‘कविता सरल भाषामा गम्भीर रहस्यहरु उद्घाटित गर्ने बिधा हो’ : कवि श्यामल

(भदौ २ गते शनिवार बुटवलमा कवि एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामलसंग साहित्यिक भेटघाट सम्पन्न भएको छ । कार्यक्रममा ऋषिराम भुसाल, डा. मुरारि पराजुली, गिरी श्रीस मगरले स्थानीय साहित्य र लेखनवारे बोलेका थिए । दलवहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा मीन रानाले कवि श्यामलको कविता पाठ गरे भने सागर केसीले आफ्नो कविता सुनाएका थिए । साहित्य, कला र संस्कृतिको चिन्तन र लेखनवारे कवि श्यामलले व्यक्त गरेको विचारलाई यहाँ संक्षिप्त रुपमा राखिएको छ । –सं.)

–कवि श्यामल

साहित्य मेरो नीजि कर्म हो । वैचारक दृष्टिकोणले यो सामूहिक कर्म हो । बुटवल विश्वको एउटा ब्राण्ड हो अर्थात् लुम्बिनीमा बुद्ध जन्मिएको ऐतिहासिक ठाउँ हो । पञ्चायतकालमा “पचास रुपैयाको तम्सुक” नाटकले नेपालको सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्यो र नेपाली साहित्यमा महत्वपूर्ण स्रष्टाहरु जन्माएको छ । संस्कृति भनेको जीवनशैली हो, तर संस्कृतिले हाम्रो जीवनशैलीलाई समृद्ध गर्नुपर्छ । म अहिलेसम्म कुनै पनि संगठनमा छैन, २०४४ सालको सेरोफेरोदेखि म प्रलेसको नजिक छु तर कहिल्यै प्रलेसको सदस्य भइनँ । संस्था वा संगठनले समाजमा उत्प्रेरणाका लागी स्पेश दिनुपर्छ तर उत्पादनमूलक काम भने गरेका छैनन् ।

साहित्यको मुख्य काम समाजको गहिरो अध्ययन गर्नु हो । हामीले आफ्नो समाजको वारेमा गम्भीर भएर अध्ययन गर्नुपर्छ र त्यसलाई लेख्नुपर्छ । समाजको ढुकढुकीभित्र छिरेर त्यसको कथाव्यथाहरु लेख्न सक्नुपर्दछ । समाजभित्रका पात्रहरुसंग संवाद गर्नुपर्दछ । आजको साहित्यकारहरुले अध्ययनलाई जोड दिनुपर्छ । पुस्तकको दुईवटा उद्देश्य रहेका हुन्छन्–एउटा, पाठकसंग पुग्नु र अर्को दराजमा थन्कनु । आजको पुस्ताले पुस्तक पढ्नु अनिवार्य छ र नभए कमसेकम किन्नु चाहीँ अनिवार्य छ । पुस्तक किन्नुस् र दराजमा राखे मात्रै पनि नयाँ पुस्ताले पढ्छ । त्यसकारण पुस्तकको संकलन पनि राम्रो कुरा हो । अहिले साहित्यमा हामीले खासै केही गर्न सकिरहेका छैनौं । हामी विदेशी साहित्य वा एकले अर्काले लेखेका साहित्यको प्रतिलिपी मात्रै गरिरहेका छौं । यो गम्भीर चिन्ताको कुरा हो ।

साहित्य र समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । साहित्य लेख्न लेखक पूर्णकालीन भएर मात्रै पनि हुन्न, न त तत्काल लेखिएका सबै सिर्जना साहित्य हुन्छन् । साहित्य विशिष्ट कला हो । अन्य लेखनमा भन्दा कवितामा कलाको भूमिका पृथक हुन्छ । अहिले प्रगतिशील लेखक संघ सम्बद्ध लेखकहरुले कलाभन्दा बढी राजनीति लेखिरहेका छन् । सरल हैन, जटिल साहित्य लेखिरहेका छन्, जसलाई पाठकले कम बुझिरहेका छन् । यद्यपी साहित्य र राजनीति अन्तरसम्बन्धित हुन्छ । समाज बुझ्नका लागी इतिहास र राजनीति बुझ्न आवश्यक हुन्छ । इतिहासलाई जीवन्त पढ्ने हो भने साहित्य पढ्नैपर्छ । एउटा साँच्चिकैको सर्जकले पुरस्कारका लागी लेख्नुहुन्न । पुरस्कार एउटा कर्मशील साहित्यकारका लागी फाल्तु कुरा मात्र हो ।

नेपाली साहित्य भनेको के हो ? आजको सन्दर्भमा यो मिलियन डलरको प्रश्न हो । वास्तवमा भन्ने हो भने नेपाली साहित्य अझै भइसकेको छैन । यद्यपी प्रयत्नहरु भइरहेका छन् । के नेपाली हुनुको अर्थ दौरा सुरुवाल, टोपी, धोटी लगाउनु मात्रै हो ? के नेपाली साहित्य लेखिनु भनेको देवकोटा, घिमिरेले जस्तै कविता लेख्नु मात्रै हो ? सही अर्थमा नेपाली साहित्य भनेको साहित्यमा नेपालीपन हुनु हो । नेपाली जनजीवनका संघर्ष, उनीहरुको जीवन्त चित्र र संस्कृति आउनुपर्छ । नेपाली समाजले भोगेका दुखसुख र पीडाका दागहरु लेखिनुपर्छ । यसका लागी साहित्यवारे लेखक के लेख्ने ? भन्नेवारे स्पष्ट हुनुपर्छ । समाजले प्रतीकहरुको निर्माण गर्छ र यहाँ प्रतीकहरु भत्किदै गएका छन् त्यो गलत हो ।

कवितामा शब्दहरु सरल हुनुपर्छ । शब्दहरु खोजी–खोजी कविता लेख्नु गलत मात्रै हैन, ढोङ पनि हो । आफू बाँचेको समय र समाजको अध्ययन नगरिकन लेखिने साहित्य गलत साहित्य हो । कविता साधारण भाषामा असाधारण लेख्न सकिन्छ । यसको एउटै उदाहरण रिमालको “आमाको सपना” कविता हो । सरल भाषामा गम्भीरतम रहस्यहरु उद्घाटित गरिएको कविता हो यो । कविता सरल भाषामा गम्भीर रहस्यहरु उद्घाटित गर्ने बिधा हो । सधै नयाँ खोजीको बिषय हो । यसले कविताका निश्चित नियमहरुलाई भत्काउँदै जान्छ र नयाँ–नयाँ कविताहरु जन्माउँदै जान्छ । कविले यो नियमहरुलाई बुझ्नुपर्छ ।

नेपाली हुनुको अर्थ दौरा सुरुवाल, टोपी, धोटी लगाउनु मात्रै हो ? के नेपाली साहित्य लेखिनु भनेको देवकोटा, घिमिरेले जस्तै कविता लेख्नु मात्रै हो ? सही अर्थमा नेपाली साहित्य भनेको साहित्यमा नेपालीपन हुनु हो ।

म फेरि पनि भन्छु म संगठनको विरोधी हुँ । जब कविता लेख्ने आत्माभित्र संगठन प्रवेश गर्छ त्यसपछि सिर्जना मर्छ । अर्को समस्याको रुपमा हाम्रो समाजमा लाहुरे संस्कृतिले नेपालीपन विगारेको छ । यसले नेपाली समाजलाई पराधीन बनाएको छ । हामी केही बर्ष अगाडी आफन्त विरामी भएको बेला नेपालगंजको हस्पिटलमा बस्यौं । एकरात हस्पिटलमा बस्दा धेरै महिलाहरु बिष सेवन गरेर अस्पताल ल्याइएका थिए । आखिर यस्तो किन भयो ? यसको कारण श्रीमान विदेशीनु पर्ने, श्रीमतिको हातमा मोबाइल हुने र त्यसका कारण पारिवारिक समस्याहरु उत्पन्न भएपछि अधिकांश महिलाहरुले बिष सेवन गरेका रहेछन् । त्यसकारण अहिले हामी बिषपानको युगमा छौं । यसको पीडाबारे कसले लेख्ने ? हामी गम्भीर हुनुपर्दछ ।

समृद्धि साहित्यको काम होइन, यो राज्यको काम हो । साहित्यकारले समृद्धि भनिरहन जरुरी छैन । त्यो काम राज्यले गर्छ । साहित्यकारहरुले खवरदारी गर्ने हो । अहिले बजारमा घटिया पुस्तकहरु प्रकाशन भइरहेको छ । समिक्षाको क्षेत्र त झनै कमजोर छ । हामीले परम्परागत समिक्षाको जेल तोड्नुपर्छ । अब गम्भीर समिक्षक र कविहरु आउनुपर्छ । सस्तो लोकप्रियता वा ताली एउटा गम्भीर सर्जकका लागी ऐजेरु हो । त्यसकारण साहित्य कला र संस्कृतिको क्षेत्र गम्भीर चिन्तन गर्ने क्षेत्र हो ।

फोटो– हरि पौडेल