उखु किसानले पाएनन् ६५ करोड

ऋणमै किसानले उखु उब्जाउँछन्। कर्जा काढेर त्यसको गोडमेल गर्छन्। फेरि ऋणकै भारी बोकी कटानी र ढुवानी गर्छन्। उखु नगदे बाली हो। तर, उखु किसानलाई उधारोमै बिक्री गर्नु परिरहेको छ। दुःखद कुरो त बेचेको उखुको भुक्तानी वर्ष दिनमा समेत पाउँदैनन्।

गत वर्ष बिक्री गरेको उखुको अनुदान किसानले अझै पाएका छैनन्। पट्यारलाग्दो प्रक्रियाले उनीहरूलाई हैरान पारेको छ। पोहोर साल उखुको मूल्य ५ सय ३६ रुपैंया प्रतिक्विन्टल थियो। जसमध्ये प्रतिक्विन्टल ६५ रुपैंया सरकारले प्रोत्साहन स्वरूप किसानलाई दिएको थियो।

अनुदान लिन खेतको लालपुर्जा, वडा कार्यालयको सिफारिस, ठेक्कामा खेती गरेको कागजपत्र पेश गरे मात्र अनुदान पाइने नयाँ व्यवस्था छ। झन्झटिलो प्रक्रियाले महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौत्तहटका ३० हजार किसानले गत वर्षको करिब ६५ करोड अनुदान रकम नपाएको हो। अनुदान रकम पाँच महिनादेखि जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा थन्किएको छ।

महोत्तरीको रामनगरका उखु किसान जगदीश महतो चुर्लुम्म ऋणमा डुबेका छन्। पोहोर बेचेको उखुको अनुदान उनले पाएका छैनन्। त्यसमाथि खेतमा तयारी उखु उनीजस्ता देशका लाखभन्दा बढी किसानले चिनी मिललाई उधारोमा बिक्री गर्नु परेको छ।

वर्षभरि कडा मेहनत गरेर किसानले उखु उब्जाउँछन्। उखुको मूल्य तोक्नमै मिल मालिकले गर्ने मोलमोलाइले किसान आजित बनाउँछ। पुरानै बिक्री गरेको उखुको भुक्तानी किसानहरूले नपाउँदा नयाँ उखु कटानी र ढुवानी गर्न किसानलाई आर्थिक अभावले सताएको छ।

देशैभरिका लाख बढी किसानले यस वर्ष एक लाख ३४ हजार बिघामा साढे २१ अर्बको उखु उब्जाएका छन्। चालु सिजनको लागि किसानले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रूपैंया पाएका छन्। यो मूल्य गत वर्षकै हो।