एकीकृत जनक्रान्तिका पाँच आधार

हामी एक्काईसौँ शताब्दीमा छौँ । हामी नेपाल जस्तो देशमा छौँ । बीसौँ शताब्दीसम्म प्रयोग गरिएको क्रान्तिको अवस्था आज छैन । साम्राज्यवाद फेरिएको छ । साम्राज्यवादका चरित्रहरू नयाँ बनेका छन् । नेपाल, रुस र चीनको अवस्थामा छैन । नेपालका वस्तुगत चरित्रहरू फरक छन् । यस स्थितिमा रुस र चीनमा प्रयोग भएका क्रान्तिकारी कार्यदिशाहरू सशस्त्र जनविद्रोह वा जनयुद्धको प्रयोग गरेर मात्र क्रान्ति पूरा गर्न सकिँदैन । आजको विश्व र नेपाली परिस्थितिले कार्यदिशामा नयाँ संश्लेषणको माग गरेको छ ।

-नेत्रविक्रम चन्द ‘विप्लव’
हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन ? साथै, के त्यस्तो कारणले यो संश्लेषण गर्नुपर्यो ? सोबारे यहाँ प्रकाश पार्न खोजिएको छ ।

१. सिद्धान्तको विषय
“विशेषगरी नेताहरूको के कर्तव्य हुन्छ भने उनीहरूले सबै सैद्धान्तिक प्रश्नहरूको निरन्तर अधिकाधिक स्पष्ट ज्ञान हासिल गर्नुपर्छ । पुरानो विश्व–दृष्टिकोणबाट उत्तराधिकारका रूपमा प्राप्त परम्परागत शब्दजालको प्रभावबाट आफुलाई अधिकाधिक मुक्त गर्नुपर्छ र यस कुरामा निरन्तर ध्यान दिनुपर्छ कि समाजवाद एउटा विज्ञान बनिसकेको हुँदा विज्ञानकै रूपमा यसको अनुशीलन गरिनुपर्दछ अर्थात् यसको अध्ययन गरिनुपर्छ ।”
– (फ्रेडरिक एङ्गेल्स, जर्मनीमा किसान युद्ध, भूमिका)

वैज्ञानिक समाजवाद विज्ञान हो । विज्ञानले निरन्तर विकासको अपेक्षा राख्छ । जुनसुकै विज्ञान किन नहोस्, त्यसले समयसापेक्ष विकासको माग गर्छ । विकासको नियम माक्र्सवाद वा वैज्ञानिक समाजवादमा पनि लागू हुन्छ । वैज्ञानिक समाजवादले निरन्तर विकासको मार्ग पकड्नुपर्छ ।  विज्ञानले बताएअनुसार समाजको निरन्तर विकासले चल्तीमा रहेका राजनीतिक सिद्धान्तहरूलाई पछाडि पारिदिन्छ । सिद्धान्तहरू व्यावहारिक प्रयोगको स्तरबाट दिशानिर्देश गर्ने तहमा बदलिन्छन् । परिवर्तनकारी शक्तिले राजनीतिक आन्दोलनलाई नेतृत्व प्रदान गर्न नयाँ मार्गनिर्देशक सिद्धान्तहरू विकास गर्नुपर्छ । सिद्धान्तमा देखापरेका अपूर्णतालाई पूरा गर्नुपर्छ ।

परिस्थितिअनुरूपका नयाँ सिद्धान्तको विकास नगरी यथास्थितिको निरन्तरतालाई तोड्न र नयाँ राजनीतिक व्यवस्थाकोे ढोका खोल्न सकिँदैन । कार्ल माक्र्सले अगाडि सारेको वैज्ञानिक समाजवादी सिद्धान्त १९ औँ शताब्दीको सबैभन्दा वैज्ञानिक र वस्तुवादी सिद्धान्त थियो । रुसमा पुग्दा माक्र्सको विचारमा विकास गर्दै लेनिनले सशस्त्र जनविद्रोहको कार्यदिशाद्वारा वैज्ञानिक समाजवादी क्रान्ति सफल गर्नुभयो । २० औँ शताब्दीको मध्यमा पुग्दा माओत्सेतुङले अविकसित देशमा पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति हुन सक्छ भन्ने विचार र कार्यदिशाको विकास गर्दै नयाँ जनवादी क्रान्ति सफल गर्नुभयो । विश्वभर क्रान्तिको लहर आयो । यद्यपि सोभियत सङ्घको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा चलेको महाविवाद र पुँजीवाद साम्राज्यवाद हुँदै भूमण्डलीय साम्राज्यवादमा विकास भएपछि साथै, माओको मृत्युपछि विश्वमा कहीँ पनि क्रान्ति हुन सकेको छैन । बरु लेनिन र स्टालिनको नेतृत्वमा स्थापना भएको सोभियत सङ्घको वैज्ञानिक समाजवादी सत्ता र पूर्वी युरोपका समाजवादी सत्ताहरू ढल्न पुगेका छन् ।

वैज्ञानिक समाजवादी सत्ता विफल हुनु व्यवहारको कुरा मात्र होइन किनकि समाजवादको सफलता व्यावहारिक सफलताको विषय मात्र थिएन । समाजवादको विजय सिद्धान्तको पनि विजय थियो । यसमा आएको विफलता पनि सिद्धान्तमा रहेको वा राजनीतिक प्रणालीको सिद्धान्तमा रहेको अपूर्णतासँग सम्बन्धित छ । हामीले यति सच्चाइ नस्वीकारेर वैज्ञानिक समाजवादमा आएको चुनौतीलाई निकास दिनसक्ने छैनौँ । यद्यपि यो क्षेत्रमा कम्युनिस्टहरूले जवाफ खोज्ने मिहिनेत पनि गरिरहेका छन् ।

सिद्धान्तको खोजी अरू कसैले गरिदिनुपर्छ भन्ने चिन्तन सही होइन । पुँजीवादसँग टकराइरहेका र क्रान्तिका समस्या झेलिरहेका सबैले वैज्ञानिक समाजवादको विकासबारे सोच्ने कोसिस गर्नैपर्छ । कम्तीमा आफ्नो विशेषतामा अनुसन्धान पूरा नगरेर क्रान्ति पूरा गर्न सकिँदैन । हामीले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा यही मान्यतासँग सम्बन्धित छ । हामी नेपालमा क्रान्ति गर्दैछौँ । नेपालका विशेषताहरूलाई पकड्ने क्रान्तिकारी कार्यदिशाको विकास नगरी नेपाली क्रान्ति पूरा हुँदैन । हाम्रो असफलताले पनि यही सत्यताबोध गराउँछ । तसर्थ, एकीकृत जनक्रान्तिको कार्यदिशा माक्र्सवादी मान्यता वा वैज्ञानिक समाजवादी सिद्धान्तको विपरीत नभई समाजवादी विज्ञानको मान्यताअनुरूप छ । यसलाई दृढतापूर्वक पकड्नुपर्छ ।

२. राजनीतिक विषय
राजनीतिक परिस्थिति जति तीव्रतामा फेरबदल हुन्छ, राजनीतिक नीतिहरूमा पनि त्यही तीव्रतामा विकास गर्नुपर्छ । परिस्थितिले पैदा गर्ने अन्तर्विरोधहरूलाई समाधान गर्ने राजनीतिक नीतिहरू विकास नगरी क्रान्तिलाई विफलताबाट बचाउन सकिँदैन । सही नीति र रणनीतिहरूको विकासद्वारा मात्र क्रान्ति सफल गर्न सकिन्छ । कसैले आफ्नो विशिष्टतामा क्रान्ति हाँक्न र सफल गर्न चाहन्छ भने उसले परिस्थितिअनुरूपको सही र वस्तुवादी राजनीतिक कार्यदिशा एवम् नीतिहरू विकास गर्नैपर्छ ।

हामीले पुँजीवाद, दलाल पुँजीवादलाई बदल्ने र त्यसको ठाउँमा जनताको राज्यसत्ता वा वैज्ञानिक समाजवाद स्थापना गर्ने सोचिरहँदा आजको पुँजीवादी राज्यसत्ताका विशेषताहरूलाई जाँचबुझ गर्नैपर्छ । किन पछिल्लो शताब्दीमा वैज्ञानिक समाजवादी क्रान्ति हुन सकिरहेका छैनन् वा क्रान्ति भएर पनि सफल हुन सकेको छैन ? यसो भन्नुको अर्थ के हो भने माक्र्स, लेनिन र माओसम्मले वैज्ञानिक समाजवादी क्रान्तिका लागि विकास गरेका राजनीतिक कार्यदिशा र नीतिहरूले आजको राजनीतिक एवम् आर्थिक विकाससँग पूर्णरूपले मेल खान सकिरहेका छैनन् ? के साँचो हो भने माक्र्स, लेनिन र माओसम्मले विकास गरेका राजनीतिक कार्यदिशाहरू मात्र आजको पुँजीवाद, साम्राज्यवादलाई समाधान दिन पूर्ण छैनन् । हामी आजको विश्वमा क्रान्ति पूरा गर्न चाहन्छौँ भने मालेमामा आएको यो अभावलाई नयाँ राजनीतिक नीतिहरूको विकासद्वारा समाधान दिनैपर्छ ।
हामीले नेपाली क्रान्तिका सफलता र असफलताको समीक्षा गरिरहँदा समस्याको चुरो यहीँनेर देख्छौँ । नेपालमा जनयुद्ध असफलतामा पुग्यो । यसलाई नेताविशेषको दोषबाट अलग गरेर हेर्ने हो भने यसको सम्बन्ध माओवादीले प्रयोग गरेको राजनीतिक कार्यदिशा वरिपरि खोज्नुपर्छ । अर्थात् नेपालमा क्रान्ति सफल हुन नसक्नुमा क्रान्ति माक्र्स, लेनिन र माओकै शब्द वरिपरिबाट मात्र खोज्नु अथवा नेपाली राजनीतिक वस्तुस्थितिले माग गरेबमोजिम राजनीतिक सिद्धान्तको विकास गर्न नसक्नुमा रहेको छ । जनविद्रोह भनेर रुसमा जस्तो विद्रोहको कल्पना गर्ने र जनयुद्ध भनेर चीनमा जस्तो दीर्घकालीन जनयुद्धको कल्पना गर्ने समस्या बढी देखियो । यति मात्र सोचाइले नेपाली विशेषताहरूलाई वा आजको दलाल पुँजीवादी व्यवस्थाभित्रका अन्तर्विरोधलाई पकड्न सकेको देखिँदैन । हामीले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्यदिशाले यही नेपाली राजनीतिक विशेषतालाई पकडेर नेपालको दलाल पुँजीवादी राज्यसत्तालाई बदल्ने र नेपालमा जनताको राज्यसत्ता स्थापना गर्ने उद्देश्यसँग सम्बन्धित छ । यो नेपालको परिवर्तित राजनीतिक वस्तुस्थितिसँग मेल खाने कार्यदिशा हो । निकै लामो बहसको बीचबाट संश्लेषित भएको यो कार्यदिशा प्रयोग सँगसँगै अरू विकास भएर जानेछ ।

३. अन्तर्राष्ट्रिय सन्दर्भ
असीको दसकदेखि विश्वका कुनै पनि देशमा क्रान्ति सफल हुन सकेको छैन । फिलिपिन्स, पेरू, टर्की, भारत र नेपालमा क्रान्तिको पहल भए पनि ती सफल हुन सकेका छैनन् । सबै देशका सर्वहारावर्गीय क्रान्तिका विरुद्ध विश्व साम्राज्यवादी शक्तिहरू एक भएर उत्रिरहेका छन् । जब कुनै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति अगाडि आउँछ, सारा पुँजीवादी र साम्राज्यवादी एक भएर त्यसलाई निभाउन र असफल गर्न आइलाग्छन् तर कम्युनिस्टको बीचमा सहकार्य खासै देखापर्दैन । भए पनि सामान्य सद्भावभन्दा माथि छैन । यसको कारण के देखिन्छ भने विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरूले २१ औँ शताब्दीमा आइपुगेको साम्राज्यवाद, पुँजीवाद आदिका चरित्र र विशेषताहरूलाई अध्ययन गर्नुपर्ने र सोहीअनुरूपको सिद्धान्त र नीतिहरू विकास गर्नुपर्ने आवश्यकता छ । अन्यथा आजको विश्वको समाधान १७७ वर्ष पहिलेका माक्र्सको संश्लेषण, १०० वर्षअघिको लेनिनको संश्लेषण र ६५ वर्षपहिलेको माओको संश्लेषणबाट मात्र खोज्न थालियो भने वाष्पइन्जिनमा हवाईजहाज जडान गर्न खोजेको जस्तो हुन सक्छ । यसो भनेर माक्र्स, लेनिन र माओलाई निषेध गर्ने कुरा होइन । यो त माक्र्स, लेनिन र माओको सिद्धान्तलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने कुरा हो । वाष्पइन्जिनलाई तेलइन्जिन हँुदै आधुनिक इलेक्ट्रोन नियन्त्रित इन्जिनमा विकास गर्ने विषय हो ।

युरोप, अमेरिका र एसियाका विकसित देशमा समाजवादी क्रान्ति किन अगाडि आउन सकेको छैन ? माक्र्स, लेनिनले विश्लेषण गरेको र वास्तविकता पनि हो कि वैज्ञानिक समाजवादको स्थापना पुँजीवादको चरम विकास भएको देशमा हुनुपर्ने हो तर त्यसो भइरहेको छैन । माक्र्सले १७७ वर्षअगाडि पुँजीवादको स्थानमा वैज्ञानिक समाजवादको स्थापना जुन कारणहरूले गर्दा आवश्यक छ भन्ने व्याख्या गर्नुभएको थियो, वास्तवमा आज पुँजीवादले जनजीविकाका ती क्षेत्रहरूलाई उछिनिसकेको छ । जस्तो कि माक्र्सले वैज्ञानिक समाजवादले गाँस, बास, कपासको सुनिश्चितता दिने विचार अगाडि सार्नुभएको थियो । तर आज पुँजीवादले नै गाँस, बास, कपास मात्र होइन शिक्षा, स्वास्थ्य पनि राज्यले दिने अवस्था आएको छ । यसको पछाडि वैज्ञानिक समाजवादले पारेको प्रभाव होला तर यो स्तरमा पुगेको पुँजीवादबाट वैज्ञानिक समाजवादमा कसरी प्रवेश गर्न सकिन्छ ?

आजका युरोपका कम्युनिस्टहरूले सोच्नैपर्ने प्रश्न छ । युरोपको बर्बर पुँजीवादमा विकास भएको माक्र्सको वैज्ञानिक समाजवादले जति जनवादी सभ्यता बोकेको थियो र लोकप्रिय भएको थियो, आजको युरोप र अमेरिकामा जम्मा त्यति विषयले क्रान्ति जन्माउन सफल होला वा नहोला ? विकसित देशका कम्युनिस्टहरूले जवाफ दिने विषय छ । जहाँ भए पनि यति भन्न सकिन्छ माक्र्स, लेनिनले अगाडि सारेका वैज्ञानिक समाजवादका मान्यताहरू मात्र पुँजीवादी सङ्कटहरूलाई क्रान्तिमा बदल्न अपूर्ण छन् ।

हामीले नेपालमा दलाल पुँजीवादविरुद्ध क्रान्तिको अगुवाई गरिरहँदा र धेरै ‘माओवादी’ नेताहरूले क्रान्ति सम्भव छैन भनिरहँदा यो अन्तर्राष्ट्रिय सन्दर्भले पनि एकीकृत जनक्रान्तिको संश्लेषणमा प्रभाव पारेको छ । माक्र्स जसले प्रारम्भिक पुँजीवादमा वैज्ञानिक समाजवादको परिकल्पना गर्नुभयो, लेनिन जसले साम्राज्यवादको प्रारम्भमा समाजवादी क्रान्तिको परिकल्पना गर्नुभयो, माओ जसले साम्राज्यवाद र अर्ध–उपनिवेशको समयमा क्रान्तिको परिकल्पना गर्नुभयो आज विश्व त्यहाँ छैन । विश्व भूमण्डलीकृत साम्राज्यवादमा पुगेको छ । पुँजीको चरित्र निकै केन्द्रीत र व्यापक बन्न पुगेको छ । एकाधिकार वित्तीय पुँजीवाद एकाधिकार निगम पुँजीवादमा पुगेको छ । साम्राज्यवाद आधुनिक युद्धप्रविधि र सूचना–प्रविधिसहितको साम्राज्यवादमा छ । यी विशेषताहरू आजको विश्वले झेलिरहेका नयाँ अवस्थाहरू हुन् । सर्वहारावर्गले यी विशेषताहरूको बीचबाट क्रान्तिलाई सम्पन्न गर्ने सोचाइ विकास गनैपर्ने भएको छ । नेपालको सन्दर्भमा पनि यसको प्रभाव प्रस्ट देख्न सकिन्छ । यहाँ न लेनिनले क्रान्ति गरेको पुँजीवादी अवस्था छ, न त माओले क्रान्ति गरेको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्था छ । यहाँ दुवैभन्दा भिन्न भूमण्डलीकृत साम्राज्यवादका प्रभावसहितको दलाल पुँजीवाद कायम छ । यसले देशभित्र दलालीकरणलाई व्यापक बनाएको छ भने बाहिर साम्राज्यवादसँग प्रत्यक्ष सम्बन्ध बनाएर चलिरहेको छ । न साम्राज्यवाद सिधा आएको छ, न त देश स्वतन्त्र नै छ । यस्ता राजनीतिक प्रणालीले जनतालाई निकै ठूलो अन्योल र गन्जागोलमा फसाइरहेको छ । एकातिर नागरिक सबै क्षेत्रमा असन्तुष्ट छन्, अर्कोतिर कसका विरुद्ध लड्ने भन्नेमा दिग्भ्रमित देखिन्छन् । यो स्थितिमा हामीले जनविद्रोह र जनयुद्धको कार्यदिशामा मात्र जोड दिएर रुस र चीनको तरिकाले मात्र क्रान्ति छेड्न खोजियो भने सफल परिणाम नआउने प्रस्ट छ । हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण गरेर यही अन्तर्विरोधलाई समाधान गर्न खोजेका छौँ ।

४. नयाँ कार्यदिशाको आवश्यकता
नेपालमा जनयुद्धले धक्का खाएको छ । यद्यपि हामी क्रान्तिको पुनर्सङ्गठन गर्दैछौँ । क्रान्ति पुनर्गठन गर्ने बहस माओवादी आन्दोलनमा ६ वर्षदेखि चल्दै आयो । बहसको केन्द्रमा क्रान्तिको पुनर्गठन कुन कार्यदिशाअन्तर्गत रहेर गर्ने भन्ने थियो । १० वर्षको जनयुद्धलाई सामग्री बनाउँदै एउटा तर्क आयो– १० वर्षको जनयुद्धले धेरै आधार बदलिसकेकाले अब जनविद्रोहको कार्यदिशा अनुसरण गरेर क्रान्ति गर्नुपर्छ । अर्को तर्क आयो– नेपाल अहिले पनि आधारभूत रूपले पुरानै आधारमा रहेकाले जनयुद्धको कार्यदिशाद्वारा नै क्रान्ति सङ्गठित गर्नुपर्छ । हाम्रो पार्टीले भने नेपाली विशेषताहरूको सूक्ष्म विश्लेषण गर्दै कार्यदिशालाई जनविद्रोह र जनयुद्धबाट बाहिर झिक्दै दुवै नभनी एकीकृत जनक्रान्तिको कार्यदिशाका रूपमा संश्लेषण गरेको छ । हामीले यसलाई नेपाली क्रान्तिको मौलिक कार्यदिशा पनि भनेका छौँ ।
एकीकृत जनक्रान्तिको कार्यदिशा हाम्रो मनोगत इच्छाको परिणाम हो वा नेपालको वस्तुगत राजनीतिक परिस्थितिको परिणाम, यसमा स्पष्ट गर्नुपर्छ । हाम्रो विश्लेषणमा यो संश्लेषण कुनै व्यक्तिगत चाहना वा इच्छाको विषय नभई नेपाली राजनीतिक वस्तुस्थितिको परिणाम हो । जनयुद्धको असफलतालाई व्यक्तिगत नियतको परिणाम नमान्ने हो भने सजिलै भन्न सकिन्छ । यो असफलता नेपाली राजनीतिक वस्तुस्थितिमा विकसित अन्तर्विरोधहरूलाई समाधान गर्ने कार्यदिशाको विकासको अभाव हो । नेपालको राजनीतिक वस्तुस्थितिले नयाँ कार्यदिशाको माग गरिसक्ने तर नेतृत्वले जनयुद्धभन्दा विकसित क्रान्तिकारी कार्यदिशा दिन नसक्ने अवस्था देखाप¥यो । दीर्घकालीन जनयुद्धबाट मात्र क्रान्ति पूरा हुने सम्भावना नदेखिने, नयाँ क्रान्तिकारी कार्यदिशा पनि विकास गर्न नसक्नेबीचबाट पार्टीको मूल नेतृत्वले क्रान्ति नै असम्भव देख्ने गल्ती गर्न पुग्यो । जब कि नेपालमा क्रान्ति असम्भव नभई क्रान्तिले नयाँ कार्यदिशाको विकासको माग गरेको मात्र हो । एकीकृत जनक्रान्तिको कार्यदिशा यसैको परिणामस्वरूप संश्लेषित हुन पुगेको हो ।

एकीकृत जनक्रान्ति संश्लेषणका मूल आधार केही हदसम्म विश्व पुँजीवादमा आएको परिवर्तन र मुख्यतः नेपाली सामाजिक एवम् राजनीतिक विशेषताहरू हुन् । बुझाइमा स्पष्टता ल्याउन मूल विषय उल्लेख गर्न आवश्यक छ –

क) साम्राज्यवादमा आएको परिवर्तन
वर्तमान साम्राज्यवाद भू–मण्डलीकृत चरित्रको छ । भू–मण्डलीकृत हुनुको कारण यसको आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक विकास र प्रभावबाट विश्वको कुनै पनि राष्ट्र स्वतन्त्र भएर बस्ने स्थिति छैन । साम्राज्यवादको दुष्प्रभाव सबैतिर छ । सबै साम्राज्यवादको प्रभावभित्र छन् । सबै देशको राजनीतिक, आर्थिक सम्बन्धमा साम्राज्यवाद जोडिएको छ । जनता र राज्यका बीचमा हुने अन्तर्विरोध कुनै न कुनै मात्रामा साम्राज्यवादसँग पनि जोडिन पुग्छ । तसर्थ कुनै पनि देशमा हुने क्रान्ति शुद्ध राष्ट्रिय चरित्रको मात्र हुन सम्भव छैन । कुनै पनि देशको क्रान्तिले एक हदको साम्राज्यवादी अन्तर्विरोधलाई पनि समाधान गर्नैपर्ने हुन्छ ।
आर्थिक रूपले आजको साम्राज्यवाद निकै व्यापक र विविध बन्न पुगेको छ । लेनिनले साम्राज्यवादका चारवटा विशेषता उल्लेख गर्नुभएको थियो –
१) अति–उत्पादन
२) अति–केन्द्रीकरण
३) बजारको विस्तार
४) एकाधिकार ।

यी सबैको निचोड युद्ध । माओले साम्राज्यवादको सन्दर्भमा मूलतः लेनिनकै विशेषतालाई समर्थन गर्दै थप विकास गर्नुभयो । आज हामीले अध्ययन गर्दा साम्राज्यवाद त्यति विशेषतामा मात्र छैन । पहिलोमा साम्राज्यवाद भूमण्डलीकृत हुन पुगेको छ । दोस्रो, वित्तीय पुँजीको एकाधिकारलाई अरू सुदृढ गर्दै निगम पुँजीको एकाधिकारमा फड्को मारेको छ । तेस्रो, बजार नियन्त्रणका लागि आर्थिक युद्ध चलाइरहेको छ ।

राजनीतिक रूपले साम्राज्यवाद विश्वका हरेक देशमा पुगेको छ । प्रजातन्त्र, मानवअधिकार, संसदीय व्यवस्था, बहुदलीय प्रतिस्पर्धा आदि अनेकौँ नाममा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । जसले साम्राज्यवादीहरूको आदेशलाई पालना गर्दैन, उसलाई प्रजातन्त्र विरोधी, अतिवादी, मानवअधिकार विरोधी भन्दै घेराबन्दी, नाकाबन्दी, र आक्रमण गर्दै आएको छ । साम्राज्यवादले यान्त्रिक प्रविधि र सूचना प्रविधिको विकासलाई युद्ध प्रविधिमा बदल्दै सबैमा एकाधिकार कायम गरिरहेको छ । भू–उपग्रह, कम्प्युटर, टेलिभिजन, मोबाइल सेलोफोन सबैलाई एकलौटी नियन्त्रण गरिरहेको छ ।

साम्राज्यवादका उल्लिखित नयाँ विशेषताहरूले गर्दा देशहरूको चरित्र स्वतन्त्र देशमा हुनेखालको नभई साम्राज्यवादसँग गुजुल्टिएर रहेको अवस्थामा छ । यो हिजोको जस्तो सिधा उपनिवेश पनि छैन । स्वतन्त्र र स्वाधीन पनि छैन । यसले देशहरूलाई परम्परागत सामन्तवादमा पनि रहन दिएको छैन, स्वतन्त्र प्रगतिशील पुँजीवादमा पनि विकास हुन दिएको छैन । यसको चरित्र नयाँ छस जसलाई हामीले दलाल पुँजीवादी राज्य व्यवस्था भनेर संश्लेषण गरेका छौँ ।

दलाल पुँजीवादी चरित्रको देश हुनुको कारण यहाँ गरिने क्रान्तिको कार्यदिशा न पुँजीवादी मुलुकमा गरिने सशस्त्र जनविद्रोहको जस्तो सहरिया मात्र वा छोटो चरित्रको कार्यदिशा हुन्छ, न त उपनिवेश र अर्ध–सामन्ती देशमा हुने जस्तो दीर्घकालीन जनयुद्धको जस्तो लामो समयसम्म लडिरहने चरित्रको कार्यदिशा हुन्छ । यो दुवैभन्दा फरक विशेषता बोकेको एकीकृत जनक्रान्तिको कार्यदिशा हुन्छ । हामीले यसलाई मध्यकालीन चरित्रको पनि भनेका छौँ । यो केही पुँजीवादी देशका विशेषतालाई लिन सक्ने र केही अर्ध–उपनिवेश तथा अर्ध–सामन्ती देशका विशेषतालाई लिने खालको हुन्छ ।

(ख) नेपाली विशेषताहरू
नेपाल पुँजीवादी राज्य होइन । यो विगतकै जस्तो सामन्ती राज्य पनि होइन । यसमा पुँजीवादमा पाइने सबै विशेषता छैनन् र सामन्तवादमा पाइने सबै विशेषता पनि छैनन् । यद्यपि केही पुँजीवादमा पाइने र केही सामन्तवादी देशमा पाइने विशेषताहरू भने छन् । यसको सामाजिक, राजनीतिक, आर्थिक, भौगोलिक आदि विशेषता केही आफ्नै मौलिकताका पनि छन् । ती विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ –

(१) सामाजिक विशेषता– गाउँ र सहर
नेपालको सामाजिक विकास नयाँ खालको छ । पुँजीवादी राज्यमा मजदूर वर्ग, सहर र औद्योगिक विशेषता मुख्य हुन्छ भने गाउँ सहायक खालको हुन्छ । क्रान्तिमा सहरको भूमिका प्रमुख र गाउँको भूमिका सहायक हुन्छ । सामन्तवादी र अर्ध–सामन्तवादी देशमा किसान वर्ग, गाउँ र कृषि प्रणाली मुख्य हुन्छ । सहर सहायक हुन्छ । क्रान्तिकारी आन्दोलनमा गाउँको भूमिका प्रधान हुन्छ तर हाम्रो देशको सामाजिक विकास नयाँ ठाउँमा पुगेको छ । यहाँ सहर मात्र मुख्य पनि छैन, गाउँ मात्र मुख्य पनि छैन । सहरको विकास तीव्र गतिमा भइरहेको छ भने गाउँमा पनि तीव्र परिवर्तनहरू भइरहेका छन् । सहरमा एक तिहाइ जनसङ्ख्या छ भने गाउँमा दुई तिहाइ जनसङ्ख्या छ । यहाँ विगतमा जस्तो गाउँ र सहरको बीचमा ठूलो अन्तर छैन । गाउँ र सहरको दूरी निकै घट्दै गएको छ । गाउँ र सहर परस्पर निर्भर बन्दै गएका छन् । सम्भवतः यो नेपालको मात्र होइन, विश्वकै चरित्र बनिसकेको छ । हामीलाई राम्रो थाहा छ, गाउँ र सहर भन्ने सामाजिक विशेषता पुँजीवादमा आएपछि देखापरेको हो । पुँजीवादको विकास अगाडि बढ्दै गर्दा एउटा यस्तो समय आउँदैछ, जहाँ गाउँ र सहर भन्ने पदावली नै अनुपयोगी भएर जानेछ । नेपाल त्यो स्तरमा नभए पनि हिजो जस्तो गाउँ र सहरको अलग विशेषतामा छैन । यसैले यहाँको क्रान्ति विगतमा जस्तो सहरलाई मात्र वा गाउँलाई मात्र मुख्य बनाएर वा एकलाई मात्र लिएर सफल हुने विशेषतामा छैन । सहरलाई मात्र लिन खोज्नु वा गाउँलाई मात्र लिन खोज्नु आजको नेपाली विशेषतालाई परित्याग गर्नु, वस्तुगत सच्चाइबाट छुट्नु र विगतको सामाजिक विशेषताको अन्धानुकरण गर्नु हुन्छ । यसले क्रान्ति हुने कल्पना गर्न सकिँदैन । त्यसैले नेपाल जस्तो विशेषता भएको देशमा जनविद्रोह वा जनयुद्धको कार्यदिशालाई हुबहु प्रयोग गरेर नभई नेपाली विशेषतालाई पकड्ने विशेषताको एकीकृत जनक्रान्तिको कार्यदिशा वस्तुवादी छ ।

२) राजनीतिक सत्तामा दलाल पुँजीवाद
नेपालको राजनीतिक विकास नयाँ चरित्रको छ । यहाँ पुँजीवाद पनि छैन र सामन्तवाद वा अर्ध–सामन्तवाद पनि छैन । पुँजीवादका कैयौँ विशेषता भेटिन्छन् भने अर्ध– सामन्तवादका विशेषताहरू पनि भेट्न सकिन्छ । न यहाँ साम्राज्यवादको प्रत्यक्ष उपनिवेश छ, न त देश स्वतन्त्र र स्वाधीन नै छ । यहाँ दलाल पुँजीवाद हावी छ । दलाल पुँजीवाद भनेको विदेशी साम्राज्यवादी शक्तिहरूको आड र निर्देशनमा देशभित्र जनतामाथि शासन गर्ने व्यवस्था हो । यसले आफ्नो मुट्ठीभर दलाल वर्गलाई राज्यका सबै क्षेत्रमा हावी गराएर राजनीतिक, आर्थिक, सुरक्षा, प्रशासनिक सबै क्षेत्रमा पकड जमाउँछ । यसले प्रजातन्त्रको मुकुन्डोमा निरङ्कुश शासन सञ्चालन गर्छ । नेपालमा १० वर्षको जनयुद्ध र राजतन्त्रको अन्त्यपछि यो शासन हावी हुन पुगेको छ । यस्तो राजनीतिक विशेषता भएको देशमा हामीले पुँजीवादमा प्रयोग गरिने जनविद्रोह वा अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती देशमा प्रयोग गरिने दीर्घकालीन जनयुद्धको कार्यदिशा प्रयोग गरेर क्रान्ति गर्न सकिँदैन । यहाँ एकीकृत जनक्रान्तिको कार्यदिशा प्रयोग गरेर क्रान्ति गर्नुपर्छ ।

(३) वर्ग–सम्बन्धमा : मध्यम वर्ग
नेपालमा वर्ग–सम्बन्ध पनि नयाँ विकास हुन पुगेको छ । समाज विकासको खास चरणमा किसानवर्गको विकास मुख्य हुन्छ । यसको सङ्ख्या र भूमिका दुवै हिसाबले राजनीतिको केन्द्र भागमा आउँछ । विकासको अर्को चरणमा मजदूरवर्ग विकास भएर आउँछ । मजदूरवर्ग नै राजनीतिक आन्दोलनमा मुख्य शक्ति बन्न पुग्छ । क्रान्तिमा मजदूरको भूमिका महत्वपूर्ण बन्न जान्छ । सामान्यतः सामन्तवाद र अर्ध–सामन्तवादभित्र किसानको स्थान मुख्य हुन्छ भने पुँजीवादमा मजदूरवर्गको स्थान र भूमिका मुख्य बन्छ । अन्य वर्गहरू सहयोगी मात्र हुन्छन् तर हाम्रो देशमा पुँजीवाद र औद्योगिकीकरणको अभावले मजदूरवर्गको विकास तीव्रतामा छैन । यसको सङ्ख्या निकै कम छ । नेपालबाट मजदूर शक्ति विदेशतिर पलायन भएको छ । अर्को यहाँ कृषिप्रति राज्यको नीति सही नभएका कारण किसानवर्गको विकास पनि खासै छैन । किसानको सङ्ख्या दिन–प्रतिदिन घट्दै गएको छ । नेपालको दलाल तथा नोकरशाही अर्थ–सम्बन्धका कारण मजदूर र किसानको सट्टा मध्यमवर्गको विकास भइरहेको छ । यो वर्ग नेपालमा किसानपछिको दोस्रो ठूलो सङ्ख्यामा रहेको छ । सम्भवतः यो नेपालको मात्र नभएर विश्वकै चरित्र बन्दैछ । यो वर्गमा उद्योगी, व्यवसायी, व्यापारी, डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, कर्मचारी, शिक्षक आदि पर्छन् । यो वर्गचरित्रका दृष्टिले केही ढुलमँले भए पनि मूलतः प्रगतिशील र अग्रगामी खालको छ । यसले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी भूमिका निर्वाह गरिरहेको छैन । श्रमका दृष्टिले पनि निकै मिहिनेत गर्ने वर्ग्भित्र यो देखापर्छ । यसैले नेपालमा न मजदूरवर्ग भएको देशमा हुने जस्तो विद्रोह, न किसानवर्ग हुनेमा जस्तो दीर्घकालीन जनयुद्ध हुन्छ । यहाँ किसान, मजदूर सँगसँगै मध्यमवर्गले पनि सहभागिता राख्ने वा मध्यमवर्गलाई पनि राज्यसत्तामा हिस्सेदारी रहने खालको एकीकृत जनक्रान्तिको कार्यदिशा उचित छ ।

(४) भौगोलिक रूपले सानो र भूपरिवेष्ठित
नेपाल भौगोलिक रूपले सानो र भूपरिवेष्ठित देश हो । यसको राजनीतिक र प्रशासनिक संरचना केन्द्रीकृत खालको रहेको छ । राज्यका संरचनाहरू सबै क्षेत्रमा छन् भने क्रान्तिकारी शक्तिको उपस्थिति पनि सबैतिर छ । राज्यको सुरक्षाशक्ति सापेक्षतामा बलियो छ भने क्रान्तिकारी शक्ति सापेक्षतामा रक्षात्मक छ । नेपाल तीनतिर भारत र एकतिरबाट चीनले घेरिएको भूपरिवेष्ठित देश हो । दुई देशबाहेक अरू देशसँग यसको सिधा सम्बन्ध हुने स्थिति छैन । स्वदेशी उत्पादनबाहेक सबै आयातित वस्तुहरू यिनै दुई देश, विशेषतः भारतसँग नै निर्भर रहनुपर्ने वाध्यता छ । नुन, तेल, ग्याँसलगायत दैनिक उपभोग्य वस्तुमा समेत उनीहरूमाथि निर्भर रहनुपर्छ । यस्तो विशेषताले के बताउँछ भने न तुरुन्तै सत्ता कब्जा गर्न सम्भव छ, न त दसकौँ लामो युद्ध लड्न नै सम्भव छ । हतारमा सत्ता कब्जाको कार्यदिशा बनाउँदा दुस्साहसवादमा फस्ने वा संसदीय व्यवस्थाको पुच्छरमा परिणत हुने अवस्था आउँछ । त्यसैगरी, दीर्घकालीन जनयुद्धमा जाने कार्यदिशा बनाइयो भने अलगावमा पर्ने वा घुमन्तु विद्रोहीमा पुग्ने समस्या आउन सक्छ । त्यसैले नेपालमा जनविद्रोह वा जनयुद्धभन्दा फरक नयाँ एकीकृत जनक्रान्तिको कार्यदिशा बढी वस्तुवादी रहेको छ ।

(५) जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडन
नेपाल जातीय हिसाबले मिश्रित बसोबास भएको देश हो । यहाँ जाति, जनजाति, मधेसी, दलित, मुस्लिम आदि समुदाय र जाति बसोबास गर्छन् । यसमा वर्गदृष्टिले सबै समुदाय र जातिमा शोषक र शासित वर्ग छन् । सबैमा मालिक, दलाल, जमिनदार, जालीफटाहा, भ्रष्टाचारी आदि छन् भने मजदूर, किसान, श्रमिक बुद्धिजीवी, देशभक्त, इमानदार पनि छन् । नेपालमा २५० वर्षसम्म क्षेत्री, बाहुनहरूको शासन चलेकाले जनजाति, दलित, मधेसी, मुस्लिम आदि उत्पीडित रहिआएका छन् । सानो देश भएर पनि जातीय बनोट विशिष्ट प्रकारको छ । नेपाली क्रान्तिको कार्यदिशामा यो विशेषतालाई पनि हामीले पकड्नैपर्छ ।

यहाँ रुसमा जस्तो वा चीनमा जस्तो विद्रोह र युद्धको नीति पकडेर हुँदैन । यहाँ साम्राज्यवाद र विस्तारवादले एकातिर क्षेत्री–बाहुनलाई सङ्घीयताविरुद्ध उचाल्ने गरिरहेको छ भने अर्कोतिर जनजाति र मधेसीलाई देशै टुक्र्याउने सम्मको गतिविधिमा उचाल्दैछ । अर्कोतिर दलितलाई वर्गीय आन्दोलनबाट भड्काएर नितान्त जातिवादतिर घिसार्न खोज्दैछ । त्यस्तै कोसिस मुस्लिमहरूमा पनि हँुदैछ । यो काम विशेषतः राष्ट्रिय गैर–सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूबाट भइरहेको छ । हामीले यी सबै समस्यालाई पहिले वर्गसत्ताको सङ्घर्षमार्फत समाधान गर्ने र सबै उत्पीडित जातिलाई सत्तामाथिको पूर्ण अधिकारसहित मुक्त गर्ने हुनुपर्छ । यसको नेतृत्व पनि एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र गर्न सक्छ ।

निचोड
हामी एक्काईसौँ शताब्दीमा छौँ । हामी नेपाल जस्तो देशमा छौँ । बीसौँ शताब्दीसम्म प्रयोग गरिएको क्रान्तिको अवस्था आज छैन । साम्राज्यवाद फेरिएको छ । साम्राज्यवादका चरित्रहरू नयाँ बनेका छन् । नेपाल, रुस र चीनको अवस्थामा छैन । नेपालका वस्तुगत चरित्रहरू फरक छन् । यस स्थितिमा रुस र चीनमा प्रयोग भएका क्रान्तिकारी कार्यदिशाहरू सशस्त्र जनविद्रोह वा जनयुद्धको प्रयोग गरेर मात्र क्रान्ति पूरा गर्न सकिँदैन । आजको विश्व र नेपाली परिस्थितिले कार्यदिशामा नयाँ संश्लेषणको माग गरेको छ । त्यस्तो कार्यदिशा जनविद्रोह र जनयुद्धको विकासका रूपमा एकीकृत जनक्रान्ति हुन पुगेको छ । न यो संश्लेषण गर्नु सैद्धान्तिक रूपले गलत छ न, राजनीतिक नीतिका दृष्टिले नै गलत छ । यो राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय वस्तुस्थिति र क्रान्तिकारी आवश्यकता सबै दृष्टिले आवश्यक र वस्तुवादी छ ।
सिद्धान्त र नीतिगत क्षेत्रमा नयाँ सोच्ने कुरा आफैँमा पेचिलो र गम्भीर विषय हो । यो सहजै भइहाल्ने र स्वीकार गरिने विषय पनि होइन । समाज विकासको नयाँ स्तर, त्यसले सिर्जना गर्ने नयाँ राजनीतिक एवम् आर्थिक अन्तर्विरोधहरूको सञ्चालन र समाधान पुरानै सिद्धान्त, नीतिहरूबाट सम्भव नहुने पक्का भइसकेपछि नयाँ सिद्धान्त र नीतिहरूको विकास नगरी धर पनि छैन । नयाँ नीतिहरू सापेक्षित समयमा देशका वस्तुगत एवम् पछिल्ला अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यान दिएर प्रक्षेपण गरिएका धारणाहरू हुन् । यिनको वैज्ञानिकता प्रयोगको प्रक्रियामा प्रवेश नगरेर सावित हँुदैन । कुनै पनि विचारको विकासको प्रक्रिया नै यही हो तर हाम्रा केही पुराना पाका नेताहरूको सोच्ने र तर्क गर्ने तरिका हेर्दा यस्तो लाग्छ, नयाँ सोच्ने र विकास गर्ने भन्नुको अर्थ गल्ती गर्नु हो वा यस्तो काम हाम्रो जिम्मामा पर्दैन । जस्तो कि केही नेता भन्छन् यो माक्र्स, लेनिन र माओले लेखेका नै छैनन्, उनीहरूले नभनेको कुरा कसरी भन्न पाइन्छ ? केही भन्छन् माक्र्स, लेनिनले यसो भनेका छन्, त्यसैले यसै गर्नुपर्छ । यहाँ उनीहरूले यी विषयहरू माक्र्स, लेनिन र माओले कुन समयमा, कुन सन्दर्भमा भनेका हुन्, कुनै सरोकार नै राख्दैनन् । यस्तो लाग्छ कम्युनिस्टका लागि सोच्ने र अनुसन्धान गर्ने काम जति सबै माक्र्स, लेनिन र माओले गरिदिसके, हाम्रो काम भनेको त ती लेखहरू सङ्कलन गर्ने, घोक्ने, अन्ध–नक्कल गर्ने र सोहीअनुरूप हाउभाउ गर्ने मात्र हो । यिनको सैद्धान्तिक मान्यता यति रूखो, शुष्क र जीवनहीन छ कि यो कुरा उनीहरू बाहेक अर्कोले न बुझ्छ, न त उत्साहका साथ ग्रहण नै गर्छ । तर यसप्रति यी मान्छेको कुनै पछुतो पनि छैन, बरु एक्लो भएकोमा गर्व नै गर्छन् । यी मान्छेहरूको बुद्धि र प्रवृत्तिबाट विश्लेषण गर्दा वैज्ञानिक समाजवाद नै आउनेछैन, बरु प्रवल सम्भावनालाई पनि पर धकेलिदिनेछ ।

हामीले वैज्ञानिक समाजवादको अपरिहार्यताबारे शिक्षित–प्रशिक्षित गर्नुपर्छ । वैज्ञानिक समाजवादमा आएका समस्याहरूप्रति निर्ममतापूर्वक समीक्षा गर्दै नयाँ उपायहरू पत्ता लगाउनुपर्छ । हामी सबैले पुँजीवादको अमानवीय उत्पीडन र हैकमबाट दुनियाँलाई मुक्त गर्न मौलिक क्षमताहरूको सदुपयोग गर्नुपर्छ । हाम्रा नयाँ पिँढीका कमरेडहरूले वैज्ञानिक समाजवादको अनिवार्य आगमन र पुँजीवादको अनिवार्य विस्थापनलाई मद्दत पुग्नेगरी नयाँ अनुसन्धानहरू बढाउनुपर्छ । वैज्ञानिक समाजवादको झन्डालाई उँचो राख्ने उपायहरू विकास गर्नुपर्छ ।

स्रोत – विप्लव सङ्कलित रचना भाग १