विचार अभिव्यक्तिको स्वतन्त्रता हनन नगर्न आग्रह

 

 

 

 

 

विराटनगर / लोकतान्त्रिक राज्यमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्यनमा आइसकेकोले राजनैतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र विचार अभिव्यक्त्तिको स्वतन्त्रता हनन गर्न नहुनेमा जोड दिइएको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले विराटनगरमा बिहीबार आयोजना गरेको मानव अधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयमा अन्र्तक्रिया गर्दै वक्ताहरुले संविधानमा उल्लेख भएको मौलिक अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । नेपालले मानव अधिकार पक्षका विभिन्न १८ वटा अभिसन्धिमा हस्ताक्षर गरिसकेकोले लोकतान्त्रिक सरकारले त्यसलाई पालना गर्नु अनिवार्य दायित्व हुने भएकोले त्यसको पालना गर्न राज्य उदासिन भएको क्रान्तिकारी पत्रकार संघका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले बताए । उनले आस्थाकै आधारमा नागरिकहरुलाई पक्राउ गरेर जेल हाल्नु, हिरासतमा राख्नु र यातना दिनु विश्वव्यापी मानव अधिकारको घोषणा बिपरित कार्य भएपनि राज्यले बेवास्ता गरिरहेको आरोप लगाए ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश अध्यक्ष विक्रम लुइँटेलले सत्तमा गएपछि आस्थाको आधारमा नागरिकहरुलाई पक्राउ गर्ने राज्य काुननी र लोकतान्त्रिक हुन नसक्ने बताए । उनले विना हातहतियार स्वतन्त्रता पुर्वक हिँडडुल गर्ने र आफनो विचार व्यक्त गर्ने अधिकार सबै नागरिकलाई भएकोले संविधान अनुसार मानव अधिकारको पालना गर्नु राज्य र सरकारको दायित्व हुने बताए । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले संविधानको हक उपभोग गर्न पाउनु सबैको अधिकार भएकोले नैतिक मुल्य मान्यता बोकेर आवाज बिहिनहरुको आवाज बोल्ने पत्रकारहरुलाई कुष्ठि गर्नु गलत हुने बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका एक नम्बर प्रदेशका निर्देशक मोहनदेव जोशीले विचारकै आधारमा दुःख दिने परिपाटीको अन्त गराउनु लोकतान्त्रिक राज्यको असल चरित्र भएको बताए । नेकपा मोरङका संयोजक ऋषि पोखरेलले अव विद्रोही बनेर अलग अस्तित्व खोज्नु भन्दा पनि सबैले न्याय र समानताका लागि पहल गर्नुपर्नेमा जोड दिए । माओवादीका एक नम्बर प्रदेश संयोजक विमल निरौलाले फरक आस्था राख्ने पार्टीको कार्यकर्ता भएकै कारण नागरिकहरुलाई पटक पटक पक्राउ गरेर जेल र हिरासतमा राखिरहनु संबैधानिक राज्यको खिल्ली उडाउने काम भएको बताए । उनले आस्था राखेकै कारण नागरिकहरुले यातना पाइरहँदा पत्रकाहरुले पनि चुप लागेर बस्न नहुने बताए ।

अखिल नेपाल शिक्षक संगठन (क्रान्तिकारी ) का केन्द्रिय महासचिव विकास न्यौपानेले अस्थाकै कारण राज्यले नागरिकलाई पक्राउ गर्नु र जेल हाल्ने कार्य गर्नु पुरानो राज्य सत्ताको चरित्र भएकोले लोकतान्त्रिक राज्यमा शान्त पूर्ण विरोध गर्न पाउने र बोल्न पाउने सुरक्षित हकलाई हनन गर्नु आपत्ती जनक कार्य भएको बताए । क्रान्तिकारी पत्रकार संगठनले गत असोज २ गतेदेखि ५ नम्बर प्रदेशको दाङबाट मानव अधिकार र प्रेस स्वतन्त्रकालागि देश व्यापी अभियान थालेको हो ।