मगर जातिको भुम्या पर्व

भुम्या पर्व अथार मगरात क्षेत्रका मगर जातिको प्रमुख चाड हो । मुख्यगरी रोल्पा, रुकुम तथा मध्यपश्चिम क्षेत्रमा बसोवास गर्ने खाम÷पाङ मगर भाषा बोल्ने मगर जातिले मुख्य पर्वको रुपमा भुम्या मनाउने गर्छन् । आफ्नो पुर्खाले मनाउदै आएको यो पर्व बसाई सरेर दाङ झरेका मगर समुदायले पनि भव्य रुपमा मनाउने गर्छन् । त्यसो त थारु जातिको बाहुल्यता रहेको दाङमा पछिल्ला समय बसाई सरेर आउने मगरहरुको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

के हो भूम्या ?
अथार मगरात क्षेत्रमा बसोबास गर्ने खाम मगर बोल्ने मगर समुदायले परापुर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको यो चाड यस क्षेत्रका मगरहरुले मनाउने मुख्य चाड हो । मगर समुदाय भुमिलाई आफ्नो देवताको रुपमा मान्छन् । र यो भुम्या पर्व पनि भुमीलाई पुजा गर्नु हो । मगर समुदायको कर्मथलो कविलायुगदेखी नै प्रायः घरभन्दा बाहिर प्रकृतिसंगको सामिप्यतामा बढी हुने गरेको पाईन्छ । त्यस अवसरमा हरेक वर्षको आषाढ महिनाको एक गतेको समयलाई केन्द्र मानेर स्थानानुकुलता अनुसार बैशाखदेखि भदौ महिनाको हरेक सकरातिहरुमा भेला हुने र उक्त भेलालाई वार्षिक जनगणनाको रुपमा पनि लिन थालियो । उक्त अवसरमा अनुपस्थित रहनेलाई मृत घोषणा गरी उसको किरिया काज समेत गरिदिने (कुनै स्थानमा मात्र) तथा अन्य स्थानमा घर परिवारमा नराम्रो हुन्छ, बिपत्ति आउँछ त्यसकारण यो पर्व सबैले मनाउँनुपर्छ भन्ने मान्यता रहेको थियो ।

यो पर्व मनाएमा प्राकृतिक बिपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पुजा गर्न थालियो । भुम्या पर्व पुजापाठ तथा नाँचगान गरी मनाउने गरिन्छ । पुजापाठ संगसंगै २२ चालमा नाँच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई नोगोबाङ्गे पनि भन्ने गरिन्छ । यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमी र भूमी देवतालाई पूजा गरेर मातृभुमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । साथै यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिन गरिने कर्म र जोगाएको उपलक्ष्यमा गरिने उत्सवको रुपमा पनि लिने काम गर्दछ । यो पर्वको अवसरमा गाउँका भद्र भलाद्मीहरु बसेर गाउँको जनप्रतिनिधि चयन गर्ने चलन समेत रहेको छ । अहिले पनि यो कार्य केही ठाउँमा कायमै रहेको छ । भूम्या पर्व मगर जातिले सञ्चालन गरेको ऐतिहासिक अथार, बाह्र राज्यसत्ताहरुसंग समेत सम्बन्ध रहेको मगर गाउँका बुढापाकाहरु बताउँछन् ।

मनाईने शैली र किम्वदन्ती
मगर समुदाय पहाडी आदिवासी जनजाति हुन् । यिनीहरुको बसोबास पहाडी क्षेत्रमा हुने र भौगोलिक विकटताका कारण पनि पहाडी क्षेत्रमा प्राकृतिक प्रकोप, दैवी विपत्ति बढी हुने हुनाले भूमिका पुजारी मगर समुदायले त्यसको रोकथामका लागि भूम्या पर्व मनाउन सुरु गरेको भनाई रहेको छ । यस पर्व अथार मगरात क्षेत्रमा खाम बोल्ने मगर समुदायले निकै लामो समयदेखी मनाउँदै आएका छन् । बिशेष गरेर राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा यस पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । असार एक गते मनाईने भूम्या पर्वको तयारी एक महिना अगाडीबाट नै गर्ने चलन रहेको छ । भूमे मनाउने बिभिन्न बिधि र प्रक्रियाहरु रहेका छन् ।

बुकी टिप्दै
परापुर्व कालमा अथार मगरात क्षेत्रमा रहेको गाउँमा मगर समुदायको बाक्लो बसोबास रहेको थियो । त्यसै गाउँमा दर्लामी गोत्रका पुन मगरको पगिनभ बसोवास रहेको थियो भने शिर्पाकोटबाट आएका शेर्पाली कामी (दलित) पनी त्यसै गाउँमा बस्ने गर्दथे । गाउँलेहरु खोलातिर पानी भर्न जाने गर्दथे । गाउँको तल्लोतिर रहेको जारी खोलामा पानी भर्न जाने क्रममा खोलाको तिरमा बास टेकेर बसेको सर्पले गाउँलेलाई सताउन थाल्यो । गाउँका मान्छेहरु चार जना पानी भर्न भएमा दुई जनलाई मारिदिने, दुई जना गयो भने एक जनालाई मारिदिने र एक जना मात्र गएमा आधा मारिदिने गर्न थाल्यो । खोलाको किनारमा बसेको सर्पको यस प्रकारको हर्कतले गाउँलेहरु त्रसित भए । यसको कसरी निकास निकाल्ने भनी छलफल गर्न थाले । गाउँका अन्य कसैले निकास निकालन सकेनन् । गाउँलेहरु मध्येकै दर्लामी गोत्रका पुन मगर र शेर्पाली कामी बिचमा छलफल गर्दा सर्पलाई नमारिए सारा गाउँलेहरुलाई नै सखाप पार्ने विश्वासका साथ त्यसको शिकार गरियो ।

भूम्या पर्व असार १ गतेवाट सुरु हुन्छ भन्ने गरिएपनि यसको तयारीका लागि गाउँका सारा मानिसहरु एक महिना अगाडीबाट नै त्यसको तयारीमा जुटिसकेका हुन्छन् । असार महिना लाग्दाको एक दुई हप्ता पहिले नै गाउँको एक खुल्ला स्थानमा भूम्या पर्वको नाचगान तथा जमघटका लागी नोगोपो (नाच्ने ठाउँ) को सरसफाई गरिन्छ । भूम्याका लागि आवश्यक पर्ने बाजागाजा बजाउनका लागि गाउँका दमाईहरु समेत तयार भएपछि नाच्ने तथा मेला लाग्ने स्थानको सरसफाईपछि गाउँका भद्र भलाद्मी, बुढापाका अग्रजहरुको उपस्थितिमा गाउँभरीका सम्पुर्ण गाउँलेहरु उपस्थित भएर जेठ मसान्तको अघिल्लो दिन बिधिवत रुपमा भूम्या पर्वको उद्घाटन गर्ने चलन रहेको छ ।

फूल टिप्न २ दिन
भुम्या नाच्ने ठाउँलाई नागोपो भनिन्छ । नोगोपोमा अग्रज बुढापाकाहरुद्वारा भूम्या पर्वको उद्घाटन भैसकेपछि गाउँभरीका तरुनातन्नेरीहरु गाउँका केही अग्रज बुढापाकाहरु सहित बाजागाजा बजाउँदै २०/२५ जना देखि ४०/४५ जना सम्मको समुह ३५ हजार देखि ५ हजार सम्मको उचाईमा बुकीको फूल टिप्न जान्छन् । जेठ महिनाको मसान्तको पहिलो दिन गाउँमा भूम्याको उद्घाटन गरिसकेपछि बुकी फूल टिप्न जाने समुह दिउँसो ३/४ बजेतिर बुकी तिर जाने गर्छन् । केही गाउँका अग्रजहरुको साथ गएको उक्त समुह बाटोभरी नाचगान गदै बाजागाजा सहित नास्ता पानी गर्दै जाने गर्छ ।

फूल टिप्न जाने युवतीहरु मगर भेषभुषा छिट्को गुन्यु, मखमलको चोलो, गादो (भाङग्रो), पहेलो पटुकी, पुराना चाँदीका गहना, पहेलो, हरियो पोते चुरामा चिटिक्क परेका हुन्छन् भने युवाहरु मखमलको भोटो, घरमै भेडा तथा भाङ्गोबाट तयार पारेको कछाड, घरमै तयार पारेको पटुकी बाँधेर छड्के खकुरी भिरेर चिटिक्कै परेका हुँन्छन् । संगसंगै केटाहरुले भेडाको ऊनबाट तयार पारेको भोटो ओढेका हुँन्छन् भने युवतिहरु घरमा ऊनबाट तयार पारेको झोलाभरी घरमा बनाएका कोसेलीहरु बोकेर जाने गर्छन् । बुकी जाँदा लामो उकाली यात्रालाई सहज बनाउनका लागी युवायुवतीहरुले गीत गाउँदै रमाईलो गर्ने गर्छन् ।

गाउँको सबैभन्दा अग्लो उचाई ४ देखि ५ हजार मिटर अग्लो स्थानमा बुकीको फूल टिप्न जाने गरिन्छ । उक्त कामलाई मगर भाषामा नोगो जाने पनि भन्ने गरिन्छ । नोगोपोमा निकै चिसो हुने र पानी समेत नपाईने हुनाले गाउँका युवतीहरुले घरबाटै पानी, अर्नी पानी (नास्ता खानेकुरा) लिएर गएका हुन्छन् । सगुन स्वरुप जाँड, रक्सी पनि लग्ने गरिन्छ । नोगोपो जाने क्रममा संगै गएका दमाई थरका बाजा बजाउने कलाकारले उकालोभरी नै बाजा बजाएर मनोरन्जन गर्छन् ।
नोगोपो जाँने क्रममा एकै दिनमा पुग्न नसकिने भएका कारण सबैजना आधा बाटोमा रहेको गोठमा बास बस्ने गरिन्छ । बाटोमा रहेको उक्त गोठ सानो भएका कारण गाउँबाट गएको सबै समुहलाई बस्न ठाउँ सानो हुन्छ । त्यसकारण युवाहरु खुला आकाशमुनि रमाईलो गर्दै बस्छन् । चिसो कम गर्नका लागि सबै जना आगो बालेर आगो ताप्दै रात काट्ने गर्छन् । यसैगरी घरबाट लगेका रोटी, अचार लगायतका खानेकुरा सबैले मिलेर बाँडीचुडी गरी खाने गर्छन ।

बुकीमा चिसो लाग्छ भनेर लसुन, टिमुरको अचार बनाएर लैजाने गरिन्छ । रात काट्न सहज बनाउनका लागी बुढापाकाहरु यानीमाया गीत गाएर रमाईलो गर्ने गर्दछन् भने युवायुवतीहरु गित गाउने तथा नाचगान गरेर रमाईलो गर्ने गर्दछन् । उक्त समयमा नागोपोमा बिशेषगरी युवायुवती मात्र जाने भएको हुँनाले त्यही समयमा नै युवायुवतीको बिचमा माया बसेर बिवाह समेत गर्ने प्रचलन रहेको छ । रातभर रमाईलो गरेर रात काटिसकेपछी बिहानै ४ बजे सबैजना उठेर उचाईमा पाईने रंगिबिरंगी बुकीको फूल टिप्नका लागि सबैभन्दा उचाईमा रहेको स्थानमा जाने गर्छन । फूल टिप्ने क्रममा लाइन लागेर रमाईलो किसिमले पनि टिप्ने गरिन्छ । स्पटमा अलि अप्ठ्यारो ठाउँमा मात्र फूल पाईने हुनाले कस्ले बढी टिप्न सक्छ भनेर प्रतिस्पर्धा समेत हुने गर्छ । तर फूल भने अलि भिर भएको ठाउँमा मात्र पाईने हुँदा युवायुवती मात्र फूल टिप्ने गर्छन् भने बुढापाकाहरु फूल टिपिसकेपछी आएर गरिने बिधि, पुजाआजाको तयारी गर्ने गर्छन् ।

पन्थौली
नोगोपो जानेहरुले जाने, फर्किने क्रममा ठाउँ–ठाउँमा बसेर सल्लाको हाँगा काटेर मुर्ला बनाउने, त्यसमा धजा टङ्गाउने, अक्षता, ढुङ्गा, सक्क क्षेत्रमा फाल्ने काम गरिन्छ । त्यसठाउँमा सबैले थकाई मार्ने अर्निपानी खाने काम पनी गर्दछन् । फूल टिप्न जाने क्रममा धेरै ठाउँमा पन्थ्यौली बनाउँदै जाने चलन रहेको छ । त्यस ठाउँमा बाजा बजाउँदै नाचगान गर्ने चलन समेत रहेको छ । यो क्रम जाने आउने दुबै समयमा गर्ने गरिन्छ ।

न्याहो गित
बुकीको फूल टिपेर फर्कने क्रममा बाटोमा महिलाहरुले न्याउली चराको भाकामा गित गाउँदै फर्किने चलन रहेको छ । गित गाउँदै गाउँतिर फर्कदा गित गाउँदै रमाईलो गर्ने र बाटो काट्न पनी सजिलो हुँने हुँनाले यो गित गाउँने गरिन्छ । न्याहो गित गाउँदै बाटोभरी पन्थ्यौली बनाउँदै जेठको मसान्तको दिनमा साँझपख गाउँमा फर्किने गरिन्छ ।

गाउँमा रहेका अन्य गाउँलेहरु नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुँन्छन् । नाचगान तथा मेलाका लागी गाउँमा तयार पारिएको स्थानमा सबैजना नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुन्छन् । नोगोपो गएकाहरु आईसकेपछि गाउँका बुढापाकाहरु द्वारा बिशेष रुपमा

पालैपालो पूजारी
दर्लामी पुन र शेर्पाली कामी बिचमा भएको सरसल्लाह अनुसार शेर्पाली कामी पूजारी हुने चलन छ । त्यसैअनुसार शेर्पाली कामीहरु बिचमा पनी पालैपालो पूजारी हुने परम्परा रहेको छ । शेर्पालीहरुको भाईसंगोलमा पालैपालो प्रत्येक वर्षको पुजारी छान्ने गरिन्छ । एक वर्ष एक भाई पूजारी भएमा अर्को वर्ष अर्को भाई पूजारी हुने चलन रहेको छ । आफ्नो पुर्खाले पहिलेदोख नै पालैपालो पूजारी हुने परम्परा बसालेका कारण त्यसलाई निरन्तरता दिईरहेको धनबहादुर शेर्पालीले जानकारी दिए । तर पूजारी हुने पालो आएको भाईको घरमा त्यस घरको महिला सुत्केरी भएमा, गर्भवती भएमा भने त्यस वर्ष पूजारी बन्न नपाईने हुन्छ । घरमा महिला सुत्केरी अथवा गर्भवती भएमा घरमा जुठो भएको भन्ने गरिन्छ ।

२२ चालको नाँच
असार १ गते भुम्या थानमा भूम्या देवतालाई बलि दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाँच नाच्ने गरिन्छ । गाउँभरीका सम्पुर्ण महिला पुरुष, केटाकेटी, युवायुवती, बुढाबुढी सबै भूम्या नाच्ने ठाउँमा जम्मा हुन्छन् । अनि प्रत्येक दिन पाँच दिनसम्म दमाहा, झ्याली, सहनाई लगायतको बाजाको तालमा भूमि देवतालाई पुग्दै नाच्ने गर्दछन् । अथार मगरात क्षेत्रको मगर समुदायमा प्रचलित भेषभुषा महिलाहरुले मखमलको चोलो, छिट्को लुङ्गी, पहेलो पटुकी, मखमल तथा घरमै भाङ्गोद्वारा तयार पारिएको भाङ्ग्रो (गादा), नाक, कान, घाटीमा चाँदि तथा सुनका बिभिन्न गहनाहरु, मुङ्गा एवं पोतेका मालाहरु लगाएर हरियो, रातो, पहेंलो बिभिन्न रंगका पछ्यौरामा चिटिक्क परेका हुन्छन् भने पूरुषहरु घरमा तयार पारिएको घरेलु कपडाको छड्के, मखमलको भोटो घरमै तयार पारेको पटुकी, शिरमा टोपी, खुट्टामा पाइजामा, कम्मरमा खुकुरी भिरेर चिटिक्क परेर नाच्ने गरिन्छ ।

एक गतेबाट शुरु भएको नाच पाँच दिनसम्म नाचिन्छ । भूमे पर्वमा गाउँका प्रत्येकलाई अनिवार्य रुपमा उपस्थिती हुँनुपर्ने हुन्छ । महिलाहरुले समातेको पछ्यौरा एउँटा हातको काँधको माथिल्तिर र अर्को हातको तल्लोतिरबाट भिरेर हातमा समात्ने गरिएको हुँन्छ । नाच्ने क्रममा महिलाहरुले दुई हातमा बिभिन्न रंगका पछ्यौराद्वारा बाजाको तालमा भूमितिर पछ्यौरा फर्काउँदै बिभिन्न तालमा नाच्ने गरिन्छ । केटाहरुले हातको चालमा बिभिन्न चालहरु नाच्ने गर्दछन् ।