‘आमाहरुको खुशीका लागी गायनमा लागेँ’ : सुदीप सिंजाली मगर

सुदीप सानैदेखि रेडियोमा बज्ने लोकगीतहरु टपक्क टिपेर जस्ताको तस्तै गुनगुनाउथें । उनको गीतप्रतिको शोख सानैदेखि थियो । पतिको वियोगमा बिधुवा महिलाको रुपमा समाजबाट भोग्नुपरेको अपमान र दोस्रो विवाह गर्नुपर्दा आमाको पीडा सुदीपलाई बोध भइसकेको थियो । आफु सानै छँदादेखि आमाले गरेको दुःख र सङ्घर्षको पीडाले उनको मनभित्र पोलिरहेको थियो ।

–खोमा तरामु मगर
सुदीप सिंजाली उमेरले २० बर्षका भएका छन् । बुवा मालवरसिंह सिंजाली र आमा पूर्णकला सिंजालीको कोखमा उनी २०५५ असोज १७ गते गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–४ एक्सिङमा जन्मिएका थिए । परिवारको पालनपोषण वा जीविकोपार्जनका लागी बुवा मालवरसिंह ट्रकमा खलासीको रुपमा मजदुरी गर्थे ।

२०५५ चैत्र २० गते गुल्मीको टक्सारमा ट्रक दुर्घटनामा पर्याे । बिडम्बना ! बुवा मालवरसिंहले त्यही दुर्घटनामा जीवन गुमाउनु पर्याे, जतिबेला सुदीप ७ महिनाका शिशु थिए । बुवा मालवरसिंहको खलासी पेशामा जसोतसो चलिरहेको सुदीपको परिवारमा आएको त्यो भीमकाय बज्रपातपछि जीवनमा अझ दुखका दिनहरु चुलिदै गए । लोली गाउँदै कोक्रा हल्लाउने र हात समाएर टुकुटुकु हिँडाउने शिशु बाल्यवस्थामा नै सुदीपको जीवनमा कहिल्यै नजोडिने गरि एउटा धागो चुडेर गयो । सुदीप अबोध नै थिए, बुवाको अनुहार राम्ररी ठम्याउन सक्ने उमेर पनि थिएन तर बुवाको मृत्युले निम्त्याएको अभाव र छट्पटीको स्पर्श भने राम्ररी भोग्न बाध्य भए ।

उमेर बढ्दै गएपछि सुदीपले बुवाको अभाव, परिवारको दुःख र समाजलाई क्रमशः बुझ्दै जान थाले । बुवाको मृत्युपछि परिवार र समाजले आमालाई बिधुवा महिला भनेर हेपिनु वा अपमान खप्नुपरेको पीडालाई बोध गर्न थाले । २०५७ सालमा आमा पूर्णकलाको दोस्रो विवाह भयो । आमा पूर्णकलाका लागी एउटा प्राणप्रिय सन्तानको लागी कोख रित्याउनु वा एक्लो छाड्नु जति असम्भव हुन्थ्यो, सुदीपलाई आफ्नी ममतामयी आमाको साथ गुमाउनु त्यो भन्दा हज्जारौं गुणा कष्टपूर्ण हुन्थ्यो । आमाको दोस्रो विवाहपछि आफ्नी आमासंगै सुदीप पनि ठूलो लुम्पेक बस्न थाले ।

स्कूले जीवन
सुदीप ६ बर्षको उमेर छँदा श्री भानु प्राविको बालशिक्षामा भर्ना भई पढ्न थाले । त्यसपछि घनाजंगल, खोला र पहाराहरु छिचोल्दै एकघण्टा हिँडेर स्कूल पुग्थे । उनी सानै उमेरदेखि पढ्नमा टाठो थिए । घरको आर्थिक दुरावस्थाका कारण उनको स्कुले जीवन अत्यन्तै उतारचढावपूर्ण रह्यो । कक्षा ७ सम्म भानु निमावि ठूलो लुम्पेक, कक्षा ८,९ र १० सरस्वती मावि लिम्घा र कक्षा ११ सत्यवती उच्च मावि हँसरामा पढे । आर्थिक दुरावस्थाकै कारण अहिले उनको पढाई रोकिएको छ ।

गायनयात्रा
सुदीपको मावली गाउँ लिम्घाको काफलडाँडा हो । उनी सानो छँदा आमासंगै मावल जान्थे । जंगलको बाटो ४ घण्टा हिँडेपछि मात्रै मावल पुगिन्थ्यो । एकदिन मावलबाट फर्कदा बुढाचौरको उकालोमा सुदीपले आमालाई गीत सुनाए–
“झुटो माया चाहिँदैन पापीको
तिम्रो नासो फिर्ता लिन आऊ !”

सुदीप सानैदेखि रेडियोमा बज्ने लोकगीतहरु टपक्क टिपेर जस्ताको तस्तै गुनगुनाउथें । उनको गीतप्रतिको शोख सानैदेखि थियो । पतिको वियोगमा बिधुवा महिलाको रुपमा समाजबाट भोग्नुपरेको अपमान र दोस्रो विवाह गर्नुपर्दा आमाको पीडा सुदीपलाई बोध भइसकेको थियो । आफु सानै छँदादेखि आमाले गरेको दुःख र सङ्घर्षको पीडाले उनको मनभित्र पोलिरहेको थियो ।

कक्षा २ मा पढ्दा उनकै गाउँमा बिहानी बाल समूहले तीज गीत प्रतियोगिता गर्याे । प्रतियोगितामा उनले भाग लिए । उनले गीतमा आफुले भोगेको पीडालाई जस्ताको तस्तै उतारे–
“तीजमा अरु त पिङ खेल्छन्
म भने टोङ्लेङ टोङ्लेङ बरिलै !!
तीजमा अरु त दुध र भात खान्छन्
म भने हेरेको हे-यै बरिलै ! ”

यही गीत गाएर उनीले दोस्रो पुरस्कार पाए । पुरस्कारले उनको गीतप्रतिको शोख अझ बढ्यो । दशैं, तिहार, मेलाहरुमा उनले गीत गाउन थाले । घरको नजिकै रहेको सत्यवती मेलामा सुदीपले गीत गाए । त्यसपछि उनी गीत गाउनै भनेर भार्से, लिम्घाको मेलामा पुगे । लिम्घाको महोत्सवमा उनले आमालाई सम्झिदै एउटा मार्मिक गीत गाए–
“आमा ! तिम्ले कसरी हुर्कायौ, बढायौ
कति दुख गरेर पढायौ, कहिल्यै सुख पाएनौं
आमा ! सधै मेरै पीर गरेर ज्यान सुकायौ
कहिल्यै पेट भरेर खाएनौं !”

जब सुदीप यो गीत गाएर मञ्चबाट ओर्लिए, दर्शकदीर्घातिर सबैको आँखामा आँसु रसाएको थियो । मामा प्रसाद खप्तडीले अंगालो हाले । सबैको आँखा सुदीपतिर थियो । सानै उमेरमा यस्तो गीत गाउने को रहेछ ? कानमा धेरैले खासखुस गर्न थाले । त्यसपछि सुदीपलाई राम्रै गाएछु क्यारे भन्ने लागेछ । यो यसले उनको लोकगायनमा अगाडी बढ्न थप प्रेरणा मिल्यो ।

संगीत स्टारमा गायन यात्राको कथा

सुदीपकोे परिवारमा दैनिक साँझ विहानको छाक तार्न पनि कठिन छ । आमाको दोस्रो विवाहपछि सुदीपले हेरचाह गर्ने बुवा पाए । बुवा चुरावहादुरले डकर्मी काम गरेर घरखर्च चलाएका छन् । सुदीपले एक्सिङ बस्दा साँझ, विहान र छुट्टीमा अरुको घर बनाउने लेबर काम गरेर जसोतसो पढाई खर्च जुटाउँथे । घरको आर्थिक दुरावस्थाका कारण पढाईलाई अगाडी बढाउन पनि सकेनन् । उनी लेबर काम गरेर बचाएको ९ हजार खल्टीमा हालेर राम्रो जागिर गर्छु भन्दै २०७५ बैशाख २८ गते कामको खोजी गर्न बुटवल झरे । बुटवलमा बसबाट उत्रिएपछि साथीको घरमा बस्न भुमही जाने बस चढे । भुमही नपुग्दै बाटोमा यात्रु उतार्न माइक्रोबस रोकियो, त्यत्तिकै बेला सुदीपको आँखा रुखमा छापिएको ठूलो पोष्टरमा पुग्यो । जहाँ लेखिएको थियो–“नेपाल संगीत स्टारका लागी फारम खुल्यो” गाडी हिँड्नै लाग्दा उनले सबै पढ्न पाएनन् । हतारमा उनले मोबाइल नम्बर याद गरे । साथीको घरमा पुगेर उनले मोबाइल नम्बरमा फोन लगाए । उताबाट ५ सय रुपैया लिएर फारम भर्न बुटवल आउन भनेपछि उनी एक्लै कार्यालय खोज्दै फारम भर्न पुगे ।

अहिले संगीत स्टारको ६ वटा अडिसन पुरा भएको छ । बुटवलमा २, चितवनमा ३ र काठमाडौमा भएको १ राउण्ड गरि अहिलेसम्म सुदीप छनौट हुँदै गएका छन् । उनको भोकल असाध्यै राम्रो रहेको छ । रुचि र मेहनत पनि उत्तिकै । अडिसन सुरु भएपछि उनी आफै टिकट विक्रीका लागी ठूलो लुम्पेक, लिम्घा, भार्सेका घर–घरमा पुगे ।

सुदीपको अनुनय
सुदीपको रुचि गायन क्षेत्र त हुँदै हो, तर आफु र आफ्नो परिवारले जीवनमा भोग्नुपरेको पीडालाई गीतसंगीतको माध्यमबाट मलम लगाउँनुछ उनलाई । उनी जुन समाज र पारिवारिक अवस्थामा हुर्के, बढे, बुवाको मृत्युपछि द्रबित र खण्डहर जीवनको स्पर्श गरे, सुदीपले कलाकारिता मार्फत ती घाउहरुलाई मेटाउने सोँचमा छन् । उनी भन्छन्–“जुन समाजले महिलाहरुलाई बिधुवा भनेर तिरस्कृत गर्याे, उनै आमाहरुको खुशीका लागी गायन क्षेत्रमा लागेको छु ।”

अहिले सुदीपलाई संगीत स्टारमा सहभागी हुन पनि आर्थिक समस्याले पिरोलिरहेको छ । सुरुमा लेबर गरेर कमाएको पैसा सकिएपछि उनले काठमाडौमा भएको पछिल्लो अडिसनमा भाग लिन आफन्तसंग ५ हजार ऋण लिएका थिए । त्यो जम्मै पैसा खर्च भइसकेको छ । अर्को अडिसनका लागी काठमाडौ जानुपर्ने भएकोले सुदीपलाई खर्चपर्चकै पिरलोले गिजोलिरहेको छ ।
०००
(स्रोत–दैनिकपत्र, अंक २८५, २५ भदौ, २०७५)