आन्तोन चेखभ

मैले धेरैपल्ट अनुभव गरिसकेको छु, यस्तो ठाँटिएको मान्छेलाई आफ्नो अगाडि देख्दा चेखभलाई उसको वास्तविक अनुहार र सजीव आत्मलाई विकृत तुल्याउने यस गह्रौँ अनावश्यक झिटीमिटी फुकालिदिने इच्छा भएजस्तो लाग्थ्यो । चेखभले आफ्नो सम्पूर्ण जीवन अन्तःस्करणको आदेशअनुसार बिताउनुभयो । आफ्नो आत्मालाई कहिल्यै धोका दिनुभएन । उहाँको आत्माले सधैँ स्वतन्त्र अनुभव ग-यो ।

– माक्सिम गोर्की

एकपल्ट चेखभले मलाई कुचुक कोई गाउँमा निमन्त्रणा गर्नुभएको थियो । त्यहाँ उहाँको सानो टुक्रा जमिन र एउटा दुईतले घर थियो । उहाँले आफ्नो बिर्ता देखाउँदै बडो उत्सुकतापूर्वक कुराकानी सुरु गर्नुभयो–
‘मसँग थुप्रै पैसा भइदिएको भए यहाँ अस्वस्थ ग्रामीण अध्यापकहरूका लागि सेनिटोरियम खोल्थे हुँला । बुझ्नुभो, गजबको उज्यालो घर, ठूल्ठूला झ्यालहरू र अग्लो छत भएको असाध्यै उज्यालो घर बनाउँथे हुँला । घरमा उत्कृष्ट पुस्तकालय हुन्थ्यो, नानाथरीका बाजाहरू हुन्थे । माहुरी पाल्थेँ, बारीमा तरकारी लगाउँथेँ, फूलबारी बनाउँथेँ । कृषिशास्त्र, ऋतुविज्ञान आदि विषयहरूमा लेक्चर गराउने बन्दोबस्त मिलाउँथेँ । अध्यापकले सब कुरा थाहा पाउनुपर्छ, बुझ्नुभो भाइसाहेब, सब कुरा !’
उहाँ एक्कासि चुप लाग्नुभो, खोक्नुभो अनि मतिर यसो हेर्नुभो । उहाँको अनुहारमा त्यही कोमल, मोहक मुस्कान देखाप¥यो, त्यही मुस्कान जसको शक्तिशाली आकर्षणले गर्दा मानिसहरू बडो ध्यानपूर्वक उहाँको कुरा सुन्न थाल्छन् ।

‘मेरो बकबास सुन्न वाक्क लागेन ? मचाहिँ यस्तो कुरा गर्न असाध्यै रुचाउँछु । तपाईंलाई थाहा मात्र भइदिन, रुसी गाउँका लागि गतिलो, बुद्धिमान, विद्वान् अध्यापकको कति जरुरत छ । हाम्रो रुसमा अध्यापकहरूका लागि विशेष परिस्थिति सिर्जना गर्नुपर्छ, जनतालाई व्यापक रूपमा शिक्षित नतुल्याउने हो भने राम्ररी नपोलिएको इटँले बनेका घरजस्तो हाम्रो देश पनि भताभुङ्ग हुनेछ । यो कुरा हामीले बुझेका छौँ भने यो काम हामीले सकेसम्म छिटो गरिहाल्नुपर्छ । अध्यापक भनेको आफ्नो पेसालाई असाध्यै प्रेम गर्ने अभिनेता हो, कलाकार हो । हामीकहाँचाहिँ अध्यापक भरिया समान छ । उसले गतिलो शिक्षासमेत पाएको हुँदैन । ऊ गाउँमा अध्यापन गर्न त्यस्तै अभिरुचि लिएर जान्छ जसरी कालापानी पठाउँदा मान्छे जाने गर्छ । एक गाँस भात गुम्ने डरले ऊ त्राहिमाम् हुन्छ । ऊ भोको र पददलित हुन्छ । ग्रामीण अध्यापक सबैले कदर गर्ने व्यक्ति हुनुपर्छ । उसले किसानहरूको सब प्रश्नको जबाफ दिन सक्नुपर्छ जसले गर्दा कसैले उसलाई हप्काउने, उसको अपमान गर्ने आँट गर्न नसकोस् । जस्तो अहिले हामीकहाँ सबले, हबल्दार र धनी पसले, पादरी र थानेदारले, स्कुलको डाइरेक्टर र त्यो स्कुल इन्स्पेक्टरले समेत जो शिक्षा सुधारमा ध्यान नदिएर जिल्लामा निस्केका आदेशहरू यथाशक्य राम्ररी पालन गर्ने काममा मात्रै लागेको हुन्छ, सबले गर्ने गरेका छन् । जनतालाई शिक्षा दिने व्यक्तिलाई दुईचार कौडी दिएर काम चलाउनु हास्यास्पद कुरा होइन र, के विचार छ तपाईंको ? दुईचार कौडी दिएर काम चलाउनु ! यस्तो मान्छेले झुत्रोझाम्रो लगाएर हिँड्छ, चिसो, जताततै चुहिने स्कुलमा जाडोले थरथर काँपेर बसेको हुन्छ, कोइलाको धुवाँले निस्सासिन्छ । सधैँ बिरामी परिरहन्छ । तीस वर्षको उमेरमा लारिङ्गिटिस, बाथ र क्षयरोगले ग्रस्त भइसकेको हुन्छ । के यी सब कुरा न्यायपूर्ण हुन् त ? के यो ठूलो लज्जाको कुरा होइन त ? हाम्रा अध्यापकहरू वर्षको आठनौ महिना संन्यासीको जीवन बिताउन बाध्य छन् । दुई वचन बोल्ने मान्छे छैन । मनोरञ्जनको कुनै साधन छैन । यसरी उनीहरू झन्झन् मूर्ख हुँदै जान्छन् । उसले आफूकहाँ साथीहरू निम्त्यायो भने उसमाथि अविश्वसनीय भएको आरोप लगाइन्छ । कस्तो उल्लू शब्द त ! यस शब्दले सधैँ धूर्तहरूले मूर्खहरूलाई ठग्दै आइरहेका छन् ! कति घृणित छन् यी सब कुरा एक महत्वपूर्ण, अति महत्वपूर्ण काम गरिरहेको मान्छेको जस्तो उपहास त । तपाईंलाई थाहा छ जब कुनै अध्यापकसँग मेरो भेट हुन्छ त मलाई असजिलो लागेर आउँछ, उसको कातरताका लागि, उसको सस्तो लुगाका लागि । मलाई लाग्न थाल्छ । अध्यापकको यस दयनीय जीवनका लागि म आफैँ कुनै न कुनै रूपमा जिम्मेदार छु, साँच्ची भनेको !’
उहाँ चुप लाग्नुभो, एकछिन सोचविचार गरिसकेपछि फेरि हात हल्लाउँदै सुस्तरी भन्नुभयो–
‘हाम्रो रुस यस्तै उट्पट्याङ, बेढङ्गी देश छ, के गर्नुहुन्छ !’
उहाँका सुन्दर आँखामा गहन खिन्नताको भावना देखाप¥यो । आँखाका कुनाहरूमा चाउरीहरूको सुन्दर जाल परेको थियो । दृष्टि अझ गम्भीर भयो अनि वरिपरि हेर्दै आफ्नै व्यङ्ग्य उडाउन थाल्नुभयो–
‘देख्नुभयो, मैले तपाईंलाई उदारवादी पत्रिकाको पूरा अग्रलेख नै पढेर सुनाएँ । आउनोस्, तपाईंलाई सहनशक्तिका लागि चिया पियाउँछु ।’
उहाँ प्रायसः यस्तै गर्नुहुन्थ्यो । बडो गम्भीरता र इमानदारीपूर्वक कुरा गर्दै जानुहुन्थ्यो र एक्कासि आफैँ आफ्नो कुरो हाँसो उडाउनुहुन्थ्यो । यस कोमल, उदार खिस्याइमा शब्द र कल्पनाको मूल्य बुझ्ने व्यक्तिको सूक्ष्म संशयवादको भावना अनुभव गर्न सकिन्थ्यो । फेरि यस खिस्याइमा उहाँको मोहक सुशीलता र स्पष्ट विनम्रताको प्रतिबिम्ब थियो ।
हामी चुपचाप बिस्तारै घरतिर लाग्यौँ । सफा न्यानो दिन थियो । सूर्यको उज्यालो किरणमा चम्किरहेका लहरहरूको आवाज सुनिँदै थियो । तल भञ्ज्याङमा एउटा कुकुर खुसीले कुइँकुइँ गर्दै थियो । चेखभले मेरो हात समाउनुभयो र खोक्दै सुस्तरी भन्नुभयो–
‘कति लाजलाग्दो र दुःखपूर्ण कुरा छ तर के गर्ने यो साँचो हो हामीकहाँ थुप्रै त्यस्ता मान्छेहरू छन् जो कुकुरको पनि डाहा गर्ने अवस्थामा छन् ।’
फेरि हाँस्दै भन्नुभयो–
‘आज किन म यस्तो उल्लू कुरा गर्दैछु बूढो हुन थालेजस्तो लाग्छ ।’
उहाँले धेरैपल्ट मसँग यस्तो कुरा गर्नुभएको थियो ‘मकहाँ एकजना अध्यापक आएको छ । बिरामी छ । विवाहित हो । तपाईं उसलाई मद्दत गर्न सक्नुहुन्न ? हाललाई त मैले व्यवस्था मिलाइदिएको छु ।’
‘गोर्की, सुन्नोस् त, एकजना अध्यापक तपाईंसँग चिनापर्ची गर्न चाहन्छ । ऊ घरबाट बाहिर निस्कन सक्दैन, बिरामी छ । एकपल्ट उसलाई भेट्न गइदिनुभए हुन्थ्यो, ठीक छ ?’
अथवा
‘अध्यापिकाहरू किताब पठाउने अनुरोध गर्दैछन् ।’
‘कहिलेकहीँ म यस्तै ‘अध्यापकलाई’ उहाँको घरमा भेटाउँथे । साधारण अध्यापक, बडो असजिलो मानेर मेचको छेउमा बसेको हुन्थ्यो र पसिना बगाउँदै उचित शब्द भेटाउने कोसिस गरिरहेको हुन्थ्यो । ऊ आफूलाई सकेसम्म बढी वाक्पटु र शिक्षित देखाउन चाहन्थ्यो अथवा असाध्यै लजालु व्यक्तिको ढिठ्याइँसहित एक लेखकको आँखामा मूर्ख नदेखिनका लागि आन्तोन पाभलोभिचमाथि त्यस्ता प्रश्नहरूको वर्षा गथ्र्यो जुन यसभन्दा अगाडि उसले कहिल्यै सोचेकोसम्म थिएन । आन्तोन पाभलोभिच बडो ध्यानपूर्वक उसको यो छन्द न बन्दको कुरा सुन्नुहुन्थ्यो । उहाँको उदास आँखामा मुस्कान देखापथ्र्यो, कन्चटका चाउरीहरू काँप्थे र आफ्नो त्यही गम्भीर, कोमल, नरम स्वरमा सरल, स्पष्ट कुराहरू, जीवनसँग घनिष्ट रूपमा सम्बन्धित भएका कुराहरू गर्नुहुन्थ्यो । आगन्तुक तुरुन्तै पग्लिहाल्थ्यो, अब ऊ विद्वान् देखिन थाल्थ्यो ।

मलाई सम्झना छ, एकजना अग्लो, दुब्लो–पातलो, पहेँलो, भोको अनुहार, लामो चुच्चे नाक भएको र यो चुच्चे नाक शोकपूर्ण तरिकाले चिउँडोतिर ढल्केको व्यक्ति आन्तोन पाभलोभिचको अघिल्तिर बसेर आफ्ना काला आँखाले एकटकले उहाँलाई हेर्दैै खिन्न धोद्रो स्वरले भन्दै थियो– शैक्षिक वर्षको अवधिमा यस्तो जीवन अवस्थाबाट प्राप्त अनुभवले मनोवैज्ञानिक संपिन्डन पैदा गर्छ जसले बाह्य संसारप्रति वस्तुगत दृष्टिकोण राख्ने सम्पूर्ण सम्भावना नष्ट पारिदिन्छ । निःसन्देह, संसार भन्ने कुरा यसबारे हाम्रो व्यक्तिगत भावनाबाहेक अरू केही होइन । त्यसपछि उसले दर्शन छाँट्न थाल्यो र चिप्लो हिउँमा हिँडिरहेको रक्सीबाजजस्तै शिर न पुच्छरको कुरा गर्न सुरु ग¥यो ।
भन्नोस् त, चेखभले स्नेहपूर्वक सुस्तरी सोध्नुभयो तपाईंको जिल्लामा केटाकेटीलाई कुट्ने अध्यापक को हो ? अध्यापक जुरुक्क उठ्यो र रुष्ट स्वरमा हात हल्लाउँदै भन्न थाल्यो–
के भन्नुभएको ? मैले ? कहिले कुटेँ रे ?
उसको मुख एकदम अँध्यारो भयो ।
तपार्इं नहड्बडाउनोस् । आन्तोन पाभलोभिच उसलाई सान्त्वना दिँदै मुस्कुराउनुहुन्थ्यो । मैले कतै तपाईंले कुट्नुभयो भनेको थिएँ र ? तर मलाई सम्झना छ, अखबारमा पढेको थिएँ, तपाईंकै जिल्लामा भएको थियो यो घटना ।
अध्यापक बस्यो, पसिनाले भिजेको मुख पुछ्यो र खुसीको सास फेर्दै धोद्रो स्वरमा भन्न थाल्यो–
हो, त्यस्तो घटना घटेको थियो । यो मकारभ हो । आश्चर्यको कुरा नै के छ र ? यो सीधा बर्बरता हो । तर यसको पनि कारण छ । स्वास्नी छे । चारवटा केटाकेटी छन् । स्वास्नी सधैँ बिरामी परिरहेकी हुन्छिन् । आफैँ क्षयरोगले ग्रस्त छ । जम्मा बीस रुबलको तलब छ । स्कुल तहखानाजस्तो चिसो छ । अध्यापकका लागि जम्मा एउटा कोठा छ । यस्तो अवस्थामा मान्छेले देवदूतलाई त बाँकी राख्दैन, ठिटाहरू त ठ्याम्मै देवदूत होइनन् । मलाई विश्वास गर्नुभए हुन्छ ।

यो मान्छे जो भर्खरै मात्र भरमार विद्वतापूर्ण शब्दहरूले बडो निर्दयतापूर्व चेखभलाई प्रभावित पार्ने कोसिस गर्दै थियो, एक्कासि आफ्नो चुच्चे नाक हल्लाउँदै सामान्य, ढुङ्गाजस्तै कठोर शब्दहरू प्रयोग गर्दै त्यस जीवनको अभिशप्त, भयङ्कर सत्य उद्घाटन गर्दै थियो जुन हाम्रो रुसी गाउँमा व्याप्त छ ।
बिदा हुँदै अध्यापकले चेखभका पातला औँला भएको सानो सुकेको हात आफ्ना दुवै हातले समातेर हल्लाउँदै भन्न थाल्यो–
म तपाइकहाँ आउँदा कुनै हाकिमकहाँ जान लागेजस्तो अनुभव गर्दै थिएँ । ऊ भन्दै थियो– मलाई डर लाग्दै थियो र काँप्दै थिएँ । टर्की चरोजस्तो सिउँर ठाडो पारेर बसेको थिएँ । म तपाईंलाई देखाउन चाहन्थेँ– म पनि कम मान्छे होइन । अहिले तपाईंसँग बिदा हुँदैछु र मलाई लाग्दैछ– म आफ्नो एक असल, धेरै नजिकको साथीसँग बिदा हुँदैछु जसले मेरो सब कुरा बुझ्न सक्छ । सब कुरा बुझ्नु, कस्तो गजबको कुरा हो त । तपाईंलाई धन्यवाद छ, हिँडेँ पनि । म आफूसँग अति प्रिय सम्झना लिएर जाँदैछु । जति मान्छे महान् भयो उत्तिकै सरल र सौम्य हुँदोरहेछ । ती सब झिँगाहरू जोसँग हामी आफ्नो समय बिताउँछौँ तीभन्दा लाखौँ गुणा बढी हाम्रो नजिक हुँदारहेछन् । लौ त बिदा भएँ । म कहिल्यै बिर्सन्न तपाईंलाई ।
उसको नाक अलि खुम्चियो । ओठमा मीठो मुस्कान देखाप¥यो र उसले अकस्मात् भन्यो–
साँच्ची भन्ने हो भने दुष्टहरू पनि अभागी नै हुन्, के गर्ने ? ऊ निम्किसकेपछि आन्तोन पाभलोभिच उसतिर हेर्दै मुस्कराउनुभयो र भन्नुभयो–
बेस केटो छ । तर पढाउने काममा धेरै समयसम्म टिक्लाजस्तो छैन ।
किन र ?
पिछा गर्न थाल्नेछन्, खोसिहाल्छन् ।
मलाई लाग्छ, आन्तोन पाभलोभिचको उपस्थितिमा कुनै पनि व्यक्तिले अनायास बढी हार्दिक बन्ने चाहना अनुभव गर्न थाल्छ । मैले धेरैपल्ट देखिसकेको छु । कसरी मानिसहरु ती किताबी भाषा फेसनवाला अभिव्यक्तिहरू र अन्य झिलमिले पहिरन परित्याग गर्न थाल्छन् जुन रुसी मान्छेले आफूलाई युरोपेली देखाउन लगाएको हुन्छ । जसरी जङ्गली मान्छेले सुकाएको गंगटा र माछाको दाँतले आफूलाई सिँगारिएको हुन्छ । आन्तोन पाभलोभिच माछाको दाँत र भालेको प्वाँखले सिँगारिएको मान्छेलाई पटक्क हेर्न सक्नुहुन्नथ्यो । मान्छेहरूले प्रभावशाली देखिन रङ्गीविरङ्गी, भड्किलो, पराइ पहिरन लगाएको देख्दा उहाँलाई असजिलो लाग्थ्यो । मैले धेरैपल्ट अनुभव गरिसकेको छु, यस्तो ठाँटिएको मान्छेलाई आफ्नो अगाडि देख्दा चेखभलाई उसको वास्तविक अनुहार र सजीव आत्मलाई विकृत तुल्याउने यस गह्रौँ अनावश्यक झिटीमिटी फुकालिदिने इच्छा भएजस्तो लाग्थ्यो । चेखभले आफ्नो सम्पूर्ण जीवन अन्तःस्करणको आदेशअनुसार बिताउनुभयो । आफ्नो आत्मालाई कहिल्यै धोका दिनुभएन । उहाँको आत्माले सधैँ स्वतन्त्र अनुभव ग¥यो । उहाँले त्यस्ता कुराहरूको कहिल्यै वास्ता गर्नुभएन जुन केही मानिसहरू उहाँबाट आशा गर्थे भने बढी अशिष्टहरू त मागसमेत गर्थे । उहाँ त्यस्ता भव्य विषयहरूबारे कुराकानी गर्न रुचाउनुहुन्थ्यो जसद्वारा सरल रुसी मान्छे आफूलाई सान्त्वना दिन खोज्छ । तर त्यस मान्छेले के कुरा बिर्सेको हुन्छ भने एकजोर पाइन्ट नभएको मान्छेले मखमलको सुटको सपना देख्नु हास्यास्पद छ र यस कुरालाई ठटेउलो त कदापि भन्न सकिन्न ।
क्रमशः
(आन्तोन चेखभका उत्कृष्ट कथामा गोर्कीको भूमिकाबाट)