ओलीले प्रचण्डलाई लक्षित गर्दै भने–‘मनमोहन, पुष्पलाल र मदनलाई बिर्सेर कसरी एकता हुन्छ ?’

जनबाटो संवाददाता । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीलाई बिर्सेको दिन नेपालको कम्युनिष्ट पार्टी समाप्त हुने चेतावनी दिएका छन्।

मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसर पारेर विहिबार सानेपामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

बैशाख ९ गते लेनिन जयन्तीका अवसरमा आयोजित संयुक्त कार्यक्रमको ब्यानर विवादबारे असन्तुष्टि व्यक्त गर्दै उनेले ब्यानर हटाउनुलाई केटाकेटी पनको संज्ञा दिए।

‘नेपाली कम्युनिस्ट आन्दोलनलाई माथि उठाउने मनमोहनलाई अर्काे पार्टीको मान्छे देख्ने पनि काहीँ हुन्छ?’, उनले भने, ‘मनमोहनको फोटो हटाउनु केटाकेटीपन बाहेक अरु होइन्।’

उनले ब्यानर फाल्नु र पञ्चायतविरुद्ध उफ्रनु फरक कुरा भएको भन्दै ब्यानर फाल्नेहरुले विस्तारै बुझदै जाने र आफूहरुले बुझाउँदै जाने बताए। उनले मनमोहन अधिकारीलाई अविचलित आस्था र निष्ठाको धरोधरका रुपमा चित्रण समेत गरे।

एमाले माओवादी एकता प्रक्रियाबारे बोल्दै प्रधानमन्त्री ओलीले एकता हुनेमा शंका नगर्न पनि आग्रह गरेका छन्। उनले ‘आफू कहाँ रहन्छु’ भन्ने केहीको चिन्ताका कारण पार्टी एकता हुँदैन कि भनेर आशंका गर्ने ठाउँ उब्जाए पनि आम जनता, पार्टीका नेता, कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको पनि स्पष्ट पारे।

उनले एकतामा केही समस्या देखिएको स्वीकार गर्दै त्यसलाई हल गरेर अगाडि बढ्ने बताए। एकता हुँदा दुवै पार्टीको उत्तिकै महत्व हुने भन्दै उनले एमाले माओवादी एकतालाई सिमेन्ट, पानी, गिट्टी र बालुवाको घोलसँग तुलना गरेका छन्। ‘जसरी सिमेन्ट बालुवा, पानी र गिट्टी घोलिएपछि नयाँ चीज बन्छ र तयसको विशेष महत्व पनि हुन्छ, त्यस्तै एकतामा पनि एमाले माओवादी दुवैको उत्तिकै महत्व रहन्छ’, उनले भने, ‘ तर, मात्राको समस्या आयो भने समस्या पनि आउन सक्छ, मात्रा नमिल्दा नजम्ला कि भन्ने पनि हुन्छ।’

सरकारका कामबारे बेल्दै प्रधानन्त्री ओलीले सरकारले पछौटेपन हटाएर मुलुकलाई समृद्ध बनाउन अनुकूल वातावरण बनाउने काम गरिरहेको दावी गरे। उनले कर्णालीदेखि तराईसम्मको विकासका लागि आवश्यक विशेष नीति तथा कार्यक्रम बनाउने घोषणा पनि गरेका छन्।

कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले पनि मनमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा पु¥याउनु भएको योगदानको चर्चा गरेका थिए।