जापानमा नेपालीका दुःखका सारथी हुन्– समाजसेवी रेग्मी

अहिले विश्वमहामारीको रूपमा फैलिएको कोरोना भाइरसले सताएको बेला जापानमा रहेका नेपालीहरुको अवस्था बुझ्ने र सुखदुखमा साथ दिने उनको दिनचर्या रहेको छ । तर उनी यतिमा मात्रै सन्तोष छैनन् । उनलाई आफ्नो देश र जन्मगाउँमा हुर्किएको र बिताएको लामो स्मृति र सम्झनाले सताइरहेको छ । उनको मनमा गाउँघर, छिमेकी, आफन्त र साथीभाईहरूको सम्झना ताजै छ ।

-लिला राना मगर

प्युठानको भिग्रीदेखि जापानको सपना

उनको वास्तविक नाम हो– युवराज रेग्मी । तर साथीभाइहरूले भने उनलाई ‘सोल्टी’ भनेर चिन्दछन् । प्युठानको स्वर्गद्वारी नगरपालिका –३ भिग्रीमा जन्मिएका उनले २०५४ सालमा गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि प्लस टु गरेका हुन् । 

२०५६ सालमा बुबाको मृत्यु भएपछि काठमाडौको बसाइँ र अध्ययन छोडी घर फर्किए उनी । २०५८ सालमा प्युठानबाट बसाइँ सरेपछि दाङको लमहीमा बस्दै आएका उनी रेग्मी घरका एक्ला छोरा हुन् । बुवाको मृत्युपछि उनीमाथि घरप्रतिको जिम्मेवारी बढ्दै गयो । जिम्मेवारी र दायित्व पुरा गर्नु उनको कर्तव्य वन्यो । यही क्रममा उनको सरला पोखरेलसँग बिवाह भयो । गाउँमा नै बसेर करिब ३ बर्षसम्म आफ्नै होटल व्यवसाय सञ्चालन गरेपनि होटलबाट सोँचे अनुसारको आम्दानी नभएपछि २०१० मा जापानमा आफन्तको रेस्टुरेन्टमा कुक भिसामा जापान आए । त्यतिबेला उनी करिव १२ लाखको लगानी गरेर जापान आएका थिए । जापानमा पनि तोकिएजति पारिश्रमिक नदिएपछि अर्को रेस्टुरेन्टमा काम गरे । जापान आएको पाँच बर्ष त जीविकोपार्जनका लागी निकै गार्हो भयो उनलाई । अहिले भने जापानी रेस्टुरेन्टमा काम गर्न थालेपछि खर्चपर्च चलाउन पहिले भन्दा सजिलो भएको उनी बताउँछन् । २०११ मा डिपेन्डेन्ट भिसामा श्रीमती सरलालाई पनि जापान ल्याएर परिवारसँगै बस्दै आएका छन् उनी । रेग्मी दम्पतिका एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन्  ।

राप्ती समाज जापानको स्थापना

२०१३ मा रेग्मीले आफ्नै पहलमा पहिलो पटक जन्मुभूमि राप्तीबाट विभिन्न सिलसिलामा जापानमा आएका राप्तेलीहरुको पक्षमा “राप्ती समाज जापान”को स्थापना गरे । त्यतिबेला विशेश्वर रेग्मीको अध्यक्षमा समाजको गठन भयो । समाजको दोस्रो अधिवेशनले युवराज रेग्मीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । उनी समाजको अध्यक्षमा निर्वाचित भएपछि उनले पाँच लाख बराबरको कोष स्थापना गर्ने योजना बनाएका छन् । आगामी दिनमा कोषलाई एक करोडसम्म पुर्याउने उनको लक्ष्य रहेको छ । यस कोषबाट जापानमा बस्दै आएका नेपाली समुदायमाथि पर्ने समस्याको लागि खर्च गरिने र नेपालमा बस्ने नेपालीहरुको समस्याको लागी पनि खर्च गरिने उनी बताउँछन् ।

जापानमा मगर संस्कृतिको प्रदर्शन

राप्ती समाज जापानको पहलमा जापानमा हरेक बर्ष मनाइने नेपाली फेस्टिवलहरूमा समाजको स्टलसहित नेपाली पहिचान झल्किने उत्पादनहरू, बिभिन्न जाति समुदायका भेषभूषा, नेपाली उत्पादनका सामानहरू, जापानी बजारमा समेत बिक्री गरी नेपाललाई चिनाउने काममा गर्दै आएको छ । त्यस्तै फेस्टिबलमा मगर संस्कृतिमा निकै प्रचलित रहेको परम्परागत भुमे नाँच पहिलो पटक जापानमा पनि प्रदर्शन गर्नुका साथै सोरठी, मारुनी जस्ता मौलिक नाँचहरूलाई समेत उनको पहल र नेतृत्वमा प्रदर्शन गरिदै आएको छ ।

गीत सङ्गीतप्रतिको मोह

रेग्मी यसका अलवा गीत सङ्गीतका पारखी पनि हुन् । उनले फुर्सदका बेलामा गीतहरू लेख्ने गर्दछन् । उनको गीत सङ्गीतप्रति निकै रूची रहेको बताउँछन् । उनले २०१८ मा “सरी भन्छु ए प्यारी !” नामक गीत समेत रेकर्ड गरी बजारमा ल्याएका छन् । उनको यो एल्बमले नेपालीहरूको ध्यान खिचेको छ । त्यसो त उनी सानै उमेरदेखि गीत सङ्गीतप्रति रूचि राख्थे । विभिन्न प्रतियोगितामा भाग लिने र विभिन्न पुरस्कार जितेको सम्झना छ उनलाई । उनी भन्छन्,“स्कूल पढ्दा गीत सङ्गीत प्रतियोगितामा जितेर पुरस्कारको रूपमा कापी, थाल, गिलास जितेको थिएँ ।”

सामाजिक कार्यमा निकै रूची राख्ने रेग्मीले जापानमा अप्ठेरोमा परेका जुनकुनै नेपालीहरुलाई पनि विना सङ्कोच सहयोग गर्दछन् । उनले भावी दिनहरुमा पनि आफु जहाँ रहेपनि नेपाल र नेपालीहरूको हकहितको लागी प्रतिबद्ध रहने बताउँछन् ।

जन्मभूमि गाउँ फर्किने रहर

उनी जापानमा रहेर आफ्नो पेशा व्यवसायसँगै दैनिकजसो जापानमा रहेका नेपालीहरुको सुखदुख बुझ्ने, उनीहरुको सुखदुखमा आवश्यकता अनुसार सहभागि हुने काम उनी गर्दै आएका छन् । अहिले विश्वमहामारीको रूपमा फैलिएको कोरोना भाइरसले सताएको बेला जापानमा रहेका नेपालीहरुको अवस्था बुझ्ने र सुखदुखमा साथ दिने उनको दिनचर्या रहेको छ । तर उनी यतिमा मात्रै सन्तोष छैनन् । उनलाई आफ्नो देश र जन्मगाउँमा हुर्किएको र बिताएको लामो स्मृति र सम्झनाले सताइरहेको छ । उनको मनमा गाउँघर, छिमेकी, आफन्त र साथीभाईहरूको सम्झना ताजै छ । उनी भन्छन्–“ आफ्नै देश र जन्मभूमि प्युठान फर्किएर समाजसेवा गर्ने र बाँकी जीवन बिताउँछु ।” उनको गाउँ फर्केर समाजसेवा गर्ने रहरले देशको मायालाई झल्काउँछ । त्यसो त उनी जहाँ रहेपनि आफ्नै गाउँठाउँ र नेपालीहरुका लागी नै आफूलाई सामाजिक सेवामा समर्पित गर्दै आएका छन् । मातृभूमिप्रतिको उनको यो अगाढ माया र सद्भाव साँच्चिकै अनुकरणीय छ ।

०००

(लिला राना मगर जापान रहेर विभिन्न विधामा कलम चलाउदै आएकी छन् ।)

अप्रिल २०, २०२० जापान ।