रुपन्देहीमा सरकारी नेकपा (नेकपा) भित्र बिवाद, घिमिरेले बुझाए ध्यानाकर्षण पत्र

जनबाटो संवाददाता । ओली–दाहाल नेतृत्वको सरकारी नेकपा (नेकपा) रुपन्देहीभित्र नेतृत्वको बिषयलाई लिएर विवाद भएको छ । एकता प्रक्रिया सिफारिसमा रुपन्देहीमा साविक एमालेभित्रको सिफारिसप्रति पार्टीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आफु अध्यक्ष हुन पाउनुपर्ने भन्दै केन्द्रीय अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

तत्कालीन उपाध्यक्ष घिमिरेले साविक जिल्ला कमिटीको उपाध्यक्ष भएर कार्यबाहक अध्यक्ष भई स्थानीय निर्वाचन र मेचीमहाकाली अभियान सम्पन्न गरेको, आठौं जिल्ला अधिवेशनमा आफु अध्यक्ष उम्मेदवार भएको तर तत्कालीन उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसालको सहमतिमा अर्कोपटक अध्यक्ष हुने सहमतिमा छाडेको र स्थानीय चुनावमा तत्कालीन अध्यक्ष शिव सुवेदीलाई मेयरमा जिताएको आदिका कारण आफुलाई अध्यक्षमा सिफारिस गर्नुपर्ने बताएका छन् ।

नेता घिमिरेले कार्यदलले पार्टी प्रदेश कार्यालय सचिव गोपाल भट्टराईलाई अध्यक्ष सिफारिस गरेकोप्रति गम्भीर असहमति रहेको समेत बताएका छन् । घिमिरले आफुको इच्छा विपरित भट्टराईलाई सिफारिस गर्नु भनेको प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेको भन्दै पार्टीमा विधि र लोकतन्त्र दुवै नभएको बताए । केन्द्रले बनाएको कार्यदलले आफुसंग एकपटक पनि परामर्श नगरेकोप्रति घिमिरेले आक्रोश व्यक्त गरेका छन् ।

प्रदेश नं. ५ मा एकताका लागी बनेको कार्यदलमा शंकर पोखरेल, दलबहादुर राना, मणि थापा र गणेशमान पुन रहेका छन् । साथै तत्कालीन एमाले र माओवादी केन्द्रवीच एकता भएपछि देशैभर कार्यकर्ताहरु वीच असन्तुष्टि रहेको बताईएको छ । अझ माकेभित्रका कार्यकर्ताहरुको अवस्था हरिबिजोक हुने देखिएको स्रोतले बताएको छ ।