टिप्पणी : कुहिरोभित्र अल्मलिएको प्रलेस

स्रष्टा एवं लेखक र प्रलेसवीच अन्तरविरोधी देखिएको छ । प्रस्तावना एकातिर, स्रष्टाहरुको चिन्तन, लेखन र कार्यशैली अर्कोतिर देखिन्छ । सिद्वान्त द्धन्द्धात्मक भौतिकवादी, सामन्तवाद, साम्राज्यवाद विरोधी तर कार्यशैली आदर्शवादी, वर्गसमन्वयकारी र दलाली । प्रलेसलाई यसबाट मुक्त गर्ने चिन्तन र चिन्ता कम हुनु अर्को थप चिन्ताको बिषय हो ।

-खोमा तरामु मगर

हामी प्रलेस रुपन्देही शाखाको आठौं जिल्ला सम्मेलन सम्पन्न गर्न गइरहेका छौं । यो भन्दा अगाडी सात वटा जिल्ला सम्मेलन सम्पन्न भइसकेका छन् । यो सन्दर्भमा रुपन्देहीमा प्रगतिशील आन्दोलनलाई यहाँसम्म ल्याइपु¥याउने अग्रजहरुको योगदानलाई विर्सन सकिन्न । पछिल्लो पटक हामीले प्रलेसका दुईजना साथीहरु विकास केसी र दलवहादुर भण्डारीलाई गुमाएका छौं । उहाँहरुको अप्रत्यासित यात्राले प्रगतिशील आन्दोलनलाई स्तब्ध र द्रवित बनायो ।

प्रलेस विचारप्रति प्रतिबद्ध लेखकहरुको संगठन हो । यसमा सामन्तवाद र साम्राज्यवाद विरोधी लेखकहरु संगठित छन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधार मानेर कला साहित्यको सिर्जना गर्नु यसको प्रस्तावना हो । प्रलेसका स्रष्टाहरु यसको सीमाभित्र कति प्रतिबद्ध छन् या छैनन् ? प्रश्नहरु सर्वत्र उठिरहेका छन् । तर आज प्रलेस र यस सम्बद्ध लेखकहरु कुहिरोभित्रको कागजस्तै भएका छन् । स्रष्टा एवं लेखक र प्रलेसवीच अन्तरविरोधी देखिएको छ । प्रस्तावना एकातिर, स्रष्टाहरुको चिन्तन, लेखन र कार्यशैली अर्कोतिर देखिन्छ । सिद्वान्त द्धन्द्धात्मक भौतिकवादी, सामन्तवाद, साम्राज्यवाद विरोधी तर कार्यशैली आदर्शवादी, वर्गसमन्वयकारी र दलाली । प्रलेसलाई यसबाट मुक्त गर्ने चिन्तन र चिन्ता कम हुनु अर्को थप चिन्ताको बिषय हो ।

वर्गचेतना र प्रतिवद्धताको दृष्टिले प्रगतिशील लेखक बुद्धिजीवीहरु जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर प्रलेस सम्बद्ध लेखक साहित्यकारहरु आत्मकेन्द्रीत चिन्तन, छिनाझपटी, सम्मेलनमा उम्मेदवार केन्द्रीत र मूलतः सहरका सीमित बन्द कोठा वरिपरि मात्रै घुमिरहेको छ । जनताको बहुसंख्यक हिस्सा सहरभन्दा बाहिर गाउँमा छ । उत्पीडन वा विभेदको कहर सिङ्गै गाउँले भोगिरहेको छ । प्रगतिशील साहित्यलाई जनताको ठूलो हिस्सामा पु¥याउने र क्रान्तिकारी आन्दोलनको जग निर्माण गर्ने काम प्रलेसले गर्नुपर्ने हो । तर त्यसो हुन सकेको देखिँदैन । हिजोका प्रतिपक्षी साहित्यकारहरु चिन्तन, लेखन र जीवनशैलीको दृष्टिकोणले आजका सत्ताधारी जस्ता भएका छन् र सत्ताको स्वीकृति, सम्मान, पद, पुरस्कारमा सीमित हुन थालेका छन् । यहाँसम्म कि कतिपय लेखकहरु गोजीमा प्रलेसको सदस्यता बोक्छन् र मठमन्दिरको महायज्ञमा प्रवेश गर्छन् । भगवानको नाममा प्रार्थना गर्छन् र भेटी चढाउँछन् । नइ र मदन पुरस्कार थाप्न पुग्छन् । सत्ताको भजनमण्डली गाउँछन्, वर्गसमन्वयको अध्याँरो सुरुङ यात्रा गर्छन् । प्रलेसमा देखिएको यस किसिमको डरलाग्दो स्थिति वैचारिक चिन्तन र विचारधारामा आएको समस्या हो ।

त्यतिमात्रै छैन, जसको ध्येय बजारमा बिक्नु मात्र रहेको छ । दलाली मानसिकता र एनजीओ÷आइएनजीओको झोलाबाहेक मस्तिष्कमा अरु केही बोक्दैनन् । उनीहरु बौद्धिकतालाई नाफासंग मात्र जोड्छन् र बिक्रीको माल बनाउँछन् । बजारको चाहना अनुसार लेख्नु गतिविधि गर्नु उनीहरुको दैनिकी हो । यहाँ आधुनिक युगमा बजार केही पनि होइन भन्न खोजिएको होइन । तर बजार मानिसका लागि हो, मानिस बजारका लागि होइन । त्यसैले उपभोक्तावाद विरुद्ध बोल्नुपर्ने संगठन हो प्रलेस । उपभोक्तावादले सांस्कृतिक आन्दोलन, लेखन र चिन्तनलाई खोक्रो बनाएको छ । भाडाको लेखक मौलाएको छ । अझ रोचक पक्ष के छ भने आफूलाई ‘प्रगतिशील’ भन्नेहरुको धार्मिक यात्रा अझ उदेक लाग्दो छ । यी गतिविधिहरु प्रलेसको सीमा र उद्देश्यसंग मेल खादैनन् ।

जहाँसम्म प्रलेसको गोरेटो कस्तो हुनुपर्छ भन्ने छ, प्रलेसले प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नु, संगठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेप बढाउनु आजको आवश्यकता हो । वस्तुगत अवस्था र आवश्यकताअनुसार प्रलेसले आफूलाई समृद्ध नगरे यसको औचित्यमाथि प्रश्नचिन्ह उठ्छ नै । सिङ्गो राष्ट्र, राष्ट्रियता, क्रान्तिकारी कम्युनिस्ट आन्दोलन तथा त्यससम्बद्ध साहित्यिक–सांस्कृतिक विरासतमाथि चौतर्फी हमला भइरहेको बेला प्रलेसले अपेक्षित भूमिका खेल्न सकेको छैन ।

त्यसकारण प्रलेस संयुक्त मोर्चा भएकोले यसमा सबै घटकको समान सहभागिता र अपनत्व सहित सिद्वान्तमा द्वन्द्वात्मक भौतिकवादी भन्ने तर क्रियाकलाप गैरप्रगतिशील हुने जस्ता नितान्त गलत क्रियाकलापको अन्त्य गर्नु, वामपन्थीको आवरण र विभिन्न वहानामा घुसेकाहरुको सदस्यता खारेज गर्नु, दलाल पुँजीवाद तथा सांस्कृतिक उत्पीडन विरुद्ध क्रियाशील हुनु, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिनु, अन्यायपूर्ण दमनको विरुद्ध न्यायपूर्ण सङ्घर्षको पक्षमा दृढतापूर्वक कलम चलाउनु, प्रलेसलाई शक्ति सम्पन्न साझा मोर्चाको रुपमा विकास गर्न पहल गर्नु नै अबको दायित्व हो ।

प्रलेसमा आबद्ध घटकहरू सानो–ठूलो भन्ने हुनु हुँदैन । वैचारिक आदर्शका दृष्टिकोणले सबै घटकलाई समान ढंगले हेर्नुपर्छ । यो आलोचनात्मक चेतना सहितको लेखकीय मोर्चा भएकोले फरक विचारको सम्मान गर्नुपर्छ । घटकीय संगठनमा आबद्ध नभएका तर प्रगतिशील आन्दोलनमा रहेका स्रष्टाहरुलाई प्रलेसमा समेट्दै जानुपर्छ र त्यहाँभित्र देखिने विचारधारात्मक अन्तर्विरोधहरूलाई मैत्रीपूर्वक हल गर्दै जानुपर्दछ । चर्चित लेखिका महाश्वेतादेवीले भनेजस्तै प्रत्येक अक्षर–अक्षर र शब्द–शब्दका बीचमा रहेको खाली ठाउँमा महान इतिहास लुकेको हुन्छ । हामी त्यही गौरवशाली इतिहासको खोजीमा छौं । त्यो यात्रामा आठौं जिल्ला सम्मेलनले लक्ष्यभेदन गर्न सकोस् हार्दिक शुभकामना छ ।

(लुम्बिनी दैनिक, २०७५, चैत ९, यो सामग्रीमा केही सम्पादन गरिएको छ ।)