२० करोड वर्ष पुरानो डायनासोरको अवशेष भेटियो

एजेन्सी/खोजकर्ताहरूले २० करोड वर्ष पुरानो डायनासोरको अवशेष फेला पारेका छन्। दक्षिण अफ्रिकाको एउटा संग्रहालयमा खासै ध्यान नदिइएको अवस्थामा रहेको डायनासोरको खप्पर बिल्कुलै नयाँ प्रजातिको भएको उनीहरूले पत्ता लगाएका हुन्। तीस वर्षदेखि उक्त संग्रहालयमा रहेको अवशेषालाई पहिले अर्कै प्रजातिको डायनासोर मानिएको थियो।

डायनासोरको सुरूआती प्रजाति ‘मास्सोसपोनडायलस’ का रूपमा पहिचान गरिएको यो खप्परलाई ‘ग्रे स्कल’ (खरानी रङको खप्पर) नाम दिइएको छ। गहन अध्ययनपछि यो २० करोड वर्ष पुरानो भएको अध्येताहरूले निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार अहिलेसम्म भेटिएमध्येकै नयाँ प्रजातिको यो अवशेष ‘जुरासिक पिरिअड’ को सुरूआती समयको हो जुन बेला भर्खर-भर्खर पृथ्वीमा डायनासोरले राज गर्न थालेको थियो।

यसलाई अनुसन्धाता पल ब्यारेट र लन्डन संग्रहालयमा विद्यावारिधिका गर्दै गरेका किम्बरली च्यापल नामका विद्यार्थीले पत्ता लगाएका हुन्। उनीहरूले संग्रहालयमा भएका सबै डायनासोरका हाडहरूसँग तुलना गर्दै जाँदा यो बिल्कुलै नौलो प्रजातिको भएको पत्ता लगाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

यो खप्पर सन् १९७८ मा दक्षिण अफ्रिकाको फोरिसवर्ग भन्ने ठाउँको खेतमा भेटिएको थियो। त्यसयता संग्रहालयमा संरक्षित अवशेषमा धेरै वर्षसम्म कसैले गम्भीर ध्यान दिएका थिएनन्।

‘धेरै अध्ययन गरेपछि यो अवशेष नयाँ जातको डायनासोरको हो भन्ने निष्कर्षमा हामी पुगेका हौं,’ अध्येता पल ब्यारेटले भनेका छन्, ‘यो पहिले भनिएको प्रजाति ‘मास्सोसपोनडायलस’ भन्दा फराकिलो र होचो छ।’

‘मास्सोसपोनडायलस’ प्रजातिका डायनासोर दक्षिण अफ्रिकामा धेरै पाइन्थ्यो। अनुसन्धाताहरूसँग यो प्रजातिका फरक कालखण्डका विभिन्न अवशेष नमूना थिए। उनीहरूले ती सबैको अहिले पत्ता लागेको अवशेषसँग तुलना गरे।

वयस्क ‘मास्सोसपोनडायलस’ को उचाइ पाँचदेखि छ मिटर हुन्छ। यो अवशेष पूर्ण रूपमा हुर्केको डायनासोरको भएको र दस वर्ष उमेरमा मृत्यु भएको हुनसक्ने अनुमान छ। अवशेष अध्ययन गर्दा यसको शरीरको लम्बाइ चार मिटर र तौल तीन सय किलोग्राम हुनसक्ने अनुसन्धाताहरूले बताएका छन्। त्यस्तै बोटबिरूवा र साना जनावर दुवै खाने यो प्रजातिको डायनासोरको शरीर ‘ब्यारेल’ आकारको हुने अनुमान छ।

डायनासोरहरूले यो धर्तीमा १६ करोड वर्षभन्दा बढी राज गरेका थिए। यिनीहरू लोप हुनुको रहस्य वैज्ञानिकहरूले लगभग सुल्झाइसकेका छन्।

उनीहरूका अनुसार ६ करोड ६० लाख वर्षअघि आकाशबाट ठूलो उल्कापिण्ड खस्यो। बाह्र किलोमिटर लामो त्यो उल्कापिण्डले पृथ्वीको सतहमा आगोका लप्का उठे। वायुमण्डल धुवाँको मुस्लोले भरियो। पृथ्वीमा विनाशकारी भुइँचालो आए। समुद्रमा हिमालझैं अग्ला पानीका छाल लहराए। यसले उल्कापिण्ड खसेको ठाउँभन्दा कोशौं टाढासम्म आफ्नो प्रभाव छाड्यो।

यही प्रभावले त्यति बेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर लोप भए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने केही प्राणी मात्र मुश्किलले बाँचे।

डायनासोर लोप गराउने उल्कापिण्ड मेक्सिकोको युकातान प्रायद्वीपमा खसेको थियो। उक्त उल्कापिण्डबारे अनुसन्धान गर्दै आएको वैज्ञानिक टोलीले मेक्सिकोभन्दा टाढा अमेरिकाको उत्तरी डकोटामा जीव तथा वनस्पतिका यस्ता अवशेष फेला पारे, जुन उल्कापिण्ड खसेको समयजतिकै पुरानो मानिएको छ। अर्थात्, ६ करोड ६० लाख वर्ष।

अनुसन्धानले उल्कापिण्ड खसेर कसरी मेक्सिकोको प्राचीन ताल र पृथ्वीका जीवजन्तु लोप भए भन्ने वर्णन गरेको छ। वैज्ञानिक टोलीले उत्तरी डकोटामा वर्षौं वर्षदेखि पुरिएका रहेको चार फिट गहिरो माटोको पत्र उत्खनन् गरेको थियो। त्यही पत्रमा उल्कापिण्ड खस्ने समयकै जैविक अवशेष फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अनुसन्धानकर्ताहरूले उत्तरी डकोटामा फेला परेको जैविक अवशेषलाई अहिलेसम्मकै उत्कृष्ट बताएका छन्।

‘यो अवशेष यति स्पष्ट छ, हामी यसबाट छ करोड ६० लाख वर्षअघि पृथ्वीको वनस्पति र जैविक अवस्था अध्ययन गर्न सक्छौं’, अनुसन्धानकर्ता रोबर्ट ए डेपाल्माले भनेका छन्।

उनका अनुसार चट्टान र माटोका पत्रमा त्यति बेलाका रूख, बोटबिरुवा, हाँगाबिँगा, माछा र अन्य जनावरका अवशेष छन्। उल्कापिण्डको प्रभावले ती वनस्पति र जीवजन्तु मासिएको वैज्ञानिकहरू बताउँछन्।

वैज्ञानिकका अनुसार युकातान प्रायद्वीपमा उल्कापिण्ड खसेपछि ३ सय अर्ब टनभन्दा बढी सल्फरले पृथ्वीको वायुमण्डल ढाकेको थियो। यसको प्रभाव चारैतिर फैलियो। हजारौं माइल परेको उत्तरी डकोटासम्म पुग्यो। उल्कापिण्डले केही घन्टामै भुइँचालो र समुद्रमा सुनामी ल्याएको थियो। यसले वर्षौं वर्ष पृथ्वीको तापक्रम पानी जम्ने शून्य डिग्रीभन्दा तल झर्यो। यस्तोमा कुनै जीवजन्तु बाँच्ने गुञ्जायस थिएन। समुद्री तापक्रम त सयौं वर्ष यही स्थितिमा रह्यो।

उल्कापिण्ड १८ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीसँग ठोक्किएको थियो। यसले पृथ्वीका अर्बौं अर्ब चट्टान धूलोपिठो भए। कति त धुँवा बनेर उडे। वायुमण्डलभरि धुवाँ र धुलोको मुस्लो छायो। यसले ३ सय २५ गिगाटन सल्फर र ४२५ गिगाटन कार्बन–डाइ–अक्साइड वायुमण्डलमा मिसिएको अनुसन्धानकर्ताको भनाइ छ।

सास फेर्दा मुखबाट फाल्ने कार्बन–डाइ–अक्साइडले वायुमण्डलको तापक्रममा दीर्घकालीन असर पार्नसक्छ। यसले पृथ्वीको तापक्रम तात्तिँदै जानुपर्ने हो। सल्फर पनि मिसिएपछि भने चिस्सियो। सल्फरयुक्त धुवाँ र धुलोको मुस्लो यति बाक्लो थियो, त्यसले सूर्यको किरण पृथ्वीसम्म आउने बाटोधरि छेक्यो। सूर्यको किरण ८५ प्रतिशत छेकिएको वैज्ञानिकको आकलन छ।

उल्कापिण्ड पृथ्वीमा ठोक्किँदा दस करोड अणुबम एकैचोटि विस्फोट भएजति शक्ति निस्केको थियो। यही शक्तिले जैविक विकास प्रक्रिया तहसनहस पारेको उनीहरू बताउँछन्।

पृथ्वीको आकस्मिक जलवायु परिवर्तनलाई त्यति बेलाका जीवजन्तु र वनस्पतिले सहन सकेनन्। खासगरी करोडौं वर्षदेखि पृथ्वीमा राज गर्दै आएका डायनासोरजस्ता भीमकाय जनावर नै जलवायु परिवर्तनको चपेटामा परे। चिस्सिएको पृथ्वीसँग उनीहरू अभ्यस्त हुन सकेनन्। र, भकाभक यो धर्तीबाट लोप हुँदै गए। त्यही हालत अरू जनावर र वनस्पतिहरूको पनि भयो।

जापानको तोहोकु विश्वविद्यालयका प्राग–पुरातत्वविद् कुनियो काइहोको अनुसन्धानअनुसार त्यही उल्कापिण्ड मेक्सिकोको सट्टा पृथ्वीको अन्य भागमा खसेको भए त्यति ठूलो विनाशलीला नमच्चिन सक्थ्यो।

‘पृथ्वीको १३ प्रतिशत भूभाग मात्र युकातान प्रायद्वीपजस्तो थियो, जहाँ त्यति ठूलो विनाशलीला मच्चाउन सक्ने खनिज इन्धन भण्डार थियो,’ उनले भनेका छन्, ‘बाँकी ८७ प्रतिशत भूभागमा जहाँ खसेको भए पनि त्यति ठूलो प्रभाव पर्ने थिएन, पृथ्वीको कथा आज अर्कै हुने थियो।’

उनका अनुसार पृथ्वीको सबै सतहमुनि उही परिमाणको खनिज इन्धन भण्डार हुँदैन। जुन ठाउँमा सल्फर र हाइड्रोकार्बनको परिमाण कम छ, त्यहाँ उल्कापिण्ड खसेको भए प्रभाव अर्कै हुन्थ्यो। वायुमण्डल सल्फर र हाइड्रोकार्बनले ढाकिन पाउँथेन। सूर्यको प्रकाश नै सल्फरयुक्त धुवाँ र धुलोको बाक्लो मुस्लोले ढाकिन्थेन। यसले न पृथ्वीको तापक्रम शून्य डिग्रीभन्दा तल झर्थ्यो न त जीवजन्तु लोप हुन्थे।

कुनियोले ६ करोड ६० लाख वर्षअघि पृथ्वीको स्वरूप कस्तो थियो भनी बुझाउने नक्सा तयार पारेका छन्। अहिलेको खनिज इन्धन भण्डारका आधारमा उनले त्यतिबेला पृथ्वीको कुन भागमा सल्फर र हाइड्रोकार्बन बढी थियो भनी आकलन गरेका छन्। अहिलेको भारत, चीन, अफ्रिका लगायत ८७ प्रतिशत भू–भागमा त्यस्ता खनिज इन्धन भण्डार कम भएको उनको अनुमान छ।

त्यही उल्कापिण्ड मेक्सिकोको सट्टा अहिलेको साइबेरिया, मध्यपूर्व वा उत्तर अमेरिकाको पूर्वी तटीय क्षेत्रमा खसेको भए पनि त्यत्तिकै ठूलो विनाश हुने उनको निष्कर्ष छ। यी खनिज इन्धन भण्डार बढी भएका क्षेत्र हुन्।

केही वैज्ञानिकले यो निष्कर्षको आलोचना पनि गरेका छन्।

‘उल्कापिण्ड खसेको ठाउँले त्यसको नतिजा पक्कै तलमाथि हुन्थ्यो होला, तर वायुमण्डलमै प्रभाव पार्ने खालको धूलोधुवाँ कसरी उत्पन्न भयो भन्ने अनुमान विश्वसनीय छैन,’ टेक्सास विश्वविद्यालयका जियोफिजिसिस्ट सिन गुलिकले भनेका छन्।

उनका अनुसार उल्कापिण्ड पृथ्वीमा ठोक्किँदा दस करोड अणुबम एकैचोटि विस्फोट भएजति शक्ति निस्केको थियो। त्यही शक्तिले चारैतिर आगोको मुस्लो उठेर सूर्यको किरण नै छेकिने गरी धुवाँ उडेको उनको भनाइ छ।

अहिलेसम्मको खोजअनुसार उल्कापिण्ड ठोक्किँदा मेक्सिको खाडीमा १०० किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाडल बनेको थियो। खाडलको अधिकांश हिस्सा समुद्रमुनि छ। केही हिस्सा जमिनमा भए पनि आकृति मात्र देखिन्छ। धेरैजसो भाग चुनढुंगाको थुप्रोले ढाकिएको छ।

पृथ्वीको सतहमा उल्कापिण्डले पारेको असरमाथि खोज हुन थालेको निकै समय भइसक्यो। वाल्टर अल्भारेज भन्ने वैज्ञानिकले सबभन्दा पहिला माटोमा ‘इरिडियम’ भन्ने पदार्थ भेटेका थिए। यस्तो पदार्थ बाह्य पिण्डमा मात्र पाइन्थ्यो।

डायनासोर तथा त्यतिबेलाका जीवजन्तु पृथ्वीबाट लोप भएको र माटोमा त्यस्तो पदार्थ मिसिएको समय लगभग एकै थियो। यही आधारमा अल्भारेजले कुनै उल्कापिण्ड पृथ्वीमा खसेपछि डायनासोर लोप भएको हुनसक्ने अवधारणा अघि सारे। उनको अवधारणा सुरुमा निकै विवादित भयो। सन् १९९० मा मेक्सिको प्रायद्वीपमा उल्कापिण्ड खसेर बनेको विशाल खाडल फेला परेपछि बल्ल वैज्ञानिकहरूले अल्भारेजको अवधारणामा विश्वास गर्न थालेका हुन्।

आफ्नो बाटोमा घुमिरेका उल्कापिण्ड कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छन्। अनपेक्षित बाह्य तत्वको प्रवेशले कुनै परिवारमा हलचल ल्याएजस्तै यस्तो उल्कापिण्डको प्रवेशले पनि सौर्यमण्डलमा हलचल ल्याउँछ। त्यस्ता उल्कापिण्ड सौर्यमण्डलभित्र छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किने गर्छ।

पृथ्वीको उत्पत्ति क्रममा यस्ता घटना धेरै भएको वैज्ञानिकले भन्दै आएका छन्। उनीहरूका अनुसार भविष्यमा पनि आकाशबाट उल्कापिण्ड खसेर पृथ्वीसँग ठोक्किन सक्छ। तर, त्यस्ता पिण्डको आकार उति बेलाको भन्दा सानो हुन्छ र टकराव उहिलेजस्तो भयानक हुँदैन। क्षति पनि खासै ठूलो हुँदैन।

तर साढे ६ करोड वर्षअघि उल्कापिण्डले गराएको विनाशलीलापछि पृथ्वीमा फेरि जीवजन्तु र वनस्पतिको उदय हुन लाखौं वर्ष लाग्यो। यसलाई पृथ्वीको पाँचौं आमविनाशकारी घटना मानिन्छ।

अहिले वैज्ञानिकहरूले भेटेको डायनासोरको खप्पर यो विनाशभन्दा करिब धेरै करोड वर्षअघिको हो।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)