प्रचेष्टामा घोत्लिँदा

नेवार संस्कृतिमा बढी प्रचलनमा रहेको गुफा बस्ने चलनको अनुभव समेटेर पल्पसा रन्जितले “गुफा बसि निस्कँदा” संस्मरणले पुस्तकको ओझ बढाएको छ । देशमा छुवाछूत र अन्धविश्वास अझै व्याप्त छ । भेदभाव मुक्त देश बनाउने घोषणा सहित कानुन निर्माण भएपनि कथित तल्लो वर्गका मानिसहरू समानताको अनुभव गर्न पाएका छैनन् ।

-बिमला आचार्य


वि.सं. २०५१ सालदेखि करिब ६ वर्षसम्म निरन्तर प्रकाशित भएको प्रचेष्टा बिचमा केही समय रोकिएर पुनः प्रकाशनमा आएको छ । विशेषगरी विद्यालय तहका विद्यार्थीहरुलाई साहित्य तथा रचनात्मक गतिविधिमा लाग्न एवं अध्ययनशिलताको निम्ति महत्त्वपूर्ण भुमिका खेल्ने विश्वासका साथ प्रचेष्टा प्रकाशनमा आएको हो ।

द्वैमासिक प्रकाशित प्रचेष्टाको वर्ष २५ पूणाङ्क २८ हाम्रो सामु उपलब्ध गराएकोमा जनप्रकाशन गृह प्रति आभार प्रकट गर्दछु । प्रचेष्टाले विद्यालय तहबाट नै राजनीतिक, साहित्यिक व्यक्तित्व, वैज्ञानिकहरू, क्रान्तिकारी योद्धाहरू, पाैराणिक कथाका नायकजस्ता आदर्श पात्रहरू चिनाउँदै जाने र आदर्श व्यक्ति बन्न उत्प्रेरित गर्नेछ भन्ने विश्वास छ ।
विद्यालयका विदाहरूलाई फलदायी बनाउन विद्यार्थी भाइ बहिनीहरूलाई अनुरोध गर्दै सम्पादकीयमा नयाँ नयाँ लुगाहरू सँगसँगै नयाँ नयाँ पुस्तक किन्न र नयाँ ठाउँहरू घुमि देशको भूगोल अध्ययन गर्न आग्रह गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको कविता “तिम्रो बासित पैसा छैन”ले पुँजीवादी व्यवस्थामा पैसा नहुनेले लेखपढ गर्ने कुरा आकाशको फल हुने उल्लेख छ । दिनभर खेतबारीमा उद्यम गरेर साँझको छाक मुस्किल पर्ने जनताका छोराछोरी काँचैमा झर्नुपर्ने बाध्यता कविताको माध्यमद्वारा श्रेष्ठले उतार्नुभएको छ ।
चिकित्साशास्त्र अध्ययन गरि डाक्टर बन्ने र जनताको सेवा गर्ने इच्छा भएका लुसुन, अज्ञान र कमजोर देशका नागरिकहरू शारीरिक रूपमा जतिसुकै बलिया र स्वास्थ भएपनि तुच्छ साधनका रमिते मात्रै हुने रहेछन् भन्ने बुझेपछि मानिसको भावना फेर्नु सबभन्दा कुरा हो र यसको लागि साहित्य नै सर्वोत्तम उपाय हो भन्ने विश्वास भयो । पछि उनी साहित्यकार बनेको कुरा पुस्तकमा प्रस्तुत गरिएको छ । यसले विद्यार्थीहरुलाई अध्ययनशिल बन्न र लेखन कार्यमा अगाडि बढ्ने प्रेरणा प्राप्त हुन्छ ।
“विश माग्ने खेल”मा चिन्मयले सानासाना बालबालिकाहरू आँखाको परेला निकालेर विश माग्ने गरेकोे कुरा अध्ययन गर्दै गर्दा पाठकलाई पनि वाल्यकालको मीठो सम्झना आउँछ । कथामा विनिसा र सिम्रनले विश माग्दा पूरा नहुनुको कारण सरलाई सोधेका छन् । यसरी यो कथाबाट नपढी अथवा कडा मेहनत नगरी विश पूरा नहुने कुरा प्रष्ट्याउने प्रयास गरिएको छ ।
डि. आरले अमेरिका पुग्ने पहिलो युरोपेली यात्री क्रिष्टोफर कोलम्बसको जीवनी अत्यन्तै सरल र सहज भाषामा राख्नुभएको छ । कोलम्बसले पृथ्वी गोलो नै रहेछ भने दिशा परिवर्तन नगरि सिधा पश्चिम लाग्दा एसियाली मुलुकहरूमा पुग्ने कल्पना गरेका थिए । त्यस मार्गको खोजीमा लाग्न ठूलो र गतिलो जहाज, रसदपानी , माझी र अन्य सरसामानको लागि प्रशस्त धनराशिको आवश्यक पर्थ्यो । धनराशिका लागि पोर्तुगाली राजाकहाँ जाँदा उनलाई बाैलाहा भने । पोर्तुगाली राजाबाट सहयोग नपाएपछि उनी स्पेन पुगे । त्यहाँका राजा फर्डिनान्डबाट पनि आशा मरेपछि उनलेे भाइलाई वेलायत पठाए । करिब ६ वर्षपछि राजा फर्डिनान्डले कोलम्बसलाई बोलाएर छलफल गरे । धेरैले उनको योजनालाई बेकार भने । रानी इसाबेलाले सहयोग गर्न राजालाई आग्रह गरिन । रानीले आफ्नो गहना नै बन्धकी राखेर यात्राको लागि आवश्यक सरसामानको बन्दोबस्त गर्न लगाइन् । कोलम्बसले तेस्रो पटकसम्म सामुद्रिक यात्रा गरेका थिए । यश बिचमा विभिन्न समस्याहरुको सामना गर्नुपरेको थियोे । निरन्तरको अथक परिश्रमपछि सफलता प्राप्त हुन्छ नै । विद्यार्थी साथीहरूले उनको जीवनीबाट हरेस नखाई कुनै पनि कार्यमा निरन्तर लागिरहने प्रेरणा पाउनेछन् ।
+2 अध्ययन पश्चात् विदेश जाने धेरैको सपना बन्ने गरेको छ । धेरै बुवा आमाको पनि रहर हुन्छ । +2 को प्राप्ताङ्कले कुन देश जाने भन्ने निर्णय विद्यार्थी धेरै छन् । नेपालमा बस्ने बुवालाई अष्ट्रेलियाबाट छोरीको चिठीमा निरज लवजुले बाबाको मुख हेर्ने दिनको शुभकामना रहेको छ । विदेश जाने हुटहुटी र विदेशमा भोग्नुपरेको दुःख अत्यन्तै मर्मस्पर्शी ढङ्गले प्रस्तुत गर्नुभएको छ । पैसाको लोभले गर्दा आमा बिरामी हुँदा समेत अन्तिम पटक भेट्न आउन नसकेको गुनासो गरिएको छ । पत्रमा बाबा आमाको न्यानो काख खोसेर परदेश पुर्‍याउनुमा दोषी को छ बुवा ? भन्ने प्रश्न गरिएको छ ।
नेवार संस्कृतिमा बढी प्रचलनमा रहेको गुफा बस्ने चलनको अनुभव समेटेर पल्पसा रन्जितले “गुफा बसि निस्कँदा” संस्मरणले पुस्तकको ओझ बढाएको छ । देशमा छुवाछूत र अन्धविश्वास अझै व्याप्त छ । भेदभाव मुक्त देश बनाउने घोषणा सहित कानुन निर्माण भएपनि कथित तल्लो वर्गका मानिसहरू समानताको अनुभव गर्न पाएका छैनन् । कथा “बुवा म स्कुल जान्न” शिर्षकमा फागनको चर्को गर्मीमा समेत दलित भएको कारण कालेले पानी पिउन दिउँसो घरमा पुग्नुपर्ने बाध्यता प्रस्तुत गरिएको छ । स्कुलमा आफ्नो साथीहरूले मात्रै होइन शिक्षक वर्गले समेत अछुत व्यवहार गर्ने गरेको सुनाउँछ काले र बाबासँग त्यस्तो स्कुल जाँदिन भन्ने बिन्ती गरेको छ । कम्युनिस्टले मात्रै धनी गरिब, ठुलो जात सानो जातको विभेद अन्त्य गर्न सक्छ भन्थे देशमा कम्युनिस्ट सरकार कहिले आउला भन्दै कालेको बुवा माइलाले सुस्केरा हाल्छ । यो कथा पढेपछि अहिले देशमा कम्युनिस्ट नामको सरकार छ तर व्यवहार कम्युनिस्ट छ छैन विद्यार्थीले बुझ्ने छन् ।
स्वर्गको आगो चोर्ने नायक प्रमिथसको बारेमा पनि पुस्तमा चर्चा गरिएको छ ।
फेरि पलायो प्रचेष्टा शिर्षकमा अघिल्लो अंकको प्रतिक्रिया पनि समावेश गरिएको छ । विद्यार्थीको नाममा ब्रतोल्त ब्रेख्तले लेख्नुभएको कविताले पुस्तकलाई अझै सुनमा सुगन्ध भरेको छ । चाइनिज चलचित्र breaking with Old Ideas को समीक्षा, अध्ययन नै किन ?, विद्यालय तहका विद्यार्थीहरूका कविताहरुले पुस्तकलाई मनोरञ्जनात्मक पनि बनाएको छ । प्रचेष्टा निरन्तर प्रकाशनको शुभकामना सहित प्रकाशकप्रति पुनः एकपटक आभार व्यक्त गर्छु ।