कसको तीज, कस्तो तीज ?

अझ उदेक लाग्दो कुरो त के भने एकथरी मान्छेहरु बोर्डिङ स्कूलहरुमा पुरुषहरुले महिलाहरुलाई तीज खुवाउने प्रचलन सुरु भएको छ । चाडपर्व संस्कृतिलाई सरलीकृत र यसको ऐतिहासिक पक्षमा बहस गरि सत्यपान गर्नुको सट्टा महंगा होटल, पार्टी प्यालेसहरुमा गएर कार्यक्रमको होडबाजी गर्नु निरर्थक मात्र हैन, भविष्यका कर्णधार भनिएका बिद्यार्थीहरुलाई गलत अभ्यास गर्ने संस्कृति सिकाइएको छ । यो पुँजीवादको भद्दा र नग्न रुप हो । यसले समाजलाई सही ठाउँमा पु-याउँदैन ।

–सुमन नेपाली
संस्कृतिको जन्म मानिसले प्रकृतिसित सङ्घर्ष गर्ने क्रममा भएको हो । यो कुनै पनि समाज विशेषको राजनीति र अर्थतन्त्रको विचारधारात्मक प्रतिबिम्ब हो । अर्थात् संस्कृतिको स्वरुप वर्गीय हुन्छ । नेपालमा लामो समयदेखि दुईथरी संस्कृतिको अभ्यास हुँदै आएको छ । एउटा–जनवादी संस्कृति र अर्को जनविरोधी संस्कृति । जनवादी संस्कृति सर्वहारावर्गको नेतृत्वमा हुने सामन्तवाद–साम्राज्यवाद विरोधी संस्कृति हो । यसको उद्देश्य मजदुर एवं आम श्रमजीवी जनतालाई सामन्तवाद साम्राज्यवाद विरोधी राजनीतिक र सांस्कृतिक क्रान्तिको मार्गमा अघि बढाउन प्रयत्न गर्नु र समाजवादी र साम्यवादी विचारलाई जनताका वीचमा पु¥याउनु हो । अर्कोतर्फ यहाँ जनविरोधी संस्कृति पनि रहेको छ । यसले जहिल्यै शासकवर्गको पक्षपोषण गरिरहेको छ । यसले केही एलिटवर्गको जन्म गराउँछ । सत्ताको भजन गाउँछ र त्यसको रक्षा गर्दछ । यहाँ तीजमा देखिएको जनविरोधी संस्कृतिवारे छलफल गर्न खोजिएको छ ।

बदलिएको तीज
पहिले समाज सरल थियो र तीज पर्व मनाउने तरीका पनि सरल नै थियो । तीजमा छोरी माइत आउने बुहारी माइत जाने गर्दथे । छोरी, बुहारी, सासू, नन्दले वर्षभरि भोगेका दुःख, पीडा बिर्सेर माइतीमा छोरीबुहारी नाच्ने, रमाउन मनका बेदना गीतमार्फत पोख्ने, गाउँघरमै उत्पादित दूध, दही, केरा फलफूल खाएर दिदी बहिनीले तीज पर्व संस्कार र संस्कृतिको रुपमा मनाउँदथे । गीत सङ्गीतबाटै चेलीका मर्का, समाजका कुप्रथा, विसङ्गतिप्रतिको असन्तुष्टी, वर्तमान सामाजिक, राजनीतिक विकृति, सासूले बुहारीलाई गरेको हेलाहोचोलाई गीत र सङ्गीतको भाकाको माध्यमबाट आफ्नो घर, आँगन, टोलटोलमा नाचगान गर्ने र दिदीबहिनीको भेटघाट गर्ने पर्वको रुपमा तीज मनाइन्थ्यो ।

अहिले तीजपर्व मनाउने तरीका फेरिएको छ । समाजमा अश्लील र उच्छृङ्खलता निम्त्याउने खालका तीज गीत बजिरहेको छ । ‘पोइल जान पाऊँ’, ‘केरा काटेर’ ‘यो केटी मैले ल्याउन पाऊँ’ जस्ता गीत यसका प्रतिनिधि उदाहरण हुन् । तीज गीत होटेल, पार्टी प्यालेसमा गाइने गीतको बोलले तीजको गरीमालाई हलुका बनाइदिनुका साथै धर्म, साहित्य, गीत–सङ्गीत, खान–पिन, रीति–रिवाज आदि संस्कृतिलाई छोड्दै पश्चिमा शैलीका विकृति र विसङ्गतिको रुपमा भित्रिएको छ ।
अर्काको देखासिखीमा लागेर ‘कोभन्दा म के कम’ भन्ने मनसायले गर्दा आफू र आफ्नो परिवार आर्थिक बर्बादीतर्फ धकेलिनुका साथै यसले परिवारभित्रै झै–झगडा र अशान्ति मच्चाएको छ ।

चाडपर्व रीतिरिवाज भनेको गहना झकीझकाउ लगाएर मात्र मौलिकता झल्किने होइन, संस्कृति बच्ने पनि होइन । मौलिकता झल्काउने र आफ्नो रीतिरिवाज, संस्कृति बचाउनका लागि त सामान्य तवरले नै चाडपर्व मनाउन सकिन्छ । तर यस्तो नभई बचत समूह, बैङ्क तथा सहकारीबाट ऋण झिकेर, साहु महाजनबाट ऋण झिकेर, ढुकुटीमा संलग्न भएर चाडपर्वमा अरुलाई देखाउनका लागि विभिन्न खाले सुनका गहना बनाउने प्रचलनले व्यापकता पाएको छ । आफ्नो घर परिवारको जे जस्तो आर्थिक अवस्था छ त्यसरी नै रमाउनुपर्दछ ।

कसको तीज, कस्तो तीज ?
नेपालका अधिकांश चाडपर्वहरु धर्मसंग जोडिएका छन् । धर्मशास्त्रका नाममा अधिकांश चाडपर्वहरुले लैंगिक विभेद र वर्गीय असमानता बढाएको छ । तीजमा महिलाहरु ‘शिबजस्तै लोग्ने पाउँ’ भनी ब्रत बस्ने कुराले पुरुषहरुलाई मालिक ठान्दछ र महिलाहरुमाथि पुरुषको हैकमवादी दृष्टि र मानसिकतालाई उजागार गर्दछ ।
नेपालमा नवउदारवादको अर्थनीति सुरु भएपछि सांस्कृतिक पर्वहरुलाई उपभोक्तावादी बनाएको हो । त्यसपछि तीजपर्व पनि उपभोक्तावादी चाड बन्यो । अहिले उपभोक्तावादले संस्कृतिलाई बजारिकरण गरिरहेको छ । सबै संस्कृतिहरु बजारिकरण भएका छन् । नेपालमा सांस्कृतिक पर्वहरुलाई उपयोग गर्ने कि नगर्ने ? अथवा कसरी गर्ने ? भन्नेवारे कम्युनिष्ट पार्टीभित्रै ठोस नीति देखिदैन । कम्युनिष्ट पार्टीका महिला संगठनहरुले ब्यानर बनाएर धमाधम तीज मनाइरहेका छन् । त्यो कसरी भौतिकवादी हुन्छ, कसरी धर्मनिरपेक्ष हुन्छ ? यसले के प्रष्ट पार्छ भने धर्मनिरपेक्षता वा भौतिकवादलाई बुझ्ने सवालमा कम्युनिष्ट पार्टी नै स्पष्ट हुन सकेका देखिदैन । त्यसकारण भौतिकवादीहरुले गर्नुपर्ने कुरा के हो भने हरेक चाडपर्वहरुभित्र रहेका धार्मिक पक्षहरुलाई अलग गरिदिने र सांस्कृतिक कुराहरुलाई मात्र मान्न आम समाजलाई प्रेरित गर्नुपर्छ ।

अहिले चाडपर्वहरु पूँजीवादीकरण हुँदै गएका छन् । पुँजीवादले मान्छेलाई सुन र महंगा साडीको उपभोक्ता बनाएको छ । आज तीज उपभोक्तावादमा चुर्लुम्ब डुबेको छ । बजारमा जनताका दुःख र विरहका गीत बज्दैनन्, अर्धनग्न लुगा लगाएर सर्लक्क सुतिदिने छाडा यौनजन्य गीत बज्छन् । यो श्रमजीवी, मजदुर, किसानहरुको चाड हैन, सम्भ्रान्तहरुको कब्जामा पुगेको छ । यसर्थ यो कसको तीज ? कस्तो तीज ? गम्भीर प्रश्न छ । तीजको नाममा भित्रिएको नग्नता र आभूषणको प्रतिस्पर्धाले सम्पूर्ण जीवन पद्धतिलाई समेत विकृत बनाएको छ र निम्नवर्गीय तथा गरिब महिलाको लागि तीजपर्व लाज, डर र बोझिलो बन्दै गएको छ । आजभोलि पार्टी प्यालेस, ठूला–ठूला होटेल र रेस्टुरेन्टमा दर खाने कार्यक्रमको होड चल्ने गरेको छ । यस्तो हुने जमघट र खानपिनमा हुने गरेका अनावश्यक र अनुत्पादक खर्चले समाज र राष्ट्रलाई विकृत तुल्याउनुका साथै अधोगतितिर धकेलिरहेको छ ।

अझ उदेक लाग्दो कुरो त के भने एकथरी मान्छेहरु बोर्डिङ स्कूलहरुमा पुरुषहरुले महिलाहरुलाई तीज खुवाउने प्रचलन सुरु भएको छ । चाडपर्व संस्कृतिलाई सरलीकृत र यसको ऐतिहासिक पक्षमा बहस गरि सत्यपान गर्नुको सट्टा महंगा होटल, पार्टी प्यालेसहरुमा गएर कार्यक्रमको होडबाजी गर्नु निरर्थक मात्र हैन, भविष्यका कर्णधार भनिएका बिद्यार्थीहरुलाई गलत अभ्यास गर्ने संस्कृति सिकाइएको छ । यो पुँजीवादको भद्दा र नग्न रुप हो । यसले समाजलाई सही ठाउँमा पु¥याउँदैन । आजको एक्काइसौं शताब्दीमा महिलाहरुलाई शोषण, उत्पीडन वा विभेदबाट मुक्ति दिनका लागी संघर्ष गर्नुको साटो मध्ययुगिन धर्मको कुरा गरेर र तडकभडक गरेर महिलाहरुमाथि नै उत्पीडन गरिरहेको छ ।

महिला उत्पीडन र वर्गसङ्घर्ष
नेपाली समाज वर्गीय समाज हो । यो पुँजीवादी व्यवस्थामा आधारित छ । पुँजीवादी समाज शोषणमा आधारित व्यवस्था हो । यो समाजमा हत्या, हिंसा, बलात्कार, असुरक्षा, रोग, भोग, लुटपाट, बेथिति, तस्करी, बेरोजगारी आर्थिक असमानता, राष्ट्रघात, जनघात जस्ता बेथिति भइरहेका छन् । पुँजीवादी समाजमा हुने नै यही हो । यसको विकल्पमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको सुनिश्चितता हुनुका साथै उत्पादनका मुख्य–मुख्य साधन र सेवाहरू सामाजिकीकरण, आर्थिक समानता, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसार काम र कामअनुसार ज्याला, जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजाय हुने नयाँ समाज वैज्ञानिक समाजवादी व्यवस्था हो ‘पोइल जान पाऊँ’, ‘केरा काटेर’ ‘यो केटी मैले ल्याउन पाऊँ’ जस्ता गीत गाएर न त समाजवादी व्यवस्था आउँछ, न त महिला उत्पीडनको अन्त्य हुन्छ । । वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन र पुँजीवादी व्यवस्थाका घृणित कु–संस्कारलाई हटाउन सङ्घर्ष बाहेक विकल्प छैन ।

महिला आन्दोलन पनि वर्गीय हुन्छ । महिलाहरू पनि वर्गीय रुपमा विभाजित छन् । हाम्रो समाज पुँजीवादी व्यवस्थामा आधारित समाज भएकोले यहाँ केही मुठीभर महिलाहरू राष्ट्रपति, सभामुख, मन्त्री, सांसद र न्यायाधीशसमेत बने तर महिलाभित्रको उत्पीडन अन्त्य हुने सकेन । उनीहरुले महिला उत्पीडन र वर्गीय मुक्तिको लागि सिन्कोसम्म भाँच्ने काम गरेनन् । बरु आफ्ना नजिकका आउरेबाउरे र नातागोता नजिकको लागि शुभलाभ उठाउनमै व्यस्त भए । पुँजीवादी विचार बोकेका महिलाहरूमा हुने यी अहङ्कार, उच्छृङ्खलता, पक्षपात र छाडापनले गर्दा नेपाली समाज उच्छृङ्खलता र बेथितितर्फ गइरहेको छ । पुँजीवादी व्यवस्थामा हुने छाडापन र भड्किलो जीवन शैलीले समाजमा बेथिति छ । त्यसकारण महिलाभित्र हुने वर्गीय समस्या समाधानका लागी वर्गसङ्घर्ष नै आजको आवश्यकता हो ।