केही आत्मस्वीकृतिहरु

लेखनसुत्र बास्तबमा भन्ने हो भने लेखनप्रवाह नै हो । जति लेख्दै गयो त्यति लेख्न सकिने । लेख्दै गयो भने शिलशिला पनि आफै सिर्जना हुँदै जाँदोरहेछ । विषयबस्तुको खोज गरिन्छ । नपढी लेख्न सकिदैन । त्यसैले अरुका पढ्ने बानी बस्छ । कितावी रटानले मात्र विषयको उठान गर्न सकिदैन । त्यसैले स्थलगत अवलोकन र भर्मणले नियमितता पाउँछ । लेख्न छोडेपछि सबैकुराहरु हराउँछन् । यहाँ सम्मकी मनभरि छरपष्ट रहेका कथाहरुलाई पनि कापीमा उतार्न सकिदैन ।

-दीपक विश्वकर्मा

आजकाल त पत्रकार महासंघको परिचयपत्र कार्ड देख्दा पनि डर लागेर आउँछ । डर लाग्नुका कारण छन् । विगत पाँच वर्षमा परिचय पत्रको मान राख्ने समेत कुनै काम गरिएन । हो, कविता लेखियो केही थान । केही स्थानीय पत्रिकामा छपाइयो । एउटा कविता नागरिक दैनिकमा छापियो । कविताले फेकबुक भने खुब रंगाइयो । तर, धेरै मित्रहरुको सुझाब रहयो । फेकबुके कवि नबन् । लाइक कमेण्टको चक्करमा तँ थेत्तर बन्दैछस् । कति जनालाई जवाफ दिएर सक्छस् हँ ? पुग नपुग पाँच हजार साथी छन् मेरा फेसबुकमा । कविता पोष्ट गर्दा मुस्किलले सय जनाको लाइक आउँछ । त्यतिघेरै साथीहरुको लस्करमा कमेण्ट आउने भनेको मात्र पचास साठी मात्र जनाको हो । त्यसैमा मख्खपरि रमाएर नबस् । यदि फेकबुकमा पोष्ट गर्ने नै हो भने पनि दुईचार लाईन मात्र पोष्ट गर । त्यो पनि खालि उपस्थितिको लागि मात्र ।
पुगनपुग डेडवर्ष भयो पत्रकार महासंघको अधिवेशन भएको । पार्षद्को नाताले भागलिन म पनि गएको थिएँ । त्रासदीपूर्ण घटना घट्यो । कस्सो मरिएन आगलागीमा परेर । हो, त्यसै घटनाको नालिबेली लेखेर बुटवल टुडे दैनिकमा छपाएँ । आयोजकले सेभिङरेजर, सावुन, माक्स, तुथपेष्ट, ब्रस र पखलाको दवाई दिएको थियो । धेरै सामान सुरक्षित राखेको छु, तुथपेष्ट, ब्रस र माक्सबाहेक । यद्यपि पत्रकार महासंघको पार्षद्को पद मानार्थ पद हो । तर पनि यसको आफ्नै गरिमा छ । सयौं पत्रकार साथीहरुले भोट हालेर विजय बनाउनुको मतलव सत्रियताको आशा पनि हो । हो, यही सक्रियता रहेन ममा । त्यसैले ती सामान खुल्ला मनले प्रयोग गर्न सकिरहेको छैन आजसम्म पनि ।

छापा मिडियामा छापिएको त्रासद रात नै मेरो अन्तिम रहयो भन्दा पनि हुन्छ । यद्यपि लुम्बिनी दैनिक, दैनिकपत्र र बुटवल टुडेमा केही थान कविता छापिए । तारा मिलन छन्त्यात भाइको पत्रिका, सुमी लोहनीजीको सम्पादनमा निस्कने शब्ददुतमा एउटा कविता छापियो । आफ्नै साहित्यक पत्रिका जनघोष्मा भने निस्केसम्म नियमित छु । बस यही हो लेखकीय उपलब्धी भनेको । अनित कसरी प्रयोग गर्नु त पत्रकार महासंघको कोसेली मफतमा ?

लेखनसुत्र बास्तबमा भन्ने हो भने लेखनप्रवाह नै हो । जति लेख्दै गयो त्यति लेख्न सकिने । लेख्दै गयो भने शिलशिला पनि आफै सिर्जना हुँदै जाँदोरहेछ । विषयबस्तुको खोज गरिन्छ । नपढी लेख्न सकिदैन । त्यसैले अरुका पढ्ने बानी बस्छ । कितावी रटानले मात्र विषयको उठान गर्न सकिदैन । त्यसैले स्थलगत अवलोकन र भर्मणले नियमितता पाउँछ । लेख्न छोडेपछि सबैकुराहरु हराउँछन् । यहाँ सम्मकी मनभरि छरपष्ट रहेका कथाहरुलाई पनि कापीमा उतार्न सकिदैन ।
यो सिथिलता बिगत पाँच वर्ष देखि संगसंगै हिँडिरहेको छ मसंग । यसै पनि बिगत पाँच वर्ष अनेक उतारचढाब लिएर आए मेरा दिनचर्यामा । धेरै कुराहरुमा समय बिभाजित भयो । आमाको बिमार र देहवसान, पारिवारिक सम्पत्तीबाट उठ्न गएको उग्र बिबाद, जातीय विभेदले सिर्जना गरेका मानसिक आधात, आर्थिक कारणले सिर्जना हुने दैन्दिन्य समस्या, छुटेको शैक्षिक यात्रालाई पुरा गर्नु पर्ने बाध्यता, यी सबै परिबन्धको वावजुत चाँङ लागेर टेबलमा थुपारिएका कितावहरुलाई पढ्नै पर्ने बाध्यता । आफ्नै तथा श्रीमतीजीका शरीरमा थुप्रिन थालेका रोगहरुको ब्यबस्थापनको दैनिकी, आदि आदि आदि ।

भोली लेखुला भनेर कापीमा टिपेका बिसौ नोटहरु छन् । बास्तवमा ती नोट भनएर लेख, कथा, कविता र निबन्धका शिर्षकहरु हुन् । जल्दोबल्दो र लेख्नै पर्ने पछिल्लो विषयबस्तु हो, आमाको मृत्युपश्चात मैले नगरेको तेह्रदिने क्रियाकरमको आत्मास्वीकृति । सो विषयबस्तु उपर कविभाइ निरि श्रीस मगरले लेख दाइ लेख भन्दाभन्दा मैले सुनेको नसुनेझै गरेकाले आजकाल भन्नै छोड्नु भयो । अझै पनि केही चाँजोपाँजो मिलेको छैन दिनचर्यामा ।

सयौं विषयबस्तुहरु थुप्रिएका छन् मनभित्र जो कापीमा उतार्नु छ । समृद्वि, विकास र प्रगतीको बारेमा लेख्नु छ । देशैभरि फैलिएको महिलाहिंसा, बलात्कार र उत्पीडनको बारेमा लेख्नु छ । हाटबजारमा कसरी पाल्पाका भित्री गाउँबाट तरकारी बिक्री गर्न बुटवलको हाटमा आएका गरिव किसानहरुको डोकोबाट स्थानीय करोडपती साहुनीहरुले एकमुठा फर्सीको मुन्टा सुटुक्क कोखिलामा चयापेर हिड्छन् भन्ने बारेमा लेख्नुछ । बुटवल भैरहवा छ लेनको सडक राजमार्ग चौराहा देखि गोलपार्क सम्म बन्दाबन्दै रोकिदा फैलिन गएको जनआक्रोशको बारेमा लेख्नु छ । सो आलेख भित्र “ए फल्ना घर त भत्काउनु नै पर्ने भएछ क्यारे, भत्काउनै पर्ने भए, भत्काउन रोक्छौ भनेर उठाको पैसा फिर्ता देउन त” भन्दै कसैको पिडीमा धर्ना दिने घरबेटीको कथा पनि थप्नु छ । दुई वर्ष पहिले एउटा कविता लेखे “मैले –आँत भाइको छोराको जनैसुपारी शिर्षक दिएर । परन्तु त्यो विषय उठान कविमनको कल्पना बाहेक अरु केही थिएन । तर, कविता लेखेको दुई वर्ष पछि कसरी सो कविताको विषय उठान मेरैउपर लागु भयो भन्ने बारेमा लेख्नु छ । एक सन्मानीय तथा अतिआदरणीय महानुभावले होटेलमा चिया खाँदा संगै बसेको टेबलबाट उठेर भान्सामै पुगी चियाको गिलास आफै बोकेर अघि संगै बसेको टेबलमा नबसी अर्कै टेबलमा बसेर चिया पिएर कसरी हिन्दुत्वको रक्षा गरे भन्ने बारेमा लेख्नु छ । कसरी केही अतिपबित्र मान्छेहरु आज पनि मसंग जम्काभेट हुँदा मलाई देब्रे पारेर बाटो काट्छन् भन्ने बारेमा लेख्नु छ । उमेरको गणनाको हिसावले मभन्दा कान्छा मान्छेहरु पनि जबसम्म मैले नमस्कार गर्दिन वा मुख फोर्दिन तबसम्म कसरी मौनबर्त बस्छन् भन्ने बारेमा लेख्नु छ र लेख्नुछ मेरै सहयोगमा लामो समय धानिएका मान्छेहरु पनि आज पुगिसरो भएपछि कसरी ताना कसेर बोल्छन् भन्ने बारेमा ।

केही सामाजिक रुपान्तरणका कुरा छन् लेख्नै पर्ने । जातीय उन्माद झन् पछि झन् मौलाउँदै गएको बारेमा लेख्नु छ । समृद्विको मानव तथा समाजसास्त्रीय अध्ययनको बारेमा लेख्नु छ । योजनाका समयसिमाहरु कसरी जनताको जीवनस्तर संग जोडिएका छन् भन्ने बारेमा लेख्नु छ । राट्रिय योजनाको अरबौं खरबौं रकम ठेकेदार मार्फत नेता र राष्ट्रसेवक कर्मचारीको पकेटमा पुग्नाले आम मान्छेको समृद्वि कथा कसरी तुहिने गर्दछ भन्ने बारेमा लेख्नु छ ।

तेइस वर्ष भयो बुटवल बस्न थालेको पनि । जीवन जिउन के सम्म गरिएन ? के कति पापड बेल्नु प-यो ? दुःख सुखका कुराहरु सुन्नु सुनाउनुछ । आरन देखि आसाम सम्म र आसाम देखि आरन सम्मका आफ्नै कथाहरु चाँङ लागर बसेका छन् । यी सबैलाई कापीमा उतार्नु छ । लेख छवे लेख । तँलाई जस्तो सुजोक कसैलाई मिलेको भए मरिजानु । समा कलम समा । यसमा मसी सुक्न नदे ।
(दैनिकपत्रबाट साभार)