गुल्मीको तम्घासबाट दाङतर्फ

गाडी अव पाल्पातिर उक्लियो । मैले विचार गरें । यो समयलाई भरपुर उपयोग गर्नुपर्छ । अव सुशिललाई हिंजोको दिनभरकोकार्यक्रमको समीक्षा गर्न लागाउनु प¥यो । मैले उहाँलाई एकमुष्ठ प्रश्न राखें उहाँले एक एक गरेर समीक्षा गर्न लाग्नु भयो । उहाँको समीक्षाको सारमा विहानको उद्घाटन सत्र लामो भयो । त्यसलाई छोंटो बनाएर पुस्तकालय दिवस सम्वन्धि कार्यक्रमलाई समय दिएको भए वेश हुने थियो । यस्तो कार्यक्रम अन्य जिल्लामा पनि गर्दा आपसि भेटघाट हुने थियो ।

-पद्मप्रसाद शर्मा
भाद्र २४ गते विहान ११ बजेतिर प्रगतिशील लेखक संङ्घ नेपाल गुल्मी शाखाको तदर्थ समिति गठन पश्चात खोमा तरामु तम्घासबाट फिर्ता हुने कुरा गर्नु भयो । मेरो मनमा साथै जानपाए हुन्थ्यो भन्ने पनि लागेको त थियो तर उहाँको विशेष काम होला मैले किन रोक्नु भन्ने ठानेर उहाँको विदाइलाई मैले सहज रुपमा लिएँ । हिंडने समयमा उहाँलाई खाना ? भनेर प्रश्न गरे उहाँले कतै खाउँला भन्नु भयो । खोमाजी गुल्मी जाने भनेपछि मेरो मनमा पनि उत्साह थपिएको थियो तर त्यही साथीलाई विचबाट छोड्नु पर्ने भयो । मन नलागे पनि उहाँको विदाईलाई स्विकार्नु पर्दथ्यो । खोमाजी विदा भएर हात मिलाएर जाँदा निकै नियाश्रो लाग्यो । मैले प्रकट रुपमा त्यस्तो केही जनाइन । हात मिलाउँदै गर्दा उहाँलाई भने “यताबाट फिर्ता हुँदा बुटवल पुगेपछि म फोनबाट सम्पर्क गरुँला ।” २५गतेका दिन उहाँको कतै विशेष काम हुँदो हो जस्तो लाग्यो । उहाँसंग विदाभए पछि गुल्मीका साहित्यकार माधब ज्ञवालीसंग कार्यक्रम स्थलमा आएका थियौं । भाद्र २४ गते दिनभरको ब्यस्तता आफैमा रमाइलो भयो ।

भाद्र २५गते विहान सबेरै रेसुङ्गा जानका लागि गुल्मीका साथीहरु गाडीको ब्यवस्था गरेको खवर सुनाउनु भएको थियो । उकालो बाटो पार गर्न कठिन हुने लागेर हामी केही जनाले रेसुङ्गाको यात्रा स्थगन गरेका थियौं । रेसुङ्गा गुल्मीको एउटा ऐतिहासिक तथा पर्यटकीय स्थल पनि हो । जहाँ ऋषिले तपस्या गरेको किम्वदन्ती छ । रेसुङ्गा डाँडो उचाइमा रहेपनि अति सुन्दर र हेर्न लायक स्थान भनेर साथीहरुले सुनाउनु भएको थियो । कुरा सुन्दै मनमा नयाँ उर्जा सञ्चार हुने स्थान रहेछ रेसुङ्गा । तर त्यही स्थान हेर्न जानका लागि अनुकुल नपरे जस्तै भयो । जाने साथीहरुलाई हामीले यात्रा शुभ रहोस् भनेर कामन गरेका थियौं ।

भाद्र २५ गते गुल्मीको तम्घासबाट बुटवलतर्फ प्रस्थान गर्नका लागि बर्दियाबाट प्रतिनिधित्व गर्नुहुने साहित्यकार शुशिल चौधरी र मैले कार्यक्रम स्थलबाट समय निकालेर विहान ५बजेको गाडीको टिकट लिई सकेका थियौं । बुटवलबाट गुल्मी पुग्दा खोमाजी साथमा हुनुहुन्थ्यो भने उहाँको स्थानमा आज सुशिल चौधरी रहनु हुने भयो । यो पनि खुशीको कुरा रहने भयो । मलाई साथीको कमी रहेन भन्ने लाग्यो । विहान ४.३० बजे नै सुशिल जीले ढोका बाहिरबाट हामीलाई उठाउनु भयो । यद्यपी हामी दुबैजना उठी सकेका थियौं । समयमा विहानको नित्य कर्म सकेर ठीक पाँच बजे हामी बसपार्क पुग्यौं । बसपार्क पुग्दा बस स्टार्ट भैसको थियो । हामी गएर बस्यौं । बसमा हामी समेत जम्मा संख्या पाँच थियो । हामीलाई शंकालाग्यो यात्रु निकै कम छन भनेर कतै बस नजने त होइन ? डाँक (हुलाक ) लिएर आउने भएकाले बस समयमा बसपार्कबाट अगाडी बढ्यो । झण्डै चालिसको संख्या अटने बस पाँच जना यात्रु लिएर बसपार्कबाट अगाडी बढ्यो । तै पनि मनमा कता चिसो पस्यो अनि सहचालकलाई मैले प्रश्न गरें यात्रु त छैनन कतै बाटोमा गएर लामो समय रुक्ने त हैन ? महामीलाई समयमा बुटवल पुग्नु छ अ्नि त्यहाँबाट पनि अगाडी बढनु छ भने । उनले भने हाम्रो यता त्यस्तो चल्दैन हामी तपाइहरुलाई साढे दशबजे बुटवल उतार्छौ । उनका कुराले हामी ढुक्क भयौं । अव गाडीको वारेमा चिन्ता भएन ।
गाडी रेसुङ्गा डाँडोबाट अगाडी बढ्यो । आज शुशिल चौधरीसंगको यात्रा रमाइलो हुने भयो मैले यही अनुमान गरेको थिएँ । सुशिल चौधरी पाको अनुभवि र मिलनसार ब्यक्ति हुन मैले त्यसैगरी बुझेको थिएँ । रेसुङ्गा पार भए पछि उज्यालो पनि छ्याङ्ङ भयो । सबै गाउँ बस्ती राम्ररी देखिए । हामी अव गुल्मीका गाउँबस्तीमा रमउन लाग्यौं । अनि गुल्मीको समग्र विकासको कुरामा गहिरिन पुग्यौं । यस्तो पहाडमा के कसरी विकास गर्न सकिन्छ ? एकापसमा छलफल चलायौं । पानीको श्रोतको वारेमा चर्चा गर्न लाग्यौं । खेतीयोग्य जमिन र अन्य जमिनको बर्गिकरणको कुरा ग¥यौं । बाटो सहज बनाउने कुरा गर्यौं । जनजीवन सहज बनाउन अपनाउने उपाय जो हाम्रो मनमा थियो त्यो कुरा आलो पालो राख्यौं ।

गुल्मीको समृद्धिको कुरा सकिएको थिएन बलेटक्सार बजारमा गाडी पुगिसकेछ । गाडी रुक्यो । हामी उत्रेर होटलमा चिया पिउन गयौं । गुल्मीको बलेटक्सार त्यो क्षेत्रको ब्यापारी केन्द्र नै रहेछ । विहानैदेखि उपभोक्ताको राम्रो सहभागिता देखियो । हतारमा चिया पिएर हामी बसमा चढ्यौं । बलेटक्सारबाट उत्तर दक्षिणका सबै दृष्य हेर्न सकिन्छ । त्यहाँबाट हेर्दा अनगिन्ति पहाडहरु देख्न पाइन्छ । त्यहाँबाट गाडी अगाडी बढ्यो हामीले हाम्रो कुराको प्रसङ्ग बदल्यौं । सुशिल जी साहित्यमा प्रवेस गर्नुभयो । दुवैजना साहित्य साधना र साहित्यिक संस्थामा केन्द्रीत भयौ । यात्रा होस् त यस्तो होस् । आज राम्रो संयोग जुरेको महसुस भयो । कहिले उहाँले मलाई प्रश्न राख्नु हुन्थ्यो त कहिले मैले मेरा मनका जिज्ञासा राख्थें । बलेटक्सारसम्म हामीले बाहिरको दृश्य नियालेर गुल्मीको समृद्धिको कुरा गर्न भ्यायौं । त्यो देखियता हाम्रो नजर बाहिर भए पनि ध्यान आपसी गफमामात्र सिमित रहन पुगे ।

हामीले गफलाई विश्राम दिन पाएका थिएनौं रिडी पुगिएछ । रिडी पुगेपछि झल्याँस्स भए जस्तो लाग्यो । गुल्मी जाँदा खोमाजी र म पुगेको होटलको केही कदम अगाडी पुगेर गाडी रुक्यो । हामी तिनैजना ओर्लिएर चिया नास्ता र केही दृष्यावलोकनका लागि अगाडी लाग्यौं । मैले रिडीको पुलको पुल र अगाडीको बजारको फोटो लिएँ । रिडी र गण्डकीको संगम स्थल नजिकमा प्रवेशद्वार निर्माण हुँदै थियो । जहाँ कमल श्रेष्ठ लगायतका सभासदको उपस्थिति देखियो । नविन अधिकारी जी र सुशिल जी अगाडी पुगेर कता फोटो लिने धुनमा हुनुहुन्थ्यो मैले होटलवाला बहिनीलाई प्रश्न गरे आज किन त्यहाँ प्रवेशद्वार बनाइदैछ ? उहाँले आज बाटो उद्घाटनको कार्यक्रम छ त्यसेले भन्नु भयो । उहाँ काममा ब्यस्त हुनुहुन्थ्यो । त्यो देखि बाहेक अरु गफ गर्ने फुर्सद नै भएन ।

होटलमा चिया बनाउन भनेर हामी बाहिरको फोटा लिनको लागि केही पर पुगेका थियौं । चीय तयार भए पछि मैले उहाँहरुलाई शंकेत दिएँ । हामी छिटो छिटो चिया नास्ताको काम सक्याएर बसतर्फ लाग्यौं । बसतर्फ लाग्दै गर्दा हिजोसाँझको एउटा दृष्य याद आयो । पुस्तकालय दिवसको कार्यक्रम चल्दै गर्दा सूर्यबहादुर सेन ओली मेरो नजिक आएर बाबुको नाम र फोन नम्वर टिपोट गरेर दिनुस् न भन्नु भयो । मै कार्यपत्रमाथि टिप्पणी गर्दा उहाँ केही पर हुनुहुन्थ्यो । मैले टिप्पणी सक्दासाथ मेरो नजिकमा आएर फोन नम्वर टिपोट गरेर दिन भन्नु भएको थियो । उहाँले मलाई धाप लगाउँदै तपाईंलाई त भाइ भन्न मन लाग्यो रिसानी माफ हुने भए म त भाइ भन्छु भन्नुभयो । मैले भने हो म तपाईको भाइ नै हूँ । दाइ भाइको नाता मलाई अति प्यारो लाग्छ भने । सूर्यबहादुर सेन ओली र म वर्षौ पुरानो नातोदार जस्तै भएर जोडिन पुग्यौं । मैले गुल्मीका मित्रहरुबाट अगाध माया र सद्भाव पाएँ जस्तो लाग्यो । यो पनि एउटा अवसर नै हो । यस्तै स्मरणका साथ म बसमा चढें । शुशिलजी र म एउटै सिटमा थियौ भने नविन अधिकारी (बर्दिया) केही सिट परहुनुहुन्थ्यो । उहाँले हाम्रो कुरा सुन्न सक्नु हुन्थ्यो तर हामी उहाँसंग कुरा गर्न सक्ने अवस्थामा भने थिएनौं ।
गाडी अव पाल्पातिर उक्लियो । मैले विचार गरें । यो समयलाई भरपुर उपयोग गर्नुपर्छ । अव सुशिललाई हिंजोको दिनभरकोकार्यक्रमको समीक्षा गर्न लागाउनु प¥यो । मैले उहाँलाई एकमुष्ठ प्रश्न राखें उहाँले एक एक गरेर समीक्षा गर्न लाग्नु भयो । उहाँको समीक्षाको सारमा विहानको उद्घाटन सत्र लामो भयो । त्यसलाई छोंटो बनाएर पुस्तकालय दिवस सम्वन्धि कार्यक्रमलाई समय दिएको भए वेश हुने थियो । यस्तो कार्यक्रम अन्य जिल्लामा पनि गर्दा आपसि भेटघाट हुने थियो । कार्यक्रम राम्रो भयो । अनि मलाई जिम्मा दिनु भयो । मैले पनि आफ्नो धारणा राख्दै उहाँको समीक्षामा समर्थन जनाएँ । हिंजोको कार्यक्रममको समीक्षाको साथमा अन्य कुरा राख्दा राख्दै हामी वतासेडाँडा पार गरीसकेछौं । केही वन पार गरेर बस तानसेन नजिक पुग्यो । तानसेनबाट निकै यात्रुहरु बसमा चढे अव भरिभराउ भयो । गाडी अगाडी बढेपछि हामी वाह्य वातावरणमा रमाउन लाग्यौं । त्यहाबाट देखिने दृष्यले फेरी एक पटक मन लोभ्यायो । वरतुङबाट ओरालो लागेपछि हामीले हाम्रा कुरालाई विश्रान्ति दियौं । नयाँपाटी पुगेपछि पुनः गफको पुल जोडियो । बस बुटवल बसपार्कमा पुगेर रुक्यो हामी ओर्लीएर बसपार्क भित्र रहेको होटल ताज एण्ड गेष्ट हाउसमा खानाका लागि पुग्यौं । खाना खाएर मुलगेटमा पुग्यौं नेपालगञ्जका लागि गाडी हर्न बजाउँदै रहेछ हामी तीनैजना गाडीमा उक्लीयौं । अव भने भात लागे जस्तै भयो झण्डै दुईघण्टा जति शरीरलाई विश्राम दियौं । सुराईनाका पार भए पछि केही प्रसङ्ग उठाएर गफगाफ भए । भालुवाङ हुँदै बस लमही पुगेर रुक्यो । म दुवैजनासंग विदा भएर दाङ पुग्ने गाडीमा चढें । उहाँहरु दुबैजना पश्चिम तर्फलाग्नु भयो । म समग्र गुल्मीको तिन दिने यात्राको समीक्षा गर्दै दाङ तर्फ लागें ।