कला–साहित्यको उद्देश्य र यसको वर्गीय चरित्र

–खेम थपलिया

बुर्जुवा दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यसप्रकार रहेको पाइन्छ :

  •  कला–साहित्य अरूका निम्ति होइन, आफ्नै मन वहलाउन (स्वान्त सुखाय) का लागि सिर्जना गरिन्छ ।
  •  कला–साहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अन्य सामाजिक उद्देश्य हुँदैन ।
  • जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही साहित्य हो ।
  • कला–साहित्य स्वतन्त्र र पवित्र कुरा हुन्, यसलाई राजनीतिसित जोड्नुहुँदैन ।
  • कला कलाकै निम्ति हुन् ।

माक्र्सवादी दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यसप्रकार रहेको छ :

  • कला–साहित्य र संस्कृतिका अङ्गहरूलाई निर्विवाद रूपमा क्रान्तिको साधनको रूपमा प्रयोग गर्नुपर्दछ ।
  • दुश्मनका जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई जनक्रान्तिको सैद्धान्तिक पृष्ठभूमि तयार पारेर जनतालाई चेतनशील र सङ्गठित पार्न एवम् सर्वहारावर्गको पक्षमा उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिम दस्ताको भूमिका निर्वाह गर्नुपर्दछ ।
  • कला–साहित्यको क्षेत्रमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण लागू गर्नुपर्दछ ।
  • कला–साहित्यलाई क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनुपर्दछ ।
  • कला–साहित्यलाई राजनीतिसित अन्योन्याश्रित रूपमा र वर्गीय पक्षधरतासित जोड्नुपर्दछ ।
  • कला–साहित्यलाई सांस्कृतिक क्रान्तिको भावधारासित जोड्नुपर्दछ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र क्षेत्रीय विविधतायुक्त मुलुक हो । यहाँ सामन्त, किसान, नोकरशाह तथा दलाल पुँजीपति, मजदुुरलगायतका वर्ग र महिला, दलित, जनजाति, मधेसी, मुस्लिमजस्ता समुदाय अस्तित्वशील छन् । नेपालमा लामो समयदेखि राष्ट्रिय र अराष्ट्रिय, जनवादी र जनविरोधी तथा वैज्ञानिक र अवैज्ञानिक चिन्तनधारा–व्यवहारधाराबीच निरन्तर सङ्घर्ष चल्दै आएको छ । नेपालमा राजनीति, अर्थतन्त्र र कला–साहित्यको क्षेत्रमा सामन्तवादी र साम्राज्यवादी उत्पीडन कायमै छ । आज भूमण्डलीकृत साम्राज्यवादको दबदबा छ । विद्युतीय सूचना प्रविधि, बहुराष्ट्रिय कम्पनीहरू र वित्तीय पुँजीको विकाससितै भूमण्डलीकृत साम्राज्यवादको पनि विकास भएको हो । आज विश्वका अविकसित मुलुकहरूमा आर्थिक, राजनीतिक, सामरिक र कला–साहित्यमा भूमण्डलीकृत साम्राज्यवादी हस्तक्षेप तीव्र बन्दै गएको छ । त्यसका विरुद्ध लड्न कला–साहित्यको उद्देश्य र यसको वर्गीय चरित्र बुझ्नु अनिवार्य छ ।

सांस्कृतिक क्रान्ति

हाम्रो सांस्कृतिक रूपान्तरणको दिशा महान् सर्वहारा सांस्कृतिक क्रान्तिका समुन्नत पाठहरूद्वारा निर्देशित छन् । यस महान् क्रान्तिका पाठहरूलाई हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभवहरूको सार र संश्लेषणका रूपमा बुझ्नुपर्दछ । यो समाजवादी क्रान्तिकालको सङ्घर्ष र अन्तर्सङ्घर्षको एक यस्तो ऐतिहासिक अनुभव हो, जसबाट माक्र्सवाद–लेनिनवादको गुणात्मक शिखरका रूपमा माओवाद विकसित बन्ने प्रक्रिया पूरा हुन्छ ।

महान् सर्वहारा सांस्कृतिक क्रान्ति विचार, भावना, आदत तथा संस्कारमाथि विजय प्राप्त गर्दै अघि बढ्ने तथा पुँजीवादको पुनस्र्थापना रोक्ने कार्य र संशोधनवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित कम्युनिस्ट–सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति हो । यो पार्टी, सेना, सरकार, शिक्षा र कला–साहित्यका फाँटमा घुसेका पुँजीवादपन्थीहरूविरूद्ध परिलक्षित छ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधिसम्म विकसित सांस्कृतिक क्रान्तिका नयाँ मान्यताहरू मूलतः यी हुन् :
राजनीतिलाई कमान्डमा राख्नु, सयौँ फूलहरूलाई फुल्न दिनु, लाल र निपूर्ण बन्नु तथा क्रान्तिकारी उत्तराधिकारी तयार पार्नु ।

‘माक्र्सवाद लागू गर संशोधनवाद होइन’ गलत कार्यदिशाबाट सही कार्यदिशालाई पृथक गर्ने मूख्य मानदण्ड हो । माक्र्सवाद लागू गर्नु भनेको कम्युनिस्ट–सर्वहारावर्गको सिद्धान्तलाई समात्नु हो र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणअनुसार समाज विकासका वस्तुगत नियमहरूलाई आत्मसात् गर्नु हो । ‘एकताबद्ध होऊ नफुट’ पार्टी एकताको रक्षा गर्ने कुरा सर्वहाराक्रान्तिको विजयका निमित्त अमूल्य सम्पत्ति हो । माओले यसका दुई पक्ष औंल्याउनुभएको छ, “एउटा पार्टीको आन्तरिक एकता हो र अर्को पार्टी तथा जनताको एकता हो । कठिनाइलाई पार गर्नका निम्ति यी दुईवटा महत्वपूर्ण हतियारहरू हुन्, सबै पार्टी सदस्यले तिनलाई हुर्काउनुपर्दछ ।”

माओले भन्नुभएको छ, “कुनै एउटा पार्टीको बाहिर अरू पार्टीहरू हुन्छन, एउटा पार्टीभित्र समूहहरू हुन्छन, सधैँ यस्तै हुने गरेको छ ।”
माओले अल्बानियाली सैनिक प्रतिनिधिहरूसमक्ष चलिरहेको सांस्कृतिक क्रान्तिको नालीबेली लगाउँदै भाषण गरिरहनुभएको थियो । बीचमा आफैँले प्रश्न उठाउनुभयो, “म एउटा प्रश्न गर्न चाहन्छु, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य के होला ?” कसैले जहाँको तहीँ जबाफ दियो, “पार्टीभित्रका सत्ताधारीका विरुद्ध सङ्घर्ष गर्नु जसले पुँजीवादी बाटो लिएका छन् ।” उहाँ स्वयम्ले जबाफ दिनुभयो, “पुँजीवादी बाटो लिएका सत्ताधारीविरुद्ध लड्नु मुख्य कार्यभार त हो तर यो नै उद्देश्य होइन । यसको उद्देश्य भनेको विश्वदृष्टिकोणको समस्या समाधान गर्नु हो, यो त संशोधनवादका जरा उखेल्ने प्रश्न हो ।”

सन् १९५१ मै भ्रष्टाचार, बर्बादी र नोकरशाहीजस्ता तीन खराबी देखिएको कुरा स्वयम् माओले संश्लेषण गर्नुभयो । सन् १९५२ मा जाँदा निजी औद्योगिक प्रतिष्ठानहरूमा घुसखोरी, कर छली, राज्य सम्पत्तिको चोरी, सरकारी ठेक्कापट्टामा ठगी, आर्थिक सूचनाको चोरीजस्ता पाँच खराबी देखिए । सन् १९६५ को हिउँदमा याओ वेन–युआनले ‘हाईजुईको सत्ताबाट बर्खास्तगी’ नामक नाटकको आलोचना गरेपछि नै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको लागि घन्टी बजेको थियो । यो नाटक क्रान्तिविरोधी थियो । आधिकारिक रूपमा सन् १९६६ को मेदेखि सुरु भयो । त्यसको उद्घाटन गर्दै माओले बेइजिङको चोकमा गएर लेख्नुभयो, “मुख्यालयमा बम वर्ष गर ।” यो कुरा संशोधनवादी ली शाओचीहरूप्रति लक्षित थियो । माओ स्वयम् मुख्यालयको प्रमुख हुनुहुन्थ्यो, पछि केन्द्रीय समितिको सांस्कृतिक समूहले माओ सही सावित हुनुभएपछि “पुँजीवादी मुख्यालयमा बम वर्षा गर” भन्ने नारा दिइयो । सांस्कृतिक क्रान्तिको मुख्य सिद्धान्तचाहिँ ‘क्रान्तिको निशाना आफैँलाई बनाऊ’ भन्ने थियो ।

सांस्कृतिक क्रान्तिको सैद्धान्तिक आधारबारे चिनियाँ कम्युनिस्ट पार्टीले यसरी दस्तावेजीकरण गरेको छ, “पुँजीपतिवर्गलाई मिल्काइए तापनि शोषकवर्गले पुराना विचार, संस्कृति, चालचलन र बानी–व्यहोराहरूलाई प्रयोग गरेर जनसमुदायलाई शोषण गर्न, तिनीहरूमा भ्रम छर्न र सत्तामा फर्किन प्रयास गरिरहेका छन् ।” यसले अझ स्पष्ट पार्दछ, “समाजवादी निर्माणको सुनिश्चित गर्न र पुँजीवादी पुनस्र्थापना रोक्न राजनीतिक, आर्थिक, वैचारिक र सांस्कृतिक सबै मोर्चाहरूमा अन्तसम्म समाजवादी क्रान्तिलाई अघि बढाउनु आवश्यक छ । एक वा दुई पुस्ताभित्र समाजवादको पूर्ण विजय हुन सक्दैन, यसको पूर्ण समाधान गर्न दस पुस्ता वा अझ धेरै पनि लाग्न सक्दछ ।”

समाजको रूपान्तरणका लागि सर्वहारा विचारधारालाई जनतासम्म पु¥याएर तिनीहरूलाई क्रान्तिकारीकरण गर्न र क्रान्तिलाई उल्टाउन चाहने पुँजीवादी र निम्न–पुँजीवादीहरूका हेडक्वार्टरमा बम वर्षाउनका लागि लाखौँ जनसमुदायलाई परिचालन गर्न माओले बारम्बार जोड दिनुभयो । सांस्कृतिक क्रान्तिको अवधिभर माओले पार्टीको सम्पूर्ण तह र तप्कालाई “क्रान्तिलाई पकड र उत्पादन बढाऊ”, “विद्रोह गर्नु अधिकार हो”, “सयौं फूलहरू फुल्न देऊ”, “सयौं विचारहरूलाई प्रतिस्पर्धा गर्न देऊ”, “जनतादेखि जनतासम्म” आदि उद्घोषबाट वैचारिक प्रशिक्षण दिनुभयो । सांस्कृतिक क्रान्ति समाजवादबाट “श्रम जीविकाको साधन मात्र नभई जीवनको आधारभूत आवश्यकता बन्न पुग्ने” र “हरेकबाट क्षमताअनुसार र हरेकलाई आवश्यकताअनुसार भन्ने नारा आफ्नो झन्डामा अङ्कित गर्न सक्ने” साम्यवादसम्म पु¥याउनका लागि माओले प्रस्तुत गर्नुभएको सबभन्दा वैज्ञानिक मार्गचित्र हो । सांस्कृतिक क्रान्ति चिनियाँ अन्तर्वस्तुको संशोधनवाद विरोधी संघर्ष मात्र होइन, बरु यो त सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरता र सार्वभौम आयाम रहेको विशिष्ट प्रकारको वर्गसङ्घर्ष हो । त्यसकारण, एक–आपसमा अक्षुण्ण तरिकाले अन्तर्सम्बन्धित सांस्कृतिक क्रान्ति र माओवाद सार्वभौम छन् । माओको येनान प्रवचनबाट थप स्पष्ट हुन सकिन्छ ।

डा. ऋृषिराज बराल भन्नुहुन्छ, “येनान प्रवचनले को सही अर्थको क्रान्तिकारी र को अवसरवादी र छद्म संशोधनवादी हो भन्ने कुरासमेत प्रस्ट पारेको छ । पार्टीमा प्रवेश गर्न सफल भएका पुँजीवादी तथा संशोधनवादी प्रवृत्ति बोकेकाहरू विरुद्ध चलाइएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सन्दर्भमा समेत ‘येनान प्रवचन’ लाई केन्द्रीय महत्व दिनुले पनि यसको वैचारिक तथा सौन्दर्यशास्त्रीय महत्वको आयामलाई मापन गर्न सकिन्छ । राजनीतिक दृष्टिले तीव्र अन्तर्विरोधको स्थितिमा रहेको नेपाली समाजको वर्तमान स्थिति र आफूलाई माओवादी भन्नेहरूमा समेत वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलन तीव्र रूपमा देखापरेको अवस्थामा ‘येनान प्रवचन’ को महत्व झन् बढेर गएको छ । नेपाली क्रान्तिको स्वरूप नयाँ जनवादी र नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली क्रान्तिको कार्यदिशा भएझैँ नयाँ जनवादी सांस्कृतिक आन्दोलन नै नेपाली नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ । सांस्कृतिक आन्दोलन र संयुक्त मोर्चाका सन्दर्भमा माओले भनेका कुराहरू “भुत्ते चक्कूले रगत आउँदैन भद्दा सेनाले लडाइँ जित्न सक्तैन” भन्ने यथार्थ हाम्रो सांस्कृतिक आन्दोलनका सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ”, (द नेक्स्टफ्रन्ट डट कम) ।

कला–साहित्यको वर्गीय चरित्र

वर्गीय समाजमा कला र साहित्य पनि वर्गीय हुन्छ । कलाकृतिहरू समाजको वर्गसंरचना तथा वर्गहितहरूको परिणामस्वरूप उत्पन्न वर्गीय मनोविज्ञानजस्ता मध्यवर्ती सम्बन्ध सूत्रमाथि निर्भर छ । माक्र्सवादका प्रणेताहरूले वर्गीय समाजमा कलाको वर्गीय चरित्रका प्रस्ट पार्नुभएको छ कि महान् लेखकहरूले आफ्नो वर्गीय स्थितिका विपरीत पनि यथार्थलाई जीवनको सही र सर्वाङ्गीणपूर्ण चित्र प्रस्तुत गर्न सक्तछन्, आफ्नो वर्गीय चिन्तन र स्थितिलाई अतिक्रमण गर्न सक्ने क्षमता राख्दछन् । समाज र इतिहासको विकास प्रक्रियामा वर्गसङ्घर्षले केन्द्रीय र निर्णायक कारक तत्वको भूमिका निर्वाह गर्दछ । कला–साहित्य वैचारिक सङ्घर्षको साधनका साथै त्यसको बोधको साधन पनि हो । लु सुनले भन्नुभएको छ, “लेखकहरूले हस्तक्षेप गर्न र रूपान्तरण गर्नाका लागि लेख्नुपर्दछ ।” उहाँको भनाइमा वर्गपक्षधरता मुखरित भएको छ ।

भनिन्छ– “गीत–सङ्गीतमा वर्गसङ्घर्षको राँको सल्किनुपर्छ, समुन्द्रको छाल उर्लिनुपर्छ, कृतिमा सुन्दर बिम्ब झल्किनुपर्छ, मानव आकाङ्क्षा र भावनामा भविष्यका उदात्त र सुन्दर सपना देखिनुपर्छ । गीतमा सामूहिक आक्रोश र जीवन बदल्ने बुलन्द आवाज दन्किनुपर्छ र जीवन्त यथार्थ चित्रित हुनुपर्छ ।” कला–साहित्यको सन्दर्भमा यो कुरा निकै मननीय छन् ।
हामी नेपालको आमूल परिवर्तनको खातिर एकीकृत जनक्रान्तिको चरणमा छौँ । यो चरणमा नेपाली राष्ट्रियताको आन्दोलन आन्तरिक रूपमा सामन्तवाद र बाह्य रूपमा साम्राज्यवादविरुद्ध परिलक्षित छ । वैज्ञानिक समाजवाद हु“दै साम्यवादमा नपुग्दासम्म सच्चा अन्तर्राष्ट्रियतावादको निर्माण पनि हुन सक्तैन । कला–साहित्यमा उत्पीडक जाति र देशप्रति घृणा र उत्पीडित जाति तथा राष्ट्रप्रति प्रेमका भावहरू अभिव्यञ्जित गरिन्छ । यसप्रकारका साहित्य र कलामा देशभक्तिका भावहरू प्रतिध्वनित हुने गर्दछन् । यहाँ जनता र राष्ट्रको अस्मिता र स्वत्व मुखरित भएको हुन्छ । यसप्रकारका रचनामा देशभक्तिको भावभूमिमा प्रकृतिको मानवीकरण हुन्छ । नेपालमा कला–साहित्यको क्षेत्रमा अनेकौं देशभक्त तथा प्रगतिशील स्रष्टाहरूले राष्ट्रिय स्वाधीनता तथा सर्वभौमिकताको पक्षमा सशक्त आवाज उठाउ“दै आएका छन् । माक्र्सवादी स्रष्टाका रचनामा राष्ट्रियता र अन्तर्राष्ट्रियताबीच एकरूपता कायम गर्ने प्रयास पनि हुँदै आएको छ । कुनै बेला नेपालमा राजालाई राष्ट्रियताको प्रतीकका रूपमा ग्रहण गर्ने ‘मण्डले राष्ट्रवाद’ पनि देखाप¥यो र त्यसले कला–साहित्यको क्षेत्रलाई धेरै हदसम्म प्रदूषित पनि तुल्यायो । तर, राष्ट्रियताको प्रतीक जनसमुदाय हो, राजतन्त्र होइन र थिएन पनि ।

माक्र्स र एङ्गेल्सले माक्र्सवादी साहित्य चिन्तन गर्नेक्रममा साहित्यलाई विचारधाराको एउटा रूपका रूपमा मात्र होइन, साहित्यको जन्मको आधार समाजको भौतिक आधारलाई मान्नुभएको छ । भौतिक र आर्थिक परिस्थितिमा परिवर्तन आउनासाथ साहित्यमा पनि परिवर्तन आउँछ तथा आधार र अधिरचना वा उत्पादनको आर्थिक आधार र कलात्मक रूपका बीचमा भिन्नता रहन्छ भन्ने माक्र्स–एङ्गेल्सको धारणा रहेको पाइन्छ । लेनिनको विचारमा साहित्य सर्वहारावर्गको साझा उद्देश्यको एक अङ्ग बन्नुपर्छ, समस्त मजदुर वर्गको अभिन्न र महान् सामाजिक जनवादी मेसिनको ‘दाँत र पेच’ हुनुपर्छ । साहित्य सुसङ्गठित, योजनाबद्ध, एकबद्ध सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक अङ्ग बन्नुपर्छ । माओको विचारमा कला–साहित्य जनताका लागि अर्थात् क्रान्तिकारी सङ्घर्षमा प्रत्यक्ष रूपबाट संलग्न रहेका ज्यामी, किसान र सिपाहीहरूका लागि हुनुपर्छ । यथार्थमा व्यापक जनसमुदायको जीवन नै क्रान्तिकारी कला र साहित्यको एक मात्र स्रोत हो । लेनिनले पार्टी–साहित्यको अवधारणा अगाडि सार्नुभयो । माओले येनान गोष्ठीमा बोल्नुभएको ‘राजनीतिलाई शीर्षासनमा राख’ निकै महत्वपूर्ण रहेको छ ।

हार्वड फास्टले भन्नुभएको छ, “लेखकहरू पछाडि बसेर होइन, अघिल्लो मोर्चामा बसेर अघि बढ्नुपर्छ । सर्वसाधारण जनतालाई यथार्थको स्वरूपबारे जानकारी गराउनु उनीहरूको काम हो । त्यसमा नै उनीहरूको कला र उनीहरूको गौरव रहेको हुन्छ किनभने उनीहरूको कामको स्वरूपले गर्दा नै उनीहरूको निम्ति मानवीय आशा, डर र दुःखकष्ट र विजयको सार निकाल्न सम्भव हुन जान्छ । तर, त्यसो गर्नाका लागि उनीहरूले संसारको छायालाई बुझेर मात्र हुँदैन, संसारलाई नै बुझ्नुपर्दछ ।”

माक्र्सवादीहरूको दायित्व

माक्र्सवादी स्रष्टाहरूले मालेमावादलाई पथप्रदर्शन सिद्धान्त मान्नुपर्दछ । ऊ सामन्तवाद, साम्राज्यवाद र सबैखाले संशोधनवादविरुद्ध सङ्घर्षमा उत्रनुपर्दछ । उसलाई कला–साहत्यिको वर्गीय स्वरूपबारे कुनै भ्रम हुनुहुन्न । राष्ट्रिय, जनवादी तथा वैज्ञानिक कला–साहित्यको पक्षपोषण उसको क्रियाशीलताको अन्तर्वस्तु हुनुपर्छ । ऊ सत्यम्, शिवम् र सुन्दरम्को भावनाद्वारा अनुप्राणित हुनुपर्दछ । सांस्कृतिक आदर्शलाई केन्द्रमा राख्दै वर्गीय, सांस्कृतिक तथा भावनात्मक रूपान्तरणमा जोड दिएर मात्र सांस्कृतिक रूपान्तरण र आन्दोलनलाई माथि उठाउन सकिन्छ ।

आज नव–उदारवादी योजनाबद्धताका साथै सूचनाविभ्रम, वित्तीय पुँजीको भूमण्डलीकरण, सैन्य फासीवाद र लाल–झन्डाका विरुद्ध लाल–झन्डाको प्रयोगमार्फत् कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न र साम्राज्यवादलाई ऊर्जा दिने काम तीब्र बनाइएको छ । एनजीओ र आईएनजीओको भूमिकालाई पनि नयाँ किसिमले सक्रिय बनाइँदैछ । ज्ञानप्रशारणका सबै मूल्यहरूलाई खारेज गरिँदैछ । तर, मुक्तिको चरणमा पुग्नु भनेको वर्गविहीन समाज–व्यवस्था स्थापना गर्नु हो । यो त्यति सजिलो छैन । लेनिन भन्नुहुन्छ, “जारलाई निकालेर फाल्न कुनै गा¥हो थिएन, त्यसका लागि केही दिनको जरुरत थियो । जमिनदारलाई निकालेर फाल्न पनि धेरै कठीन थियो, यस कामका लागि केही महिनामा पूरा गरियो । पुँजीपतिहरूलाई निकाल्न पनि धेरै कठीन भएन तर वर्गलाई समाप्त पार्न अतुलनीय रूपमा अति कठीन काम हो ।” हामीले मानवीय जीवनको वर्गीय सारतत्व र उत्पीडित समुदायको मुक्तिका लागि गरिने वर्गयुद्धको अन्तर्यमा कला–साहित्यको सौन्दर्यात्मक मूल्यको खोजी गर्नुपर्दछ । यो सौन्दर्यात्मक मूल्य माथि उल्लेख भएजस्तै बुर्जुवा कला–साहित्यको उद्देश्यको खारेजी र माक्र्सवादी कला–साहित्यको उद्देश्य आत्मसातीकरणमा आधारित छ ।

लु सुनले एक सन्दर्भमा भन्नुभएको छ, “क्रान्तिकारी साहित्यले मात्र आमूल परिवर्तन ल्याउन नसक्ने रहेछ । त्यसका लागि त क्रान्तिकारी योद्धाहरू नै चाहिने रहेछ ।” सन् १९३१ मा कोमिन्ताङ सरकारले पाँचजना युवा लेखकहरूको हत्या ग¥यो । दमनबाट जोगिन यिनी भूमिगत भए । हत्या गरिएका लेखक साथीहरूको सम्झनामा लु सुनले कोमिन्ताङ सरकारको विरोधमा अत्याचारी शासनको खेदो खन्दै ‘चिनियाँ सर्वहारा साहित्य र अग्रगामी लेखकहरूको रगत’ र ‘अँध्यारो चीनमा कलासाहित्यको वर्तमान स्थिति’ नामक लेखहरू लेख्नुभयो । सङ्घर्षका वर्षहरूमा कोमिन्ताङ सरकारले डेढ लाखभन्दा बढी चिनियाँ क्रान्तिकारीहरूको हत्या ग¥यो तर लु सुनको सङ्घर्षशील उत्साह कहिल्यै मत्थर भएन, बरु मृत्युपर्यन्त जुधिरहे । माओको नेतृत्वको ‘लामो अभियान’ शान्शी आइपुगेकोमा हर्षले विभोर हँुदै लु सुनले विदेशी पत्रकार स्मेडलीमार्फत् माओलाई बधाइ सन्देश पठाउँदै भन्नुभयो, “चीन र मानवताको आशा तपाईंउपर नै टिकेको छ ।”

अन्ततः माओले लु सुनलाई चीनको सर्वहारा सांस्कृतिक क्रान्तिका सर्वोच्च कमान्डर मान्नुभयो ।
–रातोखबर