जिल्ला अध्यक्ष रावतलाई रिहा गर्न अखिल क्रान्तिकारीको माग

अर्घाखाँची /विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी )ले पक्राउ परेका आफ्ना अर्घाखाँची जिल्ला अध्यक्ष बिष्णु रावतलाई रिहा गर्न माग गरेको छ। शनिबार एक विज्ञप्ति मार्फत रावतलाई रिहा गर्न माग गर्दै बिद्यार्थीमाथिको धरपकड समेत बन्द गर्न चेतावनी दिएको छ।

अखिल (क्रान्तिकारी ) लुम्बिनी क्षेत्रिय समन्वय समिती इन्चार्ज विरेन्द्र विकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
“राजनीति आस्था राख्न पाउने, संगठित हुन पाउने र वाक स्वतन्त्रतामा आम नागरिकको नैसर्गिक अधिकारको खिल्ली उडाउदै प्रतिबन्ध लगाउने धरपकड गर्ने जस्ता कार्य बन्द गर्न चेतावनी दिन चाहान्छौ ।”

अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्रमा देखिएका विकृति,विसंगतिबिरुद्ध र बिद्यार्थी हकअधिकार, राष्ट्रियता ,जनजीवीका पक्षमा आन्दोलन नरोक्ने जनाएको छ।लुम्बिनी क्षेत्रिय समन्वय समिति अन्तर्गतका जिल्लाहरुमा पनि शैक्षिक क्षेत्रका विकृति, विसंगति ,महँगी ,भ्रस्टाचार ,निजीकरण र व्यापारिकरणका बिरुद्धमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराईएको समेत जनाएको छ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष रावतलाई प्रहरीले शुक्रबार क्याम्पस देखि कोठातिर फर्कदै गर्दा पक्राउ गरेको थियो ।