नेकपामाथिको प्रतिबन्ध, फासीवादको अभ्यास

टिप्पणी/ ओली प्रचण्ड नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको ८ महिना पुरा भएको छ । २०७५ फाल्गुन २८ गते साँझ मन्त्रीपरिषद्को निर्णयसहित सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । ओली सरकारको यो राष्ट्रघाती तथा जनघाती कदमको आज सर्वत्र विरोध र झण्डाफोर भइरहेको छ । आफूलाई कम्युनिष्ट सरकार भन्न रुचाउने ओली–दाहाल सरकारले विप्लव नेतृत्वको नेकपामाथि किन प्रतिबन्ध लगायो भनेर व्यापक चर्चा र तर्कवितर्क भइरहेको छ ।

ओली प्रचण्ड सरकारले नेकपामाथि प्रतिबन्ध मात्र लगाएन, एक महिनाभित्रमा खुरुखुरु आएर हतियार नबुझाए सिध्याउने भनेर समयसीमा समेत तोकेको थियो । तर ८ महिनासम्म हुँदा पनि न त सरकारले सिध्याएको छ, न त नेकपाको राजनीतिक गतिविधि रोकिएको छ ।
कुनै पनि घटना परिघटना विनाकारण घटित हुदैनन् । त्यसका पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यमान रहेका हुन्छन् । माक्र्सवादी द्वन्द्ववादको सार्वभौमा नियम पनि यही नै हो । केपी–प्रचण्डको सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनुका पछाडि निश्चित कारणहरु विद्यमान रहेका छन् ।

केपी–प्रचण्डको सरकार ऐतिहासिक झापा विद्रोहबाट भागेर आएका झापा विद्रोहका भगौडाहरु र महान् दश वर्ष जनयुद्धबाट भागेर साम्राज्यवाद तथा विस्तारवादका सामु आत्मसमर्पण गरेर जनयुद्धबाट प्राप्त सम्पूर्ण उपलब्धिहरु प्रतिक्रियावादीहरुलाई बुझाएर प्रतिक्रियावादी क्याम्पमा विलय हुन पुगेका दश वर्षे जनयुद्धबाट भागेका माओवादी भगौडाहरु मिलेर बनेको प्रतिक्रान्तिकारीहरुको प्रतिक्रियावादी सरकार हो ।

प्रतिक्रान्तिकारीको चरित्र फासिस्ट तथा फासीवादी हुन्छ । एउटा कालखण्डमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेर आएकाहरु अर्को कालखण्डमा कम्युनिष्ट पार्टीको झण्डा हल्लाउँदै र कम्युनिष्टको जामा पहिरिएकाहरुको राजनीतिक चरित्र एउटा हातमा कम्युनिष्ट पार्टीको झण्डा र अर्को हातमा देशमा क्रियाशील कम्युनिष्ट क्रान्तिकारीहरुमाथि भीषण दमन गर्ने अस्त्र बोकेर दमनमा उत्रिइरहेका छन् ।
चरम अवसरवाद, निराशा कुष्ठा, पलायन आदि कारणले प्रतिक्रान्तिकारीहरु दक्षिणपन्थी संशोधनवादी, नवशंसोधनवादी बाटोहुँदै प्रतिक्रियावादमा पतन हुन पुगेका हुन्छन् र उनीहरु शोषक वर्गमा रुपान्तरण भइसकेका हुन्छन् । उनीहरु प्रतिक्रियावादी वर्गकै सेवा र चाकरी लिप्त भएर लागेक हुन्छन् । उनीहरुसित जनता र राष्ट्रप्रति कुनै पनि मोह हुँदैन । त्यसो भएर उनीहरु ज्यादा राष्ट्रघाती र ज्यादा जनघाती चरित्रका हुन्छन् र मालिकले अह्राएको काम गर्ने गर्दछन् ।

वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै निश्चित सिद्धान्त, दर्शन भएको पार्टी होइन । झापा विद्रोह हुँदै संसदवादमा फसेर प्रतिक्रियावादी कितामा दर्ज भएर प्रतिक्रियावादी सत्ता सञ्चालन गर्दै आएको तत्कालीन नेकपा(एमाले) र दशवर्षे जनयुद्धहुँदै शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात् दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै वर्गीय रुपमा समेत आत्मसमर्पण गरेर वेलाबखतमा प्रतिक्रियावादी सत्ताको स्वाद चाख्दै सत्ता र भत्ता प्राप्तिको लक्ष्य बोकेर एमालेमा बिलय भएको तत्कालीन नेकपा (माके) मिलेर बनेको भगौडाहरुको सरकार हो ।
त्यसैले यो सुधारिएकोे पञ्चहरुको सरकारभन्दा भिन्न सरकार होइन । किनभने, सरकारमा जानका निम्तिमात्रै एमाले र माकेका बीचमा पार्टी एकताको नाटक मञ्चन गरिएको थियो । पार्टी एकताका लागि निश्चित सिद्धान्त, निश्चित विचार हुन्छ । त्यस विषयमा कुनै छलफल र बहसबिना नै सरकारमा बहुमत ल्याउनका लागि नै पहिले चुनावी एकतापछि पार्टी एकताको नाटक मञ्चन गरिएको थियो ।
यो सरकार फासीवादी सरकार हो । सत्तामा पुगेपछि क्रान्तिकारीहरुलाई सखापै पार्ने लक्ष्य हुन्छ उनीहरुको । उनीहरुसित, उदाहरणका लागि, चीनमा माओसेत्तुङको मृत्युपछि सत्तामा पुगेका देङप्रति क्रान्तिकै गुटले ‘ग्याङ अफ फोर’का चारै जना नेताहरुलाई गिरफ्तार गरेर जेलझै सखाप पारेको इतिहास विश्वसामु साक्षी छ ।