जनयुद्वलाई विद्रुप गरिएको अर्को पुस्तक : ‘बारुदमाथि उड्दा’

जनयुद्धका विरुद्धमा जनयुद्धको सुरुआतसँगै लेख्न सुरु नगरिएको होइन । भाष्कर भन्ने भवानी पाण्डेले अमर बस्ती जनयुद्व सुरु हुँदाहुँँदै लेखेका थिए । खगेन्द्र सङग्रौलाको जूनकीरीको सङ्गीत, प्रदीप नेपालको आकाशगङ्गाको तीरैतीर, महेशविक्रम शाहको छापामारको छोरो र नारायण वाग्लेको पल्पसा क्याफे जनयुद्धकालमा नै लेखिएका विरोधी साहित्यहरू जनयुद्धकालका नै हुन् ।

–गुणराज लोहनी

विषय प्रवेश
पूर्वहेलिकोप्टर चालक तथा अहिले आएर नवधनाढ्य बन्न पुगेका, उनकै भाषामा भन्नुपर्दा सञ्चार, जग्गा, हाइड्रो र पर्यटन व्यवसायी भएका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘ बारुदमाथि उड्दा’ असोजमा बजारमा आएको छ । उक्त पुस्तकमा रामेश्वर थापाको अभावपूर्ण बाल्यकाल, पढाइको सिलसिलामा काठमाडौँ प्रवेश न्यूनवेतनी कर्मचारी, हेलिकोप्टर चालकको तालिमका लागि रुसमा अध्ययन, जनयुद्धलाई दबाउन तत्कालीन सरकारको गृह मन्त्रालय र शाहीसेनाको तलब खाएर हेलिकोप्टरमा उडान भर्ने, हतियार गोलीगट्ठा, सेना, पुलिसको ओसारपसार मात्र नभएर गाउँगाउँमा गई माओवादीको आरोपमा सीधासाधा जनतालाई टिपेर सेना र पुलिसलाई बुझाएका घटनाहरूलाई हवाईकथनका रूपमा यस पुस्तकमा प्रस्तुत गरिएको छ ।

पुस्तकको परिचय
पुस्तक क्याप्टेन रामेश्वर थापाको कप्तानी पोसाकसहितको पृष्ठभागमा हेलिकोप्टरको तस्बिर आवरणबाट सुरु हुन्छ । पुस्तकमा प्रस्तुत गरिएअनुसार यो पुस्तक थापाको आफ्नै लेखन नभएर उनको कथनलाई अन्नपूर्ण पोस्ट दैनिकका पूर्वसम्पादक राजाराम गौतमको लेखन र सम्पादन हो भन्न सकिन्छ । २००४ मा तत्कालीन शाहीसेनाले थापालाई प्रशिक्षक पाइलटका रूपमा ड्युटीमा ११ नम्बर ब्रिगेडले पठाएको २ वटा पत्र राखिएको छ । त्यसपछि रामेश्वर थापाको भनाइ भन्दै ‘आभार’ राखिएको छ । यस पुस्तकको लेखन र सम्पादन राजाराम गौतमको भनाइ ‘युद्धको एरियल न्यारेटिभ’ राखिएको छ । त्यसपछि मात्र पुस्तक ‘बारुदमाथि उड्दा’ को वास्तविक विषयवस्तुले प्रवेश पाउँछ । सुरुमा नै ‘२०६१ साल चैत २६, खारा आक्रमण, हेलिकोप्टर निर्णायक भएको दिन’ राखिएको छ । त्यसपछि थापाको बाल्यकालदेखि पाइलट कसरी भए भन्नेसम्मका घटनाहरूलाई ‘जिन्दगीको उडान’ मा प्रस्तुत गरिएको छ । ३ पुस २०५३ त्रिवेणी, डोल्पा, २० पुस २०५३ बेथान, रामेछाप, २०५५ जेठ—२०५६ वैशाख अपरेसन ‘किलो सेरा टु’, २०५६ जेठ दोस्रो साता कालिकाटार अपरेसन, तनहुँ, ५ असोज २०५६ महत, रुकुम, २० पुस २०५६ रारालिही, जुम्ला, १२ माघ २०५६ रामपुर, सल्यान, ८ फागुन २०५६ घर्तीगाउँ, रोल्पा, १ चैत २०५६ भिङ्ग्री, २१ चैत २०५६ तकसेरा, रुकुम, २८ जेठ २०५७ मुम्राहा, कालीकोट, १९ असार २०५७ पाँचकटिया, जाजरकोट, ९ असोज २०५७ दुनै, डोल्पा, २१ माघ २०५७ छैसट्ठी सर्खेत, २० फागुन २०५७ विनायक, अछाम, १९ चैत २०५७ रुकुमकोट, रुकुम, २४ चैत २०५७ नौमुले दैलेख, चैत २०५७ चौकी प्युठान, २०५८ वैशाख रिम्ना कालीकोट, ८ साउन २०५८ युद्धविराम, ११ मङ्सिर २०५८ सेना परिचालन र त्यसपछि, ५ फागुन २०५८ मङ्गलसेन अछाम, ६ फागुन २०५८ शीतलपाटी सल्यान, १ वैशाख २०५९ मुर्कुच्चाबजार दाङ, २ वैशाख २०५९ बारपाक गोरखा, २५ वैशाख २०५९ गाम रोल्पा, २२ भदौ २०५९ भिमाद सिन्धुली, २३ भदौ २०५९ सन्धिखर्क अर्घखाँची, २८ कात्तिक २०५९ खलङ्गा जुम्ला, १२ माघ २०५९ कृष्णमोहन हत्यासँगै वार्ता, १ मङ्सिर २०६१ कृष्णभीर एम्बुस, ५ मङ्सिर २०६१ पाण्डौन प्रोपोगान्डा कैलाली, २९ मङ्सिर २०६१ भिरपुस्तुन लमजुङ, २३ साउन २०६१ पिली कालीकोट, वैशाख २०६२ मथुराडाँडा अर्घाखाँची, ३० फागुन २०५७ आएसिस होटेल, नेपालगन्ज (भूमिगत जीवन), २ जेठ २०६० सगरमाथा आधार शिविर सोलुखुम्बु, क्याप्टेन हुँदै उद्यमी, अब नदोहोरियोस् हिंसा— प्रतिहिंसालाई विशृङ्खलित रूपमा राखिएको छ ।

उनको पुस्तकमा प्रस्तुत गरिएअनुसार आम पहाडी ग्रामीण नेपालीको बाल्यकालजस्तै थापाको बाल्यकाल पनि केही अभाव, बालश्रम गरेर बितेको देखिन्छ । विद्यालय शिक्षा सकेर २०४० सालमा काठमाडौँ हानिएका थापाले सुरुका दिनमा आईकम गर्दै गर्दा भोटेबहालका एकजना मारबाडीको ‘बालाजी सपिङ सेन्टर’ मा कारिन्दा बनेका थिए । त्यो जागिर छाडेर उनी जिल्ला अदालतमा मुखियाको जागिर खान थालेका थिए । १९९३ मा रुसको ‘फस्र्ट मस्को एभिएसन कलेज’ मा पाइलटको तालिम गर्न गएर नौमहिने तालिम सकेका थिए । १९९५ जनवरीदेखि एभरेस्ट एयरमा काम गर्न थालेका थिए । यो समय विक्रम संवत अनुसार २०५१ साल हुन पुग्छ । त्यसको एक वर्ष पुग्दै गर्दा २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको सुरुआत भएको थियो ।

जनयुद्धको सुरुआतसँगै रामेश्वर थापाको हेलिकोप्टर उडानले फरक मोड लिन थाल्यो । किताबमा लेखिएअनुसार जब ३ पुस २०५३ मा डोल्पाको त्रिवेणी चौकीमा आक्रमण भएको थियो । त्यो दिनदेखि थापाको उडान प्रहरी, शाहीसेनाको उद्धार, गोलीगट्ठा र प्रहरी–सेनाको फोर्सलाई आक्रमणस्थल, शङ्कास्पद मानिएका ठाउँहरूमा हुन थाल्यो । शान्तिप्रक्रियाको सुरुआतसँगै उनको आफ्नो व्यावसायिक उडान पेसाले पनि पूर्णविराम लिएको जनाइएको छ । तर उनको उडान व्यवसाय सिम्रिक एयर कम्पनीमा स्थापित हुन पुग्यो ।

राजनीतिक ‘निरपेक्षता’ शाही शासनको पक्षपोषण
रामेश्वर थापाले आफ्नो ‘आभार’ मा लेखेका छन् ‘निजी क्षेत्रको हेलिकोप्टर उडाउने एउटा व्यावसायिक पाइलट भए पनि राष्ट्रको तत्कालीन अवस्था र आवश्यकताले द्वन्द्वकालीन दिनहरूमा मेरो भूमिका एक सिपाहीबराबरको हुन पुग्यो ।’ उनी अझ अगाडि भन्छन्, ‘तत्कालीन विद्रोही माओवादीप्रति न मेरो कुनै झुकाव थियो, न त कुनै द्वेष । राजनीति निरपेक्ष एउटा व्यावसायिक पाइलटको भूमिकाचाहिँ माओवादी विरोधीजस्तै देखियो, सायद ।’ सबैले बुझेको कुरा हो– जनयुद्ध एउटा युगान्तकारी सशस्त्र राजनीतिक परिघटना थियो । त्यही राजनीतिक परिघटनाका कारण नेपालको निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य भएको थियो । माओवादीले हतियारबद्ध जनयुद्ध नगरेको भए सायद अहिले सम्म राजतन्त्रको अन्त्य हुने थिएन । सबैलाई थाहा भएको अर्को कुरा के हो भने यो गणतन्त्रले न भुइँमान्छेका पक्षमा केही गरिरहेको छ, न त जनयुद्धमा त्याग, बलिदान, समर्पण र उत्सर्ग गरेकाका पक्षमा, न त सिद्धान्तमै अडिक रहन पुग्यो । जनयुद्धले ल्याइदिएको गणतन्त्र तिनीहरूका लागि मात्र बन्न पुग्यो जसले हिजो जनयुद्धको घोर विरोध गरेका थिए, जनयुद्धलाई बिरुवामै निमोट्न गरिएका रोमियो अप्रेसन चलाउने, हुर्कंदै गर्दा किलो सेरा टु चलाउने, कोपिला हाल्दै गर्दा कर्डन एन्ड सर्च अभियान सुरु गर्ने, लक्का जवान हुँदै गर्दा सेना परिचालन, आतङ्ककारी घोषणा, टाउकाको मोल तोक्ने र गाउँका गाउँ सखाप पार्ने गरी सङ्कटकाल लगाउनेहरूले नै रसास्वादन गरिराखेका छन् ।

थापा यिनै चरित्र र पात्रहरूसँग हिजो सन्निकट रहेको कुरा यस पुस्तकमा आफैँले खुलासा गरेका छन् र अहिले पनि ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर वासिङ्टन जानु हो’ भन्ने गणतन्त्र विरोधीसँग विशेष सम्बन्ध रहेको खुलासा गरेका छन् । साथै उनले भनेअनुसार नै किलो सेरा टु नरसंहारकारी अप्रेसनमा पहिलोपटक हेलिकोप्टर उडाएर माओवादीविरुद्धको पुलिसको अभियानलाई सफल बनाएको स्वीकारोक्ति दिएका छन् । उनका यी स्वीकारोक्तिले उनी राजनीति निरपेक्ष एउटा व्यवसायी पाइलट नभएर माओवादी जनयुद्धलाई नामेट गर्ने अभियानका एक उडानभर्ता थिए । यो परिघटनाले उनी पनि नेपालमा राजतन्त्रको अन्त्य होस् र गणतन्त्र आओस् भन्ने पक्षमा थिएनन् भन्ने बुझ्नलाई कुनै आइतबार कुर्नु पर्दैन । जसरी हिजोको माओवादी जनयुद्ध र गणतन्त्रविरोधीहरूले त्यही गणतन्त्रलाई शासनसत्ताका रूपमा उपभोग गरिराखेका छन् त्यसैगरी थापा पनि उनीहरूका हिमायती मात्र नभएर आसेपासे बन्न पुगेका छन् भन्नु अत्युक्ति नहोला ।

किन प्रकाशित भैरहेछन् जनयुद्व विरोधी कृतिहरू ?
जनयुद्धका विरुद्धमा जनयुद्धको सुरुआतसँगै लेख्न सुरु नगरिएको होइन । भाष्कर भन्ने भवानी पाण्डेले अमर बस्ती जनयुद्व सुरु हुँदाहुँँदै लेखेका थिए । खगेन्द्र सङग्रौलाको जूनकीरीको सङ्गीत, प्रदीप नेपालको आकाशगङ्गाको तीरैतीर, महेशविक्रम शाहको छापामारको छोरो र नारायण वाग्लेको पल्पसा क्याफे जनयुद्धकालमा नै लेखिएका विरोधी साहित्यहरू जनयुद्धकालका नै हुन् । २०६३ सालको शान्तिप्रक्रियापछि जनयुद्धविरोधी साहित्यहरूमा उपन्यास, संस्मरण र कथाहरू पनि नआएका होइनन् तर जब प्रचण्ड, बाबुराम र बादलहरू जनयुद्धको आदर्श, मूल्य, मान्यता र विचारबाट च्यूत हुँदै गए, प्रतिक्रियावादी र यथास्थितिवादी साहित्यकारहरूले जनयुद्धका विरुद्ध, अझ भन्नु पर्दा जनयुद्धलाई विद्रूप गर्न जेहाद छेडेर लाग्न थालेको भन्न सकिन्छ ।

खगेन्द्र सङ्ग्रौलाले जूनकीरीको सङ्गीत लेखेर आफूले जनयुद्धप्रति गरेको अन्यायको एक लेख लेखेर र अहिले जनयुद्ध महान् थियो भन्दै पश्चाताप गरिसकेका छन् । तर नारायण वाग्ले, महेशविक्रम शाह, जगदीश घिमिरे, विजयकुमार, रामप्रसाद जोशी, नारायण ढकालहरूले परम्परागत साहित्य मार्फत जनयुद्धलाई कुरूप बनाएर प्रस्तुत गरिराखेका छन् । विवेक शाह, रुक्माङ्गत कटुवालहरूले आत्माकथाका रूपमा जनयुद्धका विरुद्ध गर्नसम्म विष बमन गरेका छन् । अहिले आएर शाहीसत्तालाई टिकाउन लागिपरेका रामेश्वर थापाले ‘बारुदमाथि उड्दा’ प्रकाशित गरेर त्यसलाई निरन्तरता मात्र दिएका छैनन्, युगान्तकारी र महान् जनयुद्धमाथिको दमन, नेता–कार्यकर्तालाई हत्या गर्नु, बेपत्ता पार्नु, बलात्कार गर्नु ‘तत्कालीन राष्ट्रको अवस्थाको आवश्यकता’ को पुष्टि गर्न खोज्नुले के आसय बोक्छ ?

बङग्याइएका तथ्यहरू
रामेश्वर थापाको किताबको मुख्य आकर्षणका रूपमा उनले २०६१ चैत २५ गते जनमुक्ति सेनाद्वारा खारामा गरिएको आक्रमण र त्यसमा उनले देखाएको ‘बहादुरी’ लाई बनाइएको छ । तर त्यहाँ प्रस्तुत गरिएका कैयौँ घटनाहरू असङ्गतिपूर्ण र असत्य रहेका छन् । जस्तै उनले किताबमा ‘खारा आक्रमणमा उसले आफ्नो भएभरको सञ्चित बल खर्च गरेको थियो ।’ उनको तथ्यमा कुनै सत्यता रहेको छैन । त्यहाँ केवल दुईवटा डिभिजनमा रहेको बलले मात्र आक्रमण गरेको थियो । उनले भनेअनुसार माओवादीको कुनै पनि दस्ताबेज वा भिडियोमा भएभरको शक्तिको प्रयोग लेखिएको, भनिएको वा देखाइएको छैन । त्यसैगरी उनले आफू कति कला, बहादुरीका साथ खारामा माओवादीलाई झुक्याएर हेलिकोप्टर उतारेको प्रसङ्ग उल्लेख गरेका छन् । यो पनि सरासर गलत छ । जब कि उनले हेलिकोप्टर ल्यान्ड गर्दै गर्दा जनमुक्ति सेनाले खारा छाडिसकेको थियो । उक्त कुराको पुष्टि १२ बजेतिर नै उक्त कारबाही राजनीतिक आयुक्तका रूपमा विप्लवले एक वक्तव्य जारी गर्दै मोर्चाबन्दी युद्धको अभ्यास भएको भनी सार्वजनिक रूपमा खाराको आक्रमणबाट पछि हटिसकेको बताएका थिए । त्यसलाई विशेष क्षेत्रमा सञ्चालित रेडियो जनगणतन्त्रले प्रसारण गरेको थियो । अर्को कुरा उनले हेलिकोप्टर ल्यान्ड गर्दा जनमुक्ति सेना रिट्रिट भैसकेको थियो । उनले भनेअनुसार खारा आक्रमणमा जनमुक्ति सेना नजित्नुको मुख्य कारक प्रचण्ड आफैँ हुन् । उनले कोचिङ गर्दा नै फरकफरक गरेका थिए । प्रभाकरको टिमलाई रात–दिन लडेर भए पनि जित्नुपर्छ भनेका थिए भने पासाङको टिमलाई रातभरिमा जसरी पनि जित्ने भनेका थिए । उनले सम्पूर्ण कमान्डको पनि स्पष्ट किटान गरेका थिएनन् ।

त्यसैगरी कैलालीको पण्डौनमा शाहीसेनाको रेन्जर बटालियनसँग भएको भिडन्तमा ९ जना शाहीसेनाको मृत्यु हुनुका साथै कारबाहीबाट जनमुक्ति सेनाले उनीहरूको साथमा रहेका अत्याधुनिक हतियारहरू १ थान एम १६ कोल्ट कमान्डो, १ थान ४० मिमी लन्चर सेट एम १६ तथा ४ थान एम १६ ए टु गरी कुल ६ थान एम १६ कब्जा गरेको थियो । उनले पाल्पा, गिरगिरे, बुटवल रम्भापुर लगायत स्थानका आक्रमणहरूका प्रसङ्ग नै यहाँ राखेका छैनन् ।

असान्दर्भिक सन्दर्भ
रामेश्वर थापाले आफ्नो जीवनका बारेमा पनि उल्लेख गरेका छन् । ‘जिन्दगीको उडान’ को ‘फ्ल्यास ब्याक’ मा उनको अभावपूर्ण बाल्यकाल, ‘पहिलो काठमाडौँ यात्रा’ मा मारबाडीको बालाजी सपिङ सेन्टर’ को कारिन्दा हुँदै ‘अदालतमा आठ वर्ष’ मा न्यूनवेतनी कर्मचारी र अहिले आएर ३५ वर्षकै बीचमा ‘क्याप्टेन हुँदै उद्यमी’ मा पुग्दा उनको सिम्रिक एयर कम्पनीका ४ वटा हेलिकोप्टर, त्यसबाहेक मिडिया, रियल स्टेट, हाइड्रो र पर्यटन व्यवसाय रहेको बताएका छन् ।

यो सन्दर्भ यहाँ त्यत्ति प्रासङ्गिक त छैन तर पनि के मानेमा सान्दर्भिक रहन गएको छ भने पछिल्लो क्रममा मूल रूपमा दरबार हत्याकाण्डपछि हिजोका इनेगिनेका धनीहरूको अहिले नाम पनि सुन्न पाइँदैन र तर त्यसअघि सामान्य जीवन व्यतीत गर्न पनि हम्मेहम्मे पर्नेहरू अहिले नेपालका अति धनीमा गनिन थालेका छन् । त्यसभित्र रामेश्वर थापा पनि पर्न पुगेका छन् । उनी पाइलट बन्दै गर्दा मासिक तलब ४० हजारबाट सुरु भएर राम्रो र स्थापित पाइलटलाई एक लाखसम्म हुने गर्दथ्यो । त्यही तलबका कारण उनी अहिलेको आर्थिक अवस्थामा कसरी पुगे ? प्रश्न गर्ने प्रशस्त ठाउँहरू छाडिएका छन् ।

निचोड
उनको पुस्तक ‘बारुदमाथि उड्दा’ माओवादी जनयुद्धलाई प्रचण्ड—बाबुराम—बादल एन्ड कम्पनीले विचलित बनाएका मात्र छैनन्, हिजो वर्गदुस्मन किटान गरेको घोर दक्षिणपन्थी तत्कालीन नेकपा (एमाले मा विलीन हुन पुगेपछि सार्वजनिक भएको छ । संविधानमा जनयुद्ध भन्ने शब्द पनि उल्लेख नगरिएको, जनयुद्धकालीन कुनै पनि मुद्दाहरू नसमेटिएको, सहिद, जनक्रान्तिका बेपत्ता र घाइते योद्धाहरूका बारेमा कुनै मान्यता नदिएको बरु कथित मानअधिकारका नाममा जनयुद्धका घटनाहरूलाई देशीविदेशी शक्तिको आडमा एकतर्फी उल्ट्याउन खोजिएको परिवेशमा यो पुस्तक सार्वजनिक हुनुले निकै माने राख्छ ।

रामेश्वर थापाले उक्त किताब प्रकाशित गरेर आफ्नो पेसा र व्यवसायको मर्यादा राखेका छैनन्, बरु राजनीतिक प्रतिबन्ध घोषित, काहालीलाग्दो शाहीकालको वकालत गर्न पुगेका छन् । त्यसैले २०५३ सालदेखि पिलीसम्मका उनका हवाईउडानहरूले प्रतिगमनको पक्षपोषण गरेका छन् ।

(साभार–इरातोखबर डटकम)