जनजाति महासंघले भन्यो–‘आचार्य श्रीनिवासलाई कडा कारवाही गर’

जनबाटो संवाददाता । नेपाल आदिवासि जनजाति महासंघले हालै पक्राउ परेको आचार्य श्रीनिवासलाई कडा कारबाही गर्न माग गरेको छ । मुलुकलाई पुन एकल हिन्दुराज्य बनाउने र साम्प्रदायिक द्धन्द्ध भड्काउने षड्यन्त्र स्वरुप आचार्य श्रीनिवासको नियोजित षड्यन्त्र पर्दाफास भएको भन्दै महासंघले उन्मुक्ति नदिन माग गरेको हो ।

महासंघका अध्यक्ष जगत बहादुर बरामद्धारा जारी गरिएको विज्ञप्तीमा धार्मिक साम्प्रदायिक द्धन्द्ध फैल्याउने र प्राप्त उपलब्धिलाई समाप्त पार्ने सबैखाले षड्यन्त्रहरु नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । “वहुधार्मिक मुलुकमा एकल धार्मिक वर्चस्व कायम गराउने र धार्मिक साम्प्रदायिक द्धन्द्ध फैलाउने घृणित कार्यमा संलग्न श्रीनिवास आचार्य लगाएत सबैलाई राज्य सरकारले उन्मुक्ति नदिन र कारबाहीको दायरामा ल्याउन महासंघ विशेष आग्रह गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

धार्मिक साम्प्रदायिक द्धन्द्ध फैल्याउने एकल धार्मिक बर्चस्व कायम गराउने षड्यन्त्र विरुद्ध शसक्त आवाज उठाउन पनि महासंघले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

आफैलाई गोली हान्न लगाएर धार्मिक द्धन्द्ध फैलाउन खोजेको अभियोगमा हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् । उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ ।

प्रेस विज्ञप्ती

विविधतायुक्त नेपाली जनताको त्याग, योगदान, बलिदान र संघर्षबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता राजनीतिक उपलब्धिहरू प्राप्त भएको घाम जत्तिकै छर्लङ्ग छ । नेपालको संविधानले आदिवासी जनजातिका मूल मुद्धा पहिचान र अधिकारहरूलाई मूलभूत रुपमा अझै सम्बोधन गर्न नसकिरहेता पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको कुरा स्वीकारेको छ । तर, नेपाललाई पुनः हिन्दू राज्य बनाउने र धार्मिक बितण्डता मच्चाउने तथा धार्मिक द्वन्द्व बढाउने उद्धेश्यअनुरुप पछिल्लो समय हिन्दू धर्म गुरु श्रीनिवास आचार्यमाथि आफैले, आफैलाई, आफैबाट र आफैद्वारा गोली हानिएको भन्ने कुरा विभिन्न सञ्चार माध्यमहरूमा आएकोप्रति सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल धर्मनिरपेक्ष मुलुक भएकोले सबै धर्म सम्प्रदायलाई राज्य सरकार र समाजको तहबाट समान नीति र व्यवहार प्रस्तुत गर्नुपर्ने समयमा आदिवासी जनजातिको लामो समयको संघर्षबाट प्राप्त उपलब्धि धर्मनिरपेक्षतालाई ‘डिजेल’ गरेर बहुधार्मिक मुलुक नेपाललाई पुनः एकल हिन्दू राष्ट्र बनाउने उद्धेश्यबाट अभिप्रेरित रही धर्म गुरुजस्तो व्यक्तिबाट चालिएको कदम निन्दनीय रहेको महासंघको ठहर छ ।
नेपालको हरेक राजनीतिक-सामाजिक-सांस्कृतिक-आर्थिक परिवर्तनमा नेपालका आदिवासी जनजातिहरूले रगत, पसिना बगाउँदै अमूल्य त्याग, बलिदान गरेको इतिहास छर्लङ्ग रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष मुलुकमा परिवर्तनबाट भएका उपलब्धिलाई रक्षा र प्रबद्र्धन गर्नुपर्ने बेलामा जुनखाले सुनियोजित घट्ना परिघट्नाहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष कै खिल्ली उडाउने लज्जास्पद कार्य भइरहेकोमा महासंघ घोर निन्दा व्यक्त गर्दछ ।
नेपालमा रहेका सबै धर्महरूप्रति समान नीति र व्यवहार गरौं र धर्मनिरपेक्षताको नीति, सिद्धान्त र कार्यशैलीलाई राज्य सरकार र समाजकै तहबाट इमान्दारितापूर्वक कार्यन्वयन गरौं भन्ने समेत महासंघ विशेष आग्रह गर्दछ । आािदवासीहरूको पहिचान, आस्था, मूल्य र मान्यतालाई शाहकालिन, राणाकालिन, पञ्चायतकालिन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पनि एकल हिन्दू संस्कृति र धर्ममा क्रमशः विलय गराउने सबैखाले कानून, नीति र कार्यशैलीको महासंघ भत्र्सना गर्दछ । धार्मिक साम्प्रदायिक द्वन्द्व फैलाउने र प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्र गर्ने कार्यलाई राज्य सरकारले अबिलम्ब रोकथाम र नियन्त्रण गर्न र बहुधार्मिक मुलुकमा एकल धार्मिक वर्चस्व कायम गराउने र धार्मिक साम्प्रदायिक द्वन्द्व फैलाउने घृणित कार्यमा सङ्लग्न श्रीनिवास आचार्यलगायत सबैलाई राज्य सरकारले उन्मुक्ति नदिन र कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन समेत महासंघ विशेष आग्रह गर्दछ ।
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भइरहेका सुनियोजित यसखाले घट्ना र षड्यन्त्रप्रति सम्पूर्ण आदिवासी जनजातिहरू सजग, सर्तक रहन र त्यसखाले विभेदपूर्ण कार्यका बिरुद्ध आ-आफ्नो ठाउँबाट सशक्त आवाज उठाउन सम्पूर्ण आदिवासी जनजातीय संस्था/aसंगठनहरू र आदिवासी जनताहरूलाई महासंघ विशेष आग्रह गर्दछ ।

धन्यवाद ।
जय आदिवासी जनजाति ।

मितिः २०७५/०१/२५

…………………….
जगतबहादुर बराम
(अध्यक्ष)