एकाधिकार पूँजी भनेको के हो ?

एकाधिकार पूँजीवादबारे अध्ययन गर्ने सुरु–सुरुका प्रमुख अर्थशास्त्री हुन्–थोस्र्टिन भेब्लेन । उनी उत्तरी अमेरिकी वामपन्थी विद्रोही अर्थशास्त्री थिए । उनी माक्र्सबाट ज्यादै प्रभावित थिए तर माक्र्सवादी भने थिएनन् । आफ्ना कृतिहरू the theory of Business Enterprise (१९०४) र Absentee Ownership and Business Enterprise in Modern times(१९२३) मा भेब्लेनले एकाधिकार पूँजीका प्रमुख चरित्रबारे सैद्धान्तिक व्याख्या गरेका छन् ।

 –जोन बेलामी फोस्टर

(यो लेख सबभन्दा पहिले पोलिस भाषाको ‘वास्तविक पूँजीवादः एकाधिकार पूँजी सिद्धान्तको अध्ययन’ लेख सङ्ग्रहमा प्रकाशित भएको थियो । सो सङ्ग्रहको ग्रिझागोस कोनाट (Grzegorz Konat) र सर्मेस्वाग वेइल्गोज (Przemyslaw Wielgosz) ले सम्पादन गरेका हुन् ।)

‘एकाधिकार पूँजी’ माक्र्सवादी राजनीतिक अर्थशास्त्रमा प्रायशः प्रयोग भइरहने शब्दावली हो । यो शब्दावली कोही–कोही गैरमाक्र्सवादी विश्लेषकहरूले पनि प्रयोग गर्ने गरेका छन् । आधुनिक बृहत् व्यापारिक संस्था (कर्पोरेशन)मा सम्मिलित नयाँ प्रकारको पूँजीलाई बुझाउन यो शब्दावलीको प्रयोग हुने गरेको छ । सानो पारिवारिक व्यापारिक फर्म नै प्रमुख आर्थिक एकाई रहेको तात्कालीन प्रणालीलाई विस्थापित गरी उन्नाइसौं शताब्दीको अन्तिम समयबाट त्यस्ता आधुनिक व्यापारिक संस्थाको सुरुवात भएको थियो । यस्तो संस्थाको आगमन पूँजीवादको खुला प्रतिस्पर्धात्मक चरणको अन्त्य र एकाधिकार पूँजीवादको सुरुवातको सूचक थियो ।

माक्र्सको पूँजीको पहिलो खण्ड सन् १८६७ मा प्रकाशित भएको थियो । उन्नाइसौं शताब्दीको खुला प्रतिस्पर्धाको युगमा गतिको नियम (the law of motion) उजागर गर्न पूँजीको त्यो खण्ड लेखिएको थियो । त्यो कृति उत्पादन कार्य थुप्रै पूँजीको एकाई (वा फर्महरू) बाट हुने मान्यतामा आधारित भएर लेखिएको थियो । अभिवृद्धि भएको समाजको कुल मूल्यको नगण्य भाग मात्र ती पूँजीका एकाईले समेट्ने गर्दथ्यो । अनि आफ्नो मूल्य र उत्पादन मात्रामा तिनीहरूको कमै मात्र नियन्त्रण हुने गर्दथ्यो । बजारको अवैयक्तिक शक्तिले वस्तुको मूल्य र उत्पादन निर्धारण गर्ने गर्दथ्यो । तर अरु शास्त्रीय अर्थशास्त्रीहरूभन्दा भिन्न, माक्र्सले एकाईगत प्रतिस्पर्धाको त्यस्तो वातावरणलाई सङ्क्रमणकालीन ऐतिहासिक प्रक्रियाको रुपमा पहिचान गरे । उनले लेखेका छन्, ‘प्रतिस्पर्धाको लडाई वस्तुको मूल्य घटाएर लडिन्छ । वस्तुको मूल्य श्रमको उत्पादनशीलतामा भर पर्दछ र श्रमको उत्पादनशीलता फेरि उत्पादनको मात्रामा भर पर्दछ । तसर्थ ठूलो पूँजीले सानो पूँजीलाई पराजीत गर्ने गर्दछ । …प्रतिस्पर्धाको सिधा सम्बन्ध सङ्ख्यामा हुने गर्दछ र दुश्मन–पूँजीको आकारसँग नकारात्मक सम्बन्ध हुने गर्दछ ।’ अर्थात् पूँजी सञ्चय (capital accumulation) हरेक पूँजीको आकारमा हुने वृद्धि (केन्द्रिकरण वा वास्तविक सञ्चय) तथा धेरै पूँजीका एकाई ‘एउटै ठूलो मात्रा’ मा एकाकार हुनु (केन्द्रिकरण) दुवैमा भर पर्ने मान्यता थियो । त्यसमाथि ‘सञ्चयको लागि सोझो लक्ष्य’ बाट सुरु भएको ऋण प्रणाली धेरै चाँडो ‘प्रतिस्पर्धाको लडाईमा एउटा नयाँ र खतरनाक हतियार’ बन्ने गर्दछ । अनि अन्ततः एउटा विशाल सामाजिक संयन्त्र पूँजीको केन्द्रिकरणमा रुपान्तरण हुने गर्दछ ।’

संयुक्त लगानी कम्पनी वा आधुनिक कर्पोरेशनको विकासलाई अवलोकन गरेर एंगेल्सले दशकौं पछाडि निचोड निकालेका छन्, ‘प्रतिस्पर्धामा स्वतन्त्रताको पुरानो प्रणाली आफ्नो अन्तिम श्वास फेरिरहेको छ र त्यसले आफैले स्वाभाविक र दुःखद् अवसान घोषणा गर्नुपर्दछ ।’ तसर्थ माक्र्स र विशेष गरी एंगेल्सले एउटा ऐतिहासिक घुम्ती आइपुगेको निचोड निकालेकोमा कुनै शङ्का छैन । तथापि उनीहरूले स्वतन्त्र प्रतिस्पर्धाको अन्त्यलाई पूँजीवादको नयाँ चरणको उदयका रुपमा हेरेका थिएनन् । उनीहरूले त्यो ऐतिहासिक मोडलाई समाजवाद आउने पूर्वसङ्केतको रुपमा लिए । माक्र्स–एंगेल्स पछिका सिद्धान्तकारहरूले एकाधिकार पूँजीवादलाई पूँजीवादी बन्दोबस्तको विकासक्रममा एउटा नयाँ चरणको रुपमा अध्ययन गरेका थिए ।

एकाधिकार पूँजीवादबारे अध्ययन गर्ने सुरु–सुरुका प्रमुख अर्थशास्त्री हुन्–थोस्र्टिन भेब्लेन । उनी उत्तरी अमेरिकी वामपन्थी विद्रोही अर्थशास्त्री थिए । उनी माक्र्सबाट ज्यादै प्रभावित थिए तर माक्र्सवादी भने थिएनन् । आफ्ना कृतिहरू the theory of Business Enterprise (१९०४) र Absentee Ownership and Business Enterprise in Modern times(१९२३) मा भेब्लेनले एकाधिकार पूँजीका प्रमुख चरित्रबारे सैद्धान्तिक व्याख्या गरेका छन् । एकाधिकार पूँजीका चरित्रका रुपमा उनले वित्तीय कर्पोरेटको उदय, व्यापारिक फर्म (एकल वा सानो पूँजीबाट चलेका व्यापारिक संस्था) र मजदुरहरूलाई कमजोर बनाएर एकाधिकारवादी नाफाको वृद्धि, संस्थागत रुपमै उत्पादन घटाउने प्रक्रिया (excess capacity)लाई प्रोत्साहित गर्ने र बिक्री तथा उत्पादनले एकअर्कालाई हस्तक्षेप गर्ने कुराको व्याख्या गरेका छन् । तथापि भेब्लेनका शक्तिशाली विचारलाई संरा अमेरिकाका संस्थापन अर्थशास्त्रका पक्षपातीहरूले ध्यान दिएनन् । कालान्तरमा भब्लेनका कृतिबारे कममात्र जानकारी भएको माक्र्सवादी वृत्तले मात्र एकाधिकार पूँजीबारे अध्ययन र प्रचारका कामलाई निरन्तरता दियो ।

यसमा अष्ट्रियाली माक्र्सवादी रुडल्फ हेल्फर्डिङले लेखेको फाइनान्स क्यापिटल (१९१०) एउटा कोशेढुङ्गा सावित भयो । त्यो अध्ययनमा औद्योगिक द्यितोको विकास हुँदै गएको बजार, पूँजीको केन्द्रीकरणमा बैङ्कहरूको बढ्दो भूमिका र एकाधिकरणको बिस्तारको प्रणालीगत परिणामजस्ता महत्वपूर्ण प्रतिक्रियालाई माक्र्सका सिद्धान्तको अन्तर्वस्तुको आँखाबाट हेर्न खोजिएको छ । यो सम्पूर्ण विकासमा बैङ्क पूँजीको भूमिकालाई जोड दिनुका साथै हेल्फर्डिङको विश्लेषण विशेषगरी उनको पुस्तकको १५ औं पाठमा निकालिएको निष्कर्षका कारण सम्झिने गरिएको छ ः एकाधिकरणको यो प्रक्रियाको अन्तिम परिणाम भने आम कार्टेलको निर्माण नै हो । सिङ्गो पूँजीवादी पुनःउत्पादन सचेत रुपमा एउटा ठाउँबाट नै नियन्त्रित हुने गर्दछ । त्यही ठाउँबाट उद्योगका सबै शाखाहरूको उत्पादनको मात्रा निर्धारण गर्दछ ।’

इतिहासलाई फर्केर हेर्दा त्यो विश्लेषण अलि अतिरञ्जनापूर्ण देखिन्छ । शक्तिशाली नकारात्मक शक्तिहरूजस्तै पुराना फर्महरूको विघटन र नयाँ फर्महरूको स्थापनाले हेल्फर्डिङले सोचेभन्दा पनि पूँजीको केन्द्रीकरणको प्रक्रिया निकै असन्तुलित तरिकाबाट भएको छ । त्यसका साथै ‘आम कार्टेल’ को अमूर्त अवधारणाका कारण मुठ्ठीभर विशाल, ‘आपसमा सापेक्षिक’ फर्महरूको नियन्त्रणमा एकाधिकृत प्रतिस्पर्धी बजारसँग जोडिएको पूँजीको सञ्चय प्रक्रियामा आएको परिवर्तनबारे मूर्त सिद्धान्त विकास हुन सकेन ।

हेल्फर्डिङको विश्लेषणले पूँजी निर्यातमा वृद्धि र भीमकाय कर्पोरेट ट्रष्टहरूबीच अन्तर्राष्ट्रिय दुश्मनीलाई औंल्याएको छ । त्यहीबीच लेनिनको ‘साम्राज्यवाद, पूँजीवादको उच्चतम चरण’ (१९१६) प्रकाशित भयो । अनि उनको विचारमा, ‘यदि हामीलाई साम्राज्यवादको सबभन्दा सङ्क्षिप्त परिभाषा लेख्न भनियो भने साम्राज्यवाद पूँजीवाद एकाधिकार चरणको अन्तिम अवस्था हो ।’ तर लेनिन र उनका सन् १९२०–१९३० दशकका सुरु – सुरुका अनुयायीहरूले आफ्नो सिद्धान्तलाई एकाधिकारको प्रभावमा आधारित बनाए पनि, सञ्चयको अन्तर्निहित सिद्धान्तमा त्यसको कार्यान्वयनबारे उनीहरूले केही बोलेका छैनन् । ई.ए.प्रिओब्राझन्स्की यसका अपवाद हुन् । ‘पूँजीवादको अवसान’ नामको उनको पुस्तक सन् १९३१ मा प्रकाशित भएको थियो । तर तात्कालीन सोभियत सङ्घले त्यो पुस्तकमा रोक लगाएको थियो । उनले त्यसमा सञ्चयको सिद्धान्त कार्यान्वयनबारे लेखेका छन् ।

एकाधिकार पूँजीको सिद्धान्तको थप विकासका लागि पूँजी केन्द्रिकरणको विश्लेषणलाई आर्थिक सङ्कटबारे बुझाईसँग जोड्नुपर्ने भयो । त्यो आर्थिक सङ्कटले माक्र्सको पुनःउत्पादनसम्बन्धी योजनामाथि चर्चित बहस निम्त्याएको थियो । मुलधारको सिद्धान्तसँगै सन् १९३० को दशकमा जोएन रोबिन्सन र एडुआर्ड च्याम्बरलेनका कृतिमा अपूर्ण प्रतिस्पर्धाको सिद्धान्तको विकास भयो । लगत्तै जोन मेनार्ड किन्सको सङ्कटसम्बन्धी सिद्धान्त ‘जनरल थ्यौरी’ प्रकाशित भयो । ती सिद्धान्तहरू भने अझै पनि खुला प्रतिस्पर्धाको सिद्धान्तमा आधारित थिए । आधुनिक पूँजीवादअन्तर्गत पूँजी सञ्चयको सिद्धान्तसम्बन्धी यी दुई पूर्ण सिद्धान्त वास्तवमा दुई धारका थिए । ती दुई सिद्धान्तलाई एकै ठाउँमा ल्याउने काम भने पोल्याण्डका अर्थशास्त्री मिचल कालेकीले गरे । कालेकीले वास्तवमा सन् १९३० दशकको सुरुमा नै किन्सको ‘जनरल थ्यौरी’का सबै आधारभूत सिद्धान्त किन्सले भन्दा पनि अघि प्रतिपादन गरिसकेका थिए । आफ्ना पछिल्ला कृतिहरू–Essays in the theory of Economic fluctuations र Theory of Economic Dynamics मा कालेकीले माक्र्स र रोजा लक्जम्बर्गका विचारमा आधारित भएर आर्थिक सङ्कटलाई बुझ्ने वर्गीय विश्लेषण अघि सारे । त्यसलाई उनी ‘एकाधिकारको घनत्व’ मा वृद्धि भन्ने गर्थे । यो माक्र्सको अतिरिक्त मूल्यको अवधारणासँग सम्बन्धित थियो । उनले एकाधिकार पूँजीअन्तर्गत एकीकृत सञ्चयको सिद्धान्तको विकास गरे ।

कालेकीले लेखेका छन्, ‘एकाधिकार, पूँजीवादी बन्दोबस्तको प्रकृतिसँग गहिरोसँग जोडिएको देखिन्छ । खुला प्रतिस्पर्धालाई पूँजीवादको विशेषता हो भन्नु प्रारम्भिक चरणको अध्ययनका लागि उपयोगी होला तर पूँजीवादी अर्थशास्त्रको सामान्य चरणको व्याख्या गर्दा योमात्र एउटा भ्रम हो ।’

यो विचारलाई जोसेफ स्टिनडलले अघि बढाए । उनी अष्ट्रियाका युवा अर्थशास्त्री थिए । दोस्रो विश्वयुद्धको समयमा उनी अक्सफोर्ड इन्स्टिचुड अफ स्टाटिस्टिकमा कालेकीका सहपाठी थिए । स्टिनडलको पुस्तक Maturity ans Stagnation in American Capitalism पहिलो पटक सन् १९५२ मा प्रकाशित भएको थियो । त्यो कृतिमा सन् १९३० दशकको आर्थिक महासङ्कटको बारेमा चर्चा गरिएको छ । एकाधिकरणले आधारभूत उद्योगहरूमा नाफाको आकार (अथवा अतिरिक्त मूल्यको दर) बढाएको उनको अध्ययन थियो । यसले ठूला फर्महरूलाई आफ्ना उत्पादनको मूल्य घटाउनुभन्दा उत्पादन मात्रा नै घटाएर आफूले पाउने नाफाको आकार बढाउन क्षमतावान बनायो । उत्पादनमा कटौती गर्नाले लगानीको वृद्धिदरलाई फितलो बनाइदियो । तसर्थ आर्थिक गतिरोध वा वृद्धिमा बिस्तार वा बेरोजगारी र अर्धबेरोजगारीलाई फराकिलो बनाइदियो । बजारको दबाबले उत्पादन क्षमताको उपयोग नभएको अवस्थाले नै आम आर्थिक अवस्थाको प्रतिनिधित्व गरेको हुन्छ ।

सन् १९६६ मा पाउल बारन र पाउल स्विजीको पुस्तक ‘एकाधिकार पूँजी’ Monopoly Capital प्रकाशित भयो । यी दुवै चिन्तकहरूले आफ्ना पहिलेका कृतिबाट चित्त नबुझेर त्यो कृति लेखेका थिए । स्विजीको the Theory of Capitalist Development (१९४२) र बारनको the Political Economy of Growth (१९५७) प्रति चित्त नबुझेर नै त्यो कृति तयार भएको थियो । स्विजी हार्वार्ड विश्वविद्यालयमा अर्थशास्त्रका पूर्वप्राध्यापक र ‘मन्थ्ली रिभ्यु’का सम्पादक थिए ।

बारन स्टानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक थिए । ‘एकाधिकार पूँजी’ कृतिले कालेकी–स्टिनडलका विचारलाई आफ्नो विमतिको प्रस्थानबिन्दु माने । उनीहरूले अझ व्यापक सामाजिक उपयोगिताको खोजी गरे । यो दृष्टिकोणअनुसार माक्र्सको खुला प्रतिस्पर्धाको चरणमा नाफाको दर घट्दै जाने प्रवृत्तिलाई एकाधिकार पूँजीवादको चरणमा अतिरिक्त मूल्य बढ्दै जाने प्रवृत्तिले विस्थापन गर्ने गर्दछ । आर्थिक अतिरिक्त मूल्यलाई कुल सामाजिक उत्पादन र त्यति उत्पादन गर्न आवश्यक सामाजिक श्रमलागतबीचको भिन्नताको रुपमा व्याख्या गरिएको छ । यहाँ आर्थिक अतिरिक्त सिद्धान्तसँग अतिरिक्त मूल्यको शास्त्रीय अवधारणाको परिपूरकको रुपमा विकास गरिएको छ । यसले विशेष गरी एकाधिकार पूँजीवादको विशिष्ट अन्तर्विरोधको अध्ययन गर्न मद्दत गर्दछ । उदाहरणको लागि उत्पादनमा फोहोरको बढ्दो भूमिकाबारे अध्ययन शास्त्रीय अतिरिक्त मूल्य सिद्धान्तले सजिलै सम्बोधन गर्न सक्दैनथ्यो । ‘एकाधिकार पूँजी’ मा प्रस्तुत तर्कअनुसार सञ्चयको यो चरणमा अतिरिक्त उपयोगको गम्भीर समस्या नै प्रमुख अन्तर्विरोध हो । उत्पादन प्रक्रियामा वस्तुको उत्पादनपश्चात बचेको अतिरिक्तलाई तीन तरिकाबाट उपयोग गर्न सकिन्छः १)त्यसलाई उपभोग गर्न सकिन्छ, २) त्यसलाई लगानी गर्न सकिन्छ वा ३) त्यसलाई खेर फाल्न सकिन्छ । आम्दानी बढेसँगै पूँजीवादी उपयोगले माग कम भएको चाहने गर्दछ जबकि लगानीले उत्पादन क्षमताको नयाँ रुप लियो जसले नयाँ जम्मा लगानी रोक्ने काममा सहयोग गर्ने गर्दछ । त्यसो त नयाँ युगान्तकारी आविस्कारको सम्भावना जस्तै विगतका भाप इन्जिन, रेलमार्ग र अटोमोबाइलले आर्थिक प्रणालीको गतिरोध अवस्था भत्काउने सम्भावना सधैं रहिरहन्छ । त्यस्तो व्यापक प्रभाव पार्ने र पूँजी धेरै खर्च हुने आविस्कारहरू वास्तवमा थोरै र लामो समयपश्चात् मात्र आउनसक्छ । तसर्थ निजी सञ्चयको प्रणालीलाई आफ्नै भरमा मात्र छोडे त्यो गतिरोधको प्रवृत्तिमा जाने सम्भावना प्रबल हुने गर्दछ । कदाचित तीब्रतर वृद्धिको अवस्था आए त्यसका पछाडि अरु नै कारण हुने गर्दछ जस्तै बिक्री गर्ने प्रयास (विज्ञापन, विक्रेताको ज्यालामा वृद्धि, व्यापारिक प्रबद्र्धन आदि), सैनिक खर्च र वित्तीय बिस्तार । स्विजी र बारनले त्यो कृति दोस्रो विश्व युद्धपछिको आर्थिक बिस्तारको उच्चतम अवस्थामा लेखेका थिए । बिक्री गर्ने प्रयाससम्बन्धी कुरा पुस्तकको अन्तिम पाठमा चर्चा गरिएको छ । तर ती सबै कारणहरूका आफ्नै सीमितता हुने गर्दछन् । ती कारणले भविष्यमा अरु धेरै ठूलो अन्तर्विरोध जन्माउने सम्भावना पनि उत्तिकै हुनेगर्दछ ।

माक्र्सको विश्लेषणको मुल चुरोको रुपमा रहेको श्रम प्रक्रियालाई नसमेट्दा बारन र स्वीजीको एकाधिकार पूँजीसम्बन्धि बृहत् सिद्धान्त अपुरो थियो । श्रम सिद्धान्तको कुरा उनीहरुले आफ्नो ‘लेखको मस्यौदा’ मा समावेश गर्ने प्रयास गरेनन् । त्यसपछि आउँछन्–हेरी बे्रभम्यान । उनी सन् १९७४ मा युगान्तकारी पुस्तक ‘लेबर एण्ड मोनोपोली’(श्रम र एकाधिकार) पुस्तक लिएर आए । माक्र्सले ‘पूँजी’ मा श्रम विभाजनले काममा ¥हास ल्याउने कुराको व्याख्या गरेका छन् भने ब्रेभम्यानले आफ्नो पुस्तकमा एकाधिकार पूँजीवादमा श्रम विभाजनले काममा ¥हास हुने क्रम अझ तीब्र हुने कुरा व्याख्या गरेका छन् । वैज्ञानिक व्यवस्थापनको विकाससँगै धेरै तरिकाबाट एकाधिकार पुँजीवादमा काममा ¥हास आउने गर्दछ । सन् १९६० र १९७० को दशकमा त्यस्तै प्रकारका अरु पनि पुस्तकहरु प्रकाशनमा आए । तीमध्ये ह्यारी मागडोफको ‘द एज अफ इम्पेरियलिज्म’(साम्राज्यवादी युग), जेम्स ऑेकोन्नरको ‘द फिस्कल क्राइसिस अफ द स्टेट’(राज्यको वित्तीय सङ्कट) र स्टेफन हेमरको ‘द मल्टिनेशनल कर्पोरेशन’(बहुराष्ट्रिय कर्पोरेशन) आदि उल्लेखनीय छन् । सन् १९६८ मा स्थापना भएको क्रान्तिकारी राजनीतिक अर्थशास्त्री संगठनले सन् १९७५ मा आर्थिक सङ्कटबारे आफ्नो पहिलो अध्ययनपत्र प्रकाशित ग¥यो । त्यो पत्रको शीर्षक थियो–रेडिकल प्रस्पेक्टिभ अन द इकोनोमिक क्राइसिस अफ मोनोपोली क्यापिटल’(एकाधिकार पूँजीको आर्थिक सङ्कटबारे क्रान्तिकारी दृष्टिकोण) ।

एकाधिकार पूँजीसम्बन्धि दृष्टिकोणको प्रभाव दक्षिणी गोलाद्र्धमा पनि व्यापक थियो । स्वीजी र मागडफसँग भेटेका र ‘द पोलोटिकल इकोनोमी अफ ग्रोथ’(आर्थिक वृद्धिको अर्थराजनीति) मा एकाधिकार पूँजी तथा अतिरिक्त अर्थतन्त्रसम्बन्धि बारनको विचारबारे जानकार  चे ग्वेभाराले सन् १९६५ मा घोषणा गरेः ‘संसारलाई एकाधिकार पूँजीले आफ्नो हातमा लिएयता त्यसले मानवजातिको ठूलो हिस्सालाई गरिबीको खाडलमा जाँकेको छ । अनि नाफा सबै अतिशक्तिशाली देशका समूहबीच बाँडचुँड गरिएको छ ।’सन् १९७० को दशकसम्मका अधिकांश माक्र्सवादी अर्थशास्त्रीहरुका कृतिहरुमा पूँजीवादको एकाधिकार चरणबारे उल्लेख्य चर्चा पाउँछौं । उदाहरणको लागि माउरिस दोबको ‘स्टडिज इन द डेभलप्मेन्ट अफ क्यापिटालिज्म’–१९४७(पूँजीवादको विकासमाथि अध्ययन), अर्नेष्ट मान्डलको ‘माक्र्सिस इकोनोमिक थ्योरी’–१९६२(माक्र्सवादी आर्थिक सिद्धान्त) र समिर अमिनको ‘एकुमुलेशन अन अ वल्र्ड स्केल’–१९७०(विश्वस्तरको सञ्चय) आदि । तर सन् १९७० दशकको उत्तराद्र्धसम्ममा एकाधिकार पूँजीको सिद्धान्तको चर्चा कम हुन थाल्यो । त्यो बेलामा ‘माक्र्सतिर फर्कौं’ भनिने आन्दोलन उकालो लाग्दैथियो । अर्थात् कोरासिद्धान्तवादी माक्र्सवादी अर्थराजनीतिको विकास भइरहेको थियो । त्यो सोचले पूँजीवादको इतिहासमा खुला प्रतिस्पर्धाको विकासलाई नै मात्र स्वीकार्दछ र पूँजीवादी विकासका विभिन्न ऐतिहासिक चरणलाई अस्वीकार गर्दछ । उत्पादन र एकाधिकार नाफाको केन्द्रिकरणको विचारलाई त्यागेर (वा कम्तीमा त्यसलाई न्युनाङ्कन गरेर) यो विचार अघि बढेको थियो ।

सन् १९८१ मा ‘क्यापिटल एण्ड एक्सप्लोटसन’(पूँजी र शोषण) मा अर्थशास्त्री जोन वीक्सले भने,‘बारन र स्वीजीका पुस्तकका पानाहरुमा उल्लेखित एकाधिकारहरु ती लेखकका कृतिहरुमा बाहेक अरु कहीं अस्तित्वमा छैन ।’ एकाधिकार पूँजी सिद्धान्तका धेरै आलोचकहरुले पूँजीको अन्तर्राष्ट्रियकरणले एकाधिकारवादी सञ्चयको संरचनालाई कमजोर बनाएको विचार अघि सारे । संरा अमेरिकी प्रभुत्ववादको अन्त्य र अरु विकसित पूँजीवादी देशहरु अघि आउनु पूँजीवादी विदेश व्यापार र पूँजीको निम्ति खतरा भएको उनीहरुको धारणा हो । तर अर्कोतिर केही क्रान्तिकारी र माक्र्सवादी सिद्धान्तकारहरु जस्तै ‘मोनोपोली क्यापिटल’–१९८२(एकाधिकार पूँजीवाद) मा केथ काउलिङ र ‘द थ्योरी अफ मोनोपोली क्यापिटल’–१९८६(एकाधिकार पूँजीको सिद्धान्त) मा जोन बेलामी फोस्टर र ‘द इन्डलेस क्राइसिस–२०१२(अन्त्यहीन सङ्कट) मा रोबर्ट डब्ल्यु. माकचेन्सेसहित फोस्टरले जोडका साथ विश्वस्तरमा पूँजीको केन्द्रिकरण गर्ने क्रम चालु रहेको अर्थात् एकाधिकार पूँजीको अन्तर्राष्ट्रियकरणबारे व्याख्या गरेका छन् । संसारका थोरैभन्दा थोरै व्यापारिक संस्थाहरुको हातमा दुवै राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र नियन्त्रणमा रहेकोमा उनीहरुको जोड रह्यो । विश्वव्यापी श्रमसँगको सम्बन्धमा ‘फुट गर र राज गर’ को नीतिअनुसार काम गर्ने संस्थाहरुले पनि सहयोग गरे ।

आर. जामिल जोन्नाको सहयोगमा फोस्टर र माकचेन्सेले गरेको प्रभावकारी वस्तुगत अध्ययनले सन् २००७ देखि २००९ को बृहत् वित्तीय सङ्कटको समयमा संरा अमेरिकाका सबभन्दा माथिका २०० कर्पोरेशनले त्यहाँको अर्थतन्त्रको कुल नाफाको झण्डै तीस प्रतिशत ओगटेको थियो । सन् १९५० को तुलनामा यो १३ प्रतिशतले बढी थियो । जबकि विश्वस्तरमा सबभन्दा माथिल्ला विश्वभरका पाँच सय कर्पोरेशनहरुले कुल विश्वव्यापी आम्दानीको चालिस प्रतिशत ओगटेको थियो । सन् १९६० को तुलनामा यो झण्डै २० प्रतिशतले माथि थियो । सन् १९८० दशकयताका एकाधिकार पूँजीवादी सिद्धान्तकारहरुको मुख्य ध्यान प्रत्यक्ष रुपमा एकाधिकार पूँजीको अवस्थाबारे बहसमा केन्द्रित रहेन बरु सन् १९७० दशकको मध्यतिरबाट शुरु भएको आर्थिक गतिरोधमा एकाधिकार पूँजीको भूमिका बुझाउन केन्द्रित रह्यो । वित्तीयकरण कसरी एउटा धारविपरीतको शक्तिको रुपमा उदायो र कसरी अर्थतन्त्रलाई उकास्यो भन्ने कुराको व्याख्यामा उनीहरुको जोड रह्यो । त्यसबारे लेखिएका कृतिहरुमा माकडोल्फ र स्वीजीको ‘स्टागनेशन एण्ड द फाइनान्सियल एक्सप्लोजन’–१९८७(गतिरोध र वित्तीय शोषण) र ‘द इरिभर्सिल क्राइसिस’–१९८८(उल्टाउन नसकिने सङ्कट) हुन् । सन् १९९७ मा स्वीजीले एकाधिकरण र गतिरोधले आर्थिक प्रणालीमा नयाँ तहको अन्तर्विरोध जन्माएको विचार अघि सारे ।

‘पूँजी सञ्चय प्रक्रियाको वित्तीयकरण’सम्बन्धि निष्कर्षमा उनले त्यो विचार प्रस्तुत गरेका थिए । सन् २००० को शुरुतिर एकाधिकार पूँजीसम्बन्धि विचारका सिद्धान्तकारहरुले एकाधिकार पूँजीको नयाँ चरण अर्थात् एकाधिकार–वित्तीय पूँजीबारे विचार निर्माण गरिसकेका थिए । एकाधिकरण, गतिरोध र वित्तीयकरण सँगसँगै अघि बढ्नुका साथै एकले अर्कालाई बलियो पनि बनाउँदै गए । सन् २००९ मा प्रकाशित भएको ‘द ग्रेट फाइनान्सियल क्राइस’(बृहत् वित्तीय सङ्कट) नामको पुस्तकमा फोस्टर र फ्रेड माकडोल्फले यो मुलकथनलाई अघि सारेका छन् । त्यस्तै सन् २०१२ मा प्रकाशित ‘द इन्डलेस क्राइसिस’ नामको पुस्तकमा फोस्टर र माकचेन्सेले पहिलो पटक सन् २००७–२००९ को आर्थिक सङ्कटको परिणामस्वरुप वित्तीयकरण कमजोर बनेको र फलतः आर्थिक गतिरोध अनिश्चित भविष्यसम्म लम्बिएको तर्क गरेका छन् । झण्डै त्यही बेला सन् २०११ मा समीर अमिनको लेख ‘द ल अफ वल्र्डवाइड भ्यालु’(विश्वव्यापी मूूल्यको नियम) प्रकाशित भयो । त्यसमा उनले हामी ‘सामान्यकृत, वित्तीयकृत र विश्वव्यापी एकाधिकार’ मा बाँचिरहेको घोषणा गरे । यी सबै विकासक्रमले एकाधिकार पूँजीको सिद्धान्तप्रति चासो अझ बढाइदियो र हाम्रो समयका संरचनागत सङ्कटमा त्यसले पारेको प्रभावबारे सबैको ध्यानाकर्षण गरिदियो । यसप्रतिको ताजा चासो समिर अमिन, केन्ट क्लिटगार्ड, कोस्टास लापाभित्सास, माइकल मीरोपोल, तन मेन्डेटा‑–मुनोज, प्रभात पटनायक, जान तोपोरोविस्की, मेरी भी.रेनलगायतका प्रमुख आर्थिक चिन्तकहरुको सहभागितामा ‘मन्थ्ली रिभ्यु’को विशेषाङ्कमा ‘आधा शताब्दीमा एकाधिकार पूँजी’ शीर्षकमा लेखहरु प्रकाशित हुनुबाट भयो ।

पछिल्ला वर्षहरु सन् २०१२ र २०१३ मा प्रकाशित ‘मन्थ्ली रिभ्यु’का प्रकाशनले एकाधिकार पूँजीप्रतिको चासो थप बढाएको छ । ती अङ्कहरुमा बारन र स्वीजीको ‘एकाधिकार पूँजी’ पुस्तकका हराएका दुई खण्ड प्रकाशित गरिएको थियो । सन् २०१७ मा पाउल ए. बारन र पाउल एम. स्वीजीबीच एकाधिकार पूँजीको युगबारे भएको विचार आदानप्रदान पुस्तकाकारमा प्रकाशित भयो । साथै तोपोरोविस्कीले लेखेको कालेकीको चीरप्रतिक्षित बौद्धिक जीवनीको पहिलो खण्ड प्रकाशित भयो । सन् २०१६ मा प्रभात पटनायकले आफ्नो विश्लेषणात्मक लेखको निष्कर्षमा लेखेका थिए,‘नयाँ केही आर्थिक ‘(पानीका) फोकाहरु’ नबनेसम्म (जसको कुनै सङ्केत छैन र जो बनेपछि फुट्ने सुनिश्चित छ) विश्व अर्थतन्त्र गतिरोधको दलदलमा फसिरहनेछ । ‘एकाधिकार पूँजी’ पुस्तकको को आधारभूत ढाँचाले अरु कुनै पनि पुस्तकले भन्दा यो कुरा बुझ्न सक्ने बनाउँछ ।’

समाप्त

स्रोतः मन्थ्ली रिभ्यु

जनवरी १, २०१७

प्रस्तुतिः नीरज

(यो सामग्री हामीले अनलाईन मजदुरबाट लिएका हौं–सं.)