गुल्मीको ठूलो लुम्पेकमा फागुन १५ मा प्रथम सहिद लखन थापा मगरको शालिक अनावरण हुने

जनबाटो संवाददाता । गुल्मी, फागुन १५– ३६ औं मगर एकता दिवसको अवसर पारेर गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकमा प्रथम सहिद लखन थापा मगरको शालिक अनावरण हुने भएको छ ।

सत्यवती गाउँपालिका वडा नं.३ र नेपाल मगर संघ ठूलो लुम्पेक गाउँ समितिको संयुक्त आयोजनामा प्रथम सहिद लखन थापा मगरको शालिक अनावरण गर्न लागिएको हो । प्रथम सहिद लखन थापा मगरको शालिक नेपाल मगर संघका संस्थापक सचिव तथा मगर आदिकवि जीतबहादुर सिंजाली मगरले गर्ने वडा नं. ३ का अध्यक्ष रुकवहादुर राना मगरले बताए ।

उक्त अवसरमा आदिकवि जीतवहादुर सिंजाली मगर र प्रथम सहिद लखन थापा मगरको शालिक बनाउने मूर्तिकार कुशल थापा मगरलाई सम्मान समेत गर्न लागिएको अध्यक्ष राना मगरले बताए । शालिक अनावरणका कार्यक्रममा ठूलो लुम्पेकका मगर तथा गैरमगरहरुको विभिन्न सांस्कृतिक झाँकी सहित सहभागि हुने आयोजकले बताएको छ । केही बर्ष अगाडी देखि ठूलो लुम्पेकमा नेपाल मगर संघले मगर एकता दिवस मनाउदै आएको छ । प्रथम सहिद लखन थापा मगरको शालिक वडा कार्यालयको अगाडी ल्हुम्पेक थानीको थान नजिकै देउरालीमा रहने आयोजकले बताएको छ ।

को हुन् लखन थापा मगर ?
प्रथम सहिद लखन थापा मगरको जन्म वि.सं.१८९१ (ई.सं.१८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुलेभङ्गारमा भएको थियो । राष्ट्रप्रेमको भावना बोकेर उनी बीस वर्षको उमेरमा गोरखगणमा उनी भर्ना भए । चौध वर्षको सैनिक जीवनमा कप्तान पदमा पुगे । लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ्ग, सुपति गुरुङ्ग, ज्ञान दिलदास व्राम्हण र कानु लम्साल आदिका सहयोगबाट स्थानीय युवाहरुको विद्रोही फौज संगठित गरे । यसो गरेवापत उनलाई विं.सं.१९३३ फागुन २ गते दरबार अगाडिको खिर्राको बोटमा उनलाई झुन्ड्याइएको थियो ।

२०७२ असोज ३ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले ‘लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरेको थियो ।

फोटो–भुवन थापा ‘बहुवि’