क्रिकेटर सन्दीप चर्चाको चुलीमा

नयाँदिल्ली : इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दुई खेल मात्र खेलेका सन्दीप लामिछाने अहिले विश्वभर चर्चा बटुलिरहेका छन् । दिल्ली डेयर डेभिल्सले अघिल्ला ११ खेलमा सन्दीपलाई मौका नदिएकोप्रति आईपीएलका क्रिकेट कमेन्टेटरले समेत दिल्लीको गल्ती भएको संकेत गरेका छन् ।

१२औं खेलमा सन्दीपलाई दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरसँग मौका दिएको थियो । उनले डेब्यु खेलमै पार्थिव पटेलको विकेट झार्दै सनसनी मच्चाए ।

उनले रोयल च्यालेन्जर्स सँगको खेलमा चार ओभर बलिङ गर्दै २५ रन मात्र दिएका थिए । त्यसपछि शुक्रबार चेन्नईविरुद्ध खेल्न पाएका सन्दीपले विश्वकै उत्कृष्ट ब्याट्सम्यान सुरेश रैनालाई आउट गरेपछि विश्वभरका क्रिकेट पण्डितले उनको खुलेर प्रशंसा गरेका छन् ।

चेन्नईसँगको खेलमा सन्दीपले चार ओभरमा २१ रन दिए र एक विकेट पनि लिए । दोस्रो खेलसँगै आईपीएलमा कम रन दिएर धेरै विकेट लिने खेलाडीको सूचीमा सन्दीप शीर्ष स्थानमा छन् ।

उनले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४६ रन दिएर दुई विकेट लिए; जसमा सन्दीपको बलिङ औसत ५.७५ रहेको छ । चेन्नईसँगको खेलमा सन्दीपले ‘स्टाइलिस प्लेयर्स अफ् द म्याच’को उपाधिसहित एक लाख भारुसमेत पाए ।