ठूलो लुम्पेक र लिम्घामा पहिरोको वितण्डा (हेर्नुहोस् फोटो)

साउन १०, गुल्मी । सत्यवती गाउँपालिका ३ र ४ को लिम्घा र ठूलोलुम्पेकमा मंगलबार पहिरोमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। पहिरोमा पुरिएका दुई जनाको शव बिहीवार भेटिएको छ। पहिरोमा ज्यान गुमाउने १३ जनाकै सनाखत भएको छ।

पहिरोमा पुरिएका लिम्घाका तारा विक र ठूलोलुम्पेकका माया विकको शव बिहीबार भेटिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

पहिरोले पारेको मानवीय क्षतिका कारण सिंगो गाउँ शोकमा डुबेको छ। पहिरोमा मृत्यु भएका सबैको शव आफन्त र परिवारको जिम्मा लगाउने काम भइरहेको पौडेलले जानकारी दिए।

पहिरोबाट करिब एक करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको आँकलन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी गराए।

पहिरोबाट विस्थापित दुई गाउँका करिब ४०० बढीलाई राहत र खाद्यान्नको प्रबन्ध मिलाउने काम भइरहेको छ। अन्य भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रजिअ पौडेलले जनाए।

 


लिम्घाका पहिरो पीडितलाई मंगलबार नै खाद्यान्न र राहतसामग्री वितरण गरिए पनि ठूलोलुम्पेकका पहिरो पीडितलाई बुधबारमात्रै हेलिकप्टरबाट राहत सामग्री लगिएको थियो। जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा गृहमन्त्रालयले राहतसामग्री वितरण गरेको प्रजिअ पौडेलले बताए।

परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप ज्ञवालीले बुधबार घटनास्थलको स्थलगत अवलोकन गरेका थिए। प्रजिअ पौडेलका अनुसार २० क्विन्टल चामल र तयारी खाजा वितरण गरिएको छ।

जसलाई लग्यो पहिरोले

मृत्यु हुनेमा सत्यवती ३ ठूलोलुम्पेकका ३४ वर्षीय दिलकुमारी तरामु र ९ वर्षीय दर्शन तरामु आमा छोरा हुन्। सोही ठाउँकै १३ वर्षीय बबी विक,१६ वर्षीया माया विक र ६३ वर्षीया दुर्गा सिंजाली रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

पौडेलका अनुसार वडा नम्बर ४ लिम्घाका १० वर्षीय हिमांशु विक,२९ वर्षीया पम्फा विक,३२ वर्षीया निर्मला विक,१२ वर्षीया अञ्जली विक,६० वर्षीया छलि विक,१० वर्षीया सिवानी विक,८ वर्षीया तारा विक र २ वर्षीय सुमन विक रहेका छन्।