जनवाद र केन्द्रीयता बीचको द्वन्द्ववाद

माक्र्सवाद धागो चुँडेको चङ्गा होइन, न त यो फाटेको छाता, जुत्ता वा टोपी नै हो ! न त यो बिटाद्वारा लच्किएको ब्रिफकेस नै हो ! यो त सामाजिक–धरामा गहिरो जरा गाडिएको विशाल वृक्ष हो । समाजको गतिशील विज्ञान हुनुको नाताले यसले मानवजीवनका हरेक तन्तुसम्म स्पर्श गरिरहेको हुन्छ । माक्र्सवाद विश्वको सबैभन्दा विकसित, वैज्ञानिक र व्यावहारिक दर्शन हो ।

 

 

-खेम थपलिया-   कम्युनिस्ट आन्दोलनमा ‘जनवादी केन्द्रीयता’ सबैभन्दा बढी उच्चारणमा आउने पदावली हो । वैचारिक तथा सङ्गठनात्मक जीवनमा घगडान तथा अग्रज नेतृत्वले यसबारे स्कुलिङ पनि गर्दै आउनुभएको छ तर पनि यसको जीवन–व्यवहारमा सही किसिमले प्रयोग हुन सकेका छैन । कुरामा जनवाद तर काम–कारबाहीमा ‘अराजकता’, कुरामा केन्द्रीयता तर काम–कारबाहीमा ‘नोकरशाही’ को आरोप बेला–बेलामा लागिरहन्छ, किन ? के माओले नोकरशाहीका २० अभिव्यक्ति यसै संश्लेषण गर्नुभएको थियो ? माक्र्सवादी सिद्धान्तलाई अङ्गीकार गरेका पार्टी–संस्थालाई अनुशासित र सोद्देश्यमूलक बनाउने महत्वपूर्ण विधि भनेकै जनवादी केन्द्रीयता हो । जनवाद र केन्द्रीयताका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । माक्र्सवाद धागो चुँडेको चङ्गा होइन, न त यो फाटेको छाता, जुत्ता वा टोपी नै हो ! न त यो बिटाद्वारा लच्किएको ब्रिफकेस नै हो ! यो त सामाजिक–धरामा गहिरो जरा गाडिएको विशाल वृक्ष हो । समाजको गतिशील विज्ञान हुनुको नाताले यसले मानवजीवनका हरेक तन्तुसम्म स्पर्श गरिरहेको हुन्छ । माक्र्सवाद विश्वको सबैभन्दा विकसित, वैज्ञानिक र व्यावहारिक दर्शन हो ।

जीवन–व्यवहारमा केन्द्रीयता र जनवाद कहिलेकाहीँ कसरी विपर्यासी भइदिन्छन् भन्ने दृष्टान्त हेरौँ – बुद्धकालीन तक्षशिला विश्वविद्यालयका अङ्गुलीमाल (माणवक) जेहेन्दार विद्यार्थी थिए । जेहेन्दार विद्यार्थी भएकोले केहीले उनलाई मन पराउँदैनथे । ती मन नपराउने एकाध उद्दण्ड विद्यार्थीले माणवकका विरुद्ध कुलपतिसमक्ष षड्यन्त्रमूलक रूपमा झुट्टा आरोप लगाए । कुलपति रिसले आगो भइहाले । विश्वविद्यालयमा परीक्षा चलिरहेको उक्त समयमा कुलपतिले माणवकलाई गुरुदक्षिणाका रूपमा यस्तो आदेश दिए, “हजार मानिस आफैँले मारेको प्रमाण ल्याउनू ।” त्यसपछि माणवकले गुरुप्रतिको अन्धश्रद्धाको कारण हजार मान्छे मार्ने अभियान चलाए । आफूले मारेको प्रत्येक मानिसको एक–एक औंला गलामा भिरेको तारमा उन्दै गए । गुरुको ध्वंसात्मक आदेश अन्धभक्त भई उसले पालना गर्नुहुँदैनथ्यो । गुरुले पनि त्यसरी आदेश दिनुुहुँदैनथ्यो । यहाँ केन्द्रीयताका नाममा कुलपतिको नोकरशाही र जनवादका नाममा अङ्गुलीमालको अराजकता उत्कर्ष देख्न सकिन्छ । त्यस्तै, हरेक घटना–परिघटनालाई द्वन्द्ववादी भएर बुझ्न किन आवश्यक छ भन्ने सन्दर्भमा बुद्ध र भिक्षुको प्रसङ्ग पनि हेरौँ । प्रवचन दिएपछि एक दिन एकान्तममा एक भिक्षुलाई बुद्धले सोधेछन्, “मैले आज बताएका कुरा तिमीलाई कस्तो लाग्यो ?” भिक्षुले भनेछन्, “तपाईंका कुरा मलाई जम्मै राम्रो लाग्यो । त्यसमा केही बेठीक छ कि भनेर सोच्नुपर्ने विषय नै छैन ।” त्यसपछि बुद्धले भनेछन्, “उसो भए मेरा कुरालाई तिमीले गम्भीर रूपले तर्कशील भएर सुनेनौ । तिमीले मप्रति भक्तिाभाव राखेर मात्र प्रवचन सुन्यौ । कसैको कुरालाई भक्तिभाव राखेर सुनियो भने त्यसको राम्रो–नराम्रो पक्ष छुट्याउन सकिन्न । संसारमा कुनै पनि मानिसले सबै राम्रैराम्रो काम–कुरा गर्न सक्तैन । उसले गरेका काम र कुरामा केही नराम्रो पक्ष पनि हुन्छन् । तिमी राती एकछिन बसेर मेरा कुरालाई फेरि गम्भीर भएर सोच र तीमध्येबाट राम्रो पक्षलाई ग्रहण गर, नराम्रा पक्षलाई छोडिदेऊ ।”

‘केन्द्रीयता’ भन्नेवित्तिकै कार्यकर्ता आत्तिने र ‘जनवाद’ भन्नेवित्तिकै नेता आत्तिनै अर्थात् ‘जनवाद’ र ‘केन्द्रीयता’ लाई एक–अर्कोमा भयानक परस्पर विरोधी तत्वका रूपमा बुझ्ने प्रचलनका कारण सबैतिर ‘परिस्थिति’ चौपट्ट बनाउँदै लगेको यतिबेला ‘जनवाद’ भनेको ‘खोज’, ‘समाधान’, ‘अनुसन्धान’ वा ‘आविष्कार’ का रूपमा बुझ्नु तथा ‘केन्द्रीयता’ लाई सर्वोच्च ‘वैज्ञानिक संश्लेषण’ का रूपमा ग्रहण गर्नु उपयुक्त हुनेछ ।

सङ्गठनात्मक जीवनमा विभिन्न समस्या आइरहन्छन् । जवस–मोर्चाका सम्मेलन, नेतृत्वको चयन, जिल्ला समितिका इन्चार्ज वा सेक्रेटरीको चयन, आर्थिक मामिला, सङ्घर्षका विविध कार्यक्रम वा समसामयिक सन्दर्भमा पार्टीले जारी गरेको प्रेस विज्ञप्तिबारे जनस्तर–कार्यकर्ताबाट विभिन्न प्रश्न उठ्ने गर्दछन् । यथार्थतः पार्टीका हरेक मामिलालाई जनता आफ्नो पुँजी बनाउन चाहन्छन् तर हामीकहाँ त्यसको गलत अर्थ लगाउने गरिएको छ । जनता स्पष्ट हुन खोज्नु राम्रो कुरा हो तर त्यस्तो भइरहेको हुँदैन, किन ? यसको सिधा उत्तर हुन्छ कि त्यहाँ जनवादको व्यापक प्रयोग भएन । कहिलेकाहीँ केन्द्रीयता तथा जनवादको केमेस्ट्री निमिल्दा पनि यस्ता समस्या आउँछन् । यसको अर्थ जनवाद र केन्द्रीयताबीचको सम्बन्धलाई ओझेल पर्नु हो । विषय–घटनालाई द्वन्द्ववादी भएर नसोचिदिंदा–नबुझिदिंदा यस्ता समस्या आउने गर्दछन् । केहीछिन वा केही दिन वा महिना समस्या समाधान भएजस्तो देखिए पनि त्यो निकै लामो समस्यसम्म बल्झिरहेको घाउजस्तो हुन्छ । कतिपय सन्दर्भमा नेतृत्वले खुलेर सबै कुरा तल भन्ने सन्दर्भ मिलिरहेको हुँदैन, जनता–कार्यकर्ता तहबाट जमिनी रिपोर्ट नेतृत्वसमक्ष पु¥याउन पनि पाइरहेका हुँदैनन् । यस्तो बेला अनुमान वा विश्वासको भर पर्नुपर्ने हुन्छ । अनुमान वा विश्वास माक्र्सवाद (द्वन्द्ववाद) होइन ।

पृथ्वीनारायण शाहको ‘एकीकरण अभियान’ को सन्दर्भमा अनेक मत छन् तर उनले आफ्नो अभियानको दौरानमा जनताको मत सुन्ने गरेको पाइन्छ । बिसे नगर्चीले एक मोहरसँगै दिएको सल्लाहलाई ‘म त राजा पो, कहाँ यसले दिएको सल्लाह मान्नू’ भनेका भए सायदै उनले आफ्नो अभियानमा सफलता हासिल गर्थे । त्यस्तै, माओले उदाहरण दिंदै भन्नुभएको छ, “लिउपाङ आफूभन्दा फरक विचार राख्नेहरूको विचार पनि सुन्थे । लि आई चि नामका कुनै एउटा विद्वान् लिउपाङलाई भेट्न गए र आफूलाई कन्फ्युसियस स्कुलिङको चेला बताए । लिउपाङले भने– युद्ध चलिरेको छ, म विद्वान्हरूलाई भेट्न चाहन्नँ । यस्तो कुरा सुनेर लि आई चि रिसले चुर भए । उनले पालेलाई भने– ए भातमारा ! त्यसो भए भित्र गएर भनिदे कि बाहिर विद्वान् होइन, काओयाङको जँड्याहा आएको छ । पालेले भित्र गएर त्यही कुरा जाहेर ग¥यो, त्यसपछि लिउपाङले भने– अच्छा, उसलाई भित्र पठाइदेऊ । लि आई चिलाई भित्र बोलाइयो । लिउपाङ खुट्टा धोइरहेका थिए तर पनि फटाफट उठेर उनलाई स्वागत गरे । लि आई चिको भने अझै रिसको पारो ओर्लिसकेको थिएन । त्यसैले उनले ठाडै प्रश्न सोधे– तपाईं संसार जित्न चाहनुुहुन्छ कि चाहनुहुन्न ? तपाईं पाका मान्छेहरूलाई किन होच्याउनुहुन्छ ? त्यसबेला लि आई चि ६० वर्ष नाघिसकेका थिए भने लिउपाङ तन्नेरी नै थिए । त्यसैले उनले आफूलाई ‘पाका मान्छे’ भने । आफूले त्यसरी भेट्न नचाहेकोमा उनले लिसँग क्षमायाचना गरे र चेन लिउको काउन्टी कब्जा गर्ने उनको सल्लाह तुरुन्तै स्वीकार गरे । … लिउपाङ हक्की स्वभाव, अरूको सल्लाह खुल्ला हृदयले सुन्ने र बगिरहेको नदीझैँ आनन्दित हुनेखालका थिए । लिउपाङले सिआङ युसँग धेरै वर्षसम्म युद्ध गरेका थिए । अन्त्यमा लि आई चिकोको सल्लाहअनुसार नै लिउपाङले युद्ध जिते”, (जनवादी केन्द्रीयताबारे, माओका दुलर्भ रचनाहरू)

एरिस्टोटले एक सन्दर्भमा भनेका छन्– केही नगर्नु, केही नभन्नु र केही नबन्नु आलोचकहरूबाट बच्ने एक मात्र बाटो हो । जनयुद्धकालीन ‘जङ्गल सम्झिँदा रुख बिसिर्ने र रुख सम्झिँदा जङ्गल बिर्सिने’ समस्या आज पनि विभिन्न सन्दर्भमा देखापर्दछ । जनताको सेवा गर्छु भन्ने अनि तिनै जनतासित डराउने कुरा तथ्यसङ्गत हुँदैन । काम–कारबाहीका क्रममा गल्ती–कमजोरीहरू हुन्छन्, यो मानवीय कुरा पनि हो । एउटा असल कम्युनिस्टले चाँडोभन्दा चाँडो सत्यलाई ग्रहण गर्न र गल्ती सच्याउन तयार हुनुपर्छ । जनतालाई आफ्नो मनको कुरा खुलमखुल्ला राख्न दिनुपर्दछ । पार्टीभित्र होस् या बाहिर पूर्णतः जनवादी जीवन हुनुपर्दछ । माओले “समस्या आइपर्दा जनतामा जाऊ” यसै भन्नुभएको थिएन । कहिलेकाहीँ जनताले कारबाही नै गर्छन् भने पनि त्यसलाई स्वीकार्न तयार हुनुपर्दछ । पार्टी–जीवनमा घटुवा–बढुवा सामान्य प्रक्रिया हुन् । धेरै मानिसलाई लाग्छ कि घटुवा धेरै नराम्रो कुरा हो । मनोवैज्ञानिक रूपमा यसले क्षणिक प्रभाव पार्ला तर राजनीतिक–सामाजिक जीवनमा सधैँ त्यस्तो हुँदैन । आज बढुवा हुनेहरू भोलि घटुवामा पनि पर्न सक्छन् । आज घटुवामा पर्नेहरू भोलि बढुवामा पनि पर्न सक्छन् । घटुवा र बढुवाका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । कतिपयलाई आफ्नो कार्यक्षेत्रबाट अर्को कार्यक्षेत्रमा स्थानान्तरण गरिँदा निकै पीडा हुने गरेको पाइन्छ । कार्यक्षेत्र स्थानान्तरण हुँदा खुसी पो हुनुपर्दछ । नयाँ कार्यक्षेत्रमा नयाँ ज्ञान पाइन्छ र आफ्नो ज्ञानको क्षितिज फराकिलो हुन्छ । यसले हामीलाई क्रान्तिकारी इच्छाशक्ति तिखार्न, नयाँ परिस्थितिको अध्ययन–अनुसन्धान गर्न सहायता पु¥याइरहेको हुन्छ । हामीले यो कुरालाई व्यवहारतः अनुभव पनि गरेका छौँ ।

कम्युनिस्ट पार्टीका विधानमा जनवादी केन्द्रीयता उल्लेख गरिएको हुन्छ तर पनि कहिलेकाहीँ मत राख्न प्रतिबन्ध लगाइन्छ, जनतालाई तर्साइन्छ र छलफल–भेटघाट गर्न अरुचि देखाइन्छ, जनताको जनवादी अधिकारलाई बिर्सिइन्छ । असल कम्युनिस्टको गल्तीले जनतामा हैरानी पारेको बेलामा जनतासमक्ष आत्मालोचित हुनुुपर्दछ । आलोचना–आत्मालोचना गल्ती सुधार्ने महत्वपूर्ण विधि हो । यसले विविध स्तर र क्षेत्रमा रहेको अन्तर्विरोधको हल गर्दछ । यसले जीवनशैलीलाई जनवादी बनाउन पनि सहयोग गर्दछ । होची मिन्हले भन्नुभएको थियो, “म जस्तोसुकै दुश्मनदेखि कत्ति पनि डराउँदिनँ तर आफ्ना कमरेडहरूको गल्तीप्रति असाध्यै डर लाग्छ ।” माओले हुनान, कान्सुलगायत प्रान्तहरूमा पार्टी समितिले आत्मालोचनाको अभियान नै सुरु गर्नुभएको थियो । जनतामा भर पर्नु, जनता–कार्यकर्ताको उत्साहलाई कम्युनिस्टले सही तरिकाले परिचालन गर्नुपर्दछ । ‘समस्याहरूको समाधान गर्न जनता र कार्यकर्तालाई मनपेट देऊ’ यसै भनिएको होइन । कुरा लुकाइने गलत तरिका हो । माओले भन्नुभएको छ, “हामीले त्यस्तो राजनीतिक वातावरण निर्माण गर्नुपर्छ, जहाँ केन्द्रीयता र जनवाद, अनुशासन र स्वतन्त्रता, उद्देश्यमा एकता र वैयक्तिक जीवनमा स्वतन्त्र विवेकको प्रयोग गर्न पाउनुपर्छ जुन जीवन्त र उत्साहबद्र्धक होस्”, (ऐजन) । यसको अर्थ जनवादबिना समस्याको समाधान दिन सकिन्न भन्ने हो । केन्द्रीयताबिना जनवाद र जनवादबिनाको केन्द्रीयताको कुनै अर्थ हुँदैन । एकता भनेको धेरै मान्छे जम्मा हुनु होइन; यो त सही विचार, बुझाइ, नीति, योजना, नेतृत्व र कामको वैज्ञानिक केन्द्रीकरण हो । जनवादबिना क्रान्ति–वर्गसङ्घर्षका अनुभवहरूको सार खिंच्न सकिँदैन । जनवाद जनताबाट विचार–सुझाव–सहयोग आउने ढोका हो, वैचारिक कारखानाको कच्चा पदार्थ सङ्कलन गर्ने तरिका पनि हो । कारखानामा कच्चा पदार्थ नै आउन छाडे भने त्यो कारखानाबाट केही पनि उत्पादन–प्रशोधन गर्न सकिन्न । जनवाद जनताको आधारभूत तहमा के भइरहेको छ भन्ने कुरामा सुसूचित हुने उपयुक्त तरिका पनि हो । वीपी कोइरालाले आफूलाई भेट्न आउने साथीहरूसित ‘तिम्रो घरवरिपरि, चियापसल, टोलमा जनता के भन्छन्’ भनेर यसै सोध्ने गरेका थिएनन् । कम्युनिस्टले जनताको आधारभूत तहसित सघन संवाद गर्न सक्नुपर्दछ; जनवाद अक्सिजन प्राप्त गर्ने यस्तो माध्यम पनि हो, जसले मनोगतको सिकार हुनबाट बचाउँछ ।

उपर्युक्त विश्लेषण र दृष्टान्तबाट हामी भन्न सक्छौँ कि झरिलो केन्द्रीयता फाँटिलो जनवादको जगमा उभिएको हुन्छ । पार्टी समितिका विभिन्न तह र त्यसका अङ्गहरूहरूको शीर्षमा केन्द्रीकृत नेतृत्व हुन्छ तर यो सामूहिक हुन्छ । कुनै पनि कुराको निर्णय पार्टीका कुनै पनि तहका कुनै पनि नेतृत्वले एक्लैले गर्न सक्दैन । कम्युनिस्ट पार्टी भनेको नेताहरूको सङ्गठन हो । कम्युनिस्ट पार्टीमा पद हुँदैन, जिम्मेवारी हुन्छ । एक सन्दर्भमा माओले सचिवहरूलाई ‘तानाशाह’ र जनवादी केन्द्रीयताका ‘समूहको नेता’ भनेर टिप्पणी गर्नुभएको थियो । सङ्गठनात्मक जीवनमा यस्ता दुःखद् सन्दर्भ आइरहन्छन् । माओले एक ठाउँमा उल्लेख गर्नुभएको छ, “एउटा प्रान्तका कमरेडहरूले सा¥है जाँगरिलो पाराले छलफल सुरु गरे तर जब प्रान्तीय पार्टी सेक्रेटरी आइपुगे, तब उनीहरूको दाँतमा ढुङ्गा परेझैँ गरी उनीहरू स्तब्ध भए”, (ऐजन) । यसले माओलाई गम्भीर बनायो । माओको यो कुरा पनि हेरौँ, “१२ जूनमा केन्द्रीय समितिले आयोजना गरेको पेकिङ भेलाको अन्तिम दिनमा मैले आफ्ना कमजोरी र गल्तीका बारेमा बोलेको थिएँ । मैले त्यतिबेला कमरेडहरू मेरा यी कुरा अन्य प्रान्त र जिल्लासम्म पु¥याइदिनुहोस् भनेको थिएँ तर पछि थाहा पाएँ, मेरा ती कुराहरू कतिपय जिल्लामा पुगेनन् । सायद मेरा गल्तीहरू ढाकछोप गर्न खोजिएको हो, अहिले पनि त्यसै गरिँदैछ । कमरेडहरू मेरा ती गल्तीहरू ढाकछोप गर्न हुँदै हुँदैन । केन्द्रीय समितिले कुनै गल्ती गर्छ भने त्यसको प्रत्यक्ष भागीदार म हुन्छु र त्यसको आलोचना र खप्की मैले खानुपर्छ किनभने केन्द्रीय समितिको अध्यक्ष नै म हुँ”, (ऐजन) ।

यसर्थ, वैज्ञानिक राज्यसत्ता प्राप्त गर्न अभियानको सफलतामा जनवादको व्यवस्थित प्रयोग अनिवार्य छ । उन्नत जनवादबिना उन्नत केन्द्रीयता र उन्नत केन्द्रीयताबिना उन्नत वैज्ञानिक समाजवादी व्यवस्थाको परिकल्पना गर्न सकिन्न । ‘कम्युनिस्ट’ आबरणका प्रतिक्रान्तिकारी तथा सामाजिक दलाल फासिवादीहरू आमने–सामने भइरहेका यतिबेला जनवादी केन्द्रीयताको उचित तालमेल नभईकन तथा सुदृढ सङ्गठनबिना तिनको सशक्त प्रतिरोध कसरी गर्न सकौँला ! राज्यसत्ता भनेको अधिनायकत्वको प्रश्न पनि हो । जनवादी केन्द्रीयताबिना कम्युनिस्ट अधिनायकत्व हुनै सक्तैन । कम्युनिस्ट पार्टीको नेतृत्वमा जनतामा जनवादको अभ्यास गर्नु र दुश्मनमाथि अधिनायकत्व लागू गर्नुपर्दछ । वर्गसङ्घर्ष विभिन्न चरणमा विभिन्न स्तरमा हुने गर्दछ । हाम्रो उद्देश्य प्रतिक्रियावादी राज्यसत्ताको विघटन गरेर वैज्ञानिक समाजवादको स्थापना गर्नु नै हो । यो अभियानमा निरन्तर क्रान्तिको अपरिहार्यतालाई भुल्नुहुँदैन । क्रान्ति भनेको फेरिने–फेर्ने र नयाँ बन्ने–बनाउने प्रक्रिया पनि हो । यो प्रक्रियामा फाँटिलो जनवाद र झरिलो केन्द्रीयता अपरिहार्य शर्त हो । यसर्थ, ‘केन्द्रीयता’ भन्नेवित्तिकै कार्यकर्ता आत्तिने र ‘जनवाद’ भन्नेवित्तिकै नेता आत्तिनै अर्थात् ‘जनवाद’ र ‘केन्द्रीयता’ लाई एक–अर्कोमा भयानक परस्पर विरोधी तत्वका रूपमा बुझ्ने प्रचलनका कारण सबैतिर ‘परिस्थिति’ चौपट्ट बनाउँदै लगेको यतिबेला ‘जनवाद’ भनेको ‘खोज’, ‘समाधान’, ‘अनुसन्धान’ वा ‘आविष्कार’ का रूपमा बुझ्नु तथा ‘केन्द्रीयता’ लाई सर्वोच्च ‘वैज्ञानिक संश्लेषण’ का रूपमा ग्रहण गर्नु उपयुक्त हुनेछ ।

-यो लेखको शीर्षक हामीले राखिदिएका हौं ।