चम्किदै राष्ट्रिय खेल भलिबल

बुटवल । भदौ ८ । भलिबलले नेपाली माटो सुहाउँदो खेलको परिचय बनाएको छ । तराईदेखि उच्च पहाडी भेकसम्म यो लोकप्रिय छ । तर राष्ट्रिय खेल भएर पनि नेपाली भलिबलले अन्तर्राष्ट्रिय मञ्चमा कुनै स्थान बनाउन सकेको छैन ।

अहिले भने अन्तर्राष्ट्रिय भलिबलमा नेपाल उभिन सक्ने आधार तय गरेको छ । भर्खरै सम्पन्न एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता र त्यसले दिलाएको सक्रियता हेर्दा आशाको किरण देख्न सकिन्छ ।

सेन्ट्रल जोन भलिबलमा नेपाल समूह चरणमै असफल भए पनि प्रतियोगिताको सफल आयोजना र चहलपहलले आश जगाएको हो । यसका लागि नेपाल भलिबल संघका पदाधिकारीको मिहिनेतको प्रशंसा गर्नै पर्छ ।

नेपाली भलिबल चार दशकअघि नै निकै चलायमान थियो । एशियाली खेलकुदमा भिडेको त्यतिवेलाको टोलीका खेलाडीहरू प्रशिक्षणका लागि रसिया र जर्मनी पुगेका थिए । दुर्जकुमार राई जस्ता खेलाडीले जर्मनीमा व्यावसायिक रुपमा क्लबमै खेले । तर त्यस्तो झिल्कोले आगोको काम गर्न सकेन । नेपाली भलिबल अन्तर्राष्ट्रिय क्षेत्रबाट खुम्चिंदै जिल्लाहरूमा हुने मेला र महोत्सवमा सीमित भयो ।

फलस्वरूप खेलाडीहरूको बेहाल हुन थाल्यो । १८ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा तत्कालीन कप्तान भरत शाहले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) बाहेक कुनै स्पर्धा खेल्ने मौका पाएनन् । उनी भन्छन्, “साग पनि प्रत्येक दुई वर्षमा होइन, चार–पाँच वर्षमा हुन्थ्यो र भलिबल समावेश गर्ने नगर्ने विषयमा लामो बहस चल्थ्यो ।”

उनले सागका चार संस्करण (सातौंदेखि दशौंसम्म) मात्र खेल्न पाए । त्यतिवेला भलिबललाई ‘स्तर नपुगेको र नतिजा नआउने खेल’ मानिन्थ्यो । समूहगत खेल भएकोले धेरै खर्च लाग्ने तर पदक नजित्ने भनेर विदेशका प्रतियोगितामा समावेश गरिंदैनथ्यो ।

अर्का पूर्व राष्ट्रिय खेलाडी जगदीश भट्टसँग पनि भलिबल संघकै पदाधिकारीहरू यो खेलप्रति सकारात्मक नभएको नमीठो सम्झना छ । सन् १९९८ को १३औं बैंकक् एशियाली खेलकुदमा भलिबल खेल समावेश गरिंदै टोलीलाई बन्द प्रशिक्षणमा पनि राखिएको थियो ।

तर खेल शुरु हुनु ६ दिन अघि एसियाड लैजाने सूचीबाट भलिबल हटाइयो । विडम्बना के भने, त्यतिवेला उक्त खेल एसियाडमा समावेश गर्ने/नगर्ने निर्णय गरेको एसियाड तयारी समितिको संयोजकमा भलिबल संघकै तत्कालीन अध्यक्ष गंगाबहादुर थापा र समिति सदस्यमा संघकै सदस्य रेशम चौधरी थिए । “त्यस्तो स्थितिमा खेलाडीहरूको हौसला बढ्ने कुरै भएन”, अहिले प्रशिक्षक रहेका भट्ट सम्झिन्छन् ।

टिक्न नसकेपछि खेलाडी लाखापाखा लागे । अधिकांश विदेश पलायन भए । त्यतिवेलाका चल्तापुर्जा खेलाडीमध्ये विकाराम महतो साइप्रस पुगे, सुनिल चौधरी अमेरिका लागे, मधुकर थापा मकाउ पुगे । पछिल्ला चर्चित खेलाडीहरूमा प्रेम भण्डारी दुबई र सञ्जय अर्याल हङकङमा छन् ।

भलिबलमा अन्तर्राष्ट्रिय पदक अझै पनि सहज छैन । भारत र पाकिस्तान जस्ता सार्क प्रतिद्वन्द्वीहरू विश्वस्तरमै अब्बल छन् । नेपालको चुनौती यहींबाट शुरु हुन्छ । तर संघ सक्रिय भए भलिबलले गति लिने तथ्य अहिलेको उदाहरणले देखाइरहेको छ ।

सक्रियताले जगाएको आशा 
भलिबल संघ सक्रिय भइरहँदा पछिल्लो पाँच वर्षमा भलिबलका गतिविधि देखिने गरी पनि भइरहेका छन् । एनभीए लिग, राष्ट्रिय भलिबल, डबल लिग जस्ता राष्ट्रियस्तरका प्रतियोगिताहरूको थालनी भयो । छिट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि नेपाल आयोजक बन्यो । पुरुष र महिला दुवै टोलीको दक्षिण एशियाली स्तरीय प्रतियोगिता भयो । महिला टोलीले त इतिहासमा पहिलो पटक साफ भलिबलमा रजत पदक प्राप्त ग-यो ।

पछिल्लो समय सेन्ट्रल जोन भलिबल प्रतियोगिताको थालनीले नेपाली भलिबललाई नयाँ मोडमा पु¥याएको छ । सेन्ट्रल जोनले नेपालको सहभागितालाई नियमित बनायो अनि भलिबल संघले त्यसलाई सुनिश्चित ग¥यो । भलिबलमा पछिल्लो समय देखिएको यो प्रगतिलाई ‘क्रान्ति’ नै मान्नुपर्छ ।

भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माका अनुसार योजना बुनेपछि जसरी भए पनि कार्यान्वयन गर्ने रणनीति अनुसार संघको टोली बजेटको खोजीमा जुट्थ्यो । त्यसैवेला एशियाली भलिबल महासंघ (एभीसी) ले कमजोर राष्ट्रहरूलाई प्लेटफर्म दिने उद्देश्यले एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको थालनी ग-यो । संघ त्यसमा केन्द्रित हुँदा सुषुप्त पुरुष भलिबलले ज्यान पाएको हो ।

सन् २०१५ बाट शुरु भएको एशियन सेन्ट्रल जोन भलिबलमा कमजोर वरियताका ९ एशियाली राष्ट्र छन् । त्यसमा नेपाल प्रगति गरेको प्रमुख राष्ट्रमा पर्छ । यसै प्रतियोगिताको तेस्रो संस्करणमा नेपालले काँस्य पदक जित्यो । जुन ४० वर्षे इतिहास बोकेको नेपाली पुरुष भलिबलले पाएको पहिलो ऐतिहासिक पदक हो ।

मिहिनेतले नतिजा दिन थालेपछि संघका पदाधिकारीहरू हौसिए । खेलाडीलाई हङकङ, मकाउ र डेनमार्कसम्म मैत्रीपूर्ण खेल खेल्न संघले चाँजोपाँजो मिलायो । सक्रियता र नतिजासँगै विदेशमा रहेका खेलाडीले पनि भलिबलमा हातेमालो गर्न थालेका छन् ।

खेल्नका लागि हङकङ, मकाउ, दुबई र जापानसम्म बोलाउन थालिएका खेलाडीले राम्रो कमाइ गरिरहेका छन् । यसैवेला संघले एशियाली खेलकुदमा भलिबल खेल समावेश गर्न दह्रो लविङ ग¥यो र सफल पनि भयो । इन्डोनेसिया एसियाडमा भलिबलको प्रवेश सक्रियताको अर्को खुड्किलो मानिन्छ । संघका अध्यक्ष शर्मा भन्छन्, “भलिबलको स्तर छैन भन्ने छवि हामी भत्काउँदैछौं ।”

सेन्ट्रल जोन भलिबलको आयोजना नेपालमा सम्पन्न हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो । अहिले खेलाडीको प्रदर्शनभन्दा व्यवस्थित आयोजनामा सफलता देखिएको छ । यही प्रतियोगिताको बहानामा करोडौं रुपैयाँको म्याट नेपाललाई प्राप्त भएको छ । भइरहेका भलिबल गतिविधिलाई निरन्तरतासँगै नयाँ योजनाहरू बुन्न सके खेलाडीको प्रदर्शनले पनि नतिजा दिनेछ ।

भलिबल संघका पदाधिकारीहरूले राष्ट्रिय खेललाई विशेष प्राथमिकता दिनुपर्ने आवाज निरन्तर उठाइरहेका छन् । आफ्नै कबर्ड हल नहुँदा प्रतियोगिता आयोजनामा पर्ने अप्ठेराहरू सेन्ट्रल जोन भलिबलले नै देखाइसकेको छ ।

यसैले कबर्ड हल निर्माण संघको पहिलो काम हो । महिला भलिबललाई पनि उत्तिकै ध्यान दिनु छ । क्लब भलिबलको संस्कार बढाउनु संघको अर्को काम हुनुपर्छ । भएकै कार्यक्रमको निरन्तरता पनि कम चुनौतीपूर्ण छैन । यो समाचार हिमालखबरमा प्रकाशित छ ।