कपिलवस्तुको कृष्णनगरमा पुनः साँझ ५ बजेदेखि कफ्र्यु

सीमा बजार कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि पुन: अनिश्चितकालीन कर्फ्यु लगाएको छ । रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कर्फ्यु लगाउनु परेको प्रशासनले जनाएको छ ।जिल्ला सुरक्षा समिति बैठक बसेर दोस्रोपटक कर्फ्यु लगाएको हो। यसअघि आइतबार साँझ ५ देखि सोमबार साँझसम्म कर्फ्यु लगाइएको थियो। जिल्ला प्रहरीका डिएसपी रवि रावलले भने, ‘अग्रिम टिकट लिइसकेकालाई निक्कै गाह्रो भएको र स्थानीयलाई खाद्यान्न र उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउन सोमबार ९ घण्टा कर्फ्यु हटाइएको थियो।’

दुर्गा मूर्ति परिक्रमा गर्ने क्रममा शुक्रबार साझ जुलुसमाथि ढुङ्गा हानिएपछि विवाद हुँदा ३ दिनदेखि कृष्णनगर तनानग्रस्त छ। प्रजिअ अर्जुनप्रसाद पोखरेलले रातिको अवस्था हेरेर मंगलबारका लागि कर्फ्यु निरन्तरता दिने/नदिनेबारे निर्णय लिने बताए। तनाबका कारण शुक्रबार विसर्जन गर्न लागेको दुर्गामूर्ति आइतबार साँझ ७ बजेमात्र विसर्जन गरिएको थियो।