२०७५ निराशाको बर्ष :‘समृद्वि’ बन्यो माफियाहरुको नारा

समाचार टिप्पणी/ ०७५ साल समग्रमा निराशाको वर्ष रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्र विवादरहित हुन सकेनन् । तीनवटा स्थानीय तहको चुनावले वैदेशिक ऋण आकासियो । गाउँ गाउँमा सिंहदरवारको नाउँमा भ्रष्टाचार, महङ्गी र बलात्कारले शिखर चुम्यो । अपरकर्णाली, बुढीगण्डकी लगायत नदीनालामा राष्ट्रघात भयो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या विकराल बन्यो ।

माओवादी केन्द्र एमालेमा विलय

माओवादी केन्द्र एमालेमा विलय भयो । नेपाली राजनीतिमा यो तहको अवसरवाद इतिहासमा बिरलैमात्र देखिएको थियो । राजनीति सिद्धान्तहिनताको लिकबाट बाहिर गएको सर्वत्र महसुस गरियो । सत्ता राजनीतिको लागि एकतालाई ‘वामपन्थी एकता’ को नाम दिएर उनीहरूले वामपन्थी शब्दमाथि फोहोर फाल्ने गल्ती गरे । वास्तवमा उनीहरूबीचको एकता न वाम एकता हो न नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएको हो । बरू एमाले र माओवादी दुवै दल मिलेर नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी खेमालाई बलियो बनायो । र, माकेको एमालेमा विलय थियो । यसले माओवादको बदनाम गरिरहेको माकेको एमालेमा विलयले क्रान्तिकारीहरुका खुसी थप्यो ।

सीके राउतसंगको सम्झौता, नेकपामाथि प्रतिबन्ध
२०७५ साल फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सीके संयोजक राउतसँग ११ बुँदे सम्झौता गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्र्याउने अभियानमा लागेका राउतसँग भएको यो सम्झौता नेपाली जनताका लागी दुखद् रह्यो । तर देशको स्वाधीनता र जनताको पक्षमा आन्दोलन गर्दै आएको विप्लव नेतृत्वको नेकपामाथि ओली प्रचण्ड सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएर राजनीतिक स्वतन्त्रतामाथि हमला गर्यो । यी दुवै निर्णयले द्वन्द्व निम्त्याएको भन्दै चिया पसलदेखि संसदको प्रतिपक्षी र सत्तापक्षबाटै पनि चर्को आलोचना भयो । प्रतिबन्धपछि नेकपाका स्थायी समिति सदस्य एवं मध्यकमाण्ड इन्चार्ज सुदर्शन, पिविएम जीवन्त, सिसिएम विजय श्रेष्ठ, बन्धु चन्द लगायत ५ भन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गर्यो । प्रधानमन्त्री केपी ओलीले हतियार बुझाएर वार्तामा नआए चैतभरमा विप्लवलाई समेत पक्रने अभिव्यक्ति दिए । नेकपाले वैशाख ५ गते नेपाल बन्दको आयोजना गर्दै त्यसपछि ओली सहभागि जिल्लाहरुमा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गर्यो ।

वाइडबडी प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख घोतला
नेपाल वायुसेवा निगमले किनेका दुईवटा वाइडबडी जहाज खरिद र त्यसमा भएको भ्रष्टाचार प्रकरण २०७५ मा निकै चर्चा पायो । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्षसहितको प्रतिवेदन पुस १८ मा आएपछि यसको चर्चा र आलोचना भएको हो । वाइडबडी जहाज खरिदमा बहालबाला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गर्दै कारबाहीको सिफारिस गर्यो । तर यो घटनामा संलग्नलाई कारबाही भने अझै भएको छैन । यद्यपि अख्तियारले यसबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

लुट्नसके लुट कान्छा…
सामाजिक विसङ्गति, संस्कार र राजनीतिक जालझेलप्रति कटाक्ष गर्दै लोकगायक पशुपति शर्माले फागुन पहिलो साता ‘लुट्न सके लुट…’ गीत सार्वजनिक गरे । जुन गीत भ्रष्टहरुका लागी अपाच्य बन्यो । सरकारी नेकपा निकट युवा संगठनले त्यसको तीव्र विरोध गर्यो । युवा संघको धम्कीपछि शर्माले युट्युबबाट हटाए । सरकारले औपचारिक रूपमा केही नभने पनि सत्तासीन नेकपा सम्बद्ध सङ्घसंस्थाले विज्ञप्ति नै निकालेरै गीत र पशुपतिलाई बहिष्कार गर्न आह्वान गरे । त्यस घटनापछि अभिव्यक्ति स्वतन्तत्रतामाथि अङ्कुश लगाएको भन्दै सरकारको आलोचना र शर्माको एकाएक चर्चा चुलियो ।

होलीवाइन र एसिया प्यासिफिक सम्मेलन
मङ्सिर दोस्रो साता नेपालमा भएको ‘एसिया प्यासिफिक समिट, २०१८’ सम्पन्न नहुँदै विवादमा तानियो । प्रधानमन्त्री केपी ओलीले उद्घघाटन गरेको समिटलाई ‘धर्म प्रचार’ गर्ने माध्यम भन्दै चर्को आलोचना भयो । सरकारी नेकपाका नेताहरु होली वाइन खान लाइन लागेपछि कथित कम्युनिष्टको उदाङ्गो भयो । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ) युनिभर्सल पिस फेडरेसन–नेपाल (यूपीएफ–नेपाल) मुख्य आयोजक रहेको यो समिटमा विश्वका ४५ देशबाट १ हजार ५ सयभन्दा बढी पाहुना सहभागी भएका थिए । समिटमा सहभागी हुन ७ देशका राष्ट्र तथा सरकार प्रमुख र ५ सयभन्दा बढी मन्त्री तथा सांसदहरु काठमाडौं आएका थिए ।
विवादास्पद आईएनजीओको निमन्त्रणामा आएका विदेशी पाहुनालाई सरकारले स्वागत सत्कार गरेपछि र आईएनजीओले नेपाल सरकारलाई सह–आयोजकको दर्जा प्रदान गरेपछि यो समिट थप विवादमा तानियो र यसको उद्देश्यमाथि पनि प्रश्न उठ्यो ।

निर्मला पन्तको बत्लाकार र ३३ किलो सुन काण्ड
कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भयो । हत्याराको पहिचान र कडा कारबाहीको माग गर्दै सडकदेखि सदनसम्म आन्दोलन भयो । उक्त घटनापछि निर्मलाका बाबुआमा महिनौँसम्म अनसन बसे । घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारी र अन्य गरी झण्डै एक दर्जन छानविन समितिहरु बने । तर अहिलेसम्म बलात्कारी पक्राउ परेको छैन । उल्टै उच्च पदस्थ व्यक्तित्वहरुबाटै घटना भएको र तथ्य लुकाइएको भन्दै सर्वत्र आलोचना भएको छ । ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या २०७४ कै घटना भए पनि २०७५ मा यसबारे व्यापक अनुसन्धान र खोजबिन भएको बताइए पनि त्यो अझै पत्ता लागेको छैन ।

एनसेलमाथिको कारवाही
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बहुराष्ट्रिय कम्पनी एनसेलले ७४ अर्ब भन्दा बढी कर राज्यलाई नतिरेको भन्दै कारवाही गर्यो । पटक पटक कर तिर्न एनसेललाई दवाव दिदै आएको नेकपाले कर नतिरेपछि देशैभर एनसेलका टावरमाथि एकैपटक हमला गर्यो । नेकपाका महासचिव विप्लवले विज्ञप्ती जारी गर्दै एनसेलको संरक्षक र कमिसनखोरलाई पनि कारवाही गर्ने चेतावनी दिए ।

हेलिकप्टर दुर्घटना
२०७५ साल फागुन महिनामा नेपालले एक होनहार युवा नेता तथा मन्त्री गुमायो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । तेह्रथुमको चुहानडाँडामा विमानस्थल क्षेत्र अवलोकन गर्न पुगेको यो टोली बीचमै पाथिभरा ओर्लिएर उड्ने क्रममा यो दुखद् घटना हुन पुग्यो । भ्रमण वर्ष मनाइरहेको नेपालमा विभागीय मन्त्री नै हवाई दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमा त्यसको गलत सन्देश प्रवाह भयो । उक्त दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरेन्द्रप्रसाद श्रेष्ठ, धु्रव भोछिभया, उपसचिव युवराज दाहाल, मन्त्रीका पीएसओ जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

जोशी प्रधानन्यायाधीशमा अस्वीकृत
न्यायाधीश दीपकराज जोशी न्यायालयको इतिहासमा संवैधानिक परिषद्बाट सिफारिस भएर पनि प्रधानन्यायाधीश हुन पाएनन् । संसदीय सुनुवाइ समितिले १८ साउनमा उनको प्रधानन्यायाधीश हुन अस्वीकृत गर्यो । जोशीलाई प्रधानन्यायाधीश जस्तो गरिमामय पदको जिम्मेवारी दिन उपयुक्त हुने कुनै पनि आधार नपाएको भन्दै समितिले जोशीको नाम अस्वीकृत गरेको हो ।

सेना सहित मोदीको धार्मिक भ्रमण, चौतर्फी आलोचना
धार्मिक भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । वैशाख २८ गते शुक्रबार बिहान एयर इन्डियाको विमानमार्फत उनी सीधै जनकपुर आएका थिए । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । त्यसपछि मोदीले जानकी मन्दिरमा पूजा गरेका थिए । उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने काठमाडौँ विमानस्थलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले । जानकी मन्दिरबाट दुवै देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवाको शुभारम्भ गर्नुका साथै रामायण सर्किटको उद्घाटन गरेका थिए । भारतीय सेना सहित आएका प्रधानमन्त्री मोदीको भ्रमण सर्वत्र आलोचना बिषय बन्यो ।

अख्तियारकै आयुक्त घुष प्रकरणमा मुछिए
भ्रष्टाचारीमाथि निगरानी गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त नै घुस लिएको भिडियो सार्वजनिक भयो । आयुक्त राजनारायण पाठकले आफूले २ किस्ता गरेर ७८ लाख र भाइमार्फत १५ लाख गरी ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो । यो घटनापछि पाठकले राजीनामा दिए । उनको राजीनामापछि अनुसन्धान भए पनि मुद्दा गुपचुपमै राखियो । पाठकमाथिको कारबाही के हुँदैछ भन्ने हालसम्म बाहिर आइसकेको छैन ।

लगानी सम्मेलन
चैत १५ र १६ मा नेपालमा दास्रो लगानी सम्मेलन सम्पन्न भयो । जसमा सरकार र निजी क्षेत्रले प्रस्तुत गरेका ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । सम्मेलनमा १५ वटा परियोजनामा समझदारीसमेत भएको छ । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ वटा गरी ७७ परियोजना ‘सोकेस’मा राखिएको थियो । २१ अप्रिलसम्म आवेदन दिने समय छुट्याइएको छ । ४० देशका करिब ७ सय लगानीकर्ता सम्मेलनमा सहभागी भए । सरकारले अपेक्षा गरेअनुसार लगानीको प्रतिबद्धता भने नआएको टिप्पणी भयो ।

बालुवाटार जग्गाकाण्ड, माफिया कनेक्सन र बिष्णु पौडेल
केही दिन अगाडी बालुवाटारको सरकारी जग्गा भूमाफियाहरुले कब्जा गरेको समाचार सार्वजनिक भयो । उक्त जग्गा कब्जा गर्नका लागी भुमाफियालाई सहजीकरण सरकारी नेकपाका महासचिव एवं रुपन्देहीबाट निर्वाचित सांसद विष्णु पौडेल भूमिका खेलेको समाचार सर्वत्र छायो । उक्त कुरा पौडेलले खण्डन गरेपनि छानविन जारी रहेको बताइएको छ । वरिष्ठ नेता माधव नेपालको नाममा जोडिएपछि यो घटना थप रहस्यमय बनेको छ ।

‘समृद्धि’ बन्यो माफियाहरुको नारा
डबल नेकपाले चुनावी अभियानमा ‘विकास र समृद्धि’ को नारा उरालेको थियो । नेताहरू भाषणमा भन्थे, “अब राजनीतिक क्रान्ति सकियो, अबको युग आर्थिक क्रान्तिको युग हो ।” कुनै पनि कम्युनिष्ट पार्टीको लक्ष्य भनेको समाजवाद र साम्यवादी समाज निर्माण गर्नु हो । पुँजीवादी क्रान्तिले समेत पूर्णता नपाइसकेको अवस्थामा आफूलाई कम्युनिष्ट दाबी गर्ने दलका नेताहरूले ‘राजनीतिक क्रान्तिको युग समाप्त’ भएको कुरा गर्नु भ्रमको खेतीबाहेक केही थिएन । कम्युनिष्ट पार्टीले समाजवादी र साम्यवादी व्यवस्था स्थापना नहुँदासम्म राजनीतिक क्रान्तिको दिशा छोड्न सक्दैन । जसले छोड्छ, त्यो कम्युनिष्ट पार्टी होइन । डबल नेकपाजस्तै कम्युनिष्टको खोल लगाएको पुँजीवादी पार्टीले मात्र त्यस्तो तर्क गर्नसक्छ । नेकपाले विकास र समृद्धिको नारा लगाएर चुनावमा सुविधाजनक बहुमत हासिल ग(यो । तर, चुनावी सफलतालाई नै कुनै पनि कम्युनिष्ट र क्रान्तिकारी पार्टीले अन्तिम सत्य मान्न सक्दैन ।

ओलीले सरकारको पहिलो प्राथमिकता विकास र समृद्धि भएको भन्दै विभिन्न स्थानमा आफ्ना मन्तव्यहरूमा अनेकथरी आश्वासन र योजनाका कथा बुने । पानी जहाज, रेल देखि घर घरमा ग्याँस पाइपको कुरा गरे । प्रमका ती योजना सुन्दा मज्जा लाग्ने र नेपालको वास्तविकतासँग मेल नखाने खालका थिए । दुर्गम नेपालका जनता सुविधासम्पन्न स्वास्थ्य चौकी नभएर रोगी जीवन बिताउन बाध्य छन् । तर, प्रमले घर–घरमा ग्यासको लाइन पु-याउने भाषण दिंदा सरकार आफै गफाडीको गफ जस्तै बन्दै गयो । प्रमले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक कार्यक्रममा भ्रष्टाचारको अनुहार हेर्न नसक्ने बोल्दै गर्दा उनकै मन्त्रिमण्डलका मन्त्रीहरू भ्रष्टाचार काण्डमा मुछिएका समाचार खुलासा भइरहेका थिए । हालैमात्र प्रम निवास बालुवाटारकै जग्गा व्यक्तिको नाममा नामसारी भएको समाचारमात्र प्रकाशनमा आएन, बरू नेकपाका महासचिव विष्णु पौडेलसमेत यस्तो काममा संलग्न भएको खुलासा भयो । त्यसकारण सरकारको समृद्धिको नारा माफियाहरुको सत्ता बचाउने नारा बन्न पुग्यो ।