एक चाहुरेको आत्मास्वीकृति

बेलाको बोली मिठो हुन्छ । समयको फल पोसिलो हुन्छ । बैसको लवाई राम्रो देखिन्छ । बसन्तको हरियाली पाखा पखेरालाई सुहाउँछ । आज, मसंग लगभग सबै छ । छुटेको अधुरो शिक्षाको  खुड्किलो पुरा भयो भन्दापनि हुन्छ र सहलपहल सकिने कगारमा छ । आइआफन्त, मित्रबन्धुहरुको लामो फेहरिस्त छ । लेख्ने गर्छु  । लेख्छु । यस लेखनले सामाजिक पहिचान दिएको छ । तर पनि बेलाबखत घोरिन्छु, गहन अतितमा डुबुल्की मार्छु र निष्कर्षमा पुग्दछु ।

-दीपक विश्वकर्मा

कहिलेकाँही उद्बेग, आबेग र आक्रोशमा गरिएका निर्णयहरु यतिसम्म निर्मम हुन्छन् कि यिनले जीवनप्रयन्त असैह्य पीडा दिन्छन् र बेलाकुबेला धुरुधुरु रुवाउँछन् । बिगतमा गरिएका ससना गल्तीहरु कालान्तरमा बहुतै डरलाग्दा हुनपुग्छन् र तिनै गल्तीको चाँङमुनि दबिएर अवसाद, आत्मग्लानी र विकृत मनोभावले बाँकी जीवन गुजार्नु पर्ने हुन्छ । बिगत कहिल्यै फर्केर आउँदैन । नत ती गरिएका गल्तीहरु सच्याउन सकिने नै हुन्छन् । जो हुन गयो, सो हुन गयो । यो सान्त्वनाको मन्त्र मात्र हो, तरपनि मान्छे कहिलेकाँही बहकिन्छ, सन्तापमा रोमलिन्छ र द्रबित हुँदै आफू स्वयं रुन्छ र अरुलाई पनि रुवाउँछ ।

मलाई बेलाबखत कम्पन छुट्छ, छट्पटी हुन्छ । राती अवेरसम्म नीद लाग्दैन । नीद लागिहाले पनि उनै पुराना दिनहरु सपनामा पुनराबृति भएर आउँछन् । ती पुनराबृतहरु बडो कठोर बन्न पुग्छन् र आत्मग्लानी, हिनाताबोध, अपसाद, लघुताभाष जस्ता मनोविकृतिहरु पर्खाल बन्दै ठिङ्ग उभिन आइपुग्छन् । मेरो यस्तो मनोभाव सिर्जना हुने कसैको कटुबचनले होइन, कसैको ब्यबहारले होइन, नत कसैको मप्रतिको बैरभावले नै हो । मलाई लाग्दछ यो मनोविकृति जो ममा बेलाबखत पैदा हुने गर्दछ, त्यो मैले त्यही आवेगमा गरेको बिगतप्रतिको गद्दारीको कारणले हो ।

केहीदिन पहिले म मञ्चमा बोल्दाबोल्दै द्रवित हुन पुगेँ । बोल्दाबोल्दै के बोल्दैछु भन्ने कुरो बिर्सें । मन यति भारी भयो कि बोल्दाबोल्दै मेरा आँखाहरु रसाए, । गला भरिएर आवाज अबरुद्र भयो । वाक्य फुटेन । मेरो मनोदशा देखेर हलमा एकछिन सन्नाटा छायो । यद्यपि मञ्चमा उभिएपछि जसरीपनि मलाई मेरा भनाई सक्नु थियो । तदनुसार भारीमनले आफ्नो मन्तब्य सकाएँ ।

हो म लाहुर गएँ । आम भाषामा लाहुरे भनेको पल्टनीयालाई भनिन्छ । म पल्टनमा भर्ना भइन । तर पनि मेरो सान सौकत पल्टनीया भन्दा कम थिएन । लाहुर गएर चौकिदारी गरिन, दाजुको काम गरिन । होटेलमा कान्छाको काम गरिन । शुरुका केही दिन वा वर्ष बाहेक मेरा प्रवासी दिनहरु कुनै मानेमा आमलाहुरेको जस्तो रहेनन् । चाहने होभने आकाश मार्ग भएर घर आइजाई गर्न सक्ने भएँं । प्रवास बसाईको अन्तिम समयमा त झन् चाहिनेजति शुख सुविधाहरु उपभोग गरें । गाडीघोडा राख्न सक्ने हैसियत आर्जन गरेँ । प्रवासी नेपाली भएतापनि स्थानीय रैथानेले भन्दा बढी मानसन्मान आर्जन गरेँ । भोटर लिष्टमा नाम चढाउन सफल भएँ । कांग्रेस आइलाई भोट दिएँ । कांग्रेसलाई किन भोट दिएँ भने मलाई सो पार्टीको चुनावचिन्ह बाहेक अन्य पार्टीको लोगो समेत थाहा थिएन । रासन कार्ड बनाएँ । गाडी चालक अनुमतिपत्र प्राप्त गरेँ ।

फर्केर आएँ, आफ्नै खुशीले । फर्किनु पर्ने वाध्यता पनि थिएन । मनले फर्की भन्यो, फर्किएँ । दुई वर्षलाई भनेर प्रवासिएको मान्छे बाह्र वर्ष पुगेपछि मनले भन्यो अब कति बस्छस् ? कहावत छ, बाह्र वर्षमा खोलो पनि फर्किन्छ । मेरो मनको खोलो पनि फर्कियो । चालिस सालमा चाहुरेको रुपमा लाहुर लागेको मान्छे बाउन्न सालमा टुपुप्क घर आइपुगेँ । यो रोदन र आग्रह मनको रोदन र आग्रह थियो । मनको आग्रह मनलाई नै सुन्न मन लाग्यो । त्यही आग्रह, अनुग्रह र आदेशलाई पछ्याउँदै भएभरको बन्दोबस्ती च्यात्त छोडेर देश फर्किएँ ।

हो, यहीनिर म मेरो मनलाई उद्वेगीत हुनबाट जोगाउन सक्दिन । जब कसैले मलाई “उहाँ त प्रवासबाट आउनु भएको हो नि” भनेर आमजनसमुदायको बीचमा परिचय दिने गर्दछ, म यति मर्माहत हुन्छु कि सो मर्मलाई दवाउन, निस्तेज पार्न सक्दिन र भित्रभित्रै आक्रान्त हुन पुग्दछु ।

कथाकार सरिता अर्यालको कथाको कितावको परिचर्चाको दौरानमा मित्र विनोद पहाडीले मन्तब्यको क्रममा मेरो परिचय दिँदा भन्नु भएको मात्र के हो भने म प्रदेशबाट आएको हुँ । एकहिसावले उहाँको कुरो ठिकै पनि हो । भारत प्रवास त हो नेपालीको लागि । आज जस्तो म लाहुर जाने बेलामा मलेसिया वा अरवी मुलुकहरुमा जाने चलन थिएन । बच्चा देखि बुढासम्म लाहुरको नाममा भारत जान्थे । नौजवानहरु पल्टनमा भर्ती हुन्थे र लाहुरे हुन्थे । उनीहरुलाई पल्टनीया भनिन्थ्यो । चौकिदार, दरवान र कुल्ली काम गर्न जानेहरुलाई चाउरे भनिन्थ्यो । म पल्टनीया होइन । त्यसैले लाहुरे पनि बन्न सकिन । दरवान, चौकिदार र कुल्लीको काम गरिन । तर पनि साँचो कुरो के हो भने म बुटवल आएको लाहुरबाट नै हो ।

विनोदजीले भनेजस्तै के म साँच्चै प्रवासबाट आएको हुँ त ? म भन्छु, म होइन प्रवासबाट आएको । जसरी खाडी मूलुकबाट काम गरेर फर्किआउने मानिसहरुलाई प्रवासबाट आएको भनेर भनिदैन, म पनि सोही प्रकृतिको कामदारको रुपमा भारतमा केही वर्ष मात्र बसेको हुनाले म पनि प्रवासी होइन । म बैदेशिक रोजगारीमा गएर फर्किएको उनीहरु जस्तै कामदार हुँ ।

२०४० साल असार १४ गते मध्यवर्खाको झरीलाई छिचोल्दै जोइपोइ मात्र दुईवर्षको लागि भनेर भारतको उत्तर पूर्वी राज्य मेघालय तिर लाग्यौं, जहाँ हाम्रा बा परंपरागत पेसा अंगालेर बिगत ५÷६ वर्ष देखि बसिरहेका थिए । घरमा बाको आइजाई हराएको थियो । पुर्कोटतिरका एक पाण्डे थरका ब्यक्ति पनि उतै भएको कारणले कहाँ छन् बा भन्ने थाहा पाइएको थियो । उनको नाम पक्का संझनामा छैन । सायद मोति पाण्डे होकि जस्तो लाग्छ । यता बाको घरसंग कुनै सरोकार थिएन । एक हिसावले भन्ने हो भने बाले घरलाई बिर्सेका थिए । घरमा ससाना भाइबहिनीहरु थिए । उनीहरुको लालन पालनको जिम्मेवारी एक्ली आमाको काँधमा आइपरेको थियो । लेनदेन थियो प्रसस्त । सरकारी ऋण थियो सुन्तला खेतीको नाममा लिएको । थोरैधेरै लगाएका सुन्तलाका बोटहरु स्याहार नपाएर बारीमै टाक्सिएका थिए । स्कूलजाने उमेरका भाइबहिनीहरु नियमित रुपमा स्कूल जान पाइरहेका थिएनन् । माने नेवार साहुको दशैतिहारको लत्ताकपडाको तमसुकले चक्रबर्ती रुपलिँदै आकासिँदै थियो । ऋणधनको कुरो भन्दा एक्लीआमाको काँधमा आइपरेको भाइबहिनीको पालन पोषणको गहन जिम्मेबारीको कथा बहुतै दर्दनाक थियो । घरमा बा हुन्थे र पो खेतिपातीमा बल पुग्थ्यो , बालीघरे पर्थाको थोरैधेरै अनाज घर भित्रिन्थ्यो । नगदे कारोबार हुन्थ्यो । त्यही आयस्थाबाट चुलोचौकोमा आगो बल्थ्यो र भाइबहिनीको पेटमा माड लाग्थ्यो । बा नै लाहुर लागेर उतै बेखबर भएपछि एक्लीआमाको कस्तो अबस्था भयो होला ? यो मैले कल्पना गर्नै नसक्ने दुःखै दुःखले भरिएको कल्पनाको यात्रा हो ।

कक्षा आठ पढ्दापढ्दै युनाइटेड मिसन टु नेपालको छात्रबृत्ति पाएर गण्डकी बोर्डिङ्गमा गइटोपलेको म उत्तेजितमनुवा कलेज पढ्दापढ्दै नेताजीले देखाउने गरेको सामन्ती शासकहरुबाट देश र दुनियाँलाई मुक्त गरी सत्ताको मालिक बन्ने रंगीन सपनाको चक्रब्यूहमा डुबेर भूमिगत हुन पुगेको थिएँ म । पुगनपुग चारवर्ष मेरो यो कठिन जलयात्रा चल्यो जेनतेन । यसबीचमा धेरै कुरा भए । देश दुनियाँ बुझियो । पाल्पाली एक अबोध वालासंग लगनगाँठो कसियो । त्यस लगन गाँठोले अर्को जिम्मेवारी थपिदियो, जीवन यात्रामा । जातीय विभेदको गहिरो खाडलमा फस्न पुगियो । सिद्वान्त र ब्यबहार बीचको द्रुपद अवसान देखियो र भोगियो । चारवर्षे यस बिहड यात्राको अनेकौ पाटाहरु छन् । त्यसलाई सतहमा ल्याउन अलग जमर्कोको खाँचो छ ।

तपसिलका कुरालाई थातिराखेर सपाट शब्दमा भन्नेहोभने घरको कारुणिक अबस्थाबारे कुनै न कुनै माध्यमबाट मसंग पुगिरहेको थियो । सो कारुणिक खबरले म संहालिन सकिन । स्कूलको अन्तिम समयबाट नै पार्टीमा लगानी गरेको मेरो अमूल्य समयले मलाई निरन्तरताको सल्लाह दिन सकेन । एक सपना संयोजन गरिएको थियो पोखराको यात्रा गर्दा, यद्यपि सपना मैलेमात्र देखेको थिइन । सपना महेन्द्र हाइस्कूलका प्राचार्य ज्ञानहरि आचार्य गुरुले देखेका थिए, जस्ले मलाई आफ्नै सन्तानसरि मायाँ गर्थे । सपना बाआमाले देखेको थिएँ, किनकी म उहीहरुको पहिलो होनहार छोरो थिएँ । सपना गाउँ समाजले देखेको थियो किनकी म गाउँको छोरो थिएँ । मेरो प्रथम स्कूल महेन्द्र हाइस्कूलले देखेको थियो, किनकी म सो स्कूलको जेहेन्दार विध्यार्थी मध्येको एक थिएँ । सबैको सपना तुहिन गयो । यहाँसम्म कि मैले जीवनसंगिनी अनिताजीलाई समेत विश्वासघात गरेँ । अग्रजनेताहरु जसले उहाँको  हात मेरोहातमा सुम्पिनुभयो, पक्कै पनि भविष्यको चाहुरेको हातमा सुम्पिनु भएको थिएन । सुम्पिनु भएको थियो, एक होनहार गण्डकीयन भूमिगत कमरेडको हातमा । तर, समयले मलाई चाहुरे बनायो र अनिताजीलाई चाहुरेनी । मेरो समयमा मिसनको छात्राबृत्तिमा कुनै आवासीय स्कूलमा शिक्षा आर्जनगर्ने मौका पाउनु भनेको निकै ठूलो कुरो थियो । पढाईको कुनै सिमा नभएजस्तै छात्रबृत्तिको पनि कुनै सिमा थिएन । पढाई नसकेसम्म जारी रहन्थ्यो । स्कूल सकेँ, तर कलेज र विश्वविध्यालय सकिन मैले, जनताको विश्वविध्यालय पढ्ने बहानामा । हो, हीनिर मैले मेरा बाआमा, भाइबहिनी, आइआफन्त, इष्टमित्र, नाताकुटुम्ब,  गुरुमा पनि गुरु, मलाई असाध्यै माया गर्ने गुरु ब्राइनउड, गुरु नरहरि, गुरु बामदेब, गुरु भोजराज, गुरु टंक शर्मा तथा मलाई बहुतै माया गर्ने नीलगिरी होस्टेलका वार्डनद्वय गुरु अटन लेप्चा तथा अटनआण्टी सबैसंग बैमानी गर्न पुँगे ।

यिनै बेइमानी, विश्वासघात, अन्तरघातको बीचमा पनि मैले मनभित्र केही मानवीय अभिलाषाहरुलाई मर्न दिइरहेको थिइन । आज सोँच्छु, पढाइजारी राख्दै राजनीति गरेको भएपनि हुने, जसरी घनश्याम, खगराजहरुले गरिरहेका थिए । तर त्यो वातावरण अगुवा नेताले मिलाई दिएनन् । विध्यार्थी फाँटमा नखटाएर मजदूर किसानहरुको बीचमा पठाएँ । जसले गर्दा कलेज जान असंभव भयो । कतै मास्टरी वा नोकरी गरेर राजनीति गरेको भएपनि हुने, जसरी रामचन्द्र अधिकारी, झलक दाइहरुले गरेका थिए । त्यो पनि संभव भएन किनकी पार्टीलाई पेशेवर कार्यकर्ता चाहिएको थियो । यिनै तनाव, बैमनस्यता बीच मसंग पुगेको खबरलाई बडो कठोर मन बनाएर अंगाल्न पुगेँ मैले र सबै बिगतका गल्ती, कमजोरी, दुःखदर्दहरुलाई आत्मासाथ गर्दै अपसाद र विसादको गहुङ्गो भारी बोकेर लाहुर लागियो तत्कालिन माले पार्टीसंग मात्र दुई वर्षको छुट्टी लिएर ।

बेलाको बोली मिठो हुन्छ । समयको फल पोसिलो हुन्छ । बैसको लवाई राम्रो देखिन्छ । बसन्तको हरियाली पाखा पखेरालाई सुहाउँछ । आज, मसंग लगभग सबै छ । छुटेको अधुरो शिक्षाको  खुड्किलो पुरा भयो भन्दापनि हुन्छ र सहलपहल सकिने कगारमा छ । आइआफन्त, मित्रबन्धुहरुको लामो फेहरिस्त छ । लेख्ने गर्छु  । लेख्छु । यस लेखनले सामाजिक पहिचान दिएको छ । तर पनि बेलाबखत घोरिन्छु, गहन अतितमा डुबुल्की मार्छु र निष्कर्षमा पुग्दछु । आजको मेरो यो अवयव बेलाको फल होइन । यद्यपि विनोजीले भने जस्तो म प्रवासबाट आएको भने होइन । म लाहुर गएको थिएँ, लाहुरे भने  बनिन । चाहुरे मात्र बन्न सके । त्यसैले म प्रवासबाट आएको होइन । मात्र  प्रवास गएर आएको हुँ ।

deepak27303@gmail.com

स्रोत–बुटवल टुडे