म अस्थिर र अव्यवस्थित मान्छे होइन : ब्रेख्त

 

ब्रतोल्त ब्रेख्त (१८९८–१९५६) प्रसिद्ध जर्मन नाटककार, निर्देशक तथा कवि हुन् । नाटकका क्षेत्रमा उनी एपिक थिएटरका एकजना प्रर्वतक मानिन्छन् ।  प्रविधिमा पनि नवीन शैलीका पक्षपाती जनपक्षीय नाटककार तथा कवि ब्रेख्तसँग बर्नार्ड गुलेमिनले लिएको अन्तर्वार्ताको नेपाली अनुवाद प्रस्तुत छ :-

-निनु चापागाईं 

मैले तपाईंलाई कवि र नाटककारका रूपमा आदर गरें भने के म गलत हुन्छु ?

ब्रेख्त : मेरा कविताको बढी नै निजी चरित्र छ । ती बेन्जो वा पियानोका लागि निर्दिष्ट गरिएका छन् र तिनले अनुकरणात्मक निकासको माग गर्दछन् । अर्कातिर मेरा नाटकले मेरा निजी अनुभूतिलाई प्रतिविम्बन गर्दैनन्, संसारको अनुभूतिलाई प्रतिविम्बन गर्दछन् । अर्काे शब्दमा, कार्यव्यापारप्रति भौतिक दृष्टिकोण हुन्छ भने सामान्य काव्यगत दृष्टिकोणले विपरीत भावनाहरू पनि समावेश हुन्छन् ।

तपाईंका नाटकको उत्पादनमा सधैं त यस्तो पाइँदैन नि ?

ब्रेख्त : कुनै पनि कुरा अपेक्षा गरिएजस्तो हुँदैन । ती अधिकांशतः एकदम गलत रूपले खेलिएका छन् । उनीहरूले त्यसमा त्यस्तो कविलाई प्रस्तुत गरेका छन्, जसरी उनीहरू मेरो बारेमा कल्पना गर्दछन् । उनीहरू ममा त्यस्तो देख्तछन्, जुन म बिरलैले मेरा नाटक बाहिर छु र निश्चत रूपमा नाटकहरूभित्र त छँदै छैन ।

त्यसो हो भने तपाईं आफ्ना नाटकका पात्रमा, वर्णित घटनामा र घटनाक्रममा लेखक भावनात्मक रूपमा सहभागी हुन्छ भन्ने कुरालाई अस्वीकार गर्नुहुन्छ हैन ?

ब्रेख्त : म थिएटरसम्बन्धी कुनै पनि कुराभित्र मेरा भावना प्रवाहित हुन अनुमति दिन्नँ । त्यसले संसारलाई विकृत पार्दछ । म अत्यधिक मात्रामा बौद्धिकतामा आधारित चित्रणको शास्त्रीय, खरो विधि अँगाल्ने प्रयास गर्दछु । म त्यस्ता वाहियात मानिसहरूका लागि लेख्तिनँ, जो आफ्ना हृदयका तारलाई झङ्कृत पार्नुलाई बढी मूल्यवान् ठान्दछन् ।

अनि तपाईं कसका लागि लेख्नुहुन्छ त ?

ब्रेख्त : त्यस खालका मानिसका लेख्तछु, जो आफूलाई आनन्दित बनाउन थिएटरमा आउँछन्, तर थिएटरमा आउनुअघि आफ्ना दिमाग बाहिरै छाडेर भने जाँदैनन् ।

तर अधिकांश दर्शक त भावनामा बग्न चाहन्छन्, हैन र ?

ब्रेख्त : दर्शकहरू बौद्धिक रूपले समर्थ छन्, उनीहरूबारे यति त हामीले पक्कै सोच्नु पर्दछ । सत्र वर्षको उमेरमै उनीहरू वयस्क हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन । म उनीहरूको तर्कबुद्धिलाई सम्बोधन गर्दछु ।

म तपाईंका सामग्रीमा कहिलेकाहीँ बौद्धिक गहनताको अभाव पाउँछु । तपाईं घटनालाई पारदर्शी बनाउनु हुन्न ।

ब्रेख्त : म नग्न घटना प्रदान गर्छु । त्यसो भयो भने जनसाधारण आफैले सोच्न सक्छन् । यही कारण तीक्ष्ण इन्द्रीयसहित तुरुन्तै प्रतिक्रिया गर्ने दर्शक मेरा आवश्यकता हुन्, जो अवलोकन गर्न जान्दछन् र आफ्नै तर्कबुद्धि उपयोग गरेर आनन्दित हुन सक्छन् ।

यसको अर्थ तपाईं दर्शकलाई आफ्नो सामग्री सहज बनाउन चाहनु हुन्न, होइन ?

ब्रेख्त : दर्शकको मनोविज्ञान कम्तीमा पनि उनीहरूसामु प्रस्तुत गरिएका सामग्रीको अर्थ बुझ्न सक्षम हुनु आवश्यक छ । म मेरा नाटकमा घटित हुने सबै कुरा समग्र र पूर्ण रूपमा यथार्थ हुन् र ती सही छन् भनेर सुनिश्चित गर्दछु । मानिसको प्रकृतिसम्बन्धी आफ्नो ज्ञानप्रति मलाई पूर्ण विश्वास छ । तर म तिनको अनेक खालका व्याख्याका लागि व्यापकतम अवसर भने छाडिदिन्छु । मेरा नाटकमा अर्थ अन्तर्निहित हुन्छ, त्यसलाई खोजेर निकाल्नु पर्ने हुन्छ ।

तपाईंको विधिविपरीत आफ्ना सामग्रीलाई बोधगम्य बनाउने कलाकारविरुद्ध केही भन्नु पर्ने त छैन नि ?

ब्रेख्त : त्यस्ता लेखक हुन्छन्, जसले खालि घटना प्रस्तुत गर्दछन् । म यस्तै लेखकभित्र पर्दछु । मेरा नाटकमा स्थिति बोधगम्य नै हुन्छ । त्यसैले तिनलाई बोधगम्य बनाउने आवश्यकतै पर्दैन । केही लेखक घटनालाई जस्ताको तस्तै प्रस्तुत गर्दछन्, तर त्यसबारे आफ्नो अलग व्याख्या पनि गर्दछन् । अन्तिममा, कार्य गर्ने तेस्रो विधि पनि छ, जसले वास्तविक स्थिति र त्यसको अवधारणात्मक विश्लेषणको सम्मिश्रण पेस गर्दछन् । म पहिलो विधि मात्रै नाटकका लागि पूर्णतया अनुकूल हुन सक्छ भन्ने विश्वास गर्दछु ।

निश्चय नै । तर विशिष्ट मामिलामा यसले दर्शकलाई अन्यौलमा पार्दछः उसले सामग्रीमा आफ्नो बाटै फेला पार्न सक्तैन ।

ब्रेख्त : त्यस्तो हो भने यसका लागि समकालीन थिएटर उत्तरदायी छ । त्यसले यस्ता चिज उठाउँछ, विश्लेषण खोज्दछ र रहस्यमय रूपमा प्रस्तुत गर्दछ ।

यसको मतलब नाटकका घटनाक्रमलाई बोधगम्य बनाउने काम लेखकको मात्रै होइन, निर्देशकको पनि हो ?

ब्रेख्त : प्रदर्शनको क्रममा त निश्चय पनि हो । यसको अर्थ नाटकको प्रदर्शनकै क्रममा बुझिन्छन् । तर अहिले व्याप्त रहेको उत्साहहीनताबाट हामी मुक्त हुनु आवश्यक छ, देखावटी उत्साहहीनताबाट पनि । यस्तो उत्साहहीनताको हद खराब पोस्टर (विज्ञापन सामग्री) मा देख्न पाइन्छ । म एपिक थिएटरको पक्षपाती हुँ । कथ्यलाई निर्देशकले असाध्यै गम्भीरताका साथ यथातथ्य रूपले अनावरण गर्नै पर्दछ । हिजोआज सामान्यतया नाटकको अर्थ मुख्यतः अभिनयकर्ताले आफ्नै तरिकाले दर्शकको हृदयमा खेल्ने कारणले गर्दा अस्पष्ट हुने गरेको छ । नाटकमा प्रस्तुत गरिएका पात्र आफै दर्शकबाट अनुगृहित हुने गर्दछन् र यसरी ती विकृत हुन्छन् । अहिलेको अभ्यासविपरीत दर्शकसामु तिनलाई एकदमै खरो रूपमा, वस्तुगत र शास्त्रीय तरिकाले प्रस्तुत गरिनु पर्दछ । ती भावनाका विषय होइनन्, तिनलाई बुझ्नुपर्ने हुन्छ । भावनाहरू निजी सामग्री हुन् र यस कारण सङ्कीर्ण मानसिकताका हुन्छन् । जेजस्तो भए पनि दिमाग इमानदार र सापेक्ष रूपले सबैलाई ग्रहण गर्न सक्षम हुन्छ ।

यो त पूर्णतया बुद्धिवाद हो, जसमा सम्झौता गर्न सकिँदैन । मेरो दृष्टिमा यो विगतका वर्षमा चलेको अबौद्धिकताको फेसनको सिकार नबन्नु नै महान् उपलब्धि हो ।

ब्रेख्त : मा आफूलाई यसको विशुद्ध सामग्रीमा सीमित राख्तछु । तर म मात्र प्रारूपित (typical) को चित्रण गर्दछु । म चयन गर्दछु, जुन व्यवस्थित र क्रमबद्ध हुन्छ । मेरा पात्रमध्ये कोही अन्तर्विरोधमा फँस्तछ भने पनि त्यो किन हुन्छ भने एउटा व्यक्ति दुई फरक स्थितिमा कहिल्यै पनि उस्तै हुन वा रहन सक्तैन नै । बाह्य परिवर्तनहरूले उसलाई निरन्तर रूपले आन्तरिक पुनर्निर्माणका लागि बाध्य पार्दछन् । व्यक्तित्व निरन्तर उस्तै रहन्छ भन्ने कुरा एउटा ठूलो भ्रम वा अति कल्पना हो । मानिस निरन्तर विनास र निर्माण भइरहेको, स्वयम्लाई नयाँमा रूपान्तरित गरिरहेको एउटा परमाणु हो । वस्तु जेजस्तो छ, त्यस्तै चित्रण गर्नु पर्दछ ।

यसको मतलब के हो भने यथार्थ जगत्को भ्रामक स्थितिलाई हाम्रो दिमागले बौद्धिक रूपमा पुष्टि गर्दछौं …

ब्रेख्त : हो, बुद्धिको उपयोग गरेर । हाम्रो दिमाग पूर्णतः दोषहीन नभएकाले भ्रम हुन्छ । उसको बाहिर जुन संसार छ, हामी त्यसलाई अतार्किक भन्दछौं ।

अहिले तपाईं के काम गर्दै हुनुहुन्छ ?

ब्रेख्त : म दुइटा काममा लागेको छु । पहिलो हो साम्सन कोर्नरको जीवनी ।

तपाईंलाई यसमा काम गर्न केले प्रेरित गरेको थियो ?

ब्रेख्त : साम्सन कोर्नर भव्य र महत्वपूर्ण मानिस हुन् । उनीबारे जान्ने सहजतम उपाय भनेको उनीबाट उनको जीवनी सुन्नु हो । म यथार्थलाई अति नै मूल्य दिन्छु । जेहोस्, साम्सन कोर्नरजस्ता बक्सरबारे गरिने कार्य हातमा गन्नलायक काम होः यो खुसीको विषय हो । उनीबारे मलाई प्रभावित गर्ने कुरो के थियो भने उनी फिल्म क्षेत्रमा एकदमै गैरजर्मन तरिकाबाट प्रकट भए । उनले वस्तुगत रूपले काम गरे । यसको महान् सुकोमल सौन्दर्य छ । उदाहरणका लागि साधारण बसको टिकटलाई उनी आफ्नो गोजीमा यसरी राख्छन् कि त्यो तरिका साधारणतया एकदमै अनुकरण गर्न नसकिने खालको छ । यही कारण उनी अति उल्लेखनीय फिल्म अभिनेता हुन् ।

काम कस्तो छ त ?

ब्रेख्त : यो कामभन्दा बेसी आनन्ददायी छ । मैले उनीसित कुराकानी गर्न आग्रह गरेको छु । म उनका मतलाई असाध्यै महत्व दिन्छु । मानिसका भावनामा भन्दा बढी उनीहरूका विचारमा मेरो बढी चाख छ । विचारबाटै मुख्यतः भावना जन्मन्छन्, ती सह–उत्पादन हुन् । जेहोस्, विचारहरू निर्णयात्मक हुन्छन् । कहिलेकाहीँ मात्रै अनुभवले उच्च तहको प्राथमिक महङ्खव हासिल गर्दछन् । तर हामीलाई के थाहा छ भने विचारहरू सधैं अनुभवमा आधारित हुँदैनन् ।

यो पनि यथार्थमा भन्दा बुद्धिवाद हो ।

ब्रेख्त : हरेक समय अभिनयन पूर्वनिर्धारितै हुन्छ । यथार्थपरक ढंगले भन्ने हो भने स्वतःस्फूर्त अभिनयजस्तो चिज कतै पाइँदैन । यहाँ पनि पृष्ठभागमा बौद्धिकतै क्रियाशील हुन्छ ।

तपाईंले गर्दै गरेको अर्काे कामचाहिँ के हो नि ?

ब्रेख्त : ‘म्यान इज म्यान’ (मानिस मानिसै हो) मा काम गर्दैछु । यो एक जनामा मानिसको सुखान्त नाटक हो । उसलाई विभिन्न भागमा विभाजित गरिएको हुन्छ र कुनै खास उद्देश्यका लागि जोडिन्छ वा पुनर्निर्माण गरिन्छ ।

कसले उसको पुनर्निर्माण गर्दछ नि ?

ब्रेख्त : भावनाका तीन अभियन्ताले ।

के प्रयोग सफल भयो त ?

ब्रेख्त : सफल भयो, हरेकले आनन्दको सास फेरे ।

के त्यो सही ढङ्गले निर्माण भयो त ?

ब्रेख्त : विशेष रूपले त होइन ।

सन् १९२६

(समालोचक निनु चापागाईंद्वारा अनुदित यो अन्तर्वार्ता बर्नार्ड गुलेमिनले लिएका हुन् । यो ‘ब्रेख्त र ब्रेख्त’ पुस्तकबाट यो लिइएको हो ।)