बादल फाटेको रात

अहिलेसम्म देशविदेशका गरी झण्डै ६५ वटा विभिन्न सामाजिक संघसंस्था,राजनीतिक दल र व्यक्तिहरुले मानवीय सेवाको उच्चतम भावना व्यक्त गर्दै विशाल मानव हृदय खोलेर राहत संकलन र पहिरो प्रभावित क्षेत्रमा पुग्ने र पु-याउने काम गर्नुभएको छ । उहाँहरुको विशाल मानव हृदयलाई सलाम गर्नै पर्दछ । संकटको वेला एकजुट हुने नेपालीहरुको परम्परा नै हो । जहाँ संकट परेको छ त्यहाँ हरेक नेपालीको सहयोगी मनको नाता जोडिन्छ ।

–जीतु तरामु मगर

२०७६ साउन ७ गते विहान हाम्रो पुस्ताकै लागि कहालीलाग्दो विनासकारी विहान वनेर झुल्कियो । एकै रात एकै समय विहान करिव साढे ३ वजेको वरीपरि १३ जना मानिस र झन्दै ५ सय पशुचौपायाको जीवनहरण गरेर झुल्कियो त्यो कारुणीक विहान । निकै कहाली लाग्दो समय । पहिरो नगएको कुनै ठाउँ छैन । वरीपरी तल माथी सवैतिरबाट पहिरोले घेरावन्दी गरेको कहालीलाग्दो त्यस समयमा पनि एकले अर्कालाई उद्वार गर्ने स्थानीय युवाहरु महिलाहरुको अदम्य शाहस प्रकट भएको क्षण । आफ्नै आँखा अगाडी हेर्दा हेर्दै छिमेकीलाई घरसंगै वगाएको कारुणीक त्यो दृष्य । गोठसंगै वगेका पशुचौपायाँको चित्कार लेखि साध्य छैन, भनि साध्य छैन ।

सयौं मानिस हजारौं पशुचौपायाँको जीवन अस्तव्यस्त पार्दै दर्जनौं सडक सञ्जालहरु, दर्जनौं खानेपानीका मुहान र पाईपलाईनहरु, सयौं बालबालिकाहरुको भविष्य उज्यालो वनाउँदै आएको सिद्ध प्रा.वि. भवन, सिंचाई कूलो सयौं हेक्टर खेतबारी र त्यहाँ उत्पादन हुने अन्नवाली क्षतविक्षत पार्दै आएको प्राकृतिक प्रकोप पहिरोले विकासको तीव्र गतीमा अघि वढेको सुन्दर ठूलोलुम्पेकको गाउँ वस्ती एकाएक खण्डहरमा रुपाण्तरित भएको प्रलयकारी त्यस रात सम्झिन लायक छैन । त्यस रात ठूलोलुम्पेक र लिम्घाको आकाशमा एकमेलो झन्दै ३.५ किलोमिटर लामो क्षेत्रमा “बादल फाटेको” हुनसक्छ, भन्छन् बुढापाकाहरु । एक ठाउँमा फुटेर चुहिने भएको भरी गाग्रोको पानी चुहिए जसरी आकाशबाट ६ गते साँझ ५ वजे देखि लगातार ७ गते विहान ६ वजे सम्म एउटै गतीमा एउटै स्केलमा वेगशाली मुसलधारे पानी दर्काई । आमाहरुले भने जस्तै आरीबाट पानी घोप्टाए जस्तो । ७ गते विहान ३ वजेतिरबाट सवैतिर पहिरो जान शुरु भयो। एकै समयमा पहिरोले घर भत्काउँदा सत्यवती गाउँपालिका वडा नंं. ३ ठूलोलुम्पेकको कसिन्थलामा २ जना आमा छोरा, कुरहमा परिवारको एक जना अभिभावक र सिंदीका आमाछोरा गरी ५ जना र लिम्घामा ३ घर परिवारका ८ जनाको जीवन लिला समाप्त पारेर लग्यो । सयौ घरपरिवार विस्थापित हुनु प-यो । दर्जनौ घरपरिवार घरवार विहिन हुनुप-यो । लाखौंलाख सम्पत्तिका मालिक क्षण भरमै सुकुम्वासी हुनु परेको त्यो पीडा शव्दमा व्यक्त गर्न सम्भव छैन । त्यो एक लाईनमा भन्दा विनासकारी घटना थियो ।

हुने हार दैव नतार जे हुनु थियो भैहाल्यो । प्राकृतिक विपत्ती आईलागे पछि सवै भन्दा पहिलो काम उद्वार गर्ने काम भयो । जस अन्तर्गत घर भत्किएर पुरिएका मानिसलाई निकाल्ने र घाईतेहरुको उपचारको व्यवस्था मिलाउने काम भयो । त्यसपछि पहिरोमा फसेका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भयो । यो निकै जोखिमपूर्ण र चुनौतिपूर्ण काम थियो । यस कार्यमा सवै भन्दा पहिले स्थानीय साहसीक युवा तथा महिलाले सहभागिता जनाए भने सरकारका ३ वटै सुरक्षा निकायका सुरक्षाकर्मीको टोली पनि तम्घासबाट विहानै आईपुग्यो र उद्वार कार्यमा तत्काल लागि हाल्यो । उनिहरुको काम गर्ने तरिका नै वेग्लै फटाफट । सवैभन्दा महत्वूर्ण कुरा त उनिहरुको वर्दीले मात्रै पनि समस्यामा परेका व्यक्तिहरुको आत्मवल वृद्धि गर्दाेरहेछ भन्ने अनुभूति गर्न सकिन्थ्यो । उद्वार पछि व्यवस्थापनको चरण निकै चुनौतिपूर्ण हुन्छ । यो चरण स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवीहरु, राजनीति कर्मीहरु, सामाजिक संघसंस्थाहरुको क्षमताको परिक्षा हुने चरण । विस्थापितहरुका लागि तत्काल सुरक्षित वास र गासको व्यवस्था मिलाउनु पर्ने चुनौती । भरखर असार मसान्तले गिजोलेर छोडेको समय । माझ वर्खा छ, गाउँघरमा / पसलमा संचित गरेको खाद्यान्न छैन । त्यसै पनि लुम्पेक चिसो हावापानी भएको पहाडी गाउँ प्रशस्त ओढ्ने कम्वल, क्लांकेट र सिरकहरुको अभाव । अभावैअभाव । जसोतसो खाद्यान्न र लत्ताकपडाको जोहो गर्दै जाँदा आजको डिजिटल युगमा हातहातमा ईन्टरनेट र मोवाईल छ जसको सहाराबाट घटनाको प्रचारप्रसार भैसक्यो । तत्कालै घटनाको राष्ट्रियरकण मात्र होईन, विश्वव्यापी वन्यो र यसमा मोफसल लगायत राष्ट्रिय स्तरका मिडियाहरुले विशेष योगदान गरेको छ । राहतका लागि अभियान देशविदेशमा वस्ने नेपाली दाजुभाई दिदीवहिनीहरुले चलाउनु भयो ।

परराष्ट्र मन्त्री मा. प्रदिप ज्ञवाली ज्यु खवर सुन्ने वित्तिकै हेलिकप्टरमा टेन्ट र खाद्यान्न लिएर पहिरो प्रभावित क्षेत्रमा आउनु भयो । तर प्रतिकूल मौसमको कारण ठूलोलुम्पेकमा हेलिकप्टर ल्याण्ड हुन सकेन र घाईते नानीहरुको उपचारको लागि काठमाडौं लैजाने तयारी पुरा हुन सकेन । लगत्तै अर्काे दिन पुन मा. प्रदिप ज्ञवाली खाद्यान्न लिएर आईपुग्नु भयो र घाईते नानीहरुलाई काठमाडौंमा उपचारका लागि लगेर जानु भयो भने ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री मा. सुदर्शन वराल मगरको टोली स्थलगत अवलोकनका लागि अस्लेवाको चौरबाट पैदल यात्रा गरी ७ गते राती ११ वजे ठूलोलुम्पेक पुग्नु भयो । उहाँले ल्याउनु भएको औषधी, तिर्पाल, कमवल, भाँडाकुडा जस्ता राहतको सामाग्री मोटरबाटो क्षतविक्षत भएको कारण लुम्पेक पु-याउन सकिएन । सिडियो कार्यालय मार्फत तत्काल मोटरबाटो मर्मत गरी लुम्पेक सम्म राहतको सामाग्री पु-याउन सहज होस भनेर डोजर पठाउने काम त भयो तर मौसमले साथ दिएन । मौसम खुलेपछि सिडियो सापको टोली राहत लिएर हेलिक्पटरमार्फत प्रभावित क्षेत्रमा आउनु भयो । राहत संकलन र वितरण प्रणालीलाई पारदर्शी र सहज वनाउनको लागि एकद्वार प्रणाली अपनाउने निर्णयका साथ वडा अध्यक्षको नेतृवमा सर्वपक्षिय वडा स्तरिय विपद व्यवस्थापन तथा राहत संकलन समिति गठन गरियो । समितिको कार्यविभान गरी व्यवस्थापनको कामलाई चुस्त वनाउने काम भएको छ । राहत संकलनलाई सजिलो वनाउनका लागि ठूलोलुम्पेक र लिम्घामा वडा स्तरिय समिति गठन गरेर बैंक खाता खोलेर राम्रो गरियो । यद्यपी वडा स्तरिय खातामा जम्मा भएका नगदको खर्च भने गाउँपालिकाको कोषमा जम्मा गरी एकैद्वारबाट गरिने छ ।

व्यवस्थापन भएको सवल पक्ष :
– स्थानीय जनता र राजनीतिक दलहरु एकजुत भई मानविय संवेदनामा एकीकृत भोलिन्टीयरको रुपमा खटेको ।
-पूर्णरुपमा क्षेति भएका १८ घर परिवार तथा उच्च जोखिममा परेका घर २९० परिवारलाई सुरक्षित वास स्थान र खानाको व्यवस्था गरिएको ।
– राहत वितरण र वास व्यवस्थापनमा निस्पक्ष रुपमा पारदर्शी ढंगले काम भईरहेको ।विभिन्न संघसंस्थाले प्रदान गरेका राहत सामाग्री र नगद सहयोगको ईन्ट्री र वितरणको विवरण श्रेष्टा पारदर्शी ढंगबाट राखिएको ।
– सरकारी सुरक्षाका ३ वटै निकायको उपस्थितिमा स्वास्थ्य कर्मी डाक्टरद्वारा घटनास्थलमै मृतकको पाष्टमार्टम गराईएको ।
– फेसबुक र जिल्ला स्थित पत्रकार, संवाददाता, जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति, वडा स्तरिय विपद व्यवस्थापन समिति, नागरिक समाजको सक्रियतामा आशा गरेभन्दा बढी राहत संकलन गर्न सफल ।
– सरकारको तर्फबाट माननीय मन्त्री ज्यूहरु, सांसदहरुको निरन्तर सम्पर्क,उपस्थिति र सहयोग प्राप्त गर्न सफल ।

व्यवस्थापनमा भएका समस्या र चुनौति :
-पूर्ण क्षेति भएका घरपरिवार र घरमा कुनै क्षेति नभएको तर भौगोलिक कारणले त्यो घरमा वस्न नसकिने घरपरिवारहरुको लागि पुनःस्थापना नहुँदासम्म अस्थायी बास स्थान वनाउने पर्याप्त खुल्ला र सुरक्षित स्थान नभएको ।
– पूर्ण क्षेति नभएको तर नजिकै पहिरो भएको कारण मनोवैनिक त्रासले घरमा वस्न नसकेर विस्थापित भएकाहरुलाई मनोवैज्ञानिक उपचार गरी पुनर्वास गराउने समस्या । राजनीतिक दलहरुले मानवीय संवेदनामा राजनीति नगरुन भनेर निकै सतर्कता अपनाईए पनि अमुक राजनीतिक दलले पिडीत परिवारको क्याम्पमा गई औपचारि सभा जस्तो गरी राजनीतिक भाषणवाजी गरेको, आफसमा आशंका गरी दरिद्र मानसिकता प्रदर्शन हुँदा भोलेन्टीयरहरुलाई कन्फ्युजनमा पारेको ।
-विस्थापितहरुलाई विद्यालयहरुमा राखिएको छ तर अव विद्यालय संचालन गर्ने समय आएकोले तत्काल अस्थायी वास स्थानमा सार्नु पर्नेछ तर हामी संग पर्याप्त टेन्ट, वा तहरा छैन ।
-सोही वडामा सुरक्षित र पर्याप्त सरकारी जग्गा नभएकाले व्यक्तिको जग्गा किनेर केहीलाई लुम्पेकमा र केहीलाई छिमेकी वडा अस्लेवामा राख्ने वा तराईमा जग्गाको व्यवस्थापन गरी एकीकृत वस्ती निर्माण गर्ने भन्नेमा सहमति जुटाउने समस्या ।

अहिलेसम्म देशविदेशका गरी झण्डै ६५ वटा विभिन्न सामाजिक संघसंस्था,राजनीतिक दल र व्यक्तिहरुले मानवीय सेवाको उच्चतम भावना व्यक्त गर्दै विशाल मानव हृदय खोलेर राहत संकलन र पहिरो प्रभावित क्षेत्रमा पुग्ने र पु-याउने काम गर्नुभएको छ । उहाँहरुको विशाल मानव हृदयलाई सलाम गर्नै पर्दछ । संकटको वेला एकजुट हुने नेपालीहरुको परम्परा नै हो । जहाँ संकट परेको छ त्यहाँ हरेक नेपालीको सहयोगी मनको नाता जोडिन्छ । विपदमा परेकाहरुलाई मात्र होईन, सिंगो ठूलोलुम्पेकी र लिम्घेली जनतालाई ठूलो ऋण लागेको छ, हामीलाई आपत पर्दा जसरी देशविदेशका नेपालीहरु एकजुट भए ती स्थान र समुदायमा संकट पर्दा हामीले त्यो सदासयता र उपस्थिति पुरा गर्न सक्छौ कि सक्दैनौं, अवस्य सकिन्छ र सक्नुपर्दछ ।

प्राकृतिक विपत्तीलाई सामना गर्ने बाहेक रोक्ने ताकत यदि मानवजातीले आर्जन गरेको भए यस्ता घटना हुने नै थिएन सायद । हुन त विज्ञानले अनुसन्धानको क्षेत्रमा निकै ठूलठूला सफलता हासिल गरेको छ । तर पनि यस प्रकारको विपद आउनु भन्दा अघि नै मानिसलाई सुचना दिने र सुरक्षित हुने अवसर प्रदान गर्ने खालको पूर्वानुमान लगाउने प्रविधिको विकास हाम्रो देशमा नभएर होला वर्षेनी यस प्रकारको विपद आईरहन्छ र मुलुकले ठूलो क्षेति व्यहोर्नु परिरहेको छ । हुनेहार दैव नतार भनेर चित्त वुझाउँदै यो विनासकारी विपद जसलाइ नयाँ ढंगको विकास गर्ने अवसरको रुपमा लिनु पर्दछ र सिंगो गाउँलाई मोडेल गाउँको रुपमा विकास गर्न सकिन्छ पनि ।

स्रोत–हाम्रो गोरेटो