बुटवलमा रहेको थोक कृषि बजारलाई व्यवस्थित गर्न माग

बुटवल । बुटवलमा रहेका कृषि व्यवसायीहरुले पुरानो बसपार्कमा रहेको थोक कृषि बजारलाई व्यवस्थित गर्न माग गरेका छन् । कृषि बजारका ठाउँ साँघुरो भएको भन्दै कोल्डस्टोर र पार्किङ स्थल व्यवस्थित गर्नुपर्ने बताए । सोमबार बुटवलमा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको १२ औं बार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले उक्त माग गरेका हुन् ।

कृषकहरुले कृषि थोक बजारलाई नमुना बनाउन सरकारलाई अनुरोध गर्दै जग्गाको पहिचान गरेर व्यवस्थित गर्न माग गरेका छन् । कार्यक्रममा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवर, उपभोक्ता हित संरक्षण मञ्चका रुपन्देही अध्यक्ष नर्बु लामा, वडा नं. ६ का अध्यक्ष जगदीश आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाको वडा नं. १५ र १६ नं. मा ३० विगाहा क्षेत्रफलमा व्यवस्थित कृषि उपज केन्द्र निर्माण गर्ने बताएका थिए । कार्यक्रममा भिमकान्त पन्थी, सुरेन्द्र कुमार कान्दु र लक्ष्मी डुम्रेलाई सम्मान समेत गरिएको थियो ।