नवउदारवादको कारण महामारी रोकथाममा पश्चिमा असफलता

संसारमा यतिबेला कोभिड–१९ को आँधीबेहरी चलिरहेको छ । लाखौँ मानिस भाइरसबाट सङ्क्रमित छन् । (सम्भवतः पुष्टि भएको सङ्ख्याभन्दा खासमा सङ्क्रमित बढी होलान् ।) मर्नेको सङ्ख्या दिन दुईगुणा रात चौगुणाको दरले बढिरहेको छ । पुँजीवादी अर्थतन्त्र ठप्पै छ । विश्व मन्दी अब रोकेर रोकिन सक्ने अवस्थामा छैन ।

यो महामारी देखिनु धेरै अघि नै कुनै महाविपत्तिको पूर्वानुमान गरिएको थियो । तर नोम चोम्स्कीको शब्दमा ‘भविष्यमा आउनसक्ने महाविपत्तिको पूर्वसावधानी अपनाउने काममा कुनै नाफा नदेख्ने’ आर्थिक प्रणालीको सोच्ने क्रूर तरिकाले त्यस्तो सङ्कटको पूर्वतयारी गरेन । मेसेचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका इमेरिटस प्रोफेसर एवम् अरिजोना विश्वविद्यालयका लरिएट प्रोफेसर नोम चोम्स्कीका १२० भन्दा बढी पुस्तक प्रकाशित छन् । हजारौँ लेख एवम् आलेख प्रकाशित छन् । प्रस्तुत अन्तर्वार्तामा उनले महामारी सामनामा संरा अमेरिकी असफलता पछाडि नवउदारवादी पुँजीवाद कसरी जिम्मेवार छ भन्ने विषयमा छलफल गरेका छन् ।

सी.जे.पोलिक्रोनिओः चोम्स्कीजी, नयाँ कोरोना भाइरस संसारका अधिकांश भूभागमा महामारीको रूपमा फैलियो । अहिलेसम्ममा संरा अमेरिका संसारकै सबभन्दा बढी प्रभावित देश बनेको छ । भाइरसको महामारी सुरु भएको चीनलाई पनि संरा अमेरिकाले उछिनेको छ । के यो आश्चर्य मान्नुपर्ने घटनाक्रम हो ?

नोम चोम्स्कीः महामारीको परिमाण आश्चर्यजनकमात्र होइन, डरलाग्दो छ । तर, यसको रूप भने आश्चर्यजनक वा डरलाग्दो होइन । न त यो विपत्तिको सामना गर्न संरा अमेरिकाले देखाएको खराब नतिजा नै आश्चर्यजनक छ ।
वैज्ञानिकहरूले सन् २००३ को सार्स महामारीदेखि नै लगातार वर्षौँ वर्ष संसारमा कुनै महामारी फैलिनसक्ने चेतावनी दिइरहेका थिए । सार्स पनि कोरोना भाइरसकै कारण भएको थियो । त्यसको खोप पनि विकास गरियो । तर, उपचारको लागि त्यो औषधि कहिल्यै प्रयोगमा ल्याइएन । महामारीको पूर्वतयारी गर्न शीघ्र नियन्त्रण प्रणाली कार्यान्वयनमा ल्याउने त्यो सबभन्दा उपयुक्त समय थियो । अत्यावश्यक पर्दा प्रयोगमा ल्याउन अतिरिक्त स्रोत साधनको जोहोको थालनी त्यहीबेलाबाट हुनुपर्ने थियो । त्यही भाइरससँग सम्बन्धित अरु भाइरसको सङ्क्रमण फेरि फेरि पनि दोहोरिन सक्ने सम्भावनालाई ध्यानमा राखी प्रतिरक्षा र उपचारको प्रणालीको विकास त्यही बेला थालिनुपर्ने थियो ।

वैज्ञानिक अनुसन्धान भएरमात्र हुँदैन । अनुसन्धानको नतिजालाई व्यवहारमा लागू गर्नसक्ने कोही न कोही मानिस हुनैपर्छ । तर, यो विकल्पमा जान समकालीन सामाजिक–आर्थिक व्यवस्थाको भित्री अन्तरवस्तुले रोकेको छ । बजारको कुरा प्रस्ट छः ‘भविष्यको लागि लगानी गर्नु घाटा व्यापार हो ।’ सरकारले पहलकदमी लिनुपथ्र्यो । तर, अहिले शासन गरिरहेको सिद्धान्त ‘सरकार नै समस्याको जड हो’ ले सरकारलाई त्यस्तो पहल लिन रोक लगाएको छ । (अमेरिकी पूर्वराष्ट्रपति) रेगनले एक बिहान उज्यालो मुस्कानका साथ भनेका थिए, “सरकार नै समस्याको मूल जड हो ।” त्यसको अर्थ निर्णय प्रक्रिया धेरैभन्दा धेरै व्यापारीहरूको हातमा हुनुपर्छ । निजी नाफाको लागि काम गर्नेहरूलाई सबै कुराको निर्र्णय गर्ने अधिकार सुम्पिनुपर्छ । सार्वजनिक हितमा चासो राख्नेहरूको प्रभावबाट निर्णय प्रक्रिया मुक्त राखिनुपर्छ । रेगनले त्यस्तो घोषणा गरेयताका वर्षमा अनियन्त्रित पुँजीवादी व्यवस्थामा नवउदारवादी निर्ममताको मात्रा थपियो । फलतः आजको टेढो बजारको रचना भयो ।

विद्यमान प्रणालीको गहिराइ यतिबेलाका धेरै असफलतामध्येको सबभन्दा नाटकीय र घातक असफलता ‘भेन्टिलेटरको अभाव’ बाट नाप्न सकिन्छ । विश्वव्यापी महामारीमा भेन्टिलेटर अभाव एउटा प्रमुख समस्या बनेको छ । (संरा अमेरिकी) स्वास्थ्य तथा मानवीय सेवा विभागले यो समस्याप्रति लापरबाही ग¥यो । उसले सस्तो र प्रयोग गर्न सहज भेन्टिलेटर उत्पादनको लागि एउटा सानो कम्पनीसँग सम्झौता गरेको थियो । त्यहीँनेर पुँजीपतिको बुद्धिले काम ग¥यो । ठेक्का पाएको कम्पनी नै कोभिडयन नामको अर्को ठूलो कम्पनीले किन्यो । त्यसपछि कोभिडयन कम्पनीले भेन्टिलेटर उत्पादन परियोजना नै पाखा लगायो । कोभिडयनले सन् २०१४ मा सरकारलाई एउटा पनि भेन्टिलेटर आपूर्ति गरेन । कम्पनीका अधिकारीहरूले सङ्घीय जैविक चिकित्सा अनुसन्धान केन्द्रसमक्ष सो सम्झौता रद्द गर्न अपिल गरे । सङ्घीय आयोगका तीन जना पूर्वअधिकारीहरूले यो कुरा खुलासा गरे । कोभिडयनका अधिकारीहरूले यो परियोजनाबाट आफूलाई नाफा नहुने थाहा पाएपछि यसलाई पन्छाउने निक्र्योल गरेका थिए ।
यो सन्देहरहित सत्य हो ।

जब नवउदारवाद हावी हुन्छ तब सरकारले समग्र बजारका असफलतामा केही गर्नसक्दैन । त्यही कारण आज गञ्जागोलको अवस्था निम्तिएको छ । ‘द न्युयोर्क टाइम्स’ ले यो अवस्थालाई सरलरूपमा लेखेको छ, “नयाँ खालको सस्तो र प्रयोग गर्न सहज भेन्टिलेटर उत्पादन गर्ने परियोजना अवरुद्ध हुनुले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आवश्यक सामानसमेत कुनै निजी कम्पनीलाई ठेक्का दिँदाको खतरा उजागर गरेको छ । निजी कम्पनीका नाफामुखी स्वभाव र भावी सङ्कटको पूर्वतयारी गर्ने सरकारको लक्ष्यबीच सधैँ तालमेल मिल्दैन ।”
कुनै असल सरकार र उसका प्रशंसनीय कार्यप्रति औपचारिक सम्मानलाई एकातिर राख्दा यो टिप्पणी सही हो । संरा अमेरिकाको सबभन्दा ठूलो बैङ्क जेपी मोर्गन चेजबाट चुहिएको सूचनामा प्रयोग भएको शब्दावली सापटी लिएर भन्नुपर्दा ‘मानव जातिको अस्तित्व’ को लागि अधिकतम नाफा कमाउने आशा पनि ‘सधैँ स्थिर’ होइन । अहिले बैङ्कहरूले जीवाष्म इन्धनमा गरेको लगानी पनि ‘मानव जातिको अस्तित्व’ नै खतरामा छ । त्यसकारण जीवाष्म इन्धन उत्पादक चेभरन कम्पनीले दिगो ऊर्जा परियोजना नै खारेज ग¥यो किनभने त्यसमा पृथ्वीलाई ध्वस्त बनाएर कमाइने जतिको नाफा भएन । इक्जोनमोबिल यो अवगालबाट जोगियो । नाफा नोक्सानको स्पष्ट हिसाबकिताबका कारण उसले यस्तो (दिगो ऊर्जा) परियोजनामा हात नै हालेन ।

नवउदारवादी दर्शनअनुसार हुने त्यस्तै हो । मिल्टन फ्रेडम्यान र नवउदारवादका अरु हिमायतीहरूले हामीलाई सिकाएका छन्, व्यापार प्रबन्धकको मूल जिम्मेवारी भनेको नाफा अधिकतम बनाउनु हो । यो नैतिक जिम्मेवारीबाट थोरै पनि यताउता भए ‘सभ्य जीवन’ को जग हल्लिन्छ ।

कोभिड–१९ महामारी विशेषतः गरिब र सबभन्दा कमजोरमाथि निर्मम र सम्भवतः ज्यादै त्रासदीपूर्व समय बनेको छ । तर, योभन्दा पनि चुनौती त पृथ्वीका दुई धु्रवमा पग्लँदै गरेको बरफ र पृथ्वीको तापमान वृद्धिको घातक परिणामबाट पार लगाउनु हुनेछ । बजारको असफलता नै यस्ता महाविनाशकारी परिणाम निम्तिएका हुन् । वास्तवमा यी विपत्ति संसार नै हल्लाउने आकारका छन् ।
यस्तै कुनै महामारी आउन सक्नेबारे वर्तमान अमेरिकी सरकारलाई धेरै चोटि चेतावनी दिइएको थियो । गत अक्टोबर महिनाबाट नै उच्चस्तरीय तहमा यो विषयमा सावधानी गरिएको थियो तर, राष्ट्रपति बनेयता ट्रम्पको व्यवहारबारे हामी सबै अवगत नै छौँ । उनले सरकारका सबै निकायका बजेट रोक्ने वा कटौती गर्ने, छिन्नभिन्न बनाउने गरेका छन् । मानिसको जीवन रक्षा गर्ने काममा नाफाको मुद्दालाई छेउमा राख्ने नियम कानुनलाई ओझेलमा पारेर आफ्ना पुँजीपति मित्रवृत्तको लहलहैमा उनी लाग्ने गरेका छन् । परिणाम के आयो ? आज संसार वातावरणीय महाविपत्तिको दलदलमा फसेको छ । यो ट्रम्पको अहिलेसम्मकै सबभन्दा ठूलो अपराध हो । यसबाट आउने परिणामको आकलन गर्ने हो भने यो इतिहासकै सबभन्दा जघन्य अपराध हो ।

यो वर्षको जनवरीको सुरुमा चीनमा फैलिरहेको महामारीबारे थोरै अस्पष्टता थियो । डिसेम्बर ३१ मा चीनले विश्व स्वास्थ्य सङ्गठनलाई निमोनियाजस्तो लक्षण भएको अज्ञात रोग फैलिएको सूचना ग¥यो । जनवरी ७ मा चीनले विश्व स्वास्थ्य सङ्गठनलाई वैज्ञानिकहरूले सो रोगको स्रोत कोरोना भाइरस भएको पहिचान गरेको जानकारी दियो । तत्कालै त्यसको जैविक सूत्र पत्ता लगाई चीनले संसारलाई उपलब्ध गरायो । जनवरी र फेब्रुअरीमा संरा अमेरिकी गुप्तचर विभागले यो विषयमा ट्रम्पसँग कुरा गर्न चाह्यो । तर, उनीहरू सफल भएनन् । गुप्तचर विभागका अधिकारीहरूले भने, “उनीसमक्ष कुरा राख्ने समय नै पाएनौँ । सिङ्गो प्रणालीमा खतराको रातो बत्ती पिलिकपिलिक गर्दै छ ।”

तथापि ट्रम्प आफैँ भने मौन थिएनन् । उनले लगातार आत्मविश्वासका साथ मानिसहरूलाई यो रोग खासमा रुघाखोकीभन्दा बढी केही नभएको र सबै कुरा नियन्त्रणभित्रै रहेको बताइरहे । महाविपत्ति सम्हाल्न उनले दस पूर्णाङ्कमा दस नै प्राप्त गरे । सबभन्दा गम्भीर विषय त के हो भने उनलाई अरु कसैलाई भन्दा अघि नै यो विश्वव्यापी महामारी भएको वास्तविकता थाहा थियो । अनि आफ्नो फितलो तयारीबारे पनि उनलाई थाहा थियो । तर, उनले अपनाएको तरिका सरल थियो–असत्य यति तीव्रगतिमा फैलाउने, त्यसैको पहिरोमा सत्य नै छोपियोस् । घटना जे जसरी अघि बढे पनि ट्रम्पले आफ्ना बफादार समर्थकबीच कुनै न कुनै तर्कले आफूलाई सही प्रमाणित गरिरहेका हुन्छन् । तपाईँले चारै दिशा जथाभावी वाण हान्दा कुनै न कुनै वाणले लक्ष्त्ेदन गर्ने सम्भावना त हुन्छ नि ।
भाइरस सङ्क्रमण फैलिरहेकै समयमा गत फेब्रुअरी १० मा राष्ट्रपति कार्यालयले वार्षिक बजेट प्रस्ताव पेश ग¥यो । सो बजेटमा स्वास्थ्यसँग सम्बन्धित मुख्य सरकारी कार्यक्रममा थप कटौती गरियो । जनतालाई लाभ हुने विषयमा बजेट कटौती गरी सेना र सिमानामा पर्खाल लगाउने जस्ता ‘वास्तवमै महत्वपूर्ण’ विषयमा बजेट बढायो ।

रोगको परीक्षण ज्यादै विलम्ब र सीमित सङ्ख्यामा मात्र गरियो । निकै कम सङ्ख्यामा परीक्षण हुँदा रोग लागेका बिरामीको पहिचान गर्न असम्भव भयो र उनीहरूको सम्पर्कमा आएका व्यक्ति खोज्न मुस्किल बनायो । गतिशील समाजमा सरुवा रोगको महामारीको सृङ्खला तोड्न यसले असम्भव बनायो । अब्बल मानिएका अस्पतालका शय्याहरूमा समेत आधारभूत सामग्रीको अभाव देखियो । फलतः संरा अमेरिका आज यो महाविपत्तिको संसारकै केन्द्र बनेको छ ।

संरा अमेरिकाको आजको अवस्थाले ट्रम्पको घातक चरित्र उजागर गरेको मात्र हो । तर, अब योभन्दा बढी घातक हुने ठाउँ नै यहाँ रहेन ।
महामारी सामना गर्न खराब तयारीबारे हामी ट्रम्पमाथि दोषारोपण गर्नसक्छौँ । तर, यदि भविष्यमा आउनसक्ने अरु महामारीको सामना गर्न हामी चाहन्छौँ भने हामीले ट्रम्पभन्दा पर गएर पनि सोच्न जरुरी छ । ट्रम्प एउटा बिरामी समाजको नेतृत्व गर्न राष्ट्रपति बनेका हुन् । जुन समाज बितेका चालीस वर्षदेखि नवउदारवादको जालोमा फसेको छ । त्यसको जरा अझ गहिराइमा झाँगिएको छ ।
रेगन र मार्गरेट थ्याचरको पालादेखि नै पुँजीवादको नवउदारवादी संस्करण शक्तिशाली बन्यो । उनीहरूभन्दा केही अघिबाट नै नवउदारवादको सुरुवात भएको थियो । नवउदारवादले के कस्तो दुष्परिणाम ल्यायो भन्ने कुराबारे बिस्तारमा चर्चा आवश्यक छ जस्तो मलाई लाग्दैन । (सर्वविदित कुरा हो) असाध्यै धनी मानिसप्रति रेगनको सद्भाव आजसम्म आइपुग्दा प्रगतिको अर्को उचाइमा पुगेको छ । रेगनले धनी मानिसबाट करको भार हटाएर सर्वसाधारणको काँधमा करको भारी थोपरिदिए । शेयरको मूल्य बढाउन शेयर किनबेचलाई आधिकारिकता दिए, व्यापारी र शेयर मालिकहरूलाई धनी बनाए । तर, उद्योगको उत्पादनशीलतालाई बेवास्ता गरे ।
यस्तो नीतिगत परिवर्तनले निकै ठूलो अन्तर पा¥यो । दसौँ त्रिलियन डलरको तलमाथि भयो । मुट्ठीभर मानिसको कल्याणको लागि नीतिगत परिवर्तन गरियो । बहुमत जनता सबै भुइँमा पछारिए । यसरी हामी ०.१ प्रतिशत मानिसको हातमा कुल सम्पत्तिको २० प्रतिशत सम्पत्ति केन्द्रित भएको समाजमा आइपुग्यौँ । आधा जनसङ्ख्यासँग सम्पत्तिको नाममा केही छैन र आज खान आजै कमाउनुपर्ने बाध्यता छ । कम्पनीको नाफा बढेसँगै सीईओको तलब बढ्छ । कामदारको ज्याला भने जहिल्यै जतिको त्यत्ति । अर्थशास्त्री इमानुएल सेज र गाब्रियल जुकमेनले आफ्नो पुस्तक ‘द ट्रियुम्प अफ जस्टिस’ मा सबभन्दा धनी मानिसबाहेक सबै अरू आर्थिक समूह कसरी ओरालो यात्रा गरिरहेका छन् भन्ने कुराको व्याख्या गरेका छन् ।

संरा अमेरिकाको निजीकरण गरिएको नाफामुखी स्वास्थ्य प्रणाली धेरै अघिबाट नै अन्तर्राष्ट्रिय चर्चाको विषय बन्दै आएको छ । अरू विकसित समाजको तुलनामा संरा अमेरिकाको स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति खर्च दोब्बर छ र यसले खराब परिणाम दिइरहेको छ । त्यसमाथि ‘प्रभावकारिता’ को व्यापारिक नीति अर्थात् माग भएपछि मात्र उत्पादन गर्ने (जस्ट अन टाइम सर्भिस) ल्याएर नवउदारवादले अर्को प्रहार गरेको छ । यस्तो प्रणालीमा थोरैमात्र कुनै विघ्न आए, पूरै प्रणाली नै ध्वस्त हुन बेर लाग्दैन । नवउदारवादी सिद्धान्त अङ्गीकार गरेका विश्वव्यापी कमजोर आर्थिक व्यवस्था सबैको वास्तविकता यही हो ।

ट्रम्पले पछ्याएको बाटो पनि यही हो । यो नै उनको लक्ष्य हो । अहिलेको सङ्कटबाट बाँकी रहेको बेचेखुचेको समाजबाट नयाँ समाज पुनःनिर्माणको लागि विजयप्रसादको आह्वानलाई ध्यान दिन उपयुक्त हुनेछः “हामी फेरि त्यो पुरानो सामान्य अवस्थातिर फर्किनेछैनौँ किनभने त्यो सामान्य अवस्था समस्याग्रस्त छ ।”

सी.जे.पोलिक्रोनिओः हामीले इतिहासको लामो समयमा नभोगेको विपत्ति यतिबेला भोग्दै छौँ । तथापि अझै पनि अमेरिकी जनताको लागि निःशुल्क स्वास्थ्य सेवा आकाशको फल बनेको छ । के स्वास्थ्य सेवाबारे अमेरिकाको यो आफ्नै विशेषता भएको प्रणालीको लागि नवउदारवाद नै मात्र जिम्मेवार हो ?

चोम्स्कीः यसको जवाफ अलि जटिल खालको हुनसक्छ । धेरै पहिले भएको एउटा मत सर्वेक्षणमा मानिसले निःशुल्क स्वास्थ्य सेवाको पक्षमा मत दिएका थिए । त्यत्तिबेला त्यसको पक्षमा निकै बलियो समर्थन व्यक्त भएको थियो । रेगनकालीन वर्षको अन्तिम चरणमा झन्डै ७० प्रतिशत मानिसले स्वास्थ्य सेवा संविधानमा सुनिश्चित गर्नुपर्ने विचार राख्थे । चालीस प्रतिशत मानिस संविधानमा स्वास्थ्यको प्रत्याभूति गरिएको सोच्थे । उनीहरू संविधानलाई सबै सही र राम्रा कुराको दस्तावेज सोच्थे । स्वास्थ्य सेवा निःशुल्क गरे जनतामाथि करको भार अचाक्ली बढ्ने व्यापारीहरूको प्रचारबाजीले व्यापकता नपाउँदासम्म निःशुल्क स्वास्थ्य सेवाको पक्षमा धेरै मानिस थिए । जसै निःशुल्क स्वास्थ्य सेवाको बन्दोबस्त लागू भए करको भार बढ्ने प्रचारले ठाउँ पायो त्यसप्रति मानिसको चासो कम हुँदै गयो ।
सामान्यतः त्यस्ता प्रचारबाजीमा सत्यको केही अंश पनि हुने गर्छ । त्यो प्रचारबाजीमा पनि सत्यको केही हिस्सा थियो । कर बढ्ने थियो तर, कुल खर्च भने निकै कम हुने थियो । अरू देशको अनुभवले यही कुरा सिकाएको छ ।
केही उदाहरण हेरौँः संसारकै सबभन्दा महत्व बोकेको मेडिकल जर्नल ‘द लान्सेट’ (बेलायत) मा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार संरा अमेरिकामा निःशुल्क स्वास्थ्य सेवा लागू गरे त्यहाँको स्वास्थ्य सेवामा लागेको खर्चको १३ प्रतिशत बचत हुने देखिएको छ । त्यो भनेको वार्षिक ४ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको बचत हुनेछ । (सन् २०१७ को संरा अमेरिकी डलरको मूल्यअनुसार) अध्ययनमा अगाडि भनिएको छः अहिलेको विद्यमान सरकारी बजेट र हरेक रोजगारी एवम् घर परिवारले स्वास्थ्य सेवामा गर्ने खर्चभन्दा कम खर्चमा सिङ्गो प्रणाली चलाउन सकिन्छ । त्यसो गर्न सके न्यून आयका परिवारलाई ठूलो राहत हुनेछ । साथै यसबाट वार्षिक ६८ हजारभन्दा बढी मानिसको जीवन रक्षा हुनसक्छ भने कुल १७ लाख ३० हजार वर्ष आयु लम्बिने हामीले अनुमान गरेका छौँ ।”
तर, यति गर्दा कर भने बढ्नेछ । त्यही कारण उनीहरू निःशुल्क स्वास्थ्यप्रति चासो कम गर्छन् । यस्तो लाग्छ, मानौँ अमेरिकी जनता कर नभनेको अवस्थामा जति पैसा पनि खर्च गर्न तयार छन् । जसको परिणाम हरेक वर्ष दसौँ हजार मानिसको ज्यान गइरहेको छ । यो अवस्थाले एकातिर अमेरिकी जनताले अनुभव गरेको अमेरिकी प्रजातन्त्रको झल्को दिन्छ । अर्कोतिर व्यापारी र तिनका बौद्धिक नोकरहरूले कोरेको प्रणालीको शक्तिको पनि छनक दिन्छ । नवउदारवादले राष्ट्रिय संस्कृतिको यो अवस्थालाई अझ खराब बनाएको छ । यसको जरा धेरै तरिकामा अझ गहिराइमा फैलिएको छ ।

सी.जे.पोलिक्रोनिओः केही युरोपेली देशहरूले कोभिड–१९ को उचित तरिकामा सङ्क्रमण नियन्त्रण गरिरहेका छन् । तथापि विशेषतः पश्चिमा नवउदार वृत्तभन्दा बाहिरका अरु देशले यसमा अझ बढी सफलता हासिल गरेको देखिएको छ । सिङ्गापुर, दक्षिण कोरिया, रुस र चीनले यसमा उदाहरणीय सफलता हासिल गरेको देखिन्छ । के यो परिणामले पश्चिमा पुँजीवादी शासनबारे केही सङ्केत गरेको छ ?

चोम्स्कीः भाइरस सङ्क्रमणबारे धेरै थरी प्रतिक्रिया आएका छन् । चीनले कम्तीमा अहिलेलाई भाइरस नियन्त्रणमा लिइसकेको छ । चीन वरपरका देशमा पनि त्यस्तै देखियो । ती देशले सुरुमै सङ्क्रमणको खतरा महसुस गरेर चेतावनीलाई गम्भीरतापूर्वक लिए । अधिकांश युरोपेली देशले यसलाई गम्भीरतापूर्वक लिएनन्, केहीले मात्र पूर्वतयारी गरेको देखियो । जर्मनीमा मर्ने मानिसको सङ्ख्या संसारमै सबभन्दा कम छ । त्यहाँको स्वास्थ्य सुविधा, रोग पहिचान क्षमता र शीघ्र प्रतिक्रिया प्रणालीले यसमा मद्दत ग¥यो । नर्वेमा पनि त्यस्तै देखियो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको तयारी त लज्जाजनक रह्यो । ट्रम्पको अमेरिका त यो मामिलामा सबभन्दा पछाडि प¥यो ।
आफ्ना नागरिकप्रति जर्मनीको सद्भाव उसको सिमानाभन्दा बाहिर जानसकेन । युरोपियन युनियन त काम न काजको बन्यो । बिरामी युरोपेली समाज सहायताको लागि एटलान्टिक महासागर पार गरेर जानुप¥यो । क्युवाली महाशक्ति फेरि एकपल्ट चिकित्सक र चिकित्सकीय सामग्रीसहित सहायताको लागि तयार रह्यो । क्युवाले यसरी सहायताको हात बढाइरहँदा उसको छिमेकी देश संरा अमेरिकाले भने यमनलाई स्वास्थ्य क्षेत्रमा दिँदै आएको राहत पनि कटौती गर्ने घोषणा ग¥यो । उसले आफ्ना केही चुनिएका शत्रुहरूलाई स्वास्थ्य सङ्कटको यही मौकामा आफ्नो क्रुर नाकाबन्दी कसिलो बनायो । आफ्ना शत्रुहरूले यो सङ्कटको समयमा अधिकतम सास्ती भोगोस् भन्ने उसको मनसाय देखियो । अमेरिकी नाकाबन्दीको सबभन्दा लामो अवधिको शिकार त क्युवा हो । केन्नेडीको आतङ्कवादी युद्ध र आर्थिक पासोको समयदेखि नै क्युवा उसको शिकार बन्दै आएको छ । तर, त्यो पासोबाट जादुमयी तरिकाबाट क्युवा जोगिंदै आएको छ ।
महामारी कसरी रोकथाम गर्ने विषयमा जर्मनीमा एन्जेला मर्केलको सौम्य, सन्तुलित र वस्तुपरक कदमसँग वाशिङ्टनको सर्कसको तुलना गर्दा अमेरिकीहरूलाई पक्कै पनि नरमाइलो लागेको हुनुपर्छ ।
महामारीको प्रतिरोधमा मुख्य पक्ष को प्रजातन्त्रवादी र को अधिनायकवादी भन्ने होइन, कुन समाजले चुस्त काम गरिरहेको छ र कुन समाज सिकिस्त छ भन्ने हो । ट्रम्पकै शब्दमा त्यस्ता सिकिस्त समाज ‘कुही गन्हाएका देश’ हुन् । उनी स्वयम् पनि त्यस्तै समाज बनाउन अहिले मिहिनेत गरिरहेका छन् ।

सी.जे.पोलिक्रोनिओः सरकारले कोरोना भाइरसको आर्थिक उद्धार योजनाको लागि २ त्रिलियन अमेरिकी डलर विनियोजन गरेको छ । के अर्को सम्भावित आर्थिक मन्दी रोक्न यो पैसा मनग्य छ ? अमेरिकी समाजका सबभन्दा सीमान्तकृत समूहको लागि के यो पैसा उपयोगी हुनेछ ?

चोम्स्कीः नहुनु मामाभन्दा कानो मामा जाती । यो पैसाले असाध्यै अभावमा रहेको समाजका केही मानिसलाई सीमित राहत प्रदान गर्नेछ । वास्तवमै सीमान्तकृत समुदायको सहायताको लागि केही व्यवस्था गर्नेछ । तर, त्यो पैसाको लागि वषौँदेखि मुनाफा कुम्ल्याइरहेका ‘विचरा’ कम्पनीहरू दयालु सरकारको पछाडि झोली फैलाएर लाग्नेछन् । तथापि हामीले धेरै चिन्ता मान्न जरुरी छैन । ट्रम्प र उनका अर्थसचिवले त्यो पग्लिँदै गरेको कोषको पहरेदारी गर्नेछन् । निष्पक्ष र न्यायपूर्ण व्यवहारको लागि उनीहरूलाई विश्वास गर्न सकिन्छ । यदि उनीहरूले नयाँ निरीक्षक र संसदको माग बेवास्ता गरे कसले त्यो रकमको चासो राख्ने हो र ? ट्रम्प सरकारका महान्यायाधिवक्ता विलियम पेहलाम बेरको न्याय विभागले अथवा महाभियोगले ?
सहायता रकम आवश्यकता परेका परिवारसम्म पु¥याउने कुनै न कुनै तरिका बनाइनुपर्छ । सहायताको लागि आग्रह गरेका थोरै मानिसभन्दा पर पुगेर धेरै मानिससम्म यसको वितरण हुनु जरुरी छ । कुनै आधिकारिक रोजगारी भएका, आयको स्रोत अनिश्चित भएका, अस्थायी रोजगार, आवासबिहीन, कैदी आदि मानिससम्म त्यो सहायता पुग्नुपर्छ । घर नै नभएका मानिसले आफ्नो लागि भविष्यको निम्ति के साँचेको होला र ?
राजनीतिक अर्थशास्त्री थोमस फर्गुसन र रोब जोनसनले यो कुरा सफा तरिकाले राखेका छन् ः “अन्यत्र निःशुल्क बनाइएको स्वास्थ्य सेवा संरा अमेरिकामा अपवाद बन्छ भने बीमा कम्पनीमा एकोहोरो बीमा रकम तिर्ने मानिसमात्र हुनु आश्चर्यको विषय होइन ।” कम्पनीहरूले गर्ने डकैती पराजित गर्ने सरल तरिकाबारे उनीहरूले समीक्षा गरेका छन् ।
सङ्कटकालीन समय कम्पनीहरूलाई नियमित राहत रकम दिने एउटा सामान्य नियमजस्तै बनेको छ । कम्तीमा यस्तो राहत रकम शेयर खरिद गर्न नपाउने बन्दोबस्त गर्नुपर्छ । कम्पनीको सञ्चालनमा श्रमिकको अर्थपूर्ण सहभागिता र जालसाझी संरक्षणवादी तर गलत नामकरण भएको ‘स्वतन्त्र व्यापार सम्झौता’ खारेज गर्नुपर्छ । त्यस्ता छद्मभेषी सम्झौताले ठूलो औषधि कम्पनीलाई धेरै नाफा सुनिश्चित गर्छ भने औषधिको मूल्य भने अचाक्ली बढाएको हुन्छ ।

स्रोतःट्रुथआउट
अनुवादः नीरज