पाल्पामा भगवतीको रथयात्रा (फोटोफिचर)

पाल्पा । नेपाल–अंग्रेज युद्धमो विजय हासिल गरेको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा शनिबार बजार परिक्रमा गराइएको छ । २ सय वर्षदेखि यो रथयात्रा निकालिँदै आएको छ । पाल्पा मात्रै नभएर नेपालकै शानका रुपमा रहेको यो रथयात्रा जितगढी किल्लामा नेपाली फौजले अंग्रेजको फौजलाई जितेको खुसीयाली र सम्झनामा निकालिने गरेको छ ।

विक्रम संम्वत् १८७१÷७२ को नेपाल–अंग्रेज युद्धमा नेपाली फौज बिजयी भएको खुसीयालीमा तत्कालीन कर्णेल उजीर सिंह थापाले १८७७ देखि यो रथयत्रा निकाल्न सुरु गरेका थिए । भगवतीको रथययात्रा यस वर्ष पनि हर्षोल्लाहका साथ निकालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए । रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्दै तानसेन नगर परिक्रमा गराइएको छ ।

मन्दिर परिसरमै पञ्चबली दिएपछि जिल्ला प्रशासन, प्रहरी र नेपाली सेनाको व्यारेकमा बली दिई पुजाआजा गरिएको थियो । जात्रा मनाउन तानसेन र वरपरबाट आएका थिए ।साथै कृष्ण नवमीका दिन बिहानैदेखि भाकल अनुसारको कुखुरा, हास, बोका, रागो बली दिएका छन् । श्रीकृष्ण जन्माष्टमीको दिन बेलुकी जाग्राम बस्ने चलन छ ।

कृष्ण अष्टममीका दिन लाखे मारेपछि राती १२ बजे साइत हेरेर बली दिन रथ निकालेर पुजा दिएका थिए । तानसेन बजारमा जयजयकारको गुन्जनसहित भगवतीको रथलाई टोल, टोलमा घुमाइएको थियो । तानसेन बजारको मध्य भागमा रहेको रणउजीरेश्वरी भगवतीको मुर्ति रहेको रथलाई बाजागाजा सहित नेपाली सेना, प्रहरी, सरकारी कर्मचारी, भजनमण्डल, नगरवासी सहभागी भएका थिए । रथले नगरपरिक्रमा गर्दा घर–घरबाट पुजा दिए । उजिरसिंहका फौजले लगाएको अनुमान गरिएको कालो पोसाकमा केही सैनिकलाई सजाएर जात्रामा हिडाइएको थियो ।

तत्कालीन पाल्पा गौंडाका प्रसासक कर्णेल उजीरसिंह थापाले सुरु गरेको भगवतीको रथयात्राले अहिलेसम्म निरन्तरता पाएको इतिहासका जानकार निर्मल श्रेष्ठले बताए । झण्डै ५० जना कुमाल जातीका जवानले मध्यान्ह भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएका थिए ।

परम्परा अनुसार भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिँया नोलहरुलाई काधमा बोकी जयजयकारको गुन्जन ध्वनी र बन्दुकको बढाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गराइएको थियो । रथयात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा सजिएका थिए । धार्मिक संघसंस्थाका झाँकी, शिक्षक, विद्यार्थीसाथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएका थिए । यस वर्ष पनि टोल विकास संस्थालाई जात्रामा सहभागी गराइएको थियो ।

इतिहासका जानकार श्रेष्ठका अनुसार वुटवल क्षेत्रको अंग्रेजसँगको लडाईमा बिजयी भएपछि त्यही बर्षको भाद्रकृष्ण नवमीका दिन जात्रा चलाउने परम्परा उजीरसिंहले बसालेका हुन् । युद्धमा बिजयी भएपछि भगवतीको शक्तिको महिमा बढेको हो । स्थानीयबासीका अनुसार राणाकालसम्म भगवतीजात्रा निकै भव्य रुपमा मनाउने गरिन्थ्यो । त्यसबेला भवानीदल, इन्द्रध्वज, बरख र सबुजगण दल गरी चार पल्टनका सेनाहरुले व्याण्डबाजा बजाएर रथसंग हिड्दा जात्राको रौनक नै बेग्लै हुने स्थानीय बताउछन् ।

भगवतीको रथयात्राको सम्बन्ध सन् १८७१÷७२ को नेपाल अंग्रेज युद्धसंग गाँसिएको छ । काजी अमरसिंह थापाको कार्यकाल सकिँदा निजका नाती नयनसिंहका छोरा कर्णेल उजीरसिंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए ।

सोहीबेला अंग्रेजहरुले दुख दिने र नेपाललाई हडप्ने प्रयास गरेका थिए । अंग्रेजहरुले नेपाल आफ्नो हातमा पार्न चारैतिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरसिंह थापा लडाईमा सामेल हने मौका पाएका हुन् ।थापाको लागी लडाई अग्निपरीक्षा थियो । त्यही वेला गिर्बाणयुद्ध विक्रम शाहदेवले उजीर सिंहलाई अंग्रेजसंग मुकाविला गर्नु भन्ने आदेश आएपछि उनी युद्धमा होमिएको इतिहासका जानका श्रेष्ठले बताए ।

उजीरसिंहले फौज तयार गरी बुटवलको जीतगढीमा लडाई लड्न जाने निधो गरे । जानुअघि उजीर सिंह थापाले शक्ति स्वरुप भगवती मन्दिरमा भाकल गरे । उनले शक्तिस्वरुपा माता भगवती दुश्मनको मुकाविला गर्न ‘हामी रणभुमि तर्फ प्रस्थान गर्दैछौ । रण—विजय हजुरको शक्ति र आर्शिवाद । रण विजय भएमा दिव्य मुर्तिलाई एक सुन्दर मुर्तिभित्र प्रतिष्थापन गरी वर्सेनी रथयात्रा गराउने छु’ भनी आफ्नो भाकल गरेर युद्धमा गएको डा. कर्णबहादुर बाँनियाले लेखेको पुस्तकका उल्लेख छ ।

अंग्रेजहरु उजीरसिंहको फौजसँग हारखाई फर्केको ईतिहास छ । जीतगढीको लडाइ“मा नेपाली फौजले जितेकै खुसीयालीमा १८७७ देखि भगवतीको रथयात्रा (सिन्दुरजात्रा) सुरु भएको हो । सन् १८७१—७३ को नेपाल–अंग्रेज युद्धपछि कर्णेल उजीरसिंह थापाले एक विशाल तीनतले प्यागोडा शैलीको मन्दिर वनाएका हुन् । मन्दिर वनाउन सन् १८७५÷७६ मा सकिएको थियो ।

यसैवेलादेखि काठमाण्डौको जात्रावाट प्रभावित उजीर सिंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेका हुन् । त्यसै सालदेखि सरकारी मान्यता दिएर भगवतीको जात्रा सुरु भएको थियो । पहिले पहिले सरकारी खर्चमा जात्रा निकालिन्थ्यो ।