बुटवल–भैरहवा ६ लेन सडकमा गौतम बुद्धको मूर्ति अनावरण

रुपन्देही/बुटवल–भैरहवा ६ लेन सडकको बीचमा बुद्धको मूर्ति राखिएको छ । गौतम बुद्ध जन्मिएको अन्तर्राष्ट्रिय रुपमा परिचित लुम्बिनी क्षेत्रलाई पर्यटकहरुको आकर्षण गराउनका लागी तिलोत्तमा नगरपालिकाले “ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा”को नारा सहित बुद्ध मूर्ति स्थापना गरेको हो ।

सडकको वगैचामा बुद्धको मूर्ति स्थापनाले लुम्बिनीको प्रचारप्रसारलाई सहयोग पुग्ने विश्वास गरिएको छ । प्रदेश सरकारले २०७६ लाई पर्यटन बर्ष रुपमा मनाउने तयारी गरिरहेको बेला तिलोत्तमा नगरपालिकाले बुद्धको मुर्ति स्थापना गरेको हो ।

बुद्धको मूर्तिको पर्यटन तथा संस्कृति मन्त्री लिला गिरिले एक कार्यक्रमका वीच अनावरण गरेका हुन् । मन्त्री गिरीले तिलोत्तमा नगरपालिकाले प्रदेश सरकारको लुम्विनी भ्रमण वर्ष मनाउने अभियानलाई सहयोग पुग्ने गरी तयारी गरेकोमा खुसी ब्यक्त गरे। मन्त्री गिरिले बुद्धको मूर्ति स्थापनाले बुद्धको दर्शन र लुम्बिनीको पर्यटन प्रवद्र्धनलाई सहयोग गर्ने बताए ।

बुद्धको मूर्ति तिलोत्तमा नगरपालिकाको योगीकोटीदेखि मंगलापुरसम्मको ७ किलोमिटरको दुरीमा २० वटा मूर्ति राखिने बताइएको छ । तिलोत्तमा नगरपालिकाले यस वर्षको बजेटबाट मूर्तीहरु निर्माण गरी सडकको मध्यभागमा राख्ने कार्यका लागि ५० लाख रुपैया बिनियोजन गरेको जनाएको छ।