सिद्धबाबाको पहिरो रोक्न ‘रक नेट’ प्रविधि उपयुक्त हुने विज्ञहरुको भनाई

बर्षामा मात्रै होइन हिउँदमा पनि पहिरो जाने सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबाको पहिरो रोक्न ‘रक नेट’ प्रविधि उपयुक्त हुने विज्ञले बताएका छन् । विश्वका धेरै देशमा सफल मानिएकाले यो प्रविधि अपनाउन सके सिद्धबाबामा पहिरोका कारण हुने धनजनको क्षति रोक्न सकिने उनीहरुको भनाइ छ ।

भूगर्भविद् तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा. रञ्जन दाहालले चुरे पहाडको पहिरो रोक्ने सबैभन्दा सरल र छोटो प्रविधि ‘रक नेट’ भएको बताउनुभयो । उहाँका अनुसार माथिबाट आउने ढुंगालाई जालीमा अड्याएर रोक्ने तर सडकमा खस्न नदिने प्रविधि ‘रक नेट’ हो । माथिबाट खस्ने ढुंगालाई जालीले अड्याउने भएकाले यो भरपर्दो रहेको छ । साढे २ किलोमिटर क्षेत्रमा पहिरो व्यवस्थापनको काम गर्नका लागि ६० करोड लगानी लाग्ने अनुमान छ ।

अष्ट्रेलियाका भुगर्भविद् इञ्जिनियर मार्कुस हैण्डले विश्वका धेरै देशले ‘रक नेट’ प्रविधि अपनाएको र सफल भएकाले सिद्धबाबामा यही तरिका अपनाउँदा उचित हुने बताउनुभयो । गत वर्ष यही समूहले देशमै पहिलो पटक सिद्धबाबा क्षेत्रमा यो प्रविधिको परिक्षण प्रयोग समेत थियो । जुन सफल भएको छ । पछिल्लो समयमा संघीय सरकारले सुरुङ मार्गको विकल्प अघि सारेको छ । तर यो जटिल र खर्चिलो देखिएको छ ।

प्रदेश सरकारले भने तत्कालका लागि वैकल्पिक मार्गको योजना अगाडि बढाएको छ । बुटवलको धागो कारखानाबाट देवदहको चरंगे हुँदै पाल्पाको चौकी भञ्ज्याङबाट दोभान जोड्ने सडकका लागि चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन समेत भएको छ । सिद्धबाबा क्षेत्रमा पहिरोले वर्षेनी १० देखि १२ जनाको ज्यान जाने गरेको छ भने दिनहुँ सडक अवरुद्ध हुने गरेको छ ।यो समाचार कान्तिपुरमा प्रकाशित छ ।