गाउँमा भलिबल क्रेज : हिमालयन परिवारले दसैं पूर्णिमामा फाइनल गर्ने, माछापुच्छ्रेले गर्यो सम्पन्न,

जनबाटो संवाददाता । दसैंको बेला गाउँमा भलिबल क्रेज बढिरहेको छ । दसैंको सेरोफेरो सहरबाट गाउँघर फर्कने र सबैको ध्यान कुनै न कुनै कार्यक्रममा सहभागी भई आफन्त साथीभाईहरुसंग भेटघाट गर्ने प्रचलन बढेको छ । ठूलो लुम्पेकमा भलिबल प्रतियोगिताले यस्तो अवसर जुटाउँदै आएको छ ।

यो बर्ष सदाझैं हिमालयन युवा परिवारले भलिबल प्रतियोगिता आयोजना गरेको छ । हरेक बर्ष गर्ने यो कार्यक्रममा ल्हुम्पेकीहरुवीच भेटघाट गर्ने महत्वपूर्ण अवसर बन्दै आएको छ । हिमालयन परिवारले महिला तथा पुरुष भलिबल, ब्याटमिन्टन प्रतियोगिता समेत आयोजना गरेको परिवारका सचिव रोहन थापा मगरले बताएका छन् । सचिव थापा मगरले क्लबको तर्फबाट प्रतियोगिता सम्पन्न गर्नका लागी आवश्यक तयारी पुरा भएको बताउँदै प्रतिस्पर्धी क्लब, समूह वा टिमलाई सहभागीका लागी फर्ममा नाम दर्ता गर्न अनुरोध गरेका छन् ।

महिला तथा ब्याटमिन्टन तर्फको नाम दर्ता कार्तिक ३ गते सम्म र ४ गतेदेखि खेल सुरु हुने र पुरुष भलिबल प्रतियोगिता तर्फको नाम दर्ता ४ गतेसम्म हुने र त्यसपछि खेल सुरु हुने सचिव थापा मगरले जनबाटो अनलाइनलाई बताए । उनले प्रतियोगितामा गुल्मी, बाग्लुङ, स्याङ्जा, पाल्पा, रुपन्देही लगायतका जिल्लाहरुबाट राष्ट्रिय रुपमा सहभागी भइसकेका टिम एवं खेलाडीहरु सहभागी हुने बताएका छन् । आयोजकले प्रतियोगितामा बिजेताहरुलाई आकर्षक पुरस्कार प्रदान गर्ने बताएको छ । दसैं पूर्णिमाका दिन प्रतियोगिताको फाइनल गर्नुका साथै उक्त दिन विविध सांस्कृतिक कार्यक्रम समेत गर्ने बताएको छ ।

माछापुच्छे क्लबले सम्पन्न गर्यो भलिबल

सत्यवती गाउँपालिका ३, ठूलो लुम्पेकस्थित माछापुच्छे युवा क्लबद्धारा आयोजित भलिबल प्रतियोगितामा पुरुष तर्फको प्रथम पुरस्कार प्रगतिराम इन्जिनियरिङ एण्ड सोलुसन प्रालि टिम ए र महिलातर्फ थ्री स्टार युथ क्लब ए टिमले जितेको छ ।

उपबिजेताको रुपमा सत्यवती गाउँपालिका ३ मा रहेको नवप्रतिभा प्रतिष्ठान केन्द्र र सान्त्वना एमएक्ट स्पट क्लब रहेको छ । महिलातर्फ उपबिजेता क्षितिज युवा समूह र सान्त्वना एमएक्ट स्पट क्लबले प्राप्त गरेको छ ।

पुरुषतर्फ म्याच अफ द म्यान महेन्द्र चौधरी, बेष्ट स्पाइकर दीपेन्द्र श्रेष्ठ, बेष्ट सटर नारन सिंजाली, मोष्ट डिस्पिलिन धर्मराज फौजाले प्राप्त गरेका छन् भने महिलातर्फ म्याच अफ द म्यान सिता फौजा, बेष्ट स्पाइकर खुश्बु पुलामी, मोष्ट डिस्पिलिन भवानी श्रीस मगरले प्राप्त गरेकी छन् ।

ठूलो लुम्पेकको माछापुच्छ्रे भ्यु पोइन्ट(ओखरभङ्ज्याङ)मा भएको उक्त प्रतियोगितामा स्याङ्जा,रुपन्देही बाग्लुङ र गुल्मी गरि ४४ टिमकोसहभागिता रहेको थियो । श्री माछापुच्छ्रे युवा क्लबले आफनो स्थापनाको दोस्रो बर्ष तथा पन्ध्रौं संस्करणको रुपमा प्रतियोगिता आयोजना गरेको थियो ।  प्रतियोगिताको अन्तिम दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत सम्प्पन्न गरेको छ । सांस्कृतिक कार्यक्रममा नेपाल राष्ट्रिय लोक तथा दोहोरी गायिका मिरा गिरी,गायक डोलराज परियार,कुशल उद्घोषक र गायक रास्कोटी मगर र भ्वाइस अफ बुटवल–०७२– सेकेन्ड रनर अप चन्द्रप्रकाश फौजा,  डान्सर उषा फौजाको साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।