ओली–प्रचण्ड कम्युनिष्टका नाममा कलङ्क हुन् : नेता भुसाल, नेकपा

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले १२६ औं माओ दिवसको अवसर पारेर विशाल विद्यार्थी सभा सम्पन्न गरेको छ ।

बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्मको ¥याली ट्राफिकचोकमा आएर सभामा परिणत भएको थियो । विशाल विद्यार्थी सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले चिनियाँ क्रान्तिका नायक कमरेड माओत्सेतुङको स्मरण गर्दै विश्व साम्राज्यवाद तथा संशोधनवाद विरुद्ध माओले आजीवन संघर्ष गरेको बताए । उनले राष्ट्रियता स्वाधीनताको रक्षा वर्गसङ्घर्षले गर्ने बताए । नेता भुसालले नेपालमा ओली र प्रचण्ड कम्युनिष्टको नाममा कलङ्क भएको भन्दै नाम डबल कम्युनिष्ट नराखेर ओली–प्रचण्ड कम्युनिष्ट हुन नसक्ने बताए । नेता भुसालले देश भ्रष्टाचारको चुंगुलमा डुबेको भन्दै सिंहदरवार भ्रष्टाचारको अखडा भएको बताए । संसदीय व्यवस्था संसारभर असफल भएको भन्दै नेपालका नदीनाला तथा प्राकृतिक स्रोत साधनहरु बेचेर साम्राज्यवादको दलाली गरेको आरोप लगाए । नेता भुसालले बुटवलको जितगढीमा भारतीय साम्राज्यवादको हस्तक्षेप आफुहरुलाई अस्वीकार्य रहेको बताए ।

यस्तै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकालले आफूहरुले पटकपटक शान्तिपूर्ण आन्दोलनहरुको नेतृत्व गरिरहेको र सरकारले बन्दुकको डर देखाउँदै विद्यार्थी आन्दोलन निस्तेज पार्न नसक्ने र आफूहरुले बन्दुकसँग समेत लड्न तयार रहेको बताए । उनले बैज्ञानिक समाजवादी शिक्षा चाहिने भन्दै बैज्ञानिक, व्यवहारिक र रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । धेरै काम गर्ने जनताहरु नै धेरै गरिब रहेकोले यो असमानता हटाएर बैज्ञानिक समाजवाद ल्याउन विद्यार्थीहरुको महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । यस्तै सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका इन्चार्ज संगम पुनले संसदीय व्यवस्था नेपालमा फेल भएको र दलालहरुले लुटिखानेको लागि यो व्यवस्थालाई साम्राज्यवादी र विस्तारवादीसँग सम्झौता गरिरहेको भन्दै यसको विकल्पमा बैज्ञानिक समाजवाद ल्याउनुको लागि निर्णायक लडाई लड्न आवश्यक रहेको बताए ।

लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु उपस्थित रहेको सो सभामा निर्मला पन्तको हत्यारालाई कारबाही गर्न समेत माग गरिएको थियो ।

दुई हजारको संख्यामा विद्यार्थीहरु उपस्थित उक्त कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत रहेको क्षितिज परिवारले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो । उक्त कार्यक्रम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष रमेश गैरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लुम्बिनी समन्वय समितिका संयोजक विरेन्द्र विकले गरेका थिए भने स्वागत केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष रुपा बुढा मगरले गरेकी थिईन् । माओ दिवसको अवसर पारी उक्त पार्टी र संगठनले देशका विभिन्न ठाउँमा कार्यक्रमहरु सम्पन्न गरेको बताएको छ ।