता क्ह्याङ्ला सिंङ्गी कर्पोको रंग सेतो र भट्टचनको देव ह्याकराङज्युङ्गको रंग कालो मानिन्छ । त्यसै अनुसार पाँडेहरू र कुमारहरूको सम्बन्धित रंगकै दौरा सुरूवाल लगाउँछन् । तर यस रीतिलाई पूजा आजाको समयमा (१२ वर्षे मेला र स्होय स्होयमा) मात्र पालना गरिन्छ । थकाली जातिको ४ थरका देवदेवीको पूजा १२ वर्षको एक पटक मात्र गरिन्छ यसलाई “ल्हअफेव” भनिन्छ । १२ वषमा सम्पन्न गरिने हुनाले यसलाई १२ वर्षे मेला पनि भनिन्छ । साथै १२ वर्षको एक पटक मात्र देव–देवीलाई मन्दिरको बाकसबाट निकालेर पुजिने हुनाले “देवता निस्कने” पनि भनिन्छ । अरू समयमा दैनिक धुप बत्ती बाकस बाहिर नै गरिन्छ । यो बाह्र वर्षे मेला तिब्बती पात्रो अनुसार प्रल्हो (वाँदर वर्ग) मा सम्पन्न गरिन्छ (भट्टचन खुनारा, २०५८ : ५७) ।

यो १२ वर्षे ल्ह फेव पर्व कार्यक्रममा १७ औं शताब्दीदेखि भव्य रूपमा सञ्चालन भएको पुरानो कागजपत्रहरू भएको थाहा हुन आएको छ । त्यस भन्दा अगाडिको कागजपत्रहरू धेरै पुरानो लिपिमा लेखिएका कागजहरूमा मिति नभएकोले कुन शताब्दीदेखि ल्ह फेव सञ्चालन भएको हो, कसैलाई पनि थाहा हुन सकेको छैन (तुलाचन, २०७३ : २१) ।

स्योपेन लव (कुमार यात्रा)

महागुरू नरिझफेवसँग भएको वाचा बन्धन अनुसार थाक सातसयका थकाली जातिले हरेक वर्षको भाद्र महिना (फालो) मा स्योपेन लव (कुमार यात्रा) गर्ने परम्परा छ ।

तिब्बतीयन ज्योतिष शास्त्र अनुसार बाह्र जीव र जन्तुको नामले पुकारिने वर्ग, महिना, बार र तिथि मितिको गणना अनुसार प्रत्येक वर्षको भाद्र महिनाको तिथि मितिमा गरिने भएकोले थकाली भाषामा भाद्र महिनालाई फालो भनिन्छ । त्यसैले यस पर्वको नाम पनि फालो (भदौ जात्रा) रहन गएको हो । यो पर्व थकाली जातिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिकतासँग जोडिएको छ (तुलाचन, २०७३ : ५९)

थकाली संस्कृति सभ्यताको उद्गमस्थल स्वर्गतुल्य (थाक सातसय) थसाङ कोवाङमा परापूर्वकालदेखि मान्दै आएको कुमार यात्रा (स्योपेन लव) फालो पर्व थकाली जातिको ऐतिहासिक एवम् साँस्कृतिक पर्व हो । थाक खन्ति गाउँदेखि माथि नरसाङ गोम्बामा हाम्रो रक्षकको रूपमा भगवान् नरिच्हयोव विराजमान हुनु हुन्छ । ऐतिहासिक जनश्रुतिअनुसार भगवान् नरिच्हयोव र हाम्रा आदिपुर्खाहरू बीच वाचाकबोल अनुसार थकाली समुदाय च्योकी, साल्की, ट्हिमचान र प्युर्की थर भित्रका विजोर उमेर ५ वर्षदेखि १३ वर्षसम्ममा (छेवर गरिसकेका) कुमार केटाहरूले भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्र पारी कुमार यात्रा (स्योपेन लव) कर्म गर्नु पर्ने धार्मिक परम्परा रहि आएको छ । स्योपेन लव कुमार केटाहरूलाई भगवान् नरिच्हयोवबाट अलौकिक शक्ति आशीर्वाद यस अवसरमा प्राप्त हुने जनविश्वास रहि आएको छ (थसेस (कार्यक्रम पत्र), २०७५ : १) ।

तोरन्ल (फागु पूर्णिमा)

थकाली जातिहरूको सबैभन्दा प्रमुख चाडको रूपमा तोरन्ल पर्वलाई लिइन्छ । फागु पूर्णिमाको उपलक्ष्यमा तीनदिन मनाइने यो पर्व विभिन्न खेल खेली मनाइन्छ । यस पर्वमा खास गरी ‘धनुषवाण’ को तारो हान्ने खेल प्रमुख हो ।

तोरन्ल थकाली जातिको सबैभन्दा प्रमुख चाड हो । यसरी थकालीको अन्य थुप्रै विशिष्टतामध्ये साँस्कृतिक दृष्टिबाट थकाली पहिचानलाई उजागर गर्ने तोरन्ल चाड पनि हो । तोरन्ल (फागु पूर्णिमा) ३ दिन घरमा भव्य रूपमा मनाउने परम्परा रहेको छ । मूलतः थकाली समुदाय पितृपूजक रहेको छ । यो आफैमा महत्वपूर्ण पक्ष हो । यो चाड पितृपूजन, आराधना र उपासनामा आधारित पारिवारिक एवम् सामाजिक खुशीयाली महोत्सव हो । यसमा राम्रो लाउने, मीठो खाने, तारा खेल्ने, गाउने, नाच्नेदेखि दिदी, बहिनी, ज्वाइँ चेली निम्ताएर मीठा मीठा परिकार खुवाउने प्रचलनले परिवार परिवार वीच न्यानो माया ममता जागृत गराई सामाजिक सद्भाव, मेलमिलाप र एकता दरिलो र कसिलो पार्न यो चाड अत्यन्त प्रभावकारी सिद्ध भएको छ । त्यसरी नै तारा खेल तोरन्ल संस्कृतिको एउटा अभिन्न अंगको रूपमा स्थापित भएको छ । आज यो तारा खेल थुप्रै जनजाति समुदाय वीच लोकप्रियताको उत्कर्षमा पुगेर राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत महत्व हासिल गर्दै उचाइँमा पुगेको छ । थकाली जनजातिको लागि यो गौरवको विषय भन्न सकिन्छ (शेरचन, २०७० : ६६) ।

यो पर्व जोमसोमदेखि तल घाँसासम्मका स्थानीय मुख्य थकाली जाति गौचन, तुलाचन, शेरचन र भट्टचन साथसाथै थाक ७ सय गाउँले, थकाली जाति समुदायका मानिसहरूको मुख्य चाड पर्व मानिन्छ । यो पर्व फागुपूर्णिमाको दिनलाई बीचमा पारि मुख्यतः तीन दिनसम्म मनाइन्छ । यो पर्व कहिं सात दिन त कहिं १५/२० दिनसम्म पनि विभिन्न खेल खेली रमाइलो गरी मनाउने गरिन्छ । फागुपुर्णे तोरन्लपर्वलाई थकाली जातिले ठूलो महत्व दिएको सन्दर्भमा यसको पृष्ठभूमिको अध्ययन गर्दा परम्परागत शब्द ‘तोरन्ल’ को अर्थले पनि यस पर्वको महत्व बुझ्नमा सघाउ पु-याउँदछ । यस शब्दको अन्तिम ‘तक’ अथवा देउतालाई जनाउँछ तसर्थ पूरा अर्थ ‘पितृदेउता’ जनाउँछ । यसर्थ यो पर्वमा थकाली जातिमा आफ्ना स्वर्गीय भएका पितृहरूलाई भक्तिपूर्वक पूजाआजा गर्ने र पितृदेवको आशीर्वादबाट परिवारलाई रोगव्याधी नहुने र घर धन्यधान्य हुने मान्यता पाइन्छ । यस पर्वमा खेलिने खेल विशेष उल्लेखनीय छ । लोग्ने मानिसहरू तारो खेल्छन् भने स्वास्नी मानिसहरू पहिलाको जस्तै ढुङ्गाको गोटी खेल्ने गर्छन् । भद्र महिलाहरू आजभोलि नाकाभोटे खेल खेल्छन्, तरूणीहरू कौडी खेल्ने गर्छन् । तारा थाप्नु भन्दा एक दिन अगाडि सबै खेलाडीहरूसँगै बसेर वाण तीखो पार्छन् । खुला ठाउँमा धनुवाण हान्नका लागि परम्परागत विधि अनुसार कन्या केटोले तारोलाई ठाडो उभ्याउँछन् र नौनी घ्यूले ३ ठाउँमा घेरालगाई सेतो, रातो ध्वजा, धूपीको टुप्पामा बाँधी तारोको सिरमा लगाउँछन् र जाँडरक्सीले छे छे गरी आशिष दिन्छन् । शुरूमा ठाडो उभ्याइएको तारोबाट कन्या केटाले तीरहानी साइत उद्घाटन गर्छन (गौचन, २०६२ : ८) ।

यो धनुषवाण तीर हान्ने वा ताराखेल थकालीहरूको लोकप्रिय राष्ट्रिय मौलिक खेल हो । यो खेल विशेष गरी तोरन्ल वा थकालीहरूको महान्चाड फागु पूर्णिमामा खेल्ने गरिन्छ । यो खेल अचेल छन्त्याल, मगर र केही गुरूङ जातिले पनि खेल्ने गर्दछन् । यो खेल थकालीहरूको प्राचीन खेल पनि हो । यो खेल खेल्नका लागि सा-है मिलेको जग्गा पनि चाहिंदैन साधारण १०० फिटदेखि ११० फिटसम्मको लम्बाइ र चौडाइ करिब १५ देखि २० फिटसम्ममा खेल खेल्न सकिन्छ । खेल मैदानको बीच भागमा खाल्डो वा खोला बग्ने भएपनि फरक पर्दैन, खेलमा बाधा पुग्दैन, वारिपारि तीर हान्न सकिन्छ । वारिपारि विशेष गरेर काठको फल्याक राखिन्छ । फल्याक सल्लाको, उतिसको, सिमलको राख्दा पनि राम्रै हुन्छ । थाकखोलामा सल्लाको र उतिसको फल्याकलाई नै तारा थाप्ने गरिन्छ । फल्याकको लम्बाइ ६ फिट र चौडाइ १४ देखि १६ इन्चसम्मको राख्ने गरिन्छ । साढे ६ फिट उचाइमा १ फिट जमिन मुनि गाडिन्छ । साढे पाँच फिट जमिन माथि राखिन्छ । त्यस फल्याकको बीच भागमा तीन औंला बराबरको गोलो खोल अथवा फलामको पाताको रिङ्ग बनाएर गाडिन्छ । त्यस खोलमा वा रिङमा गाईको गोवर राख्ने चलन छ । जसले त्यस खोल (रिङ) भित्र तीर लगाउँछ त्यस व्यक्तिलाई खोल विजेता भनिन्छ र सर्त अनुसार प्रत्येक खेलाडीबाट नगद प्राप्त हुन्छ । खोलको रकम प्रत्येक टिम वा टोली नेतालाई धापन भन्ने चलन छ । धापनले आफ्नो टोलीको सबै खेलाडीहरूबाट निश्चित रकम उठाएर खोल विजेतालाई दिने चलन छ । खोल विजेतालाई महिलाहरूको तर्फबा (केल्साङ) आशीर्वाद खादा ओढाएर खोलमा परेको तीरलाई रक्सी वा जाँडले पूजा गर्ने चलन पनि छ । खेलाडी यति नै हुनु पर्छ भन्ने छैन । सामान्य ९ जनादेखि ५०/६० जनासम्म खेल्न सकिन्छ । खेलाडीलाई तीन भागमा विभाजित गरिन्छ र तीर हान्दा ल्ह हाल्ने भनिन्छ । ल्हमा पनि सामान्य रू.५०।– को बाजी राख्ने चलन छ (तुलाचन, २०७२ : २ – ३) ।

स्होय् – स्होय् पर्व

स्होय् – स्होय् प्रत्येक १२ वर्षमा सम्पन्न हुने ल्ह फेव पूर्व ९ वर्षम ल्ह फेवको पुरकको रूपमा सम्पन्न हुने एउटा धार्मिक पर्व हो । नामले थकाली कतिलाई नयाँ जस्तो अपरिचित जस्तो लाग्ने “स्होय् – स्होय्” थकालीका आराध्यदेवता श्री ल्हभ्लिको पूजा आराधना गरी सम्पन्न गर्ने अति प्राचीन थकाली संस्कृति हो । बसाइँ – सराइँले थकाली थाक खोलाबाट बाहिर हुनु, आधुनिकिकरणको नाममा हिन्दुकरणको चाप, सुधारको कुरा गर्दा संस्कृतिको मौलिकतामा फेरवदल गर्ने प्रकृया, खास गरी ००७ सालको परिवर्तन पछि बदलिएको स्थितिमा थकाली आफ्नो संस्कृतिबाट टाढाटाढा हुँदै गएकाले स्होय् – स्होय् थकालीलाई एउटा नौलो वा अपरिचित जस्तो लाग्ने नाम हुन गएको हो । अतिपरिचित आत्म्साथ भएका संस्कृति पनि यसरी अपरिचित जस्तो हुनु थकालीहरू यसमा अति तीतो अनुभव गर्दछन् । प्रत्येक ल्ह फेव सम्पन्न हुनु पूर्व ३ वर्षमा अर्थात् ल्ह फेवपछि प्रत्येक ९ वर्षमा थकालीको परम्परामा ल्होबाट दिन गन्ने चलन र परम्परा अनुसार प्रत्येक सरिब ल्हो वर्षको तोरन्ल महिनाको छैव ङ्हीबाट छैव भ्रे ७ दिनसम्म संचालन हुन्छ । प्राचीन कालमा भगवान् हयावा – हाङज्युङको उत्पत्ति समयदेखि चल्दै आएको ल्ह फेव र ल्ह फेव पूर्व ९ औं वर्षमा सम्पन्न हुने स्होय् – स्होय्मा सबै प्हया (थर) का आ–आफ्ना कार्यक्रम हुन्छन् । चारैवटा पाँडे, कुमार, घम्वहरू र थिमी सबै क्रियाशील हुन्छन् । तापनि भूर्गी प्हया (भट्टचन थर) ले (चौरीको पाठा – सेप्प – उमेर २ वर्ष पूरा ३ वर्ष पूरा नभएको) ३ वर्षको लागि मार्फामाथिको वनमा छाड्नु पर्ने र ल्ह फेवमा विधिवत भट्टचनको खुनरा उहयुको फोवेलाई घुमदेन् च्याङले ल्ह हयावा–हयाङज्युङ चौरीको शिर दिनु पर्ने र शिरमा सिंगारेर जीवन्त पारेर त्यसमा पूजा आराधना गर्ने, रथमा चढाउने, परिक्रमा गर्ने, ल्ह ह्यावाहाङज्युङको ह्रव वाचन गर्ने र महिमा गराउने थकाली मात्रको एउटा प्राचीन धार्मिक चाड हो । ल्ह फेवमा चारै चनका देवता रथमा राख्ने, रथ परिक्रम गर्ने र ह्रव वाचन गरी महिमा गर्ने परम्परा छ । हिन्दु धर्म र हिन्दु सभ्यताको चापमा परेर भौगोलिक अवस्थाले विकट र एकान्त ठाउँमा रहेको थकालीले पनि संस्कार संस्कृतिमा प्रत्यक्ष अवाञ्छित प्रभाव परेको अनुभव गर्नु परेको कुरा विगत ३ स्होय् – स्होय्मा हाम्रा अत्यन्त नजिकका दाजुभाइ मार्फाका घुम्देन च्याङ्को जिम्मामा चौरीको पाठा सेप्प दिने काम भएन । ल्ह फेवमा चाहिने चौरीको शिरको वदलामा मखमल प्रयोग गर्ने प्रयास भयो । आराध्य देवताका मूल रूपलाई हटाई सो ठाउँमा हिन्दु संस्कार अनुसार कल्पना गरिएका देवी देवताका ४ मूर्ति बनाई प्राचीन परम्परामा स्थापित देवताका बदलामा त्यसलाई स्थापना गर्ने प्रयास पनि भयो । यो २०१२ सालको ल्ह फेवको घटना हो । परम्परामा स्थापित धर्म, संस्कृतिलाई बदल्दा भगवान् नाराज हुन्छन्, नाराज भएमा दैवी प्रकोप आदि अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । श्रद्धा नभएकोले र डरले मानेनन् तर पनि त्यस वर्ष धेरै विध्नवाधा र नोक्सान भएको थियो । थकाली जनसमूहले नमानेपछि हीनाई ल्याएको मूर्ति पत्यिाग त भयो तर चौरी सेथ छाड्ने काम ३ ल्ह फेवसम्म टुट्यो । मखमलले काम चलाइयो । तर भट्टचन थरले परम्परा टुटाई राख्न मानेनन् । गत २०४९ ल्ह फेवको लागि २०४६ को स्होय् –  स्होय्मा सेप्प छाड्ने काम भयो । यस पटक पनि सेप्प छाड्ने काम पुनः स्थापित भएको छ (भट्टचन, २०५८ : ८५ – ८६) ।

संस्कार

कुनै पनि समाजको आफ्नै धार्मिक, सामाजिक मूल्यमान्यता र विधि विधानहरू हुन्छन् । तिनै मूल्य मान्यता र विधि विधान अनुसार समाजमा चल्दै आइरहेको पद्धतिलाई संस्कार भनिन्छ ।

चार चन थकाली जातिका प्रमुख संस्कारहरू निम्न बमोजिम छन् ।

जन्म

थकाली जातिमा कुनै बच्चा जन्मने वित्तिकै क्हयूभित्रका दाजुभाइलाई बच्चा जन्मेको खबर सुनाउनु पर्दछ ताकि साङतेव (न्वारान) नगर्दासम्म क्हयूभित्रका दाजुभाइले कुनै शुभकार्य र दैनिक पूजा आजाका कार्यक्रम नगरून् (शेरचन, २०७० : ६६) ।

न्वारान

न्वारान बच्चाको नामकरण गर्ने संस्कार हो । नेपालका सबै जनजातिले आ–आफ्नै धर्म–परम्परा अनुरूप नवशिशुको न्वारान गर्ने गर्दछन् । थकालीहरूले बच्चा जन्मेको तेस्रो, सातौं वा एघारौं दिनमा आमा र बच्चालाई शुद्धीकरण गर्दछन् । यो जातिले लामा ट्होम वा हिन्दु परम्परा अनुसार न्वारान गर्ने गर्दछन् । छोराको एघारौँ दिनमा र छोरीको सात दिनमा न्वारान गरिन्छ । न्वारान गर्नुको मुख्य उद्देय सुत्केरी च्योख्याउने र बच्चाको नाम राख्नु हो । न्वारान पछि गोत्र भित्रका दाजुभाइहरूले विवाह, छेवर, चाडवाड, पूजाआजा गर्न पाउँदछन् । लामा विधिमा न्वारानका दिन आमा र बच्चालाई नुहाई नयाँ कपडा लगाई दिइन्छ । लामाले आफ्नो विधिबाट पाठ गरी जल, गहुँत, लाभा, जौं–तिल एउटा ओखरामा राख्दछन् । धूपीको फूलले घर, कोठा र वरिपरि, नयाँ बच्चा आमा र परिवारका अन्य सदस्यहरूलाई छर्केर शुद्ध गरिन्छ । बच्चा जन्मेको समय, पल, घडीका आधारमा लामाले बच्चाको नाम राख्दछ । यही नामका आधारमा बच्चाको भाग्य हेरिने चलन छ । लामाले शुद्ध गरेको धागो बच्चाको कम्मर, हात खुट्टामा बाँधि दिन्छन् । यसले बच्चालाई भूत–प्रेतबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । झाँक्री विधिबाट गर्दा झाँक्रीले मन्त्रवाचन गर्दछ । बच्चा जन्मेको साल गते, दिन, बार, घडी र पलका आधारमा बच्चाको नाम राख्दछ । बच्चाको वर्ग (ल्हो) पहिचान गर्दछ । आफन्त र गोत्र भित्रका दाजुभाइलाई निम्ता गरी खानपिन गराइन्छ । आफन्तहरूले सुत्केरीका लागि कुखुरा र अण्डा तथा बच्चाका लागि कपडा कोसेली ल्याउने चलन छ । मिश्रित जात भएको क्षेत्रका थकालीले हिन्दु परम्पराअनुसार न्वारान गरेको पाइन्छ (शेरचन, २०७३ : ९१) ।

अन्नप्रासन

अन्नप्रासन भनेको बच्चालाई भात खुवाउन सुरूवात गर्ने संस्कार हो । यस संस्कारलाई भात खुवाइ पनि भनिन्छ । भात खुवाइ गर्दा बच्चा जन्मेको छ वा सात महिना पुगेपछि गर्ने चलन छ । बच्चालाई नुहाई नयाँ कपडा, हातमा सुन वा चाँदीको बाला, खुट्टामा चाँदीको कल्ली, कानमा सुनको मुन्द्रा लगाई शुभसाइत हेरि फुपूद्वारा दूधभात तथा अन्य विभिन्न परिकार चाँदीको चम्चा तथा अन्य चम्चाले खुवाइन्छ । त्यसपछि क्रमशः परिवारका अन्य सदस्य र आफन्तले जेष्ठताका आधारमा टीका लगाई दक्षिणा एवं उपहार दिने र भात खुवाउने गरिन्छ । विशेष गरी मामाहरूले सुनको मुन्द्रा लगाइ दिने चलन पनि छ । आफन्तहरूलाई निमन्त्रणा गरी भोज भतेर गरिन्छ (शेरचन, २०७३ : ९१) ।

छेवर

यो थकाली जातिहरूको महत्वपूर्ण संस्कार हो । यो संस्कारलाई चूडाकर्म र व्रतबन्धबाट चिन्न सकिन्छ । यो संस्कार राम्रो साइतको अवसरमा पारि बेजोडी अंक पाँचौँ, सातौँ, नवौँ, एघारौँ वर्ष पुगेको कुमार केटोलाई कपाल मुण्डन गरी यो कार्य गरिन्छ । यो संस्कारको विधिमा विशेष मामाको महत्वपूर्ण भूमिका रहन्छ । लामा, टोहम तथा ब्राहमणबाट साइत जुराई यो कार्यको सुरूवात गरिन्छ । घर–परिवारका सदस्य, आफन्त, नातेदारहरूलाई निमन्त्रणा गरिन्छ । बिहान शुभसाइतमा बच्चालाई नुहाई सरसफाइ गरिन्छ । बच्चालाई मामाले बोकेर वा समातेर आफन्त नातेदारसँग गाईको गोठमा वा नदीको किनारमा लगी मुखमा धुपी वा दुवो च्यापी घाँटीमा दाम्लाले बाँधी चार हात खुट्टा घोप्टो बनाई टुप्पीमा सुनको बेरूवा औँठी राखेर मामाले बच्चाको कपाल काट्छन् । कपाल काट्ने बेलामा फुपू वा दिदीले थालमा कपाल थाप्ने चलन छ । कपाल थापे वापत फुपू वा दिदीलाई दक्षिणा दिने चलन पनि छ । कपाल काटिसकेपछि बच्चालाई सेतो दौरा–सुरूवाल, सुईटर, जुत्ता मोजा र टोपी लगाई दिएपछि घरभित्र प्रवेश गर्ने बेलाको साइतलाई बीचमा गरेर बच्चालाई मामाले काँधमाराखी तीन वा पाँच कन्या केटा वा केटीले करूवामा जल, फूल राखी तामाको छाप्रीमा फलफूल, रोटी, झिनिया बोकी दमाई बाजा बजाई आफन्त सहित गृह प्रवेश गर्दछन् । घरको मूल ढोकामा बच्चाको दिदीबहिनी, फुपूहरूले केल्साङ गर्दछन् । थालमाथि चाँदीको तीनवटा कचौरामा तीन ठाउँमा चौँरीको घ्यु वा अन्य घ्यु हरे लगाई एउटा कचौरामा दूध, एउटा कचौरामा जाँड र एउटा कचौरामा रक्सी वा दही राखी बच्चालाई सगुनको रूपमा थोरै सेवन गराइन्छ र फलफूल पनि सगुनका रूपमा हातमा दिइन्छ । बच्चा घरको मूल पूजा गर्ने कोठामा गई नरिच्योह, चार देवता र पितृलाई सम्झी अंकुमा वत्ती बालिन्छ । बच्चालाई सजाइएको कोठामा राखिन्छ । सर्वप्रथम बच्चाको घरको ओखेमोमबाट मलमलको सेतो फेदा र रातो अक्षताको टीका लगाई आशीर्वादसहित नगद दक्षिणा दिने गरिन्छ । बच्चाको आमा बाबुले क्रमिक रूपले फेदा र टीका लगाई दिई आशीर्वाद र दक्षिणा दिने चलन छ । एउटै घरपरिवारका सदस्यहरूले बच्चालाई जेष्ठताका आधारमा टीका, फेदा र खादा लगाई आशीर्वाद र दक्षिणा दिइन्छ । क्रमैसँग मावली तर्फको ओखेमोम र मामा–माइजू तथा अन्य नजिकका नातेदार र अन्य जातिका साथीभाइहरूले टीका, खादा, फूलको गुच्छा उपहार र दक्षिणा दिने चलन छ । केही समययता थकाली सेवा समिति केन्द्रको निणयअनुसार मूल घर, दाजुभाइ, माइत ओखेमोम तथा मामा माइजु, चेलीबेटी, आन्जेनहरूको तर्फबाट एकएक जोर फेदा बच्चालाई लगाई आशीर्वाद दिने गरिन्छ । यो कार्यमा निमन्त्रणा गरिएका सम्पूर्ण आफन्त नातेदारहरूलाई सर्वप्रथम साइतको सगुनका रूपमा चिया, रक्सी, सेलरोटी, मासु, खसीको ढुङ, काढुङ, भुटुवा, जम्बु राखेको आलु र सिमी तरकारी आदि विभिन्न परिकारबाट खाना सुरू गरिन्छ । यो कार्य गर्दा दलितको परियार जातले पुन्टी बाजा बजाउने गर्दछन् । मूल घरको तर्फबाट दमाईलाई फेदा लगाई सगुन दिने गरिन्छ । यो कार्यमा छोरीज्वाइँको माइतीहरूको विशेष भूमिका रहन्छ । माइतीको शुभकार्यका लागि नाचगान गर्ने गरिन्छ र सम्मान पनि गर्ने गरिन्छ (शेरचन, २०७३ : ९१ – ९२) ।

गुन्युचोलो (न्होन्कोनचोलो)

यो सँस्कारलाई थकाली भाषामा न्होन्कोनचोलो भनिन्छ । छोरीलाई पूजा गरी मनाइने संस्कार हो यो । यो संस्कार थकाली जातिमा छोरीको उमेर सात, नौ, एघार वर्ष पुगेपछि छोरीलाई नयाँ कपडा न्होन्कोनचोलो र गरगहनाले सिँगारी बैठक कोठामा बसाई, बाबुआमा, ओखेमोम र अन्य नातेदारबाट टीका, फूलको माला, खादा र पछ्यौरा लगाई आशीर्वादका साथ दक्षिणा र केही उपहार दिने गरिन्छ । यो संस्कार छोराको छेवरसँग जोडिएको हुन्छ । यो संस्कारमा छोरी चेलीबेटीको तर्फबाट बाबु आमालाई केल्साङ गरेर सम्मान गरिन्छ र उनीहरूले दक्षिणा दिने गर्दछन् । उमेर उपयुक्त भएमा एउटै साइतमा छोराको छेवर र छोरीको न्होन्कोनचोलो कार्यक्रम एक समयमा गरिने चलन रहेको छ (शेरचन, २०७३ : ९२) ।

विवाह

विवाह सामाजिक संस्था र संस्कार दुवै हो । थकालीहरूको विवाहको आफ्नै मौलिक परम्परा  छ । उनीहरूमा मामाचेला फुपूचेली विवाह प्रचलन छ । जुन प्रथा वर्तमान समयमा कम हुँदै आएको छ । थकालीहरूमा मागी विवाह, भागी विवाह र प्रेम विवाह प्रचलनमा आएको पाइन्छ । जुनसुकै प्रकारको विवाह गरेको भए पनि केटा वा केटी पक्षका आमा बाबुले स्वीकार नगरेसम्म सामाजिक रूपमा त्यो विवाहले मान्यता पाउँदैन । किनभने थकालीको विवाहले मान्यता पाउन खिमी बसाल्ने, स्वयम्बर र कहर सजीको कार्य सम्पन्न गर्नु पर्दछ । खिमी बसाल्ने भनेको गोत्र परिवर्तन गर्ने विधि  हो । यसका साथै यो विवाह पक्का गर्ने विधि पनि हो । यो कार्य सम्पन्न गर्दा केटा पक्षबाट ज्वाइँको अगुवाइमा अन्य ज्वाइँ र नजिकका दाजुभाइहरू, प्हर फ्याजी गर्ने व्यक्ति, ढोग गर्ने कुमार केटा सहित रक्सी, जाँड, नेतक्हरमा, खाँडलो, जन्तर, सुराइ (फोम), चाँदीको ठेकी लिएर केटी पक्षको घरमा आउँछन् । केटी पक्ष तर्फ गोत्र भित्रका दाजुभाइहरू र चेलीबेटी, केटीको मामा, थकाली सेवा समितिका प्रतिनिधि, दाजुभाइको मुली, घरको मुलीको उपस्थिति हुन्छ । केटी पक्षको कन्या केटाले पितृपूजा गर्दछन् । केटा र केटी पक्षकाहरू आमुन्ने सामुन्ने बसेर केटा पक्षले ल्याएको रक्सी र जाँड केटी पक्षलाई दिन्छन् । यदि केटी पक्षका दाजुभाइहरूले उनीहरूले दिएको रक्सी र जाँड पितृलाई सम्झेर छे छे गरी खाए भने त्यो गोत्र परिवर्तन र विवाह पक्का भएको ठानिन्छ । खिमी बसालेको दिन केटा पक्ष र केटी पक्षबीच विवाहको तयारीबारे सल्लाह पनि हुन्छ । खिमी बसेपछि केटा र केटी पक्षको अनुकूलतामा विवाह हुन्छ । विवाह, ठूलो, सानो, सुटुक्क जसरी गरे पनि सामाजिक मान्यता पाउँछ । खिमी बसालेपछि केटीले बुहारीको र केटाले ज्वाइँको भूमिका निर्वाह गर्न पाउँछन् । थकालीको विवाहमा खिमी बसाल्ने एक महत्वपूर्ण वैवाहिक कार्य हो । यो विधिविना विवाहले पूर्णता पाउँदैन । अनुकुलता अनुसारको विवाह पछि कहरसजी गर्दा दुलाहलाई दुलहीको माइती दाजु–भाइ, आमाचिमे, मावली र आफन्तहरूमा ज्वाइँ चिनाउने गरिन्छ । यसरी थकालीहरूको विवाह सम्पन्न हुन्छ । पछिल्लो समयमा प्रेम विवाह, अन्तर्जातीय विवाह हुने क्रम बढिरहेको छ (शेरचन, २०७३ : ९२ – ९३) ।

मृत्यु संस्कार

थकाली समुदायको महत्वपूर्ण संस्कारमध्ये मृत्यु संस्कार पनि एक हो । यो संस्कार विशेषगरी मृत्यु भएको सातौँ, नवौँ र ते-हौँ दिनमा लामा, ट्होम विधिबाट सम्पन्न गरिन्छ । थकालीहरू मृत्यु भएमा मृतकका दाजुभाइ, आफन्त, नातेदारलाई मृतकका ज्वाइँले मृत्यु भएको खबर सुनाउने काम गर्दछन् । त्यसैले यो संस्कारमा ज्वाइँको भूमिका महत्वपूर्ण हुन्छ । मृतकको आत्माको चिरशान्तिको कामना गर्नको लागि एकसय आठ बत्ती (छ्योमे) बालिन्छ । बाँसको सोला बनाई मृतकको शरीरलाई त्यसभित्र राखी सोलालाई विभिन्न क्होचेन तथा अन्य रंगिन कपडाले सजाई धानको लाभा, मकैको फूलको माला र विभिन्न फूलका माला र खादा लगाउने गरिन्छ । त्यसपछि मृतकलाई दाहसंस्कारका लागि घाट (छ) लगी छोराले दागबत्ती बाली अन्तिम विदाई गर्दछन् । आफन्तहरू मलामी भएर घाटसम्म जान्छन् । मृतकको अस्तुलाई टोहम् विधिबाट मृत भएको दिनदेखि तेस्रो दिनमा र लामा विधिमा चौथो दिनमा स्याक्सोम (मेहन्दो स्थापना) गरिन्छ । स्याम्सोम् दिन मृतकको म्हेन्दो (अस्तु) लाई शुद्ध जल र फूलले शुद्ध गरेर ज्वाइँले म्हेन्दोलाई घर भित्र्याउँछन् । घरमा छोरीचेलीहरू केल्साङ गरी रूने गर्दछन् । उक्त म्हेन्दो पुरूषको भएमा पुरूषको र महिलाको भएमा महिलाको राम्रा कपडा, गहना विशेष गरी मृतक महिला भएमा कण्ठी, फर्म, हफेल फूलमाला लगाउने गरिन्छ । धुपीमा सजाएर, पाथीमा म्हेन्दो स्थापना गरी छाप्रीमा फलफूल, सेलरोटी, झिनिया, चाँदीको फुर्कपमा चिया, दूध, रक्सी राखी म्हेन्दोलाई चढाउने गरिन्छ । धुप तथा अंकुमा अखण्ड बत्तीबाली विधिपूर्वक स्याम्सोम गर्ने गरिन्छ । यो दिनमा दाजुभाइहरूले एक सय आठ कहेम्चे बत्ती बाली दाजुभाइ, माइतीहरू, छोरीज्वाइँहरूलाई खाना खुवाउने गर्दछन् । म्हेन्दो स्थापना गरिसकेपछि प्रत्येक दिनको बिहान र बेलुकी से खाना सेङोन्जी गरिन्छ । अन्य दिनहरूमा आफन्तहरूले चढाउन ल्याएका फलफूल, रक्सी, रोटी विभिन्न परिकारलाई म्हेन्दो चढाइएको खाद्यवस्तु र परिकारहरू थोरै थोरै अंश लिई धुपौरोको अग्निज्वालामा हालेर धुप मृत आत्मालाई चढाइन्छ । सातौँ दिनमा म्हन्तुङको क्हेम्चे १०८ बत्ती र एक नाङ्लो छो, मूलघरबाट विदाईको क्हेम्चे बत्ती बाली म्हेन्दोलाई विसर्जन गरी सम्पूर्ण दाजुभाइ तथा आफन्तहरूको उपस्थितिमा म्हेन्दो बोकी खोलाको तीर घाटमा लगी सेलाइन्छ । टोहम् विधिबाट तीन दिनमा स्याक्सोम् र सातौँ दिनमा म्हाङराजी वा लामा विधिबाट चाङपर्जी गरी मृत्युसंस्कार सम्पन्न गरिन्छ । मृत्यु संस्कार सम्पन्न गर्दा मृतकको विवाहित जेठी छोरी र ज्वाइँको आवश्यकता पर्दछ । उनीहरू अनिवार्य रूपमा उपस्थित हुनु पर्दछ । जेठी छोरीले सम्पूर्ण व्यवस्थापकीय कामको नेतृत्व लिएकी हुन्छे भने ज्वाइँले पुरेत काम गर्नु पर्दछ । मृत्यु संस्कारको अन्त्यमा जेठी छोरी ज्वाइँले मातुङ (सपरान) र क्होइला (कपडा सहित दक्षिणा) पाउँछन् । यदि अन्तर्जातीय विवाह र खिमी नबसालेको विवाह भएमा छोरीले मातुङ र क्होइला पाउँदैनन् । अन्तिम दिनमा घरका परिवार, दाजुभाइ, बुहारीहरू चोखो हुनका लागि तातो ढुङ्गामा जल छर्की, वाफ लिई, हातमा भेडाको रौँको डोरी बाँधी किरिया शुद्धि गर्ने चलन छ । टोहम्बाट म्होलो सेजी जोखना हेरी मृतकको घर दाजुभाइहरूलाई शुभ–अशुभ कार्य हुने वा नहुने बारे भविष्यवाणी गरिन्छ । थकाली सेवा समितिको नियमावली अनुसार अधिकांश थकालीले किरिया शुद्धि सातौँ दिनमा गरिने गरिएको छ (शेरचन, २०७३ : ९२ – ९३) ।

भाषा

धेरै जसो आदिवासी जनजातिका आ–आफ्नै भाषा छन् । तर समग्रमा भन्नु पर्दा केही आदिवासी जनजातिका बाहेक धेरैका भाषाहरू लोपोन्मुख अवस्थामा छन् भन्दा अत्युक्ति नहोला । वि.सं. २०६८ को जनगणना अनुसार थकाली जातिको कुल जनसंख्या महिला ७०५८, पुरूष ६१५७ गरी जम्मा १३२१५ छ । यी मध्ये महिला २७८१ र पुरूष २४६१ गरी जम्मा ५२४२ ले मात्र आफ्नो मातृभाषा बोल्दछन् । थकाली भाषाको आफ्नो लिपि छैन । थकाली भाषा सम्बन्धमा विभिन्न विद्वान्हरूको भनाई यस प्रकार छन् –

थकालीहरू भोट–बर्मेली परिवारको भाषा बोल्दछन् (सामान्य ज्ञान, २०६३ : ५६) । थकालीहरूको आफ्नै भाषा छ जसलाई टिबेटोबर्मन परिवारको भाषा भनिन्छ । यिनीहरूले बोल्ने भाषा तामाङ र गुरूङसँग मिल्दो जुल्दो छ (पाण्डेय, २०६१ : ३९) ।

थकाली बोली तिब्बती – बर्मेली परिवारको बोली हो र मगर, गुरूङ आदिको बोलीकै समूहमा यसलाई लिन सकिन्छ (सूचना विभाग, २०३१ : ५२६) । “थकाली” थकालीहरूको भाषा हो । थकालीहरूको उद्यमप्रियता, बसाइँ सराइ, शैक्षिक विकास र नेपाली भाषाभाषीहरूसँगको सम्पर्कले गर्दा सबैले नेपाली जानेको र धेरैले नेपालीको प्रयोग नै गर्ने भएकोले थकाली भाषाको प्रयोग अहिले घट्दो छ । थकाली भाषाभाषीहरू छरिएर बसेकाले भाषाको प्रयोग विस्तारका निम्ति शिक्षण संस्थाहरूको स्थापनाको सम्भावना पनि उत्साहजनक छैन । तैपनि थकालीहरूको संख्या बढी भएका ठाउँहरूमा संस्थागत रूपमा भाषाको सम्बद्र्धनका लागि कार्यक्रमहरू संचालित हुन सक्छन् । विद्यालय र पुस्तकालयहरू स्थापित गर्न सकिन्छ । भाषालाई लिपिबद्ध गरी पाठ्यपुस्तकहरू तयार गर्न   सकिन्छ । यस कार्यमा भाषामा विद्वान् र लेखकरूको सहयोग प्राप्त हुन सक्छ । तर यसका निम्ति भाषाभाषी समाज नै सक्रिय हुन आवश्यक छ । सरकारी क्षेत्रबाट वा कुनै संस्थाबाट विभिन्न भाषाको विकासको निम्ति कार्य गरिएलान् भनी पर्खेर बस्नु आफ्नै भाषाको विकासमा विलम्ब गर्नु हो (बन्धु, २०४९ : १४) ।

मुस्ताङ जिल्लाको कुन्जो ताउलुङ भन्ने गाउँमा जन्मेका झण्डै सत्तरी वर्षका कुलबहादुर गौचनले दिएको सूचना अनुसार थकाली भाषा मुस्ताङ जिल्लाका टुकुचे, कोबाङ, देवीथान, ल्हार्जुङ, नाउरीकोट, भुर्चुङकोट, न्हाकुङ, धम्फु, टिटी, ताउलुङ, कुन्जो, लेते र घाँस गाउँमा मुलतः बोलिन्छ । आज सबै थकालीहरू नेपाली भाषा बोल्न सक्छन् । आधाभन्दा बढ्ता थकालीहरूलाई थकाली भाषा बोल्न आउँदैन । धेरैजसो थकालीहरू नेपाली भाषामै आफ्नो काम चलाउँछन् । त्यसै आफना छोराछोरीहरूलाई थकाली भाषा सिकाउने कुरामा अल्छी गर्न थालेका छन् । चिनियाँ नक्साअनुसार ब्रह्मपुत्र नदीको एउटा भागलाई तामाङह (तामाङगाड) भनिन्छ । नेपालका तामाङ, गुरूङ, थकाली, मनाङ, काइके र छन्त्यालहरूको साइनो उक्त नदीसित भएजस्तो लाग्छ, किनभने उनीहरूका भाषा बीचमा शब्द भण्डार र व्याकरणमा समानता छ । तिनीहरूले आफूलाई चिनाउन प्रयोग गर्ने नाममा पनि ‘त – म – (ङ)’ पाइन्छ । यी सबै भाषाहरू भोटबर्मेली भाषा परिवारको बोडिक वर्ग अन्तर्गत बोडिफ उपवर्गमा पर्छन् । यी ६ वटा भाषाहरूलाई भाषा वैज्ञानिकहरूले ‘तामाङिक’ समूहमा भाषा भन्ने नाम दिएका छन् (पोखरेल, २०६२ : ५९) । विदेशी र स्वदेशी खोजकर्ताले भन्ने र लेख्ने गरेको अबको ३० – ४० वर्षमा थकाली भाषा लोप हुन्छ तथा त्यो अवधिसम्ममा थकालीको मौलिक संस्कृति र संस्कारले निरन्तरता पाउन कठिन हुन सक्छ भन्ने कुरा त्यसै ओक्लेको होइन होला । यसका पछाडि धेरै कारण र आधार होलान् त्यसमध्ये सबैले अनुभव गरेको मुख्य कारण र आधारचाहिँ (१) मौलिक स्थान छोडेर बसाइँ सर्ने क्रम तीव्रता आउनु (२) आधुनिक संस्कृतिको दरो प्रभाव तथा (३) पछिल्लो समय आर्थिक उन्नतिले ल्याएको फरक जीवनशैली हुन भन्न सकिन्छ । अनुसन्धानकर्ता, लेखक तथा विद्वान्हरूले अनुमान गरेजस्तै अगामी ४० – ५० वर्षसम्ममा थकालीको मौलिक भाषा र संस्कृति त्यति सजिलोसँग विनासै हुने अवस्था छैन । यसबाट हामी अत्तालिएर बढी उत्तेजित हुनु पर्ने स्थिति पनि छैन । किनभने संसारका कुनै पनि जीव र जातिको भाषा र संस्कृति लोप हुनका लागि त्यो विशेष जातिको अस्तित्वनै यस पृथ्वीबाट समाप्त हुनु पर्दछ (शेरचन, २०७३ : ३५ – ३६) ।

थकाली भाषा भोटबर्मेली खलकको भाषा भनेर चिनिने गरेको देखिन्छ । यस भाषाको आन्तरिक नाम ‘तमाङ÷तपाङ कै’ र बाह्य नाम थकाली भाषा रहेको पाइन्छ । थकाली – नेपाली – अंग्रेजी शब्दकोष भाषिक पुनर्जीवनका लागि एउटा प्रयासको रूपमा निर्माण गरिएका कक्षा एक र दुईका पाठ्यपुस्तकहरू, थकाली सेवा समिति र थकाली अनुसन्धान केन्द्रमा प्रयोग हुने कार्यालयका चिठीपत्रहरू तथा अन्य केही कविता, गीत, लघुकथाहरू आदि सामग्रीमा देवनागरी लिपि प्रयोग गरिएको पाइन्छ । यस लिपिको प्रयोगप्रति यहाँका मानिसको धारणा सकारात्मक रहेको पाइन्छ । यस लिपिमा यस भाषाका ध्वान्यात्मक विशेषताहरू (तानलाई) लाई पनि राम्रोसँग प्रस्तुत गरिएको देखिन्छ (पौडेल, २०६७ : ७१ – ७३) ।

थकाली भाषा नेपालका अन्य आदिवासी जनजाति तामाङ, गुरूङ र छन्त्याल भाषासँग मिल्दो जुल्दो मानिन्छ । यो जातिमा आफ्नो मातृभाषा बोल्नेहरूको संख्या दिनप्रतिदिन घट्दै गईरहेको छ अझ भन्ने हो भने नयाँ युवा पिँढीका थकाली प्रायलाई आफ्नो भाषा आउँदैन । इ. तेजप्रसाद गौचनले थकाली – नेपाली – अंग्रेजी शब्दकोष तयार पारेका छन् र जुन थकाली जातिको मातृभाषा संरक्षणका लागि निकै सहयोगी मानिएको छ । यस जातिको मातृभाषामा व्याकरण भने अहिलेसम्म प्रकाशनमा आएको छैन । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा थकाली सेवा समिति नेपालले इ. तेजप्रसाद गौचनको लेखनमा आफ्नै मातृभाषामा कक्षा १ र २ को पाठ्यपुस्तक तयार पारिसकेको छ । सो पाठ्यपुस्तक थासाङको लेते र कोबाङका दुई विद्यालयमा पठन पाठन भइरहेको छ । सरकारको मातृभाषा शिक्षा कार्यक्रम अन्तर्गत यो पाठ्यपुस्तकको निर्माण भए पनि यसको व्यवस्थापन, विद्यालयमा सम्बन्धित मातृभाषाको ज्ञान भएका शिक्षकको दरबन्दी अभाव जस्ता कुराले यो कार्यक्रमलाई प्रभाव पारिरहेको केन्द्रीय समिति नेपालको धारणा रहेको छ (शेरचन, २०७० –  ६९) ।

साहित्य

नेपाली साहित्यको संरक्षण, सम्बद्र्धन र जगेर्नाको इतिहासमा थकाली साहित्यकारहरूको गरिमामय योगदान रहेको छ । नेपाली साहित्यभन्दा नेपालका सबै जाति–प्रजातिका भाषामा लेखिएको साहित्यलाई समेत बुझ्नु पर्दछ । जातिय रूपमा देखापरे पनि ती सबै नेपाली संस्कृतिका बहुमूल्य सम्पदा हुन् । यस्तै नेपाली साहित्यका प्रतिभाहरूमध्ये थकाली स्रष्टा हुन् – ओमप्रसाद गौचन, बुद्धिबहादुर थकाली, नरसिंहभक्त तुलाचन, भूपि शेरचन, पृथ्वी शेरचन, बसन्त शेरचन, उषा शेरचन, हेमन्त गौचन, नीला तुलाचन, चन्द्र भट्टचन, रोशन शेरचन, मनीषा गौचन, अनिल गौचन, चन्द्र गौचन, ध्रुव भट्टचन, रत्न भट्टचन, कविता शेरचन, अमृता शेरचन, राजेन्द्र शेरचन, विमल शेरचन, विपिन भट्टचन, मनवान्ती शेरचन, चन्द्रबहादुर थकाली, विनोद भट्टचन, लोकेन्द्र शेरचन तथा नरेन्द्र गौचन आदि (प्रभात, २०६७ : २८ – ३३) । यसरी नै खोज अनुसन्धानमूलक रचनाहरूद्वारा जनजागृति गराउने थकाली लेखकहरू हुन् – ओमकारप्रसाद गौचन, डा. कृष्णबहादुर भट्टचन, इ. तेजप्रसाद गौचन, इ. प्रकाश गौचन, सुरेन्द्र गौचन, ज्योति भट्टचन, होमा थकाली, पूर्णप्रसाद तुलाचन, इन्द्र बहादुर तुलाचन, सोमप्रसाद गौचन, योगेन्द्रमान भट्टचन, डा. लोकेन्द्र शेरचन, सुशीला शेरचन, सावित्री शेरचन तथा ध्रुवकुमार भट्टचन आदि रहेका छन् ।

यसरी नेपाली भाषा, साहित्य, खोज–अनुसन्धानमूलक रचनाहरू सिर्जना गर्ने अरू पनि धेरै थकाली साहित्यकारहरू छन् । ती सबैको नाम यो सङ्क्षिप्त टिप्पणीमा समावेश गर्न सकिएको छैन ।

खानपिन

थकालीहरूको बोली चाली मीठो ! सबैमा आत्मिय र सरल व्यवहार । सफा सुग्घर । अनि थकाली खाना मीठो ! जिम्बुको स्वादै अर्कै ! यी सबकारण नेपाली र एक पटक थकाली खाना चाखी सकेका विदेशीहरू थकाली खाना खोजी खोजी खान्छौं ।

थकाली जातिको सबैभन्दा प्रचलित खानानै थकाली खाना हो । अन्य समुदायले थकालीलाई मीठो खाना बनाएर खाने जातिको रूपमा चिन्दछन्, जुन यथार्थ पनि हो । थाक सातसय जस्तो भौगोलिक विकटता रहेको ठाउँमा पनि यिनीहरूले सामान्य प्रचलित खानाका अलावा अन्य मीठो खानाका लागि थुप्रै उत्कृष्ट खाद्यवस्तु र खानाको विकास गरे । जसमा फापरको सागबाट बनेको ढाप्रा, फापरको अन्नबाट बनाइएको ‘पेटरा’ पिठो, सिमीको दालबाट बनेको पिठो ‘फारो’ तिम्जुको सुकेको साग, सुकुटी र आलुमा जिम्बु राखेको तरकारी, ढुङ (आन्द्रामा रगत वा फापरको पिठो भरि बफाएको समेज जस्तै) आदि हुन् । थकाली जातिको जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा जाँड रक्सी प्रयोग गर्ने गरिन्छ । जस्तै खिमी च्हुव गर्दा, विवाह पश्चान् क्हरसजी (माइती भेट्न जाँदा), पूजा आजा, खिमी. ह्रमदेन आदि सबै राम्रा/नराम्रा काममा जाँड रक्सी नभइ हुँदैन (शेरचन, २०७० : ६८) ।

भेषभूषा

नेपालीहरू विशेषत आदिवासी जनजातिका आ–आफ्नै प्रकारका भेष भूषा र आभूषणहरू छन् । थाक सातसय निवासी आदिवासी जनजाति थकाली जातिको पनि आफ्नै प्रकारका भेषभूषा र आभूषणहरू छन् । थकाली जातिको अन्य आदिवासी जनजातिको जस्तै आफ्नै भेषभूषारहि आएको  छ । महिलाको न्होकोन् चोलो र पुरूषको लवेदा सुरूवाल थकाली जातिले आफ्नो मौलिक भेषभूषाका रूपमा स्वीकार्दै आइरहेका छन् । विगतमा छोरीहरू ५ वर्ष पुगिसकेपछि विजोर वर्षको हुँदा न्होकोन चोलो भेषभूषा दिने चलन थियो । महान् चाड तोरन्लमा ३ दिनसम्म रातमा खिमी (पितृ) चढाउँदा, ल्ह फेव (बाह्र वर्षे कुम्भ मेला), स्योपेन लव (फालो) जस्ता परम्परागत उत्सव र मेलामा आफ्नो भेषभूषा पहिरिनु पर्दछ भन्ने मान्यता थकालीहरू राख्छन् । भेषभूषा सँगै लगाउने परम्परागत अन्य गरगहनामा मुगा र युबाट बनेका कन्ठी, फर्म, सुनबाट बनेको हम्बेल, आर्टस, पच्याली, तिलहरी आदि हुन् । विशेष अवसरमा यसको प्रयोग बढ्दै गएको छ (शेरचन, २०७० : ६८ – ६९) । थाकखोला क्षेत्रलाई आफ्नो मूलथलो मान्ने गौचन, तुलाचन, शेरचन र भट्टचन थर थकालीहरूको जनजीवनमा खाङलो थकाली भाषामा (खोङलो या खाङलो को आफ्नै विशिष्ट स्थान छ) “खाङलो” गलामा पहिरिने चाँदिको ठोस आभूषण हो । यो आभूषण थकाली जातिको विवाह संस्कार अन्तरगत “थर परिवर्तन संस्कार” थकाली भाषामा (खिमी च्हुव) मा अनिवार्य रूपमा प्रयोग गरिन्छ । बर पक्षबाट अनिवार्य रूपमा ल्याइएको खाङलो र सुनको जन्तर (थकाली भाषामा चोटकेर), बधूपक्षको कुमारकेटोले पहिरियर थर परिवर्तन गर्ने प्रक्रिया सम्पन्न गरिन्छ । बूढापाकाहरूको भनाई अनुसार उहिले थकाली नववधूलाई खाङलो र सुनको जन्तर अनिवार्य रूपमा पहिराइन्थ्यो । तर आजकाल यो चलन समाप्त भई सकेको छ । “खिमी च्हुव” गर्दा पनि खाङलो मात्र प्रयोग गर्ने चलन आजकाल चलेको छ (भट्टचन, २०४९ : २९) ।

समय परिवर्तनसँग सँगै थकाली जातिले आफ्नो पारम्परिक भेषभूषा लगायत हिजो आज देश र विदेशमा प्रचलित रहेका सबै प्रकारका भेषभूषा र गरगहना प्रयोग गर्दछन् ।

पेशा

मूलतः थकाली जाति व्यापारी जाति हो । कृषि कर्मसँगसँगै व्यापारमा पोख्त थकालीहरू विशेष गरेर होटेल व्यवसायबाट जनमानसमा चिनाउन सफल भएका हुन् । थकाली होटेलको खानाको स्वादै छुट्टै र मीठो हुने भएकाले मोटर बाटोको विकास हुनु अघि मूल बाटाहरूमा रहेका थकाली होटेलहरूले यात्रुहरूको मन जितेका थिए । अहिले पनि ठूलाठूला होटेलमा रमाउनेहरू छुट्टै स्वाद र मीठो नेपालीपनको खानाको लागि थकाली होटेलको खोजी गर्ने धेरै छन् ।

थकाली जातिको परम्परागत पेशा कृषि, पशुपालन र व्यापार हो । सन् उन्नाईसौं शताब्दीको सुरूदेखि मध्यसम्म थकालीहरू तिब्बत–नेपालबीचको नुनको व्यापार गर्दथे । तिब्बत र उत्तरी उच्च भूमिबाट भेंडाबाख्रा, चौँरी, घोडा खच्चर, उन, छाला, नौनी, छुर्पी, सिधेनुन पैठारी गर्थे । त्यसको बदलामा नेपाली र भारतीय मालसामान, धान, गहुँ, जौ, मकै, दाल, फापर, तेल, चिया, नेपाली कागज आदि निर्यात गर्दथे । यो समयावधिमा थकालीको व्यापारिक केन्द्र टुकुचे गाउँ थियो जो उक्त समय र क्षेत्रको सबै भन्दा चर्चित व्यापारिक केन्द्र थियो । यसका साथै सन् उन्नाईसौं शताब्दीको सुरूतिरनै केही थकालीहरू तामाखानीको ठेक्कापट्टा र व्यापार व्यवसायका लागि स्थायी रूपले नै बागलुङ, म्याग्दी, पर्वत, गुल्मी र प्यूठान जिल्लाका विभिन्न ठाउँमा बसाइँ सराइ गरेका थिए । थकाली जातिको व्यापार व्यवसायमा अर्को प्रतिष्ठाको विषय भनेको होटेल रेष्टुरेण्ट व्यवसाय हो (शेरचन, २०७० : ६७ – ६८) । समय परिवर्तनसँगसँगै वर्तमान अवस्थामा थकाली जाति नेपालका ठूला ठूला उद्योग स्वदेशी व्यापार वैदेशिक व्यापार, पर्यटन उद्योग संचालन गरी देशलाई आर्थिक दिन मद्दत पु¥याई रहेका छन् । साथै प्राज्ञिक क्षेत्रमा समेत संलग्न भई देशलाई उज्यालो पार्न समेत सहयोगी भईरहेका छन् ।

ढिकुरी

नेपालमा बैंक, सहकारी तथा अन्य कुनै पनि वित्तिय संस्थाहरूको जन्मै नभएको समयमा थाक सातसयमा थकालीहरूमा “ढिकुरी प्रथा” संचालनमा थियो । थाक सातसयमा यो प्रथा सदयौंदेखि चल्दै आईरहेको छ । यस प्रथाले सम्बन्धित ढिकुरी समूहका सदस्यहरूको गर्जो टार्ने लगायत आर्थिक उन्नतिमा समेत सहयोग पु-याउने गरेको  छ । यस प्रथाले समूहमा आपसमा सद्भाव, सतप्रेम तथा सामूहिक जिम्मेवारीको वोधको विकास गर्दछ । यथार्थमा भन्नु पर्दा नेपालमा ढिकुरी प्रथा सहकारी व्यवस्थाको जननी हो ।

थकाली सेवा समिति नेपालका केन्द्रीय सल्लाहकार भैरहवा निवासी ओमकार गौचन (७६) अनुसार – ढिकुरी प्रथा कहिलेदेखि शुरू भयो थाहा भएन तर धेरै अगाडिदेखि थकाली समाजमा यो प्रथा प्रचलनमा आईरहेको छ । “ढिकुरी” भन्नाले ‘ढि’ माने अन्न ‘कुरी’ माने घुमाउने भन्ने बुझिन्छ । थकाली समाज भित्रबाट १० देखि १५ जना सम्मको समूहले प्रतिव्यक्ति १० पाथी उवा वा मकै संकलन गरी जम्मा गरिएको अन्न समूह भित्र जुन सदस्यलाई तत्काल आवश्यक छ उसलाई फिर्ता हुने गरी सहयोग गर्ने र पछि क्रमले पूनः सबैसँग उठाई आवश्यक पर्ने सदस्यलाई पालै पालो सहयोग गरी पन्धौं पालोमा सबैलाई सहयोग र फिर्ता भइसकेको हुन्छ । यसरी पूनः ढिकुरी प्रक्रिया क्रमिक रूपमा संचालनमा आईरहेको हुन्छ । थकाली समाज भित्र विपन्न परिवारलाई त्यस्तो स्थितिबाट उकास्ने कार्य यस ढिकुरी प्रथाले सहयोग गरेको महसुस गरिएको छ । हालको स्थितिमा अन्नको प्रथा छाडी नगदको रूपमा प्रचलनमा आएको छ । र यस प्रंथाले सहकारीको रूप धारण गरेको छ ।

ढिकुरी निश्चित समयसीमाभित्र टुंगिने गरी निश्चित सदस्य संख्या, थैली रकम र रकमको व्याजदर निश्चित गरेर घोपा (ढिकुरी संचालक) द्वारा संचालन गरिने एक आर्थिक क्रियाकलाप हो । ढिकुरी पहिलेदेखि नै थाक सातसयमा थकाली जातिमा चल्दै आइरहेको आर्थिक परम्परा हो, जुन आजको परिवर्तित र थकाली जाति बसाइँसराइ गरेर देशका अन्य क्षेत्रमा बसेको अवस्थामा पनि त्यत्तिकै महत्वपूर्ण छ । ढिकुरीको माध्यमबाट नै थकाली जातिको दिगो आर्थिक विकास सम्भव भएको कुरामा कुनै दुईमत नहोला । कुनै नयाँ व्यापार व्यवसाय संचालन गर्न वा आर्थिक हिसाबले कमजोर भएमा वा आर्थिक कारोबार बिग्रेमा निजको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफ्नो दाजुभाइ, इष्टमित्र तथा नजिकका नातेदारबाट आर्थिक खेलोको रूपमा ढिकुरी जमाइदिने चलन पनि रहि आएको छ (शेरचन, २०७० : ६८) । ‘ढ्हि’ को अर्थ एक र ‘कोरो’ को अर्थ घुमाउरो हुन्छ । अतः ‘ढ्हिकोरो’ को अर्थ एक–एक गरी घुमाउने भन्ने बुझिन्छ । ‘ढ्हिकोरो’ शब्द छिटो छिटो उच्चारण गर्दा र अपभ्रंश भई ढिकुरी, ढिकुडी आदि नामले पुकारिन थालिएको हो । ढिकुरी आर्थिक साझा संस्थाको संस्थापकको श्रेय मुस्ताङ जिल्लाको दक्षिणी भेग थाक सातसय इलाका तेह्र मुखिया स्वायत्त शासन प्रणालीका अनुयायी अग्रज थकालीहरूलाई जान्छ (भट्टचन, २०६२ : ५५) ।

तेह्र मुखिया प्रणाली

थासाङ अर्थात् थाक सातसयमा सदियौंदेखि १३ मुखिया प्रणाली चल्दै आईरहेको छ । भूरे राजाहरूको पालामा पनि यो प्रणाली थियो । १३ मुखिया प्रणाली कहिलेदेखि थासाङमा प्रचलनम आयो यसको तिथि मिति भेटिएको छैन । नेपाल एकीकरणपछि पनि यो प्रणालीलाई केही फरक परेन । तानाशाही राणाकालमा पनि यो प्रणाली यथावत् कायम रह्यो । देशमा २०१७ सालपछि लादिएको पंचायती व्यवस्थाले पनि यसलाई असर पार्न सकेन । थासाङ क्षेत्रलाई १३ गाउँमा विभाजन गरी प्रत्येक गाउँबाट गाउँको प्रतिनिधिको रूपमा मुखिया चुनिने र ती १३ मुखिया मध्येबाट मिर मुखिया १, उपमिर मुखिया १ र तहविल मुखिया १ चुनिन्छन् र बाँकी १० मुखियाको रूपमा रहन्छन् । समयकाल परिस्थिति अनुरूप गाउँका सबै प्रकारका खिचोला १३ मुखिया प्रणालीबाट न्यायिक निराकरण गरिन्छ । सरकारी अड्डा अदालत जान यस मुखिया प्रणालीले हतोत्साही गर्दछ । भूरे राज्यकाल, शाह काल, तानाशाही राणाकाल, पंचायती शासन र वर्तमान अवस्थामा पनि अस्तित्वमा अडिग यो १३ मुखिया प्रणाली वास्तवमा नेपालमा स्वायत्त शासनको अद्भूत नमुना हो । यथार्थमा यो प्रणाली प्रजातान्त्रिक, जनतान्त्रिक र गणतान्त्रिक पद्धतीको जग हो भन्नुमा अत्युक्ति नहोला । यसको निम्ति थासाङ निवासी थकाली जाति आदर एवम् प्रशंसाका पात्र छन् ।

थाक सातसयका १३ मुखिया नै यहाँका स्वजातीय प्रशासकको रूपमा रहेका हुन्छन् । यी १३ मुखियाबाट मुखिया र मिर मुखियाको चुनाव हुन्छ । यिनीहरूले थाक सातसयका पुराना सनद–सवाल, रीतिस्थितिका कागजात र अन्य आफ्ना रीतिस्थिति बन्देज सहितका कागजातहरू १३ मुखियाको लाहाछाप लगाई राख्दछन् । चार जात थकाली भित्रको परम्परागत रीतिस्थिति, नियम–उपनियम आदिको पालना गरे नगरेको कुरा र परस्परमा असन्तुष्ट तथा एकले अर्कालाई अन्याय गरेको विवादास्पद विषयहरू समेत अड्डा अदालतमा नलगी यिनै १३ मुखिया र यी मध्येका मिर मुखियाहरूका उपस्थितिमा परम्परागत चलिआएको, तोकिएका समयको प्रतीक्षा गरिन्छ । यो तोकिएको समय प्रत्येक सालको भाद्र महिनाको ऋषितर्पणी पूर्णिमापछिको तृतीया तिथि हो । यस चर्चित दिनमा मुखियाहरूको उपस्थिति तोकिएको स्थानमा हुन्छ । यिनीहरूको उपस्थितिमा भएका सबै यथार्थ कुराको छलफल गरी परम्परागत रीतिस्थितिका आधारमा सबै समस्या समाधान गरिन्छ र कुनै त यो नियम बनाई रीतिस्थिति कायम गर्नु पर्ने देखिएमा प्रस्ताव पारित गरी गर्ने प्रथा यथावत रूपमा चलिआएको छ (क्षेत्री, २०४४ : ३३४) ।

नेपाल राष्ट्रको विशिष्टताको पहिचान थेग्ने जाति नै थकाली हुन् । यी जातिको उद्गम थलो वा पवित्र भूमि कोबाङ हो भने मार्फाली थकाली, बाह्रगाउँले, तीनगाउँले लगायतका पनि आ–आफ्नो भूमिका उत्तिकै महत्व छ । थकाली जातिका थर भट्टचन, शेरचन, गौचन, तुलाचनहरूले परम्परागत रूपमा मानि आएको आ–आफ्नो संस्कार, संस्कृतिको पूजा गर्ने पवित्र मन्दिरहरू छन् । ती मन्दिरमा पूजा गर्ने पुजारी हुन्छन् । ती पुजारी आफ्नै थरका र तिनीहरूको नियूक्ति मुखियाहरूले गर्ने भएको हुनाले पक्रिया नै अन्य भन्दा भिन्न छ । मुखिया प्रणाली थकाली जातिको ऐतिहासिक वा परम्परागत रूपमा समाजमा संचालन गर्ने एक भिन्न कानुनी पद्धती हो । यस पद्धतीलाई जिल्लाका समग्र जनताले सर्वसम्मत रूपले स्वीकार गरिआएका हुनाले त्यसको कुनै गुञ्जायस रहेको पाइँदैन । केही अन्य जिल्लाबाट आएका मानिसले प्रणालीको केही आलोचना गरे पनि त्यसको कुनै तुक छैन । किनकी, जनता हुन् – सार्वभौम निर्णायक । यहाँका जनताले यो प्रणालीलाई नै सर्व स्वीकारको रूपमा मान्छन् । जनताले परम्परादेखि आजसम्म र कालान्तरसम्म यो पद्धतीलाई अवलम्बन गरिरहनेमा शंका नगर्नु न्यायोचित हुन्छ । मुखिया प्रणालीलाई नेपाल सरकारले आजसम्म मानेको छ । तर लिखित रूपमा नेपाल प्रचलित ऐन, नियम र नीतिमा समावेश गरेको भने गरेको छैन । यस्तो सामूहिक, लोकतान्त्रिक, सबैले जित्ने, कसैले नहार्ने सर्वोत्कृष्ट न्यायिक पद्धती मुस्ताङ बाहेक अन्य कुनै जिल्ला, जाति वा समुदायमा स्थापित रहेको यो पंक्तिकारलाई आजको मितिसम्म जानकारी छैन (घले, २०७० : २२ – २३) ।

वास्तवमा यो १३ मुखिया प्रणाली रूप र सारमा संघात्मक संरचनासँग मेल खान्छ । किनभने भौगोलिक रूपमा क्षेत्रगत इकाइको आधारमा थकाली समुदायको १३ वटा मूल गाउँहरू – टुकुचे, खन्ती, कोबाङ, लार्जुङ, नाकुङ, भुर्जुङकोट, नाब्रुङकोट, धम्पु, टिटी, ताउलुङ, कोन्ज, लेते र घाँस अस्तित्वमा छन् जो आफू – आफैद्वारा स्वशासित छन् । स्थानीय स्तरमा गाउँबाट छानिएको गाउँ मुखिया प्रणालीबाट गाउँ समाजको हितमा गाउँलेहरूको सहमतिमा गाउँको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, न्यायिक तथा सम्पूर्ण परम्परागत संस्कार आदिको व्यवस्थापन, संरक्षण र सञ्चालनका प्रमुख भूमिका निर्वाह गरिन्छ । क्षेत्रगत इकाइका रूपमा स्थापित मुखेली गाउँहरू माथि सर्वोच्च निकायको रूपमा १३ मुखिया स्थापित रहेको छ । सर्वोच्च अङ्ग १३ मुखियाको नीति निर्देशनमा गाउँ मुखियाहरू आफ्नो क्षेत्रमा निर्देशित रहेका हुन्छन् । यसरी १३ मुखिया प्रणाली नाम जे रहेको भएपनि सारमा एउटा जनमुखी लोकतान्त्रिक प्रणालीका रूपमा सर्वमान्य मात्र होइन लोकप्रिय रहँदै आएको छ । सामाजिक जीवनको विभिन्न क्षेत्रमा आवयक नीति, नियम र बन्देजहरू तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दछ । समाजभित्र परिआउने जुनसुकै प्रकृतिको झै–झगडा र विवादको न्यायिक समाधान १३ मुखिया प्रणालीबाट हुने गर्दछ । यसरी १३ मुखियाले परम्परागत रूपमा प्रचलित मापदण्डभित्र रहेर एकीकृत रूपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका निभाउँछ । यही स्वशासकीय १३ मुखिया प्रणालीबाट थकाली जाति, समुदाय आज पनि निर्देशित रहेको छ । यो थकालीको मौलिक बिशिष्टता हो (शेरचन, २०७२ : ७२ – ७३) ।

उपसंहार

हिमाल, पहाड र तराई एवम् नदी–नाला, ताल तलैयाहरूद्वारा सुशोभित हराभरा सुन्दर देश नेपाल सदियौंदेखि विभिन्न जातजाति, भाषाभाषी, धर्म, कला र संस्कृति अंगालेका समूहहरूको आरक्षस्थल रहिआएको छ । नेपालका हिमाली क्षेत्र र पहाडका उत्तरी तथा मध्य भागमा बसोबास गर्ने आदिवासी जनजातिहरू विशेष गरेर हिमाल पारि तिब्बतबाट आएका मंगोलमूलका जनजातिहरू हुन् । थकाली जातिको सम्बन्धमा ह्रव अनुसार थकाली जातिका श्रद्धेय पुर्खाहरू (१) च्योकी (गौचन) का पुर्खा अनि ऐरम्, (२) साल्की (तुलाचन) का पुर्खा साम्लिढेन साम्लिच्याङ, (३) ट्हिमचन (शेरचन) का पुर्खा ढाक्पा कहेल्चनले र (४) प्कुर्की (भट्टचन) का पुर्खा पाउकुतीहरू पश्चिमबाट पूर्वतिर आउने क्रममा जुम्लाको सिंजा भन्ने ठाउँमा बसेका र त्यहाँबाट कालो चरा उडेको उत्तर तर्फ पाउकुती र रातो, हरियो र सेतो चरा उडेको पूर्व तर्फ अन्य तीन पुर्खाहरू लागेछन् । धेरैपछि तीन पुर्खा र पाउकुतीको भेट रूप्से छहरामा भएछ । यसपछि चारै पुर्खाहरूले थासाङ थाक सातसयका विभिन्न इलाकामा बसोबास गरे । यसैले थासाङ, थाकखोला, थाक सातसयमा बसोबास गरेका कारण यिनीहरूलाई थकाली भनियो । यिनीहरू मंगोल मूलका एक हाँगा हुन् । प्रायजसो थकालीहरूले आफूहरू जुम्ला सिञ्जाका राजकुमार हंसराजा र ठीमीकी राजकुमारी ङहीम रानीका सन्तान भनी ठकुरी भएको दावी गर्दै आएका छन् । तर अर्का थरीको भनाई अनुसार थाकखोला भेकका अन्य जातिहरू गुरूङ, मगर र तामाङहरूको अन्तर्जातीय वैवाहिक सम्बन्धबाट उत्पन्न भएका वर्णशंकर  हुन् । हालसम्म यी विवादित जिज्ञासाहरू अनुत्तरीत छन् । अध्ययन, अनुसन्धानबाट यथार्थ तथ्यको प्रकाश हुने नै छ । थाक सातसयमा बस्ने थकालीहरू च्योकी, साल्की, ट्हिमचन र प्हुर्की चार थर थकालीका ३८ क्ह्यूहरू (गोत्र) छन् । वि.सं. १९९३ देखि च्योकीलाई ‘गौचन’, साल्कीलाई ‘तुलाचन’, ट्हिमचनलाई ‘शेरचन’ र प्हुर्कीलाई ‘भट्टचन’ भन्न थालिएको हो । थकाली जातिको प्राचीन धर्म बोन धर्म हो । तर पछि बौद्ध धर्म र धेरै पछि हिन्दु धर्म अपनाउन थालियो । यसरी थकालीहरूले बोन धर्म, बौद्ध धर्म र हिन्दू धर्म गरी तीन धर्म मान्ने गर्दछन् । थकालीहरू ‘महागुरू नरिझ्योक’ लाई अत्यन्त श्रद्धापूर्वक मान्दछन् । तर हिन्दू धर्म मान्ने थकालीहरू महागुरू नरिझ्योवलाई महालक्ष्मीको रूपमा स्वीकार्दछन् । चार चन थकाली मध्ये गौचनका इष्ट देवता – ल्ह् लाङ्वा न्हुर्वु, तुलाचनका इष्टदेवी – ल्ह् छिरिन उपल्यो, शेरचनका इष्ट देवता ल्ह् क्याङला सिंकिकर्यो र भट्टचनका इष्ट देवता – ल्ह् ह्यावा हाङज्युङ हुन् । थकाली जातिका आफ्नै प्रकारका धार्मिक पर्वहरू छन् – ल्ह फेव (बाह्र वर्षे मेला) तिब्बतीयन ज्योतिष शास्त्रका अनुसार यो पर्व प्रत्येक १२ वर्षको प्रल्हो (वाँदर वर्ग) मा गरिन्छ । स्योपेन लव (कुमार यात्रा) हरेक वर्षको भाद्र महिना (फालो) मा गर्ने परम्परा छ । तोरन्ल (फागु पूर्णिमा) फागु पूर्णिमाको उपलक्ष्यमा तीन दिन मनाइने यो पर्वमा ‘धनुषवाण’ को तारो हान्ने खेल गरिन्छ । स्होय् – स्होय् पर्व ल्ह फेव हुनु भन्दा ३ वर्ष अगाडि गरिने धार्मिक पर्व हो । थकाली जातिमा जन्म, न्वारान, अन्नप्रासन, छेवर, गुन्युचोलो (न्होन्कोन चोलो), विवाह, मृत्यु संस्कार आदि आफ्नै रीत परम्परा अनुसार गरिन्छ । यी संस्कारहरूको कार्यान्वयनमा ज्वाइँको भूमिका महत्वपूर्ण हुन्छ । भोट बर्मेली परिवारको भाषा बोल्ने थकालीहरू २०६८ को जनगणना अनुसार महिला ७०५८ र पुरूष ६१५७ गरी १३२१५ छन् । यी मध्ये आफ्नो मातृभाषा बोल्ने थकालीहरू महिला २७८१ र पुरूष २४६१ गरी ५२४२ मात्र छन् । जनसंख्या थोरै भए पनि नेपाली भाषा साहित्यमा थकाली जातिको उँचाई धेरै माथि छ । भूपि शेरचन भनेपछि हामी नेपालीहरू श्रद्धाले शिर निहुराउँछौं । साविकमा थकालीहरूको पेशा कृषि, होटेल व्यवसाय र ठेक्का पट्टा मात्र भए पनि समय परिवर्तनसँग सँगै बसाइँ सराइ लगायत ठूला ठूला उद्योग, व्यापार, वैदेशिक व्यापार, पर्यटन उद्योग, होटेल व्यवसाय संचालन गरी देशलाई आर्थिक टेवा दिइरहेका छन् । थकालीहरूको बोली–वचन, व्यवहार मीठो जस्तै थकाली खाना परिकार पनि अति मीठा हुन्छन् । थकाली खाना सबै नेपाली एवम् विदेशी पर्यटकहरूको मन पर्ने खाना हो । थकाली जातिको भेषभुषामा पनि आफ्नै पन छ । महिलाहरूमा न्होकोन चोलो र पुरूषहरूको लवेश सुरूवाल हुन् । गरगहनामा मुगा र यु बाट बनेका कन्ठी, फर्म । सुनबाट – हम्बेल, आर्टस, पनयाली, तिलहरी आदि हुन् । विवाह संस्कारमा चाँदीको आभूषण खाङलो पहिरिने चलन छ । देशमा कुनै पनि वित्तिय संस्थाहरूको प्रादुर्भाव नभएको समयमै थकाली जातिमा सहयोगात्मक भावनाले प्रेरित ‘ढिकुरी’ प्रथा चलनमा आई सकेको थियो । ढिकुरी नेपालमा आजको सहकारी संस्थाको जननीको रूपमा लिइन्छ । थकालीहरूमा स्वायत्त शासनको चेत सयौं वर्ष अगाडिदेखि थियो । त्यसैले थासाङ, थाक सातसयका १३ मूल गाउँमा १३ मुखिया प्रणाली कायम  थियो । आजसम्म अविछिन्नरूपमा प्रचलनमा आईरहेको यो प्रणालीले प्रजातान्त्रिक, जनतान्त्रिक, गणतान्त्रिक पद्धती अनुरूप न्यायिक रूपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका निर्वाह गर्दै आईरहेको छ । यस्तो गरिमामय पद्धतीको निम्ति थासाङ, थाकसातसय निवासी सम्पूर्ण थकाली जाति आदर एवं प्रशंसाका पात्र छन् ।

सन्दर्भ सूची

गुरूङ, हर्क (२००९), मैले देखेको नेपाल, ललितपुर : हिमाल किताब ।

गौचन, ओमेन्द्र (२०६२), “महान पर्व : तोरन्ल”, थासाङ, काठमाडौं : थकाली अनुसन्धान केन्द्र ।

गौचन, तेजप्रसाद (२०४९), “थकाली संस्कृति”, खाङलो, काठमाडौं : थकाली सेवा समिति, केन्द्रीय कार्यालय ।

घले, दिनेश (२०७०), “राज्यले मुखिया प्रणालीलाई लिखित कानुन मै समावेश गर्नु पर्छ”, धौलाश्री युगवाणी, मुस्ताङ : भूपि स्मृति थाक पुस्तकालय ।

तुलाचन, इन्द्रबहादुर (२०४९), “थाकखोला एक परिचय”, खाङलो, काठमाडौं : थकाली सेवा समिति, केन्द्रीय कार्यालय ।

तुलाचन, नरेशकुमार (२०७३), “थाकखोला र थकाली”, थासाङ, काठमाडौं : थकाली अनुसन्धान  केन्द्र ।

तुलाचन, पूर्णप्रसाद (२०७३), चार ईष्ट देवी देवताको गाथा तथा मेरो संकल्प, पोखरा, पूर्णप्रसाद शैक्षिक अक्षय कोष ।

तुलाचन, सोमप्रसाद (२०७२), “त्हस : ताराखेल (धनुषवाण)”, खाङलो, काठमाडौं : थकाली सेवा समिति नेपाल ।

थकाली सेवा समिति नेपाल (२०७५), थकाली जातिको महान सांस्कृतिक पर्व फालो, स्योपन लव, फालो कार्यक्रम काठमाडौं : थकाली सेवा समिति, नेपाल ।

पाण्डेय, मधुसूदन (२०६१), नेपालका जनजातिहरू, काठमाडौं : पैरवी प्रकाशन ।

पोखरेल, माधवप्रसाद (२०६२), “थकाली भाषाको सामान्य परिचय”, थासाङ, काठमाडौं : थकाली अनुसन्धान केन्द्र ।

पौडेल, कृष्ण (२०६७), “थकाली भाषाको समाज भाषा वैज्ञानिक अध्ययन”, खाङलो, काठमाडौं  :थकाली सेवा समिति, नेपाल ।

प्रभात, विष्णु (२०६७), “नेपाली साहित्यमा थकाली स्रष्टाको योगदान”, खाङलो, काठमाडौं : थकाली सेवा समिति, नेपाल ।

  ,,  ,  ,, (२०७०), “थकाली जीवन दर्शन : केही विवेचना”, धौलाश्री युगवाणी, मुस्ताङ : भूपि स्मृति थाक पुस्तकालय ।

  ,,  ,  ,,  (२०७४), मुस्ताङ, “थकाली लोक जीवन र बोन विश्वास”, धौलाश्री युगवाणी, मुस्ताङ : भूपि स्मृति थाक पुस्तकालय ।

बन्धु, चूडामणि (२०४९), “मातृभाषा र जातीय भाषाका सन्दर्भमा थकाली भाषा”, खाङलो, काठमाडौं : थकाली सेवा समिति, केन्द्रीय कार्यालय ।

भट्टचन, कृष्णबहादुर (२०७०), थकालीको सामाजिक संस्कार एक विहङ्गम दृष्टि, नेपाल जातीय संस्कार (खण्ड एक) काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।

भट्टचन, खुनाराज्योति (२०५८), “थाक सातसयका थकाली जातिका जीवित देवता ह्यावान्हयाङजुङ र स्होय – स्होय पर्व”, खाङलो, काठमाडौं : थकाली सेवा समिति ।

भट्टचन, खुनाराज्योति (२०७०), थकाली पुख्र्यौली भूमि थासाङ : नक्साङ्कन तथा वर्तमान सीमा विवादको ऐतिहासिक अध्ययन,  काठमाडौं : थकाली सेवा समिति नेपाल ।

भट्टचन, ज्योति (२०४९), “थकाली जातिको अमूल्य सांस्कृतिक धरोहर खाङलो र महालक्ष्मीदेवी एक विश्लेषण”, खाङलो, काठमाडौं : थकाली सेवा समिति नेपाल ।

भट्टचन, ध्रुवकुमार (२०६२), “ढिकुरी सहकारीको आमा”, थासाङ, काठमाडौं  :थकाली अनुसन्धान केन्द्र ।

भट्टचन, वसन्त (२०४९), “हंसराजा”, खाङलो, काठमाडौं : थकाली सेवा समिति केन्द्रीय कार्यालय ।

   ,,  ,  ,, (२०५८), “धार्मिक पर्व स्होय स्होय : एक संस्मरण”, खाङलो, काठमाडौं : थकाली सेवा समिति केन्द्रीय कार्यालय ।

भट्टचन, योगेन्द्रमान (२०७२), “हंसराजा किंवदन्ती राजा”, खाङलो, काठमाडौं : थकाली सेवा समिति केन्द्रीय कार्यालय ।

विष्ट, डोरबहादुर (२०७४), सबै जातको फूलवारी, काठमाडौं : साझा प्रकाशन ।

शर्मा, गोपीनाथ (२०७१), चौबीसी राज्यको इतिहास, काठमाडौं : मकालु प्रकाशन ।

शेरचन, लोकेन्द्रमान (२०७३), “भाषा र सांस्कृतिक कुरा धेरै काम थोरै”, थासाङ, काठमाडौं : थकाली अनुसन्धान केन्द्र ।

शेरचन, वसन्त (२०७०), “थकाली जातिको समग्र पक्ष : एक चिनारी”, धौलाश्री युगवाणी, मुस्ताङ : भूपि स्मृति थाक पुस्तकालय ।

   ,,      ,, (२०७२), “१३ मुखिया प्रणाली : एक विवेचना”, धौलाश्री युगवाणी, मुस्ताङ : भूपि स्मृति थाक पुस्तकालय ।

शेरचन, सावित्री (२०६२), “ईष्ट देउता ‘महागुरू’ र फाल एक परिपूरक”, थासाङ, काठमाडौं : थकाली अनुसन्धान केन्द्र ।

शेरचन, सुशिला (२०७३), “थकाली संस्कार र यसको कार्यान्वयनमा उठेका सवालहरू”, थासाङ, काठमाडौं : थकाली अनुसन्धान केन्द्र ।

सामान्य ज्ञान (२०६३), नेपालका आदिवासी जनजाति, काठमाडौं : अन्तर्राष्ट्रिय मञ्च ।

सूचना विभाग (२०३१), मेचीदेखि महाकाली (भाग–३), पश्चिमाञ्चल विकास क्षेत्र, काठमाडौं : श्री ५ को सरकार संचार मन्त्रालय ।

क्षेत्र, नारायणप्रसाद (२०४४), मुस्ताङ दिग्दर्शन, काठमाडौं : साझा प्रकाशन ।

परिशिष्ट

हामी त हंसराजा र ङ्हीमा रानीको सन्तान, त्यसकारण हामीहरू हिन्दू आर्य वर्णाश्रम अनुसारका ठकुरी हौं । हामीलाई जंगबहादुरले नै जनै लगाउने अनुमति दिइसकेको हो । जाडो ठाउँमा बस्ने भएकोले मद्यपान त्याग्न नसकेर मात्र जनै नलगाएको हो । त्यसकारण हामीले ठकुरी नभएर थकालीकै रूपमा रहे पनि कुनै कालपरिस्थितिले गर्दा बाध्य भएर अपनाउन पुगेको विरानो र असभ्य भाषा र संस्कृति त्याग्नु पर्छ । जुन ठाउँमा पुगे पनि स्थानीय समाजसँग सामन्जस्य र सौहाद्रताको भावना सिर्जना गरेर आफ्नो उन्नति गर्न सक्ने सामथ्र्य नै थकाली परम्परा बनिसकेको छ । प्रजातन्त्र आए पछि राजकीय धर्मको रूपमा हिन्दू धर्म विराजमान भएको परिप्रेक्ष्यमा हाम्रा पूर्वजको धर्मनै अंगाल्नु सम–सामयिक भएको छ, यो प्रचलित संस्कृतिमा सम्मिलित हुनुमा नै थकाली समाजको दूरगामी विकास हुने बढी सम्भावना छ भन्ने जस्ता सोचाइले गएका चार पाँच दशकहरूमा निकै प्रोत्साहन पाएको थियो र अहिले पनि यो विचारसँग सहमति राख्ने थकाली विशेष गरेर त्यस समयमा हुर्केकाहरूको संख्या प्रशस्त छ ।

अर्कोतिर यसको ठीक विपरीत सोचाइ राख्ने थकालीहरूको बहुल्य छ जो आधुनिक शिक्षा दीक्षा कम पाएका छन् र काठमाडौंको जस्तो सभ्यताबाट कम प्रभावित भएका छन् । यो समूहमा थकाली युवा पींढी पनि परेको देखिएको छ । यो समूहको सोचाइमा हामीहरू मंगोल मूलका बौद्धमार्गी हौ, हाम्रो भाषा र रीतिथिति तामाङहरूसँग मिल्छ, त्यसकारण हामी तिनीहरूमा विलय हुनु पर्दछ । बाहुनहरूको लहैलहैमा लागेर हाम्रो समाजका अग्रजहरूले ठकुरी हुने र हिन्दू धर्म अपनाउने चेष्टा   गरे । विभिन्न स्वदेशी विद्वान्हरूले वंशावलीको अध्ययन गरे तापनि कसैले हंसराजासँगको सम्बन्ध देखाएका छैनन् । वास्तवमा थकाली जाति जतिको अध्ययन अनुसन्धान भएका अरू जातजाति नेपालमा कमै होलान् । तैपनि थकाली समाजको अरू अध्ययन र अनुसन्धान हुनु पर्छ भन्नेहरूको आशा र घुमाउरो चाल थकालीहरू ठकुरी मूलका हुन भनेर प्रमाणित गर्न खोज्नु हो । त्यसकारण यस्तो आवश्यकता नै छैन । हामीहरूले दसैं – तिहार जस्तो हिन्दु चाडवाड मान्न हुँदैन, सम्भव भए नेपाली भाषा पनि बोल्नु हुँदैन ।

यी दुवै विचारहरू पूर्वाग्रही र अतिवादी छन् । यहाँनेर हामीले सम्झनु पर्ने के छ भने यस्तो विवाद हाम्रो समाजमा मात्र होइन, नेपालमा अरू जनजातीय समाजमा पनि छ ।

संसारको कुनै पनि समाज अरू समाजबाट अलग्गिएर रहन सक्दैन । त्यसमाथि आफ्नो उन्नतिको लागि निरन्तर तल्लीन रहने थकालीहरू आफ्नो समाजभित्र मात्र सीमित भएर बस्न सक्ने कुरै भएन । हाम्रा पूर्वज जहाँबाट आएका भए पनि यसै सिलसिलामा थाकखोला आईपुगेको हुनु   पर्दछ । स्थानीय बासिन्दाहरूसँग लामो अन्तर्सम्बन्ध र अन्तरप्रकृयाको प्रतिफल आजको थकाली समाज हो ।

           – इ. तेजप्रसाद गौचन

(खाङलो – थकाली संस्कृति – पाँचौ थुंगा पौष २०४९ पृष्ट १६)