कम्युनिष्ट पार्टीभित्र धर्म नीजि मामिला हुन सक्छ ?

धर्मभीरुहरुको व्यवहारले संस्कृति वर्गीय हुन्छ भन्ने कुरालाई इन्कार गर्छ । अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई तिलान्जली दिन्छ तर आवरणमा आफुलाई कम्युनिष्ट अर्थात् क्रान्तिकारी देखाइरहन चाहन्छ । यो ढोङबाहेक केही होइन ।

–आरोहण

कम्युनिष्ट पार्टीभित्र धर्म सस्कृतिको बिषयमा बहस हुँदै आएका छन् । विभिन्न दस्तावेजहरु प्रकाशित छन् । सांस्कृतिक रुपान्तरण सम्बन्धी सबैभन्दा बढी चर्चा कम्युनिष्ट पार्टीभित्र नै हुन्छ । यो स्वभाविक पनि छ । बहस र छलफल आवश्यक पनि छ । तर कार्यान्वयन पक्षमा फितलो मात्रै छैन, सामन्तवादी संस्कृति, पुँजीवादी संस्कृतिको अबलम्बनको समस्या छ । प्रचण्डको भैसी पुजा, माधव नेपालले श्रीमति गायत्रीलाई खुट्टा ढोगाउनु, डा. विकासानन्दको कार्यक्रममा गएर प्रचण्डले भौतिकवाद र आध्यात्मकवादको फ्युजनको कुरा गर्नु, केक काटेर बर्डडे मनाउनु, दोस्रो विवाह गर्नु, बाबुराम भट्टराईको महायत्त र तीर्थाटन, सीपी गजुरेलले डेढघण्टा लाम लागेर गरेको बंगलामुखी पुजाअर्चना, पम्फा भुसाल, कृष्णबहादुर महराले पास्चरसंग शीरमा हात राखेर आशीर्वाद लिनु, हिसिला यमीको मातासंगको फोटोसेसन, लगायत विकृत संस्कृतिको उदाहरण हुन् । एकल महिला भएकै कारण नेपालका राष्ट्रपति विद्या भण्डारी जनकपुर मन्दिर जाँदा चोख्याउने काम भयो भने त्यही मन्दिरमा भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपटि प्रवण मुखर्जीको भव्य स्वागत गरियो । यो पनि विकृत संस्कृतिको उल्लेखनीय उदाहरण हो ।

आज हिन्दूशास्त्र अनुसार जनैपूर्णिमा । जनैपूर्णिमा हिन्दु धर्मालम्बीहरुको चाड हो । अर्थात् बाहुन क्षेत्रीहरुले अझ बाहुनहरुले जनै लगाउने चाड हो । यो आदर्शवादसंग सम्बन्धित मात्र छैन, नितान्त जातीवादी र लिङ्गवादी चाड हो । हिन्दुशास्त्र अनुसार बाहुन र क्षेत्रीहरुलाई द्विज भनिन्छ । यस मान्यता अनुसार उनीहरु दुईपटक जन्मन्छन् । अरु जातका मानिसहरुको जन्म एकपटक मात्र हुन्छ, उनीहरु आमाको गर्भबाट मात्र जन्मन्छन् । तर बाहुन क्षेत्रीहरु दुईपटक जन्मन्छन्–एकपटक आमाको गर्भबाट र अर्कोपटक जनै लगाएर । जनैले उनीहरुलाई संस्कारित गर्ने र अरु जाति भन्दा पवित्र बनाउने कुरा हिन्दूशास्त्रमा उल्लेख छ । यो कुरा वाइघात हो ।

हिन्दुशास्त्र अनुसार यो उनीहरुको दोस्रो जन्म हो । अरुलाई नीच जाति र आफूलाई उच्च जाति देखाउने खस हिन्दुहरुको चिनो हो जनैपूर्णिमा । महिलालाई हिन्दू शास्त्रले जनै लगाउने अधिकार दिएको छैन । यो सांस्कृतिक दृष्टिकोणले सामन्ती अर्थ राजनीतिको अवशेष हो । वर्गीय दृष्टिकोणले शासक वर्ग वा प्रतिक्रियावादी वर्गको संस्कृति हो । यो उत्पीडित वर्गमाथि गर्ने शोषणको हतियार हो । कमरेड लेनिनले धर्मको विरोध गर्ने तरिका सिकाउनु भएको मात्र छैन, उहाँले भन्नुभएको छ–“कम्युनिष्ट पार्टीको प्रश्न, धर्म एक व्यक्तिगत मामिला होइन । मजदुर वर्गको मुक्तिको लागी अग्रणी योद्वाहरुको संस्था हो कम्युनिष्ट पार्टी । हामीले मजदुरहरुको हरेक किसिमका धार्मिक शोषणका विरुद्ध संघर्ष गर्नुपर्छ । कम्युनिष्ट पार्टीका निम्ति वैचारिक संघर्ष खाली एउटा व्यक्तिगत सवाल मात्र पनि होइन, समस्त सर्वहारावर्गको सवाल हो ।” (समाजवाद र धर्म)

हामी अन्त्यन्त अन्तरविरोधी क्रियाकलापबाट गुज्रिरहेका छौं । एकथरि मान्छेहरु एकातिर आफुलाई कम्युनिष्ट भन्छन् र समाजवादी संस्कृतिको कुरा गर्छन् अर्कोतिर सामन्ती संस्कृतिका आधारभूत कुरा समेत परित्याग गर्दैनन् । शासक वर्गले आफ्नो सत्ता रक्षाका लागी मान्दै आएको पुरानो संस्कृतिलाई नै अबलम्बन गरेर र त्यसैसंग आत्मसमर्पण गरेर हिड्छन् । जनै, डोरो लगाएर, मन्दिरमा पुजाआजा गरेर, दशैतिहारमा टिका लगाएर शानपूर्वक आफुलाई कम्युनिष्ट भन्छन् । ती पाखण्डीहरु आफुलाई सबैभन्दा क्रान्तिकारी सम्झन् । र, खोल्टीमा कम्युनिष्ट पार्टीको सदस्यता समेत बोकेर हिड्छन् । यो संस्कृतिले कम्युनिष्ट पार्टीलाई बदनाम मात्र गरेको छैन, जनतामा ठूलो भ्रम समेत फैलाएको छ । कम्युनिष्ट अर्थात् समाजवादी पार्टीहरुमा देखिने कतिपय कमजोरीहरुमाथि टेकेर साम्राज्यवादले “विचारधाराको अन्त्य”, “इतिहासको अन्त्य”, “अन्तिम मनुष्य” आदि घोषणाको शृङ्खला नै चलाए । नेपालमा आइपुग्दा “राजनीतिक क्रान्तिको अन्त्य” को घोषणा गरे । यो कम्युनिष्ट विचार अर्थात् समाजवादी आन्दोलनमाथिको वैचारिक हमला थियो ।

धर्मभीरुहरुको व्यवहारले संस्कृति वर्गीय हुन्छ भन्ने कुरालाई इन्कार गर्छ । अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई तिलान्जली दिन्छ तर आवरणमा आफुलाई कम्युनिष्ट अर्थात् क्रान्तिकारी देखाइरहन चाहन्छ । अझ मालेमावादी ठान्छन् । यो ढोङबाहेक केही होइन । कम्युनिष्ट भन्ने ती कतिपय पाखण्डीहरुको लस्कर अहिले धुम्बाराहीमा आत्मसमर्पण गरेका छन्, जसरी अर्थजीवीहरु लागेका छन् । र, यो यात्रा अझै जारी छ । यो अनिवार्य पनि छ ।

धर्मलाई कमरेड माक्र्सले “उत्पीडित प्राणीको सुस्केरा हो, हृदयहीन संसारको हृयद हो, त्यसरी नै आत्महीन विश्वको आत्मा हो । यो जनताका लागी अफिम नै हो ।” भन्नुभएको छ । (हेगेलको कानुनको दर्शन आलोचनामाथि योगदान, १८४४) । उहाँले यति मात्रै भन्नु भएको छैन, धर्म मानिसले सिर्जना गर्छ, धर्मले मानिसको सृष्टि गर्दैन भन्दै धर्मको विरोध नगर्ने हो भने भौतिकवादको रक्षा गर्न सकिदैन समेत भन्नु भएको छ । त्यसकारण जनैपूर्णिमा, दशैं, तीज, तिहास आदि चाड आदर्शवाद अर्थात् हिन्दुधर्मशास्त्र अन्तर्गत चाड हो । कम्युनिष्टहरुले यसबारेमा जनतालाई प्रशिक्षित गर्नुपर्दछ । र, कम्युनिष्ट पार्टीभित्र जसरी विचार नीजि मामिला हुँदैन, त्यसैगििर धर्म पनि व्यक्तिको नीजि मामिला हुन सक्दैन ।

अब भन्नुसु कमरेड ! तपाई द्धन्द्धात्मक भौतिकवादी कि आदर्शवादी ? क्रान्तिकारी कि प्रतिक्रियावादी ?