धर्म र कम्युनिस्ट

धर्मको चरित्र जनविरोधी भए पनि जनताको हृदयमा त्यसको प्रवेश भएपछि त्यो आस्था र विचारको प्रश्न बन्दछ । आस्था, भावना र वैचारिक प्रश्नको समाधान बल प्रयोगद्वारा सम्भव छैन । अझ जनतासँगका सम्बन्धित प्रश्नहरूको समाधान त झनै संवेदनशील प्रश्न हुन् । विज्ञानका उपलब्धिहरू सबैमा लागु हुन्छन् तर त्यसको लागु हुने स्तर, स्थान र समयावधिमा विविधता हुन्छ । धार्मिक भावना जनतामा प्रवेश गरेपछि त्यसबाट पृथक हुन निश्चित भौतिक आस्थाहरू आवश्यक हुन्छन् । त्यसैले कार्ल माक्र्सले धर्मलाई ‘अफिमको नसा’ भन्नुभएको थियो ।

-अनिल शर्मा

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ जनजातिहरू प्रकृतिपूजक रहेको स्थिति, राउटेजस्ता जङ्गली जातिहरू प्रकृतिपूजक रहेको यथार्थले त्यसका लागि आधार प्रदान गर्दछन् ।

मानवचेतनामा धार्मिक भावना प्रारम्भमा कसरी पैदा भयो होला ? त्यस विषयमा एकरूपता देखिएको छैन । हुन सक्छ, मानव चेतनाको विकाससँगै उसले मृत्युको बारेमा सोच्न थाल्यो । चलमल, काम– धाम गरिरहने मान्छे एकाएक शान्त हुँदा रिसाएको वा मान्छेलाई शान्त बनाउने शक्ति भएको र शान्त भएको धेरै पछि दुर्गन्ध आउने, कुहिने देखेपछि र उसलाई सपनामा देख्न थालेपछि अलौकिक शक्तिको डरमा त्यो ठाउँ नै छोडेर जान थाले तर पनि मृत आफन्तको सम्झना हुन छोडेन । त्यसपछि मृत व्यक्तिले पिछा गरिरहेको कल्पना भएको हुनुपर्छ । आहारा बाँडेर खाने र त्यसो नगर्दा रिसाउनु स्वाभाविक थियो । मृत आफन्तलाई खुसी पार्न उसको भाग छुट्याउन थाले । कालान्तरमा सम्झना पनि धुमिल हुँदै जाने हुनाले त्यसलाई उसले भाग छुट्याएपछि रिसाउन छोडेको ठान्यो । त्यसकारण भाग छुट्याउने संस्कारले निरन्तरता पायो । त्यसैप्रकारको प्रक्रिया अन्य प्राकृतिक रहस्य र भयहरूका सन्दर्भमा पनि हुन थाल्यो । त्यसरी कबिला समाज प्रकृतिपूजक भएर गयो ।

अध्ययनबाट के देख्न सकिन्छ भने सबै मृत अग्रजहरूको स्मृति संस्कारको परम्परा जीवित मानवको मस्तिष्कमा एक दुःस्वप्नका रूपमा रहिरहेको हुन्छ । एकलाख वर्ष पहिले नै अन्डरथलले आफ्ना मृतकलाई गाड्ने, त्यहाँ खाना र हतियार राखिदिने गर्दथे । प्राकृतिक घटनाको भय, रहस्य र आत्मरक्षाका लागि प्राकृतिक शक्तिहरूलाई खुसी पार्न प्रार्थना गर्न थालियो । भौतिक घटनाको कार्य र कारण बुझ्न नसक्दा आध्यात्मिकताको सिर्जना भयो । वर्ग–समाजको उदयपछि वर्गीय स्वार्थसहित व्याख्या गरियो । दासयुग धर्मको स्वर्णकाल थियो । पहिलो वेद ऋग्वेद ई.पू. १५००–१२०० वर्ष पहिले भारतको पञ्जाब राज्यमा तयार भएको मानिन्छ । विस्तारै धर्ममा कर्मकाण्डवाद थपियो । कर्मकाण्डवादले राजालाई ईश्वर र ब्राह्मणलाई ईश्वरको उत्तराधिकारी ठान्यो । त्यसले अर्थात् बौद्धिक जगत्ले श्रमिकहरू र महिलालाई ईश्वरका दास ठान्न थाल्यो । त्यसले सत्ताद्वारा श्रमिकमाथिको उत्पीडनलाई नैतिक ठह¥यायो । त्यसप्रकारको नैतिक मूल्य र समाज व्यवस्थालाई विकास र समृद्ध बनाउनका लागि पौराणिक साहित्यको रचना गरियो । धर्मका सम्बन्धमा फ्रेडरिक एङ्गेल्सको भनाइ छ, “धर्म वास्तवमा अरू केही नभएर मान्छेको सांसारिक स्थितिको प्रतिबिम्ब हो । जहाँ ईश्वरले रूप धारण गरेको हुन्छ ।” धर्मले विभ्रम (उल्टो चेतना) या समस्याको कल्पित समाधान प्रस्तुत गरेर आमजनलाई वास्तविकताबाट टाढा राख्दछ । यसप्रकार धर्मले प्रतिक्रियावादी राजनीतिको मानसिक आधार तयार गर्दछ ।

धर्म के हो ?

वर्ग समाजको उत्पत्तिपछि शोषकवर्गले आफूलाई सुदृढ गर्नेक्रममा राज्यसत्ता निर्माण गर्यो । भौतिक सत्ता चिरस्थायी गर्न उसलाई विचार र समाजिक मूल्यजस्ता अप्रत्यक्ष र सूक्ष्म हतियारको पनि आवश्यकता महसुस भयो । त्यही बौद्धिक सत्ता सुदृढ गर्नेक्रममा सामन्तवादले पुनर्जन्म, भाग्यवाद, जादुगरी, टुनामुना, स्वर्ग, नरक आदिको परिकल्पना गरेको थियो । पुँजीवादले सुरुमा सामन्तवादसँग लड्नेक्रममा धार्मिक सत्ताका विरुद्ध भण्डाफोर अभियान चलाएको थियो । सामन्तवाद र साम्राज्यवादका बीचको अपवित्र साँठगाँठपछि धार्मिकता र शोषणमा आधारित सत्ता टिकाउन आवश्यक महसुस गरी पुँजीवादले धर्म विरोधी अभियान रोकेको मात्र होइन, पादरी र चर्चको शरणमा लम्पसार परेको छ । यतिबेला माक्र्सवादबाहेक धार्मिक सत्ताका विरुद्ध टक्कर लिने कुनै अर्को विरोधी पक्षको अस्तित्व छैन ।

धर्मका सम्बन्धमा फ्रेडरिक एङ्गेल्सको भनाइ छ “कुनै पनि धर्म मानिसको मस्तिष्कमा ती बाध्य शक्तिहरूको कपोलकल्पित प्रतिबिम्बसिवाय अरू केही होइन, जसले मानिसको दैनिक जीवनमा उनीहरूमाथि प्रभुत्व जमाएका हुन्छन् । यस्तो प्रतिबिम्बमा पार्थिव शक्तिहरूले नै अपार्थिव रूप लिन पुग्दछन् ।”१ प्रकृतिका रहस्यहरूप्रति अनभिज्ञता, उत्पीडनबाट पैदा हुने निस्सहायताको भावना, प्राकृतिक प्रकोप र प्रकृतिका रहस्यहरूप्रति अनभिज्ञता नै धार्मिक भावनाको उत्पत्तिको कारण हो । समाज विकासको निश्चित चरणमा धर्मको उदय भएको थियो र मानवजाति पूर्ण भौतिकवादी भएपछि धर्मको आधार समाप्त हुनेछ । पुँजीवादीहरू धर्मलाई सर्वकालिक र धार्मिक भावना मान्छेको प्राकृतिक गुण भन्दछन् ।

साम्राज्यवादले पश्चिमी अतिक्रमणकारी संस्कृतिको प्रचार, जासुसी संयन्त्रको घुसपैठ, पश्चिमी दासत्वकरण र ती सबैको केन्द्रमा स्थानीयताको निषेध र साम्राज्यवादी व्यापार विस्तारको रणनीति अपनाएको छ । धर्मले समाजमा खेल्ने भूमिकालाई बुँदागत रूपमा हेरौँ –
जीवन र जगत्प्रति विभ्रम (उल्टो चेतना) निर्माण गर्नु
श्रमिकजनको चेतनामा विद्रोही भावनाको अन्त्य गराउनु, मानसिक दासत्व सिर्जना गर्नु
राजा, महाराजा र पण्डित, पुरोहित, पादरी, मुल्लाहरूलाई ईश्वरीय शक्तिका रूपमा स्थापित गर्नु
ऐतिहासिक भौतिकवादी ज्ञान सिद्धान्तको निषेध गर्नु
नरकको भय सिर्जना गर्नु, आतङ्कित पार्नु, कष्टकर जीवन बनाउनु र आत्मपीडक संस्कारको सिर्जना गर्नु
सत्ता उत्पीडनलाई पूर्व–जन्मको फल भन्नु र उत्पीडन गर्नु
आर्थिक शोषण गर्नु
जातीय, क्षेत्रीय, लैङ्गिक, रङ र क्षेत्रीय उत्पीडनलाई नैतिक र स्थायी ठह¥याउनु ।
धार्मिक संहिताद्वारा सामन्ती सत्ताको पूरक बन्नु
बौद्धिक शोषणलाई स्थायित्व प्रदान गर्नु
परनिर्भरता तथा दास मानसिकता, निरीहता भाव सिर्जना गरी मानवीय शक्तिलाई निरीह बनाउनु
जनतामा राज्यको नियन्त्रण कायम गर्न परिपूरक बन्नु
जीवन र जगत्को विकासका नियमहरूलाई मिथ्याकरण गर्नु
पुँजीवादी बजार विस्तारको हतियार बन्नु
अन्यायपूर्ण युद्ध र अपराधलाई दैविक इच्छा भन्दै त्यसलाई नैतिक र अनिवार्य ठहर्याउनु आदि ।
धर्ममा रहेको जनपक्षीय विचार, शान्तिको प्रचार र आजभोलि धर्मले विज्ञानको आड लिने प्रसङ्ग त्यसको प्रतिगामी तथा जनविरोधी सारतत्वको रक्षाकवचसिवाय केही होइन । धार्मिक समुदायमा जतिसुकै विविधता र परिवर्तन भए पनि तिनीहरू सबैको सर्वकालिक विशेषता भनेको उत्पीडितवर्गमाथि दमन र शोषण नै हो । अध्यात्मवादीहरूले माक्र्सवादीहरूलाई लगाउने गरेको धर्म विरोधी आरोपका सन्दर्भमा कम्युनस्टि पार्टीको घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्टहरूका विरुद्ध धार्मिक र वैचारिक आधारमा लगाइएका आरोपहरूमाथि खासै ध्यान दिन आवश्यक छैन । वास्तविक कुरा के हो भने व्यक्तिको स्थिति सांसारिक स्थितिअनुसार परिवर्तन भइरहन्छ । “धर्म वास्तविकताको विकृत र कपोलकल्पित प्रतिबिम्ब हो । जीवन र जगतका भौतिक परिवर्तनअनुसार मान्छेका धार्मक चेतनामा पनि परिवर्तन आइरहैन्छ ।”

धर्म र नैतिकता

शोषकवर्गले धार्मिकतालाई नैतिक बताएको छ । जब कि नीतिशास्त्र सामाजिक प्राणीबीचको सम्बन्धलाई नियमित र व्यवस्थित गर्ने साधन हो भने धर्म मृत्युपछिको पुनर्जन्मसँग सम्बन्धित छ । अगस्त फ्रेडरिक बेबेलले भनेका छन्, “नैतिक र नीतिशास्त्र भनेका त्यस्ता धारणाहरूका अभिव्यक्ति हुन्, जसले मानिसहरूका कार्य र एकको अर्कोप्रति तिनीहरूको सम्बन्धलाई नियमित गर्छन् । धर्मले चाहिँ पारलौकिक प्राणीहरूप्रति मानिसहरूको कार्यलाई नियमित गर्छन् ।” त्यसैले धर्मको नैतिकतासँग कुनै नाता छैन ।

धर्म शोषकवर्गको बलियो औजार भएको छ । गान्धीवादी चिन्तक जेसी कुमारम्पा भन्छन्, “पश्चिमी देशहरूका ४ ओटा हातहरू छन् : स्थलसेना, नौसेना, वायुसेना र चर्च । तिनैको माध्यमले उनीहरू संसारभरि आफ्नो स्वार्थ पूरा गर्छन् । सन् १९७९ मा जब अमेरिका र चीनका बीचमा पहिलोपटक कुटनीतिक सम्बन्ध कायम गर्नका लागि चीन र अमेरिकाका बीचमा वार्ता भएको थियो, अमेरिकी राष्ट्रपति जिमी कार्टरले चीनसँग तीनओटा शर्त राखेका थिए (१) चीनमा चर्चहरू खोल्न दिनुपर्ने (२) बाइबल प्रकाशित गर्न दिनुपर्ने (३) इसाई मिसनरी फेरि चीन प्रवेशका लागि खुला गर्नुपर्ने । त्यसबेला माओ त्से तुङ नेतृत्वको चीनले अमेरिकाको तेस्रो शर्त अस्वीकार गरेको थियो । नेपालमा पृथ्वीनारायण शाहले पादरीहरूलाई देश निकाला गरेको तथ्य हाम्रासामु छँदैछ । चीनले अहिले पनि इसाई मिसनरीलाई ‘आध्यात्मिक अतिक्रमणकारी’ ठान्दछ ।

एकेश्वरवाद, बुद्धवाद र धर्म

पुरोहित र सत्ता गठजोडद्वारा अपनाइएको धर्मको कर्मकाण्डी स्वरूपका विरुद्ध अध्यात्मवादीहरूकै उदार तप्काले चलाएको सुधारवादी चिन्तन नै एकेश्वरवाद हो । दशौँ शताब्दीदेखि अठारौँ शताब्दीसम्म यसले आन्दोलनलाई उत्कर्षमा पु¥याएको थियो । सर्वप्रथम जैन धर्मको रूपमा एकेश्वरवाद अस्तित्वमा आयो । त्यसपछि तिर्थकरका रूपमा ‘महिषि’ को नाम आउँछ । चौबीसौँ तथा अन्तिम तिर्थकर ‘महावीर’ ले जैन धर्मलाई उत्कर्षमा पुर्याएका थिए । उनले भौतिक सुख त्याग गरेर कष्टकर जीवनयापन गरे । ईपू ५७६ मा नेपालमा बुद्धको जन्म भयो । गौतम बुद्धले एकेश्वरवादको व्यापक प्रचार गरे । उनले कर्मकाण्डी तथा पुरोहितवादको विरोध गरे । बुद्धको अहिंसाको प्रचारले व्यापक जनआकर्षण भएपछि हिन्दु धर्ममा साकाहारीको प्रचार भयो । त्यसपूर्व हिन्दु धर्ममा साकाहारी थिएनन् । ईश्वर केवल एक मात्र छन् र तिनको उत्तराधिकार छैनन् भन्ने धारणा नै एकेश्वरवाद हो; जसले राजा, मुल्ला, पादरी, लामा, पण्डित आदिको धार्मिक–सत्ता अस्वीकार गर्दछ । एकेश्वरवाद अध्यात्मवादकै उदारवादी धारा हो । त्यसैले धर्म र एकेश्वरवादका बीचमा हिंसात्मक झडप हुँदै आएको छ । सामन्ती सत्ताको दैवीय स्वरूपको विपक्षमा रहेका कारण यो धारा दमित छ ।

एकेश्वरवादीहरूले राजा, पुरोहित, सत्ता र ईश्वरको बीचमा कुनै नाता रहन्न भनेका थिए; जसका कारण धर्मको आडमा सत्ता र सत्ताधारी बौद्धिकवर्गले जनतामाथि गर्दै आएको आर्थिक, बौद्धिक शोषणप्रति गम्भीर प्रश्नचिन्ह उठ्यो । पुरोहितवाद, कर्मकाण्डी संस्कार अनैतिकताको आरोप झेल्न बाध्य भयो; जसका कारण पुरोहितवाद र सत्ताले एकेश्वरवादलाई अपराध घोषणा गरे । धार्मिक शोषण र उत्पीडनका कारण जनतामा ईश्वरप्रति नै वितृष्णा पैदा भएका कारण धर्मको नाममा भएको शोषण अन्त्य गरी ईश्वरभक्तिमा जनतालाई मुखरित गर्नु एकेश्वरवादीहरूको उद्देश्य थियो ।

कर्मकाण्डी विरोधी आन्दोलनलाई भक्ति आन्दोलन पनि भनिन्छ । एकेश्वरवादको नेतृत्व सन्तहरूले गरेका थिए । भारतमा कविर, गुरुनानक, तुकाराम, वैष्णववादी सन्तहरू पनि जोडिएका थिए । नेपालमा शुक्रराज शास्त्रीले एकेश्वरवादको प्रचार गरेका थिए । उनलाई कर्मकाण्डी राणाहरूले हत्या गरे । एकेश्वरवादले कर्मकाण्डवादको राजनीतिक चरित्र उदाङ्गो पारेको थियो । कर्मकाण्डवाद जनशोषणको राजनीतिक हतियार हो । धर्मको स्थानमा ईश्वरको सत्ता स्थापना गर्नु, आर्थिक–सामाजिक हैसियत फरक भए पनि सबै प्राणी बराबर हुन् भन्ने धारणा एकेश्वरवादीहरूले राखे । त्यसले जनताको सहानुभूति पायो । विभेदकारी कुलीनवर्ग त्यसप्रकारको धारणाबाट चिढियो । राजालाई ईश्वरको प्रतिनिधि मान्ने सबै प्राणीहरू समान ठान्ने एकेश्वरवादीहरू अर्थात् ईश्वरवादीहरू राजाज्ञा मान्न बाध्य थिएनन्; जसका कारण सामन्ती नाइकेहरूले ईश्वरवादीहरूलाई राजद्रोही घोषणा गरे । १९९७ मा नेपालमा शुक्रराज शास्त्रीलाई राणा शासनको विरोध गरेको भनेर मृत्युदण्ड दिइयो ।

एकेश्वरवाद कुनै भौतिकवादी धर्म विरोधी धारा होइन । यो अध्यात्मकताकै कट्टरता विरोधी उदारवादी धारा हो । राणा शासन विरोधी सहिद शुक्रराज शास्त्रीले भारतका एकेश्वरवादीहरूबाट प्रभावित भएर काठमाडौँमा ‘समाज सुधार आन्दोलन’ चलाएका थिए । राज्यसत्ताको मूल चरित्र र आर्थिक प्रश्नमा निकास नभएका कारण एकेश्वरवाद असफल भयो ।

धर्म र कम्युनिस्ट नीति

कम्युनिस्टहरूले धर्मका सम्बन्धमा कस्तो नीति अपनाउने भन्ने सम्बन्धमा कुनै स्थिर मान्यता छैन । आम सामाजिक चेतनाको स्तर र क्रान्तिको चरणले त्यसको निरुपण गर्दछ । त्यसैले आजको सामन्तवाद– साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिको चरणमा धर्मसम्बन्धी नीतिलाई निम्न तीन कोणबाट हेर्न सकिन्छ –

(क) कम्युनिस्टको हकमा– कम्युनिस्ट पार्टी र सङ्गठन भनेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको वाहक धारा हो । त्यसैले कम्युनिस्टहरूलाई ऐतिहासिक भौतिकवादको अभियन्ता मानिन्छ । कम्युनिस्ट पार्टीको सदस्यता लिनका लागि विश्व दृष्टिकोणप्रति स्पष्टता र पक्षधरता अनिवार्य छ । अध्यात्मवाद विरोधी धारामा बसेर धर्म मान्नु नैतिक हुन सक्दैन । । अध्यात्मवादप्रति विश्वास छ भने पुँजीवादी सामन्तवादी सङ्गठनमा रहनु नै जायज हुन्छ । त्यसैले कम्युनिस्ट पार्टीका सदस्यहरूले धार्मिक मूल्य, मान्यता, आदर्श छोडेर भौतिकवादप्रति आस्था राख्नु अनिवार्य छ । किरण भन्छन्, “माक्र्सवाद धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपको विरोधी मात्र होइन, अन्ततः धर्मकै विरोधी रहेको छ”, (माक्र्सवादी दर्शन, पृ. ३४७, प्रगतिशील अध्ययन केन्द्र, २०६७) ।

(ख) राज्यको हकमा– नेपाल अहिले सामन्तवाद– साम्राज्यवाद विरोधी क्रान्तिको चरणमा छ । यस चरणमा कम्युनिस्ट राज्य, सरकार, राजकीय निकायहरू सबै तप्काका जनताको साझा संस्था भएकोले ती आस्तिक, नास्तिक या अन्य सबै विचार र समूहका जनताको साझा रहनुपर्दछ । तिनले सबैका भावनाहरूको उचित प्रतिनिधित्व गरेको हुनुपर्दछ । त्यसचरणमा धर्मबाट राज्यलाई अलग गरिनुपर्दछ । धार्मिक समुदायहरूले राज्यमा विचारधारात्मक, राजनीतिक र आर्थिक हस्तक्षेप गर्न पाउनेछैनन् । त्यो जनताको आस्थाको छनोटको स्वतन्त्रतामा छोडिनुपर्दछ । लेनिनले भन्नुभएको छ, “राज्यबाट चर्चलाई अलग गर्नु, चर्चबाट विद्यालयलाई अलग गर्नु, व्यक्तिलाई मन परेको धर्म छान्न पाउने स्वतन्त्रता दिनु र जहाँसम्म राज्यको सम्बन्ध छ, (राज्यले धर्मलाई व्यक्तिगत मामिला घोषणा गर्नुपर्दछ ।” बहुराष्ट्रियता, बहुजाति, बहुसंस्कृति, बहुधार्मिक देश नेपाललाई हिन्दु राज्य घोषणा गरेर राजतन्त्रात्मक नेपालमा अन्य जनसमुदायलाई धार्मिक कोणबाट आन्तरिक शरणार्थी बनाइएको थियो । भारतलाई धर्म निरपेक्ष देश घोषणा गरे पनि राज्य र शासकीय शक्ति केन्द्रहरूको हिन्दु धर्मप्रति पक्षधरता छ र अन्य धर्मप्रति राजनीतिक र आर्थिक भेदभाव छ । औपचारिक र कानुनी रूपमा भारत धार्मिक स्वतन्त्रता भएको देश हो तर सारतत्वमा अहिले पनि भारत हिन्दु देश नै बनिरहेको छ । सार्वजनिक पहल र शक्तिकेन्द्रहरूले धर्मप्रति पक्षधरता देखाउँछन् भने त्यो देशमा धार्मिक स्वतन्त्रता सम्भव छैन । राज्य र धर्मका बारेमा कार्ल माक्र्सको भनाइ छ, “जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मानिनुपर्दछ तर जहाँसम्म पार्टीको सवाल हो, हामीले धर्मलाई कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्दैनौँ । धर्मसित राज्यको कुनै सरोकार हुनुहुँदैन र धार्मिक संस्थाहरूको पनि सरकारी सङ्गठनहरूसित कुनै प्रकारको सम्बन्ध हुनुहुँदैन ।” राज्य धर्म–निरपेक्ष रहनुपर्दछ । उसले धर्मप्रति स्वतन्त्र भूमिका (स्वेच्छिक) हुन सक्दैन । राज्यको ढुकुटी प्रयोग गरेर कुनै पनि राज्य धर्म–निरपेक्ष बन्न सक्दैनन् ।

(ग) जनताको हकमा– जनतालाई वैयक्तिक आस्थाका विषयमा दबाब वा बाध्य पार्न सकिन्न । धर्म मान्ने वा नमान्ने दुबै हक जनतामा निहीत छ । धार्मिक सत्ताधारीहरूले भौतिकवादमाथि हमला गरिरहेका छन् । उनीहरू भौतिकवादी हुनु अज्ञानी र अनैतिक कार्य हो भनी जनमत निर्माण गर्छन् तर नैतिकता र ज्ञान वर्ग–सापेक्ष विषय हुन् । शोषकवर्गको सत्य र नैतिकता श्रमिकवर्गको लागि भ्रम र अनैतिकता हुने गर्छ । धर्मको नाममा हुने आर्थिक शोषण, अन्धविश्वासको प्रसार, भेदभाव, छुवाछूत, सार्वजनिक सम्पत्तिको दुरुपयोग भने राज्यद्वारा नियन्त्रित गरिनुपर्दछ ।
धर्मको सम्बन्धमा कम्युनिस्ट नीति भनेको सारांशमा, कम्युनिस्टको हकमा भौतिकवाद, राज्यको हकमा धर्म निरपेक्षता र जनताको हकमा धार्मिक स्वतन्त्रता’ नै हो । यो पुँजीवादी जनवादी क्रान्तिको चरणका लागि अर्थात् पुँजीवादबाट समाजवादमा सङ्क्रमणकालीन अवधिका लागि धर्मसम्बन्धी कम्युनिस्ट धारणा हो । समाजवादी क्रान्तिको चरणमा धार्मिक स्वतन्त्रता आवश्यक र उचित दुबै हुँदैन । समाजवादी चरणमा धर्मको नाममा हुने शोषणको अन्त हुने, आम सामाजिक चेतना भौतिकवादी हुने, जनताको बहुमत भौतिकवादी चेतनाले समृद्ध बन्नेछ । त्यसप्रकारको समाजको नेतृत्व गर्ने राज्यले भौतिकवादको रक्षक र प्रवक्ता बन्नैपर्दछ ।

सारांश

धर्मको चरित्र जनविरोधी भए पनि जनताको हृदयमा त्यसको प्रवेश भएपछि त्यो आस्था र विचारको प्रश्न बन्दछ । आस्था, भावना र वैचारिक प्रश्नको समाधान बल प्रयोगद्वारा सम्भव छैन । अझ जनतासँगका सम्बन्धित प्रश्नहरूको समाधान त झनै संवेदनशील प्रश्न हुन् । विज्ञानका उपलब्धिहरू सबैमा लागु हुन्छन् तर त्यसको लागु हुने स्तर, स्थान र समयावधिमा विविधता हुन्छ । धार्मिक भावना जनतामा प्रवेश गरेपछि त्यसबाट पृथक हुन निश्चित भौतिक आस्थाहरू आवश्यक हुन्छन् । त्यसैले कार्ल माक्र्सले धर्मलाई ‘अफिमको नसा’ भन्नुभएको थियो । क्रान्तिको माध्यमबाट जीवनका भौतिक आस्थाहरूमा अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्धमा सामाजिक सम्बन्धमा, जीवन–पद्धतिमा, जीवनयापनका साधनहरूमा परिवर्तन भएपछि मान्छेको आस्था, विचार, विश्वदृष्टिकोण र चिन्तनमा पनि परिवर्तन आउन थाल्दछन् । त्यसका लागि निश्चित पुस्ता र प्रक्रियाबाट गुज्रनैपर्दछ । मानिसका भौतिक आस्थाहरूमा परिवर्तन नआई समय गुजार्दैमा अर्थात् सचेतन प्रयत्नबिना त्यसको गति अति नै धिमा हुनेछ । त्यसप्रकारको कष्टसाध्य प्रक्रियाबाट गुज्रिँदै गएर मात्र धार्मिकता, आध्यात्मिकताको स्थान भौतिकवादले लिनेछ । धर्म नामको विष–वृक्षका पोथ्रा–पोथ्रामा विज्ञानरूपी तेजाब नछर्की त्यसको मृत्यु सम्भव छैन ।

धर्मको मामिलामा गर्नुपर्ने तात्कालिक (कार्यनीतिक) कार्य भनेको धार्मिक कट्टरताका विरुद्ध सुधारवादी कार्य हो । समाज विकासको निश्चित चरणमा त्यो काम एकेश्वरवादीहरूले गरेका थिए । धार्मिक कार्यमा हुने आर्थिक बोझ र शोषणलाई न्यूनीकरण गर्नु यस क्षेत्रको अर्को कार्यभार हो । दान, दक्षिणा, यज्ञ, पूजापाठ, बली, भाकल, भोज आदिमा ठूलो आर्थिक दुरुपयोग र शोषण भइरहेको छ । त्यसलाई पूर्ण निषेध सम्भव नभए पनि नियन्त्रण सम्भव छ ।

द्रष्टव्य : 
(१) कार्ल माक्र्स/फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह, खण्ड २०, पृष्ठ ३२८ लेनिन सङ्कलित रचनाएँ, (दश खण्डों मे खण्ड ३, पृष्ठ २४८, प्रगति प्रकाशन मस्को, १९८१ ।