तिलोत्तमा गोल्डकपः थ्री स्टारको पहिलो जीत

जनबाटो संवाददाता । रुस्लान थ्री स्टार काठमाडौले बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा उपाधि चुमेको छ ।
देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा शनिबार नेपाल पुलिसलाई २-० ले हराउदै उसले उपाधि कब्जा गरेको हो । जीतसंगै उसले नगद ७ लाख ७७ हजार ७ सय ७७ हजार नगदसहित गोल्डकप पायो । उपविजेता नेपाल पुलिसले भने नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैया मा चित्त बुझायो ।

पुलिसले यसअघि तेस्रो, नवौ, दशौं र तेह्रौ गरी ४ पटक गोल्डकप जितेको थियो । दोस्रो पटक खेलमा सहभागिता जनाएको थ्री स्टारको यो पहिलो जीत हो । निकै आकर्षक खेलमा खेलको ६६ मिनटमा नेपाल पुलिसका क्याप्टेन रविन श्रेष्ठले आत्मघाती गोल थ्री स्टारका लागि विजयको ढोका बन्यो । यसबाट हौसिएको थ्री स्टारका निराजन खड्काले खेलको ७९ मिनटमा गोल गरे । सुनिल बमको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले राम्रो तयारी भएपनि जुनियर टिम र बलमा शक्ति नपुग्दा खेलमा हार्नुपरेको बताए । रविन श्रेष्ठको आत्मघाती बलले खेलाडी हतोत्साहित हुदा अवसरलाई समेत सदुपयोग गर्न नसकेको उनले बताए । उता थ्री स्टारका प्रशिक्षक मेघराज श्रेष्ठले सिनियर खेलाडी र राम्रो समन्वयका कारण जित निकाल्न सकेको दावी गरे ।

प्रतियोगितामा थ्री स्टारका क्याप्टेन निराजन खड्का म्यान अफ द म्याच बने यो संगै उनले स्कुटर उपहार पाए । उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज श्रेष्ठ, उत्कृष्ट गोल रक्षक एलन न्यौपाने, उत्कृष्ट रक्षक लाली रुपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ, उत्कृष्ट स्टाइकर नेपाल पुलिसका रेजिन सुब्बा र उत्कृष्ट मीड फिल्डर पनि नेपाल पुलिसकै भोला सिलवाल बने । उनीहरु २१ हजार १ सय ११ नगद पुरस्कार पाए । फागुन २४ देखि सुरु गोल्डकपमा मोफसलका ४ सहित १० टिम सहभागि थिए ।